७ वैशाख २०८१ शुक्रबार
अर्थ

कोरियन भाषा परीक्षा : दुई दिन बाँकी हुँदै गत वर्षभन्दा बढी दरखास्त

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि आवश्यक पर्ने भाषा परीक्षामा दरखास्त दिने अवधि दुई दिन बाँकी रहँदै गत वर्षभन्दा बढी प्रतिस्पर्धीले फारम भरेका छन्।

कोरिया जाने कामदारका लागि अनिवार्य भाषा परीक्षाको दरखास्त संकलन तथा परीक्षा सञ्चालन गर्दै आइरहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार बुधबार साँझसम्म ६४ हजार एक सय चारजनाले अनलाइनबाट दरखास्त दिइसकेका छन्।

प्रवेश पत्र प्राप्त नगरेका तथा नाम, जन्ममिति, राहदानी नम्बर बिगारेकाहरूले चैत २० देखि २५ गतेसम्म सम्पर्क गर्नुपर्ने।

गत वर्ष कोरियन भाषा परीक्षामा प्रतिस्पर्धा गर्न करिब ६१ हजारले दरखास्त दिएका थिए। सन् २०१८ का लागि खोलिएको दरखास्त भर्ने अवधि अझै दुई दिन बाँकी छ। चैत ९ गतेदेखि सुरु भएको दरखास्त बुझाउने अवधि चैत १८ गते राति १२ बजेसम्म तोकिएको शाखाका अधिकृत शोभाकर भण्डारीले बताए।

गत वर्षको तुलनामा यो वर्ष कोरियाले कामदारको संख्या वृद्धि गरेकाले दरखास्त दिनेको संख्या पनि बढेको अनुमान गरिएको छ। गत वर्ष कोरियाले कृषि र उत्पादनमूलक क्षेत्रका लागि तीन हजार एक सयको कोटा तोकेको थियो भने यसपटक कोटालाई तीन गुणाभन्दा माथि १० हजार दुई सय पुर्‍याइएको छ।

दरखास्त बुझाउने अवधि अझै दुई दिन बाँकी रहेकाले ८–१० हजारको दरखास्त थपिन सक्ने अनुमान गरिएको छ। बुधबारसम्म बैंकमा ६८ हजार सात ३० जनाले दरखास्तबापतको दस्तुर जम्मा गरिसकेका छन्। भण्डारीका अनुसार हालसम्म दरखास्त दिनेमा पशुपालन र कृषि क्षेत्रमा काम गर्न जान खोज्नेको संख्या ठूलो देखिएको छ।

उत्पादनमूलक क्षेत्रका लागि १९ हजार सात सय चारजनाले दरखास्त दिँदा कृषि र पशुपालन क्षेत्रमा काम गर्न ४४ हजार तीन सय ९७ ले दिएका छन्। स्वदेशमा कृषि कर्म गर्न अप्ठेरो मान्ने युवायुवतीको सोही काम गर्न विदेशमा लस्कर लाग्ने गरेको देखिएपछि त्यस्तो प्रवृत्तिले अचम्भित बनाएको शाखाका कर्मचारी बताउँछन्। देशमा श्रम गर्न सक्ने व्यक्ति वैदेशिक रोजगारीमा जाँदा पछिल्लो समयमा विदेशबाट खाद्यान्न आयात हुने क्रम पनि निकै बढेको छ। स्वदेशी उत्पादनलाई जोड नदिँएसम्म देशको विकास हुन नसक्ने विकासविद र नीति, निर्माताले बताउँदै आए पनि सरकारले न युवालाई स्वदेशमा व्यस्त राख्ने कार्यक्रम घोषणा गरेको छ। न त युवायुवतीले स्वदेशमै केही गरौं भन्ने धारणा राखेको पाइन्छ। श्रम बजारमा प्रवेश गर्ने अधिकांश युवायुवतीको चाहना वैदेशिक रोजगारीमा कसरी जाने भन्ने नै देखिने गरेको छ।

सन् २००८ देखि कोरियाले कृषि र पशुपालन क्षेत्रमा आवश्यक जनशक्ति नेपालबाट लिएर आवश्यकता पूरा गर्दै आइरहेको छ। हालसम्म इपिएसमार्फत करिब ४२ हजार श्रमिक कोरिया गइसकेका छन्। मासिक सवा लाख रुपैयाँ पारिश्रमिक र श्रम स्वीकृति करिब पाँच वर्षको हुने भएकाले पछिल्ला वर्ष कोरिया जान मरिहत्ते गर्ने युवायुवतीको संख्या बढ्दो छ।

१८ देखि ३९ वर्षको उमेर हद तोकिएको कोरिया जान स्नातकोत्तर तहको अध्ययन सकाएकाले समेत दरखास्त दिएको शाखाका कर्मचारी बताउँछन्। सन् २०१८ का लागि कोरियाले तोकेको १० हजार दुई सय कोटामध्ये ६ हजार दुई सय कृषि र पशुपालन तथा चार हजार उत्पादनमूलक क्षेत्रका लागि छुट्ट्याइएको  भण्डारीले जनाए। शाखाले यो वर्षदेखि अनलाइनबाट दरखास्त संकलन हुने व्यवस्था मिलाएको हो। पहिलोपटक अनलाइन प्रयोग गरिए पनि दरखास्त संकलनका कुनै समस्या नभएको शाखाले जनाएको छ। 'केही दरखास्तवालाले गलत इमेल दिएकाले प्रवेश पत्र पठाउन पाएका छैनौं,' भण्डारीले भने, 'दरखास्तवालाले गरेको गल्तीबाहेक अन्य कुनै समस्या देखिएको छैन।' हालसम्म करिब पाँच सयले प्रवेश पत्र प्राप्त नगरेको गुनासो गरेको उनले बताए।

भाषा परीक्षाका लागि प्रवेश पत्र प्राप्त नगरेका तथा दरखास्त बुझाउँदा नाम, जन्ममिति, राहदानी नम्बर बिगारेकाहरूले चैत २० देखि २५ गतेसम्म सच्याउनु पर्ने भण्डारीले बताए। 'चैत २५ गते संकलन गरेका सबै दरखास्त कोरिया पठाइने भएकाले त्यसपछि केही गर्न सकिँदैन,' उनले प्रस्ट पारे। दरखास्त दिएको व्यक्तिहरूको भाषा परीक्षा जेठ २६ र २७ गर्ने काठमाडौंमा हुने कार्यतालिका बनाइएको छ। त्यस्तै भाषा परीक्षाको नतिजा असार १६ गते हुने शाखाले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०७३ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App