सहिद परिवारको बेहाल

नेताले पैंचो रकमसमेत फर्काएनन्

बिहिबार, १७ चैत २०७३, ०८ : २६ नागरिक


सिरहा- लहाननजिकैको मोहनपुर टोलकी रामपरीदेवीको उमेर ३८ वर्ष पनि पुगेको छैन। तर, चाउरिएको मलिन अनुहार हेर्दा उनी वृद्धजस्तै देखिन्छिन्।

बिहे गरेको नौ वर्ष नपुग्दै पति गुमाएकी उनलाई एक्लै चार सन्तान हुर्काउने भार पर्‍यो। उनले हुर्किसकेकी छोरी बिभाको जसोतसो गत फागुन २२ गते विवाह गरिदिइन्। अहिले बिहेको ऋणले थलिएकी छन्। अरू दुई छोरी र एक छोरालाई पढाउने खर्च जुटाउने पिरलो पनि छँदैछ।

सहिद परिवारलाई सरकारले दिएको १० लाख रुपैयाँबाट सहिदको प्रतिमा बनाउने भन्दै मधेसवादी नेताले एक लाख सापट लिएका थिए तर अहिलेसम्म फर्काएका छैनन्।

रामपरीको जीवनमा त्यति बेला बज्रपात भयो जब पति बेचन यादवको पहिलो मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी ज्यान गयो। लहान बजारमा घरको सामान खरिद गर्न आएका बेचनको २०६३ माघ ७ गते सुरक्षाकर्मीको गोलीले ज्यान गएको थियो। त्यस बेला छोरा आनन्द ६ महिनाका मात्रै थिए। छोरी शोभा सात वर्ष, बिभा चार वर्ष र मनतोरिया दुई वर्षका थिए।

घरका मियो बेचनको निधनले रामपरी धेरै दिनसम्म ओछ्यान परिन् तर लालाबाला हुर्काउने जिम्मेबारी सम्झेर मन थामिन्।

सरकारले मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गरी १० लाख क्षतिपूर्ति उपलब्ध गरायो। तर, रामपरीको हातमा नौ लाख मात्र पर्‍यो। एक लाख रुपैयाँ मधेसी मोर्चाका स्थानीय नेताले सापटी भनेर लिए। 'यो रकम पछि फिर्ता गर्ने सर्तमा सहिदको प्रतिमा स्थापित गर्न भनेर उनले लिएका थिए। तर, अहिलेसम्म सहिद परिवारले फिर्ता पाएको छैन।

नौ लाख लिन जिल्ला प्रशासन र गाउँ विकास समितिमा कागजी प्रमाण जुटाउन दौडधुप गर्दा ५० हजार खर्च भयो। बाँकी आठ लाख ५० हजारबाट गाउँमै खेत जोडेकी रामपरी भन्छिन्, ‘१० कट्ठा जमिनको उत्पादनले गुजारा चलाउन धौधौ छ।’

फागनु २२ गत्ते रामपरीले छोरी बिभाको बिहे गर्दा कुनै मधेसी नेता उपस्थित भइदिएनन्। बिहेको जोरजाममा पनि कसैले सहयोग गरेनन्। ‘सहिद परिवारको दुःखमा मलम लगाउने त परको कुरा, सोधीखोजी गर्न समेत कोही आउँदैनन्’, उनले भनिन्।

सहिदको सम्मानमा प्रत्येक वर्ष माघ ५ गते लहानमा मनाइने बलिदानी दिवसमा समेत पछिल्लो दुई वर्षयता आफूलाई सोधखोज गर्न छाडिएको रामपरीको गुनासो छ। ‘हामी आफैं त्यो दिन सहिद पार्कमा पुगेर आँसुको भारी बिसाएर घर फर्किन्छौं', आँखाभरि आँसु बनाउँदै उनले भनिन्, ‘आँसु पुछिदिनेसमेत कोही हुन्नन्।’

त्यति बेला सहिदका सन्तानलाई पठनपाठन निःशुल्क हुन्छ भनिएको थियो। तर, मासिक ४ हजार ५ सय रुपैयाँ खर्चेर छोरा पढाउनुपरेको उनी बताउँछिन्। उनका छोरा आनन्द यादव लहानस्थित रेन्बो बोर्डिङ स्कुलमा होस्टेल बसेर पढ्दै छन्। दुई छोरीलाई सामुदायिक विद्यालयमा पढाउँदैछिन्। निःशुल्क पठनपाठनको व्यवस्था भइदिए छोरीहरूलाई पनि गुणस्तरीय शिक्षा पढाउने उनको धोको छ।

पाँच वर्ष भयो उनी कार्यालय सहयोगीको रुपमा लहानस्थित भूमिगत सिँचाइ डिभिजन कार्यालयमा काम गर्न थालेको। 'करारको जागिर, कति बेला हट्नुपर्ने थाहा छैन', उनी भन्छिन्, ‘यो जागिर स्थायी भइदिए राहत पुग्थ्यो।’ उनले थपिन्, 'पतिको बलिदानीको सिँढी चढेर धेरै अनुहार चर्चित नेता भए, कति मन्त्री भए तर हाम्रो दुःखमा मलम लगाउने कोही भइदिएनन्।'

पहिलो मधेस आन्दोलनको उद्गम स्थल लहानमा त्यस बेला मृत्युवरण गरेका बेचनको परिवार मात्र होइन, रमेश महतो, अनिस राई, प्रमोद सदाय र विजय सहनी परिवारको पनि उस्तै बेहाल छ।

मोहम्मद अनिस २०६३ माघ ८ मा लहानको कुशवाहा चोकमा भइरहेको प्रहरी–प्रदर्शनकारी झडप हेरिरहेका थिए। झडपकै क्रममा सुरक्षाकर्मीबाट गोली चल्यो अनि अनिसको ढाड र चिउँडोमा लाग्यो। उनी त्यहीं ढले। उपचारका क्रममा उनलाई काठमाडौं ल्याइयो तर बाँचेनन्।

अनिसकी आमा बिलटौनिया खातुन भन्छिन्, ‘बुढेसकालको सहारा छोराले छोडेर गएपछि कोही फर्केर आएनन्। सबै आआफ्नै पेट भर्न व्यस्त छन्। हाम्रो दुखमा मलम लगाइदिने कोही भएनन्।’ उनीसँग पनि सरकारबाट पाएको १० लाखमध्ये एक लाख मधेसी नेताले पैंचो लिए तर फर्काएनन्। सहिदको प्रतिमा बनाउन भनेर 'सापट' लिएको रकम फिर्ता नदिने मधेसी नेताप्रति उनी आक्रोशित छिन्।

मधेस आन्दोलनले मधेसी समाजमा दुःखको विशाल पहाड उभ्यायो। परिवारको आड गुमाउनुको पीडा, त्यसमाथि काखे लालाबाला हुर्काउनुको जिम्मेबारीले थकित छन् सहिद परिवार।

रमेश महतो मधेस आन्दोलनका पहिलो सहिद हुन्। पिता रबिया महतोले उनलाई लहानमा राखेर संस्थागत विद्यालयमा पढाउँदै थिए। रबिया भन्छन्, ‘पढेर बुढेसकालको सहारा बन्ला भनेको सबै सपना चकनाचुर भयो।’ मझौरा घर भएका किसान रबिया भन्छन्, ‘रमेशको नाम भजाएर धेरैले आफ्नो अनुहार चम्काए, हाम्रो अनुहार भने मलिनका मलिन।’ त्यो बेला सरकारबाट पाएको १० लाखबाट एक लाख पैंचो लिने नेताले अहिलेसम्म नफर्काएको उनको पनि गुनासो छ।

रमेशको नाममा गाउँमा सहिद रमेश महतो स्मृति विद्यालय स्थापना भएको छ। 'तर, त्यस विद्यालयमा हाम्रो परिवारबाट कसैले पनि रोजगार पाएका छैनन्', उनले भने। सहिदको सम्मानमा माघ ५ मा लहानको सहिद पार्कमा माल्यार्पण गरी दुःखको भारी बिसाएर फर्किने गरेको रमेशकी आमा रानोले भक्कानिँदै सुनाइन्।

'हामीजस्ता कति आमाको काख रित्तियो, कति महिलाको सिउँदो पुछियो, कति बालबालिका टुहुरा भए। तर त्यसैलाई सिँढी बनाएर धेरैको जीवनस्तर उकासियो। धेरै नेता र मन्त्री भए तर सहिद परिवारको बेहालप्रति कसैले चासो देखाएनन्', उनले भनिन्।







यसमा तपाईको मत

अन्य समाचार

आलुको  सभापतित्वमा कार्यक्रम

आलुको  सभापतित्वमा कार्यक्रम

हाँस्य कलाकारको बाक्लो जमघट थियो । जब अजय अधिकारी सुशील मञ्चमा उक्लिएर कार्यक्रम चलाउन थाले । अनि छुट्यो हाँसोको गुन्जायस्...

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक...

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

धादिङको रुबी भ्यालीमा दुई साता लामो छायांकन पछि फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ। सात दिनको समय तालिका मिलाएर रुबी...

वस्तीको नेपाली लेखाउने काइदा

वस्तीको नेपाली लेखाउने काइदा

भाषामा भए गरेका गाईजात्राले आहत भएका भाषाविद् शरच्चन्द्र वस्तीले भाषाशुद्धी र एकरूपताका लागि ‘नेपाली कसरी लेख्ने ?’ ...