coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नाटक गर्दै उपन्यास विमोचन

काठमाडौं- बत्तिस पुतलीस्थित शिल्पी थियटरको मञ्च। मधुरो प्रकाशको किरण। सोमबार अपरान्ह् त्यही मञ्चमा कोही कपडा सिलाउदै त कोही चौतारामा बाघचाल खेल्दै थिए। कोही भने घरपरिवारकै लागि खाना जोहो गर्दै थिए।

खुशी र सन्तुष्ट देखिने मञ्चका पात्रहरुको खुशी धेरै बेर टिक्दैन।  उनीहरुको हर्ष अनायासै विस्मातमा बदलिन्छ। भर्खरैको शान्त अवस्था विकृत बन्छ। सिलाउँदै गरेको टालाटुली च्यातिन्छन्। केलाउदै गरेको तरकारीको भाँडा फालिन्छन्। स्तब्ध बन्छ मञ्च। खुशी र प्रेम खोजिरहेका आँखा आँशु बनेर छचल्किन्छन्। हातहरु सन्तान प्रेमको अभिलाषामा तडपिन्छन्। क्षणभर सुखान्त देखिने माहोल दुःखमा बदलिन्छ। यसपछि मञ्चमा भने उज्यालो छाउँछ। दर्शकले ताली बजाएर मञ्चमा पात्रले दिन खोजेको सन्देश आत्मसात गरेको संकेत गर्छन्।

नाटकको दृश्य झैं लाग्ने  माथिको वर्णन ठ्याक्कै नाटक नै भने हैन। यो त उपन्यासको नाटकीकरणको सानो झलक हो। रंगकर्मीसमेत रहेका टंक चौलागाइँले आफ्नो उपन्यासको विषयलाई छोटो नाटकमार्फत अभिव्यक्त गरेका थिए। 'टालाटुली' नाम दिइएको उपन्यास नाटक लगत्तै सार्वजनिक गरिएको थियो। सोअघि 'टालाटुली'का पात्रहरु यसरी मञ्नचमै जीवन्त भएका थिए।

पात्रलाई मञ्चमै उतारेर कथानक पाठक र दर्शकलाई बताउने टंकको पुस्तक बिमोचन गर्ने शैली धेरैका लागि रोचक थियो।

मञ्चमा उत्रिएका कलाकारले टालाटुलीको सार यसरी जीवन्त देखाउदा दर्शक र पाठक आफैपनि पात्रसँगै उपन्यासभित्रै विचरण गर्न पाएका थिए। बोलीबिनाको मौन मञ्चन हेर्दाहेर्दै धेरैका आँखा रसाए।  अझ मञ्चमा बुद्धबृद्धा बनेका कलाकार छोराछोरीले हेला गरेर माग्दै गुजारा गर्ने अवस्था बताउन हात फैलाउँदै दर्र्शकतिर बढ्दा नाटक उत्कर्षमा पुगेको थियो। माग्दै हिँडेका कलाकारलाई कोही दर्शकले गुलाफको फूल दिए त कसैले कलम। केही दानी दर्शकले भने पैसै पनि दिए। पाउनेका आँखा उज्यालिए भने नपाउनेका आँखामा बादल लाग्यो।  दर्शक र पात्रबीचको अनौठो सम्बन्धले माहोल नै एकछिन् भावविभोर बन्यो। 'तिमीहरुलाई बनाउन हामीले पनि धेरै त्याग गरेका छौं। हामीलाई हेला नगर ' कलाकारले मुखैले नभने पनि दर्शकले यस्तै भनिरहेको महसुस गरे।

सन्तानको खुशी र मायाका अघिल्तिर हरेक आमा बाबु निरश जीवन अँंगाल्छन्। कसरी एउटा आमाबाबु त्यो चरणसम्म प्रवेश गर्छन् त्यो भने रंगकर्मी तथा लेखक टंक चौलागाईको उपन्यास पुरै पढेपछि मात्र थाहा हुन्छ। नाटकमा निर्देशकीय भूमिका निर्वाह गर्दै पात्रहरुलाई सजिव तुल्याएका उनै टंकले नाटकको शैली नै 'टालाटुली'को  लेखनी पनि अपनाएका छन्।

 नाटक मञ्चन लगत्तै प्रमुख अतिथी नाटककार सरुभक्त, अतिथीहरु हरिहर शर्मा, अरुप बराल, सुनिल पोखरेल, कुमारी लामाले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।

'जीवन एउटा नाटक भएरै होला नाटकमाथि आधारित रहेर उपन्यास आयो,' नाटककार सरुभक्तले भने ,'७० को दशकमा लेखिएका उपन्यासमा नाटक शैलीको यो मौलिक उपन्यास हो।' नाटक खेल्ने कलाकारकै सन्दर्भबाटै विषयवस्तुअगाडि बढ्छ। उनका अनुसार नाटकमा वृद्धवृद्धाका कथासँगै रंगमञ्चका कलाकारबीचको घात प्रतिघात, विषमता र मेलका कथानक जोडिन्छन्।

पुराना कलाकार हरिहर शर्माले उपन्यासले सरल र सरस भएसँगै नौलोपन बोकेको बताए। 'पारिवारिक बिचलनपछि वृद्धाश्रममा पुगेका १८ जना वृद्धवृद्धाका जीवन्त कथाले पाठकको मन छुन्छ,'शर्माले भने ,'उनीहरु नाटकका पात्र झै जीवनका भोगाइ भोग्दै र आर्तनाद गर्दै भेटिन्छन्।' उनले 'जीवन एउटा खेल हो, जवानीमा जित्नका लागि खेलिन्छ अनि वृद्धावस्थामा जिउनका लागि खेलिन्छ' भन्ने उपन्यासको मूल वचन रहेको बताए। 

कलाकार तथा निर्देशक अनुप बरालले हरेक मान्छेको जीवन आफैमा आख्यान भएको बताए। आख्यानमा पाठकको रुची बढेका बेला यस्तो पुस्तक आउनु खुशीको कुरा भएको रंगकर्मी सुनिल पोखरेलले बताए। समीक्षक कुमारी लामाले टालाटुली जसरी पुतली भएर व्युँतन्छन् त्यसरी नै आमाबुबा उपन्यासमा व्युँतने दाबी गरिन्। आफ्नै घरआँगनमा विर्सिरहेको कथा टालाटुलीले ल्याएको उनले कथन थियो। 'तर, महिलालाई हेर्ने दृष्टिकोण भने नकारात्मक र पक्षपाती रहेको पाएँ,' उनले टिप्पणी गरिन्।

बुबा आमाको प्रेरणा नै यो उपन्यासको जन्मेकोे लेखक चौलागाईंले बताए। 'प्रस्तुती र विषय नयाँ गर्ने  कोशिस गरेको छु ,'उनले भने। उनले  यसअघि 'जिरो कटेज' उपन्यास, 'काँठका कथा' कृति बजारमा ल्याएका छन्। 'टालाटुली' उनको तेस्रो कृति हो। सांग्रिला बुक्सले बजारमा ल्याएको उपन्यासको मूल्य ३ सय रुपैयाँ तोकिएको छ।

प्रकाशित: १७ चैत्र २०७३ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App