६ वैशाख २०८१ बिहीबार
खेल

नेपाललाई गल्ती गर्ने छुट छैन

काठमाडौं- नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक विराटकृष्ण श्रेष्ठ भन्ने गर्छन्, 'फुटबलमा रचनात्मक पक्ष महत्वपूर्ण हुन्छ। तर आफँैमा यो गल्तीको खेल हो। आफूले कमभन्दा कम गल्ती गर्ने, विपक्षीलाई धेरैभन्दा धेरै गल्तीका लागि प्रेरित गर्ने र विपक्षीको गल्तीमा फाइदा उठाउने योजना फुटबलमा प्रभावकारी रणनीति हो। आधुनिक फुटबलमा टिम सफल हुने नै विपक्षीको गल्तीमा फाइदा उठाएर हो।'

एएफसी एसियन कप छनोटको यात्रा सुरु गर्दा फिलिपिन्ससँग लगातार चौथो पराजय भोग्नबाट जोगिने हो भने नेपालले मंगलबार आफू जोगिँदै विपक्षीको गल्तीमा फाइदा उठाउन सक्नुपर्छ। पछिल्लो पटक दुई टिमबीच कतारको दोहामा २०१४ नोभेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमार्फत आमनेसामने हुँदा नेपाल आफ्नै गल्तीका कारण ३–० को पराजित नतिजामा सीमित भएको थियो।

नेपाली टोली हारको मात्र लायक भएर दोहामा त्यस्तो नतिजामा सीमित भएको थिएन। टोलीले पूरा ९० मिनेटको खेल सन्तोषजनक खेले पनि महत्वपूर्ण समयमा सामान्य गल्ती गरेका कारण नेपाल कम्तीमा बराबरी वा साँघुरो हारको नतिजाबाट टाढिएको थियो।

उच्च मनोबलका साथ रंगशाला पुगे पनि ९० मिनेटको खेल समाप्तिमा निराश भएर बाहिरिँदा नेपाल १० जनामा सीमित भइसकेको थियो। एक खेलाडी कम भएर २५ मिनेट खेले पनि मैदानमा नझुकेको टोलीले दुई मिनेट थप गरिएको इन्जुरी समयमा मात्र दुई गोल स्विकारेको थियो। अन्तिम समयमा जोगिने रणनीति नलिँदा वा लिन नचाहँदा नेपाल लगातार हारको नियति भोग्न बाध्य भएको थियो। विपक्षी खेलाडीमाथि हातपात गरेका कारण प्रतिभावान् मिड्फिल्डर जगजित श्रेष्ठले अनावश्यक रातो कार्ड सामना गर्दा नेपाली टोली ६५औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। युवा स्टाइकर विमल घर्तीमगरमाथि सामान्य फाउल गरेबापत फिलिपिन्सका दाइसुके सातोले पहंेलो कार्ड सामना गरिसकेका थिए। तर एक गोलले पछि परेको दबाबमा जगजितले दाइसुकेमाथि हातपात गर्दा सोझै रातो कार्ड दर्शन गरे। संयमित नहुने गल्ती उनीबाट भयो भने टिम व्यवस्थापनले पनि त्यसका लागि उनलाई तयार गरेको थिएन। फलस्वरूप नतिजा नेपालका लागि थप निराशाजनक बन्यो।

नेपालका जापानी प्रशिक्षक ग्याटुको कोजी पनि फिफा वरीयतामा आफूभन्दा धेरै माथि रहेको विपक्षीसँग अंक बटुल्न टोलीले आफ्नो तर्फबाट उच्चतम स्तरको फुटबल खेल्नुपर्ने बताउँछन्। 'फिलिपिन्स हामीभन्दा धेरै माथिको टोली हो। तर मेरा केटाहरूले आफ्नो स्तरअनुसार उच्च प्रदर्शन गरे भने हामी उनीहरूमाथि जित हासिल गर्न सक्छौं,' मनिलाको रिजाल मेमोरियल रंगशालामा मंगलबार हुने खेलवारे कोजीले सोमबार भने, 'हामी एएफसी सोलिडारिटी कपको च्याम्पियन टोली हौं। हामी भोलि जितका साथ तीन अंक हासिल गर्ने लक्ष्यसहित मैदान उत्रिनेछौं।'

फिलिपिन्सविरुद्ध नेपालको यो पाँचौं भेट हो। यसअघि जितका साथ फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सुरु गरेको नेपालले तीन खेलमा पराजय भोगेको छ । २०१४ कै अप्रिलमा दोहामै फिलिपिन्ससँग नेपालले ३–० कै पराजय बेहोरेको थियो। यसअघि २०११ मा दुई टोलीबीच भेट हुँदा पनि फिलिपिन्स ४–० ले विजयी भएको थियो। १९८२ मा दुई टोली पहिलो पटक आमनेसामने हुँदा हासिल गरेको १–० को जित नेपालको फिलिपिन्सविरुद्ध अहिलेसम्मको एउटै मात्र सफल नतिजा हो।

फिफाको विश्ववरीयताक्रममा फिलिपिन्स १ सय २४औं स्थानमा छ भने नेपाल १ सय ७०औं स्थानमा छ। नेपाली टोलीका कप्तान विराज महर्जन विश्ववरीयता र फिलिपिन्सविरुद्धको इतिहास विर्सेर सुखद नतिजाको लक्ष्यमा मैदान उत्रिने बताउँछन्। गतवर्ष सोलिडारिटी कप, बंगबन्धु गोल्डकप र साग फुटबलमा स्वर्ण पदक जितेको स्मरण गर्दै उनले भने, 'हामी गतवर्षको उपलब्धि सम्भि्कएर फिलिपिन्समाथि पनि जित हासिल गर्ने लक्ष्यका साथ खेल्नेछौं। हामी जितका लागि पूर्ण रूपमा प्रतिबद्ध र विश्वस्त छौं।'

फिलिपिन्सका मुख्य प्रशिक्षक थोमस डुलेले पनि इतिहासको अर्थ नरहने स्विकार्दै आफू पछिल्लो समय नेपालले हासिल गरेको उच्च फर्मसँग जानकार रहेको बताए। 'नेपालको टिममा अहिले ठूलो परिवर्तन भएको छ। नेपाली टिममा केही उत्कृष्ट प्रतिभा छन्। उनीहरूले आफ्नो स्वाभाविक प्रदर्शन गरे भने हामीलाई सजिलो हुने छैन,' उनले स्विकारे, 'तर पनि उनीहरू हामीभन्दा बलिया पक्कै छैनन्। नेपालमाथिको विजययात्रालाई निरन्तरता दिँदै हामी छनोटमा अगाडि बढ्नेछौं। हामी एएफसी एसियन कप खेल्न तयार टोली हौं।'

प्रकाशित: १५ चैत्र २०७३ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App