coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

वन्यजन्तु सिकार :  कति जायज?

वैदिक साहित्य वेदमा मानव समाजलाई दिएको एउटा मुख्य सन्देश हो– 'अहिंसा परमो धर्म।' अर्थात हत्या नगर्नु नै मानवको सबैभन्दा ठूलो धर्म हो। त्यस्तै 'मां हिंस्यात सर्वभूतानि' पनि भनिएको छ जसको अर्थ हुन्छ– कुनै पनि प्राणीको हत्या नगर। श्रीमद्भगवद्गीता (१५.७)मा भगवान् श्रीकृष्ण भन्नुहुन्छ– ममैवांशो जीवलोके जीवभूतः सनातनः यस भौतिक जगत्का जति प्राणी छन्, ती सबै मेरा सानो अंश हुन्। यसरी हेर्दा हामी हरेक जीव एकअर्काका दाजुभाइ, दिदीबहिनी, साथीभाइ, इष्टमित्र नै हौं। अनि हामी कसरी आफ्नो परिवारका सदस्य मार्न सक्छौँ? त्यस्तै भगवान् गौतम बुद्धले कलि युगमा अत्यधिक हिंसा गरेको देखेर 'सदया ह्रदयाः' भन्नुभएको छ। उहाँलाई हृदयमा ठूूलो दया आयो र त्रिपिटकमा प्राणी मात्रको रक्षा गर अर्थात प्राणीको हत्या नगर भन्नुभएको छ। जेसस क्राइस्टले पनि बाइबलमा 'तिमी हत्या नगर' भन्ने निर्देशन दिनुभएको छ। विश्वमा जबसम्म जेसस क्राइस्ट, गौतम बुद्ध र वेदको निर्देशनबमोजिम प्राणीको हत्या रोकिँदैन तबसम्म जतिसुकै प्रयत्न गरे पनि शान्ति कायम हुन सक्दैन। नत्र किन अमेरिकामा हरेकजसो वर्ष बन्दूकधारीको आक्रमणमा परी स्कुले बालबच्चाको कत्लेआम हुन्थ्यो त?

विश्वमा जबसम्म जेसस क्राइस्ट, गौतम बुद्ध र वेदको निर्देशनबमोजिम प्राणीको हत्या रोकिँदैन तबसम्म जतिसुकै प्रयत्न गरे पनि शान्ति कायम हुन सक्दैन।

श्रीमद्भागवतम्मा प्राणीमात्रको रेखदेख गर्नु मानवताको महान् कर्म भनिएको छ। हिंस्रक जनावरको संख्या वृद्धि भएर धनजनको क्षति हुनबाट जोगाउनका लागि राजाहरूले सिकार खेल्ने व्यवस्थाबारे वैदिक साहित्यमा उल्लेख छ। कुनै पनि राजाको कर्तव्य हुन आउँथ्यो कि जनावरबाट आफ्ना प्रजाको कुनै क्षति हुन नदिनू। राजाको दायित्व हो कि प्रजाको धनजनको रक्षाका लागि हिंस्रक जनावरको सिकार गरेर तिनको संख्या नियन्त्रण गर्नु। तर श्रीमद्भागवतम्मा यो पनि भनिएको छ– राजाले पशु हत्या गरेको अपराधमा सजाय पाउने कुरा अकाट्य छ र यो अपराध कसैले रोक्न सक्दैन।

 नेपालमा हाल हिंस्रक वन्यजन्तुको नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोक्नका लागि बहुलाएको हात्ती र मान्छे खान पल्केको बाघलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १० (क) र (ख) बमोजिम तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन वा लखेट्न सकिनेछ भन्ने व्यवस्था छ। त्यस्तै सोही ऐनको दफा २१ मा आफ्नो वा अरु कुनै व्यक्ति वा घरपालुुवा जनावरको बचावटका लागि अन्य कुनै विकल्प नभएमा हातहतियार प्रयोग गर्दा कुनै वन्यजन्तु मर्न गएमा वा घाइते भएमा कसुर मानिने छैन भन्ने व्यवस्था छ। ऐनको दफा १० बमोजिम तोकिएको अधिकारी को हो त? स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) मा प्रमुख जिल्ला अधिकारी (सिडियो) ले बाघ, चितुवा वा अन्य हिंस्रक जनावरले आफ्ना जिल्लाभित्रका कुनै ठाउँमा दुःख दिएको कुरा नगरपालिका वा गाउँ विकास समितिले प्रतिवेदन गरेमा सो जनावर मार्न लगाई वा वन तथा भूसंरक्षण मन्त्रालयले निर्देशन दिएबमोजिम गर्नुपर्नेछ भन्ने व्यवस्था छ। सोबमोजिम धनजनको सुरक्षाका लागि सिडियोले उक्त वन्यजन्तु मार्न आदेश दिन सक्छ। तर श्रीमद्भागवत्ममा धनजनको क्षति हुनबाट रोक्नु सिडियोको दायित्व हो, उसले यो कर्तव्य पालन गर्नैपर्छ तापनि पशु हत्या गर्न आदेश दिएका कारण आदेश दिने सिडियोले अनिवार्यरूपमा सजाय पाउँछ भनिएको छ।

 प्रसङ्ग कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सिकार खेल्न अनुमति दिने सम्बन्धमा केन्द्रित छ। डब्लुडब्लुएफले कञ्चनजङ्घाको स्थापना र व्यवस्थापनमा ठूलो मेहनत र लगानी गरेको छ। तर अहिले यसको व्यवस्थापनमा एकातिर डब्लुडब्लुएफले हात झिकिदियो भने अर्कोतिर नेपाल सरकारले अरु संरक्षित क्षेत्रमा करोडौ बजेट विनियोजन गर्ने गरेको छ तर कञ्चनजङ्घा संरक्षण क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न व्यवस्थापन समितिलाई यथेष्ट बजेट विनियोजन गर्ने चासो दिएको छैन। संरक्षण क्षेत्र सञ्चालन गर्नका लागि बजेट अभाव भएको भन्ने बहानामा नाउरको सिकार गर्न दिने तयारी भइरहेको सञ्चारमाध्यममा आइरहेका छन्। यसको मारमा हिउँ चितुवाको आहार नाउरले भोग्नुपर्ने अवस्था सिर्जेको छ। यो पनि कुनै स्वार्थी सिकारी ग्याङको योजना होला। नत्र बुद्ध र पशुपतिनाथको देशमा बुद्धिस्टहरूको बाहुल्य रहेको ताप्लेजुङको उत्तरी भेगमा र कञ्चनजङ्घाको फेदीमा हिउँ चितुवाको मुख्य आहार नाउरको सिकार गर्ने अनुमति दिने तयारी कसरी हुन्थ्यो?

 यदि वर्षमा ८–१० वटा नाउर सिकार गराएर आर्थिक समृद्धि हुने भए ढोरपाटन सिकार आरक्ष स्थापना भएको ३० वर्ष पुगिसक्यो। त्यहाँ नाउर सिकारबाट सरदर वर्षमा २०–४० लाख कमाएर त्यस ठाउँको प्रगति हुने भएदेखि ढोरपाटन सिकार आरक्ष वरपरका स्थानीय बासिन्दाको आर्थिक अवस्थामा कायापलट हुनुपर्ने होइन र? बरु चितवन राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रवरपरका बासिन्दाको आर्थिक अवस्था सुधारमा पर्यापर्यटनको कारण ठूलो टेवा पुगेको छ। ढोरपाटनमा आउने पर्यटकको वार्षिक संख्या १०० भन्दा कम हुन्छ भने अन्नपूर्ण संरक्षण क्षेत्रमा वार्षिक लाखौंको संख्यामा पर्यटक ओइरिन्छन् किन? यसबाटै थाहा हुन्छ कि सिकार खेल्न दिँदैमा न पर्यटक ओइरिन्छन् न त यो आम्दानीको राम्रो बाटो नै बन्न सक्छ।

 विश्वमा मध्यएसियाका १२ देश अफगानिस्तान, भुटान, भारत, काजकिस्तान, क्रिगिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, रसिया, नेपाल, मंगोलिया, चीन र पाकिस्तानका हिमाली क्षेत्रमा मात्र जम्मा ४५१०–७३५० वयस्क हिउँ चितुवाको रेकर्ड गरिएको छ। नेपालमा पनि से–फोक्सुण्डो र सगरमाथा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजङ्घा संरक्षण क्षेत्रमा गरेर जम्मा ३००–४०० को संख्यामा हिउँ चितुवा पाइन्छन्। जलवायु परिवर्तन, आहारा प्रजातिको कमी, प्रतिशोधात्मक हत्या, चोरी सिकार नै चितुवा संरक्षणका मुख्य समस्या हुन। अनुसन्धानकर्ता र संरक्षणविद्ले के भनेका, लेखेका छन् भने जहाँ जहाँ नाउर जान्छ, हिउँ चितुवा पनि त्यतै त्यतै बसाइँ सर्छ। हिउँ चितुवा नाउरको पछि पछि लाग्छ, जसरी भेडी गोठालो चौरी र भेडाको पछि लाग्छ। किनकि उसको मुख्य आहार प्रजाति नै नाउर हो। तर अहिले हामी त्यही नाउर मार्ने अनुमति दिएर दुर्लभ जनावर संरक्षण गर्ने घोषणामा रमाइरहेका छौँ। यो बाझिने नीतिले कतै हामीलाई नै जिस्काइरहेको त छैन? महसुस हुने कहिले?

 नेपाल जस्तो भौगोलिक अवस्थिति रहेको देशमा हिउँ चितुवाको संरक्षणले अहं भूमिका खेलेको हुन्छ। हिमाली भूभागको वातावरणीय सन्तुलन कायम गर्न यो जनावरको उपस्थिति नै पहिलो शुभसंकेत हो। यदि हिमाली क्षेत्रमा हिउँ चितुवा देखिन छाड्यो भने त्यहाँको वातावरणीय असन्तुलनको नकारात्मक असरबाट केवल हिमालमात्र होइन, पहाड र तराई पनि अछूतो रहन सक्दैनन्। यो कुरा बुझ्ने/बुझाउने कसलाई? यो देशका नेता र योजनाकार यस्तो महत्वपूर्ण कुरा बुझ्नै खोज्दैनन्। वातावरण विनाश भयो भने तिम्रो भौतिक समृद्धिले केही हुनेवाला छैन भन्ने कुरा कसरी सम्झाउने? २¬–४ लाखको लोभमा र केही मानिसको सौख र मनोरञ्जन अनि जिब्रोको स्वादका लागि हामी हाम्रो सम्पदा विनाश गर्ने बाटोतर्फ लागिरहेका छौँ। आफ्नै खुट्टामा बन्चरो हान्दैछौँ। जसरी चुरे विनाश गरेर अहिले पछुताउनुपरेको छ। यो कुरा मनन गर्ने कसले?

 पशुपतिनाथ पशुहरूका पति हुन्। उनले कसरी आफ्ना सन्तति मारिएको सहन सक्छन्? पशुपतिनाथले रक्षा गरुन् भनेरमात्र हुँदैन, उनको निर्देशन पनि पालना गर्नुपर्छ। गौतम बुद्धको देश भनेरमात्र हुँदैन्, बुद्धको निर्देशन अक्षरशः पालना गर्नुपर्छ। नत्र बुद्धको के तात्पर्य, बुद्धको आदेशको के अर्थ? पशु हत्या गरेर समृद्धि खोज्नु मृगमरीचिकाजस्तै हो। बुद्ध र पशुपतिनाथको देशमा जबसम्म पशु हत्या हुन्छ तबसम्म देशमा शान्ति आउँदैन। सबैले बुझे हुन्छ।

प्रमुख संरक्षण अधिकृत, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज  

प्रकाशित: १८ चैत्र २०७३ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App