नेताले फर्केर नहेर्दा पीडामाथि पीडा

मङ्गलबार, १५ चैत २०७३, ०७ : ४५ सुरेश यादव


जनकपुर- गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्रबजारकी मलिनियादेवी ५० वर्ष नाघेकी छैनन्। चाउरिएको अनुहार र फुलेको कपाल हेर्दा उनी वृद्धाझैं लाग्छ। बिहे गरेको पाँच वर्ष नपुग्दै पति गुमाएकी उनले आफ्नो बलबुतामा छोराछोरी हुर्काइन्। छोरी फुलोलाई अन्माएर पठाइसकेकी उनले छोरा ब्रह्मदेवको बिहे गरिदिने योजना बनाइरहेकी थिइन्। त्यही बेला उनको जीवनमा वज्रपात आइलाग्यो। पहिलोे मधेस आन्दोलनका क्रममा उनले छोरा गुमाइन्।

२०६३ माघमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको धनुषा, वीरेन्द्रबजार चोकमा प्रहरीले चलाएको गोली लागेर ब्रह्मदेवको मृत्यु भयो। त्यसबेला उनी १७ वर्षका मात्र थिए। चोकबाट खाना पकाउने तेल किनेर घर फर्किरहेका बेला प्रहरीको गोलीले लाग्ोर उनको घटनास्थलमै मृत्यु भयो।

मधेसलाई अधिकारसम्पन्न बनाउन तत्कालीन मधेसी जनअधिकार फोरमले आह्वान गरेको आन्दोलनका सहिदको स्मरणमा नेताले मौनधारण त गर्छन् तर तिनको नाजुक पारिवारिक अवस्थाबारे कसैलाई चासो छैन।

भविष्यको सहारा एक्लो छोराको मृत्युपछि आफ्नो जीवन कहालिलाग्दो भएको उनले सुनाइन्। 'दुःख गरेर हुर्काएको छोरा मधेस आन्दोलनका क्रममा मारियो, अहिले आपतविपद् सहयोग गर्ने कोही छैन,' उनले दुखेसो पोखिन्। उनी छोरी फुलोसँग बस्दै आएकी छन्। राजनीतिक दलका नेताले सहिद परिवारलाई बिर्सदै गएको उनको गुनासो छ। 'मधेसी जनताको मुक्तिको लागि भन्दै आन्दोलन गर्ने मधेसवादी दलले पनि सहिद परिवारलाई वास्ता गरेनन्, त्यसमा दुःख लागेको छ,' उनले भनिन्।

 सहिदको बलिदानीलाई नेताहरूले सांसद–मन्त्री बन्नको लागि प्रयोग गरेको उनको गुनासो छ। 'मैले छोरो गुमाए, कैयौं चेलीको सिन्दुर पुछियो, कति लालाबालाले बाबा गुमाए। दर्जनौं वृद्धवृद्धाले बुढ्यौलीको सहारा गुमाए,' मलिनिया एकोहोरो बोलिरहिन्, 'केही नेताले मन्त्रीको कुर्सी पाए, तिनीहरूका सन्तानले एक–दुई पुस्ता नकमाउँदा पनि पुग्ने सम्पत्ति पाए। तर, सहिद परिवार अनि सामान्य जनताले के पाए?' आफ्नो छोरालाई पुलिसले मारेको र निर्दोषको हत्या गर्ने कसैको पनि भलो नहुने उनको भनाइ छ।

 घटना भएको केही समयपछि उनी छोरी फुलोदेवीको परिवारसँग बस्दै आएकी छन्। मंगलबार वीरेन्द्रबजार गोठटोलस्थित ब्रह्मदेवकी दिदी फुलोको घर पुग्दा मलिनिया गाईको गोबर सोहोर्दै थिइन्। नागरिक संवाददाता पुग्नेबित्तिकै उनले घरभित्रबाट कुर्सी ल्याएर बस्ने आग्रह गरिन्। रेडक्रस धनुषा शाखाले जीविकोपार्जनमा सजिलो होस् भनेरर उनलाई गाई किनिदिएको हो।

 २०६३ साल माघमा धनुषाधाम–७, भगवानपुरका शिवशंकर यादव ट्याक्टरमा आन्दोलनकारीसहित जनकपुर गइरहेका बेला धारापानीमै झडपमा परेका थिए। धारापानीमा आन्दोलन प्रतिकार गर्ने समूहले ढुंगा र लाठीले कुटेपछि उनी अचेत भए पनि त्यसबेला प्रहरी मुकदर्शक बनेको थियो। रेडक्रसले उद्धार गरी उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पुर्‍याए पनि उनको उपचार सम्भव नभएपछि पटना लगियो। पटनामा उपचार गराउँदा–गराउँदै एक सातापछि ३५ वर्षीय शिवशंकरको मृत्यु भयो।

उनको मृत्युपछि पत्नी रामरतिदेवी, चार छोरी र दुई छोरासहितको उक्त परिवारको दुर्दिन सुरु भयो। युवा उमेरमै ६ छोराछोरीको आमा बनेकी रामरतिदेवीले पति गुमाएको पीडा सहन सकिनन्। शोकले दिनदिनै गल्दै गएकी उनले चार वर्ष नबित्दै प्राण त्यागिन्।

राम्ररी हिँड्न सक्ने उमेर नहुँदै शिवशंकरले बाबु गुमाएका थिए। 'श्रीमान्ले छाडेर गएपछि मैले लालाबाला छोराछोरीलाई जसोतसो हुर्काएँ। छोराले नै मजदुरी गरेर मलाई पाल्न थालेको थियो। तर, आज मैले स्याहार पाउनुपर्ने बेलामा उसैको लालाबाला सम्हाल्नुपरेको छ,' आमा पञ्चीले आँखा पुछ्दै भनिन्।

शिवशंकरकी कान्छी छोरी रञ्जुलाई बाबुको अनुहार पनि याद छैन। मधेसी सहिद रमेशकुमार महतो स्मृति प्रतिष्ठानले हजुरआमालाई बुवाको फोटोसहितको अभिनन्दन पत्र दिएको थियो। सोही पत्र देखाउँदै उनले भनिन्, 'नेताहरूले देशका लागि मेरो बुवाले बलिदानी दिएको भन्छन्। खोइ त बलिदान दिने बुवाका छोराछोरीलाई हेरेको?'

यसपालि माध्यमिक शिक्षा परीक्षा दिएकी रञ्जुको स्नातकसम्म पढ्ने चाहना छ। कमजोर आर्थिक अवस्थाका कारण उनलाई उच्च शिक्षासम्म पढाउने हिम्मत परिवारलाई छैन। कहीँबाट सहयोग पाए आफूले पढेर बाबुको नाम राख्ने इच्छा व्यक्त गरिन्।

गाउँकै बोर्डिङ स्कुलमा पाँच कक्षा पढिरहेका शिवशंकरका कान्छो छोरा सञ्जित आमा गुमाएपछि काम गर्न भन्दै भारतको मद्रास पुगे। चार वर्ष उतै होटलमा काम गरेर फर्केका उनी वैदेशिक रोजगारीमा जाने तयारीमा छन्। उनको दाइ रञ्जित पनि मलेसियामा छन्।

जनकपुर पुरानो बजारका राजेश ठाकुरले सानो झुपडीमा सैलुन सञ्चालन गरेर वृद्ध आमाबाबु पाल्दै आएका थिए। नगरमा आन्दोलन चर्किरहेको बेला नेताहरूको लहैलहैमा लागेर नाराजुलस गर्न निस्केका उनलाई जनकपुरकै जनक चोकमा गोली लागेको थियो। उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो। दश वर्षपछि पनि राजेशको परिवारको हालत नाजुक छ। मधेस आन्दोलनका अगुवालाई यसबारे कुनै वास्ता छैन।

पुरानो बसपार्कमा राजेशले सञ्चालन गरेको सैलुन बन्द छ। छोराको शोकमा उनकी आमाले पनि अल्पायुमै प्राण त्यागिन्। प्रहरीको गोली लागेर आँखैअगाडि छोराको मृत्यु भएपछि त्यही बेलादेखि बर्बराउन थालेका बाबुको मानसिक सन्तुलन बिग्रेको छ। दिनभर बाटोमा टोलाइरहने उनको सहारा कोही छैनन्।

२०६२/०६३ को दोस्रो जनआन्दोलनपछि तत्कालीन संविधान खारेज गरी राजनीतिक सहमतिमा अन्तरिम संविधान जारी भयो। अन्तरिम संविधानमा 'संघीयता' शब्द उल्लेख गराउनकै लागि तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको आह्वानमा मधेस आन्दोलन भएको थियो। आन्दोलनमा धनुषाका तीनसहित ५४ जनाको मृत्यु भयो। तीमध्ये अधिकांशको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

आन्दोलनमा जनकपुर–४, पुरानो बसपार्कका राजेश ठाकुर, गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्रबजारका ब्रह्मदेव ठाकुर र धनुषाधाम–७, भगवानपुरका शिवशंकर भनिने बाबुनारायण यादवको मृत्यु भएको थियो।

मधेसलाई अधिकारसम्पन्न बनाउन तत्कालीन मधेसी जनअधिकार फोरमले आह्वान गरेको आन्दोलनमा होमिएर ज्यानको आहुति दिने सहिदको स्मरणमा नेताहरू मौनधारण त गर्छन्। तर, तिनको नाजुक पारिवारिक अवस्थाबारे कुनै नेतालाई चासो छैन।

संघीयताको लागि भएको आन्दोलनमा मधेसी युवाले प्राण त्याग गरे। आठ वर्षपछि संविधान पनि जारी भयो। मधेसी नेता पनि पटकपटक सरकारमा पुगे पनि सहिद परिवारलाई भुलेको स्थानीयको गुनासो छ।









यसमा तपाईको मत

अन्य समाचार

इन्जिनियर नायिका

इन्जिनियर नायिका

लामा स्केल र पेन्सिल बोकेर इन्जिनियरिङको कक्षामा बसिरहँदा उनी साँचिरहन्थिन् अर्कै सपना । उनलाई लाग्यो, ‘एक दिन न एक दिन...

म्याडोनाको निजी सामान लिलामीमा रोक

म्याडोनाको निजी सामान लिलामीमा रोक

गोपनीयताको हनन भएको जनाउँदै अमेरिकी अदालतले अमेरिकी पपस्टार म्याडोनालाई निजी सामानको लिलामीमा रोक लगाएको छ। न्यूर्योकको जस्टिस गेराल्ड लेबोविट्स 'गाट्टा...

पर्दामा 'लोक'को धाक

पर्दामा 'लोक'को धाक

तीन  दिनअघि मात्र फिल्म 'दुई रुपैयाँ'को 'कुटुमा कुटु' गीतले एक महिनाभित्रै एक करोड दर्शकले हेरिदिएको खुशी केट काटेरै मनायो। ...

अमेरिकी गायक चेस्टरले गरे आत्महत्या

अमेरिकी गायक चेस्टरले गरे आत्महत्या

विश्व प्रख्यात अमेरिकी गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् । ...