coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘सीमा मिचिएको सहनै गाह्रो’

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुनर्वास घटनाका घाइते टीकाराम चौलागाईं। तस्बिर: नागरिक

काठमाडौं-शरीरभरि चोट छन्, दाहिने कुम छुट्टिएको छ, ढाडको तीन नम्बर हड्डी चर्किएर हिँड्न नसक्ने अवस्थामा छन् टीकाराम चौलागाईं। तैपनि उनको मनमा चिन्ता छ, भारतीय अतिक्रमणबाट कसरी सीमा जोगाउने?

कञ्चनपुर पुनर्वास सीमा अतिक्रमण विवादमा घाइते भएका पुनर्वास– ४ का ३३ वर्षीय चौलागाईं अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जको  शड्ढयामा छन् । उनलाई गृहमन्त्री विमलेन्द्र निधिले गत साता उपचारका लागि काठमाडौं ल्याएका हुन्।

चौलागाईंले मंगलबार नागरिकसँगको भेटमा आफ्नो स्वास्थ्यभन्दा सीमाको चिन्ता गरे। उनले भने, ‘सीमा अतिक्रमण भयो भने फेरि जान्छु।’

फागुन २६ आनन्दबजार  (गोविन्दबजार) र भारतको बसाइ बजार सीमा पक्षबीच झडप हुँदा चौलागाईंसहित ६० जना घाइते भएका थिए । भारतीय सीमादेखि पाँच सय मिटरभित्र पुनर्वासवासीले कल्भर्ट निर्माण गरेका थिए । कल्भर्ट निर्माण सकिएको दिन भारतीय पक्ष सीमावारि पसेर राति ९ बजे वितन्डा मच्चाएका थिए । त्यसको भोलिपल्ट दुई पक्षबीच झडप भएको थियो ।

भारतले सीमाका नेपालीलाई हेप्दै आएको पीडा सहन नसकेरै अतिक्रमणविरुद्ध उठेको चौलागाईंले बताए । उनका अनुसार भारतले सीमाको दुई सय नम्बरको पिलर गायब पारेको छ । भारतमा श्रम गरी फर्केका नेपालीको गोजीमा हात हाली पैसा असुल्ने गरेको, सीमावारिका नेपाली पारि जाँदा अनुमति लिएरमात्र जानुपर्ने र उताबाट भारतीय आउँदा नसोधी आउने प्रवृत्ति थियो । भारतको यस्तो प्रवृत्तिले सीमावारिका नेपालीले हेपिएको महसुस गरेका छन् ।

कल्भर्ट निर्माण समितिका सदस्य दिनेश शर्माका अनुसार फागुनमा पुनर्वासवासीले जग्गा लालपुर्जा आधारमा कल्भर्ट निर्माण गरेका थिए । भारतीय पक्षले कल्भर्ट निर्माण स्थल भारतीय भूमि भन्दै विवाद गरेको थियो । विवादपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर खनाल र भारतीय एडिएमबीच कल्भर्ट नभत्काउने सहमति भएको थियो । तर कल्भर्ट निर्माण पूरा भएको राति भारतीय गुन्डा, प्रहरी र बजारवासी नेपालभित्र पसी खसी चोर्ने, बिजुलीको तार चुँडाल्ने जस्ता गतिविधि गरेको चौलागार्इंंले बताए।

भोलिपल्ट थप तीन सय मिटर नेपालभित्र आएर भारतीयले ‘भारत जिन्दाबाद’ को नारा लगाए । उनीहरूलाई भारतीय प्रहरीले सुरक्षा दिइरहेको थियो । त्यसपछि १० औं हजारको संख्यामा नेपाली भेला भई भारतीयलाई लखेटे । फेरि दसगजामा बसेर आन्दोलन गरे । भारतीय प्रहरी आएर १२ राउन्ड गोली चलायो । गोली लागेर गोविन्द गौतमको घटनास्थलमै मृत्यु भयो । नेपाली पक्ष आफ्नो भूभाग छोडेर वर आयो । फेरि सबै नेपाली जम्मा भएर एक घन्टापछि प्रदर्शन गरे । चौलागाईं अग्रपंक्तिमा थिए । ‘गोविन्द गौतमलाई गोली लागेपछि देश बचाउनुपर्छ भन्ने मात्र सोच आयो, मृत्युका बारेमा केही सोचिनँ’, उनले भने ।

त्यही बेला भारतीय प्रहरीले हवाई फायर ग¥यो । कतिपयलाई भारतीय प्रहरीले समातेर कुटे । चौलागाईं पनि कुटिएका थिए । ‘बन्दुकको कुन्जा, बेल्चा, बाँसको लाठीले कुटेर म¥यो भन्ने लागेपछि छाडेका रहेछन्’, चौलागाईंले भने । त्यस दिन नेपाली पक्ष पछि हटेको भए भारतले सीमा मिच्ने थियो भन्ने चौलागाईंलाई लागेको छ । ‘त्यस्तै गरी सीमा मिचेका छन्, हामीलाई सानो देश भनेर हेपेका छन्, देशको माया लाग्दो रहेछ’, उनले भने ।

सीमामा हुने हेपाहा व्यवहारले असाध्यै पीडा हुने चौलागाईं बताउँछन् । ‘भारतको हेपाहा व्यवहार सानैदेखि थाहा पाएँ, देश हेपिएको मलाई सहनै गाह्रो हुन्छ’, उनले भने । भारतमा जागिर खान जाँदा हेपिएको पीडाले जागिर छाडेर नेपालमै सानो व्यापार सुरु गरेको उनले बताए । ‘सीमामा भारतीय प्रहरीले खल्तीमै हात हालेर तीनपटक पैसा लगेको छ’, उनले भने ।  ६ कक्षा पढेका चौलागाईंले मोबाइल मर्मत पसल खोलेका छन् ।

उनको मनमा देशको सीमा मिचिएला भन्ने चिन्ता छ । भारतले सानो देशको अस्तित्वमाथि गरिरहेको हेपाहा व्यवहार अन्तर्राष्ट्रिय जगत्लाई भनिदिन उनको आग्रह छ । ‘ठूलो देशले सानो देशमाथि हेपेको यो खबर अन्तर्राष्ट्रिय तहमै पु¥याउनुहोला’, उनले भने । सीमाक्षेत्रमा नेपालले उचित नाका गठन गरी सुरक्षाको व्यवस्था नगर्नाले समस्या बढ्दै गएको उनको ठम्याइ छ । ‘जनता देश बचाउन लागेका छन्, अब सरकारले ध्यान देओस्’, उनले भने ।

सीमा विवादका कारण गोविन्द गौतम सहिद भएपछि स्थानीयले आनन्द बजारलाई गोविन्द बजार नाम राखेका छन् । फेरि हुन सक्ने भारतीय अतिक्रमणलाई ध्यानमा राखी ५१  सदस्यीय सीमा बचाउ संघर्ष समिति गठन  गरिएको छ ।

उनलाई पत्नी र दुई छोरीको चिन्ताले पनि सताएको छ । चिकित्सकले पूर्ण निको हुन थप पाँच महिना लाग्ने बताएका छन् । घाइते भएपछि तीन लाख रुपैयाँ खर्च भइसकेको छ । दैनिक खर्च धान्न मुस्किल परेको उनले बताए । ‘एक सांसदले उपचारको बिल राख्न भनेका छन्, अहिलेसम्म नगद हात परेको छैन’, चौलागाईंकी पत्नी सबिनाले भनिन् । घाइते चौलागाईंलाई सरकारले विशेष सहयोग गर्नुपर्ने कल्भर्ट निर्माण समिति सदस्य दिनेश शर्माले बताए।

 

प्रकाशित: १६ चैत्र २०७३ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App