८ वैशाख २०८१ शनिबार
अन्य

शताब्दीछेउमा स्वस्थ जीवन

वसन्त खड्का/शान्ति लामा

हिन्दू धर्मशास्त्रअनुसार सामान्यतः मनुष्यको आयु सय वर्ष मानिन्छ । औसत नेपालीको हकमा यो धेरै टाढाको कुरा हो । पछिल्लो अध्ययनलाई मान्ने हो भने नेपालीको औसत आयु ७१ वर्ष मात्र पुगेको छ । यो पनि विगतको तुलनामा झन्डै दोब्बरले वृद्धि भएर ।

हरेक दिन बिहान ६ बजे उठिसक्ने राष्ट्रकवि घिमिरे केही समय ओछ्यानमै प्राणायाम गर्छन् । ‘स्वस्थ चिन्तन, सिर्जनशीलता र योगले मानिसलाई स्वस्थ बनाउँछ,’ उनी भन्छन्, ‘इच्छाशक्तिले नै मानिसलाई अघि बढ्ने प्रेरणा दिन्छ । सक्दिनँ कि भन्ने भावना राख्यो भने त्यसले मानिसलाई अघि बढ्नबाट रोक्छ ।’

आमनेपालीलाई धर्मशास्त्रमा उल्लेख भएअनुसारको लामो जीवन जिउने अवसर जुर्दैन । तर, नेपालका केही चर्चित व्यक्ति शताब्दीको यात्रामा पनि सक्रिय छन् । शताब्दीछेउ पुगेका उनीहरू लामो र अर्थपूर्ण जीवन मात्र जिएका छैनन्, आआफ्नो क्षेत्रमा सक्रिय उपस्थिति पनि जनाइरहेका छन् ।

विशेषगरी नेपाली साहित्य क्षेत्रको प्रतिनिधित्व गर्ने केही हस्तीले यस्तो दुर्लभ अवसर पाइरहेका छन् । शताब्दीनजिकको यात्रामा रहेका तिनै चर्चित पात्रको स्वस्थ जीवनको रहस्योद्घाटन गर्ने प्रयत्न गरिएको छ ।

शताब्दीछेउ पुगेका यी हस्तीमा एउटा समान विशेषता भेटिन्छ– दूधमोह । संस्कृतिविद् जोशी भन्छन्, ‘मेरो खानामा नियमित नै गाईको दूध हुने गर्छ । एक गाईपालकले घरमै नियमित दूध ल्याइदिन्छन् ।’

सिर्जनशीलताले स्वस्थ राष्ट्रकवि
७ असोज १९७६ मा जन्मिएका राष्ट्रकवि माधवप्रसाद घिमिरे ९८ वर्षको उमेरमा पनि स्वस्थ र लेखनमा सक्रिय छन् । विभिन्न औपचारिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका उनी हाल महाकाव्य लेख्न व्यस्त छन् । वृद्ध अवस्थामा पनि स्वस्थ र सक्रिय जीवनको रहस्य खोल्दै घिमिरेले भने, ‘मलाई आजसम्म स्वस्थ र सक्रिय रहन सिर्जनशीलताले सहयोग गरिरहेको छ ।’

हरेक दिन बिहान ६ बजे उठिसक्ने उनी केही समय ओछ्यानमै प्राणायाम गर्छन् । ‘स्वस्थ चिन्तन, सिर्जनशीलता र योगले मानिसलाई स्वस्थ बनाउँछ,’ उनी भन्छन् । प्रकृतिले जस्तो दियो, त्यस्तै ढंगले जिउन सकेमा मानिस दीर्घजीवी र स्वस्थ रहने उनको अनुभव छ । घिमिरे शरीर, श्वास र मनलाई स्वस्थ राखेमा सम्पूर्ण जीवन नै स्वस्थ रहने बताउँछन् । उनी हरेक मानिसलाई ‘म सक्छु’ भन्ने भावना विकास गर्न सुझाव दिन्छन् । इच्छाशक्तिले नै मानिसलाई अघि बढ्ने प्रेरणा दिने उनको अनुभव छ । ‘सक्दिनँ कि भन्ने भावना राख्यो भने त्यसले मानिसलाई अघि बढ्नबाट रोक्छ,’ उनी भन्छन् ।

वृद्धावस्थामा प्रायः मानिसमा परिवार वा आफन्तसँग अनावश्यक गुनासो गर्ने प्रवृत्तिको विकास हुने हुनाले यसले परिवारसँगको सम्बन्ध सुमधुर हुन नसक्ने उनको बुझाइ छ । ‘अनावश्यक गुनासो गर्ने र ससानो कुरामा चित्त दुखाउने प्रवृत्तिले आफैलाई दुःखी बनाउँछ,’ उनले भने ।

वृद्धावस्थामा आफैले स्वास्थ्यको ख्याल गर्नुपर्ने र परिवारसँग राम्रो व्यवहार गर्नुपर्ने उनी बताउँछन् । परिवारका सदस्यको बदख्वाइँ गर्ने बानीले सम्बन्ध बिग्रने र यसले बाँकी जीवन कठिन हुने उनको तर्क छ । ‘बुढेसकालमा यो भएन र त्यो भएन भनेर चिन्ता गर्नुको कुनै औचित्य छैन, जे छ त्यसैमा खुसी हुन सक्नुपर्छ । यसले बाँकी जीवन पनि सहज हुन्छ,’ घिमिरेले भने ।

नियमित दाल, भात, तरकारी खाने उनी वृद्धावस्थामा आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै शरीरको आवश्यकताअनुसार मात्रै खानुपर्ने सुझाव दिन्छन् । पहिलेपहिले लेखनलाई पहिलो प्राथमिकता दिने घिमिरे हाल स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छन् । यसको कारण बताउँदै उनले भने, ‘यो उमेरमा आफ्नो स्वास्थ्यको ख्याल आफैले गर्नुपर्छ । स्वास्थ्य राम्रो भयो भने लेखन आफै राम्रो भइहाल्छ ।’
अहिले उपत्यकामा सडक विस्तारले उत्पन्न भइरहेको धुलोका कारण आमनागरिकको स्वास्थ्य कमजोर भइरहेकामा उनी चिन्तित छन् । जनताको स्वास्थ्यभन्दा ठूलो केही नहुने भन्दै उनले सरकारलाई धुलो नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह पनि गरे ।

चिन्तन–मननले तन्दुरुस्त सत्यमोहन  
संस्कृतिविद् सत्यमोहन जोशी उमेरले ९७ लागे । ऊर्जा, जोस र जाँगर हेर्दा उनको उमेर त्यति होला भनी पत्याउनै गाह्रो हुन्छ । ३० वैशाख १९७७ मा जन्मिएका जोशी चिन्तन–मननबिनाको जीवन अर्थपूर्ण नहुने बताउँछन् । ‘लामो जीवन जिउनु मात्र ठूलो कुरा होइन, अर्थपूर्ण जीवन जिउन सकियो भने त्यसको महŒव हुन्छ,’ जोशी भन्छन् । हाल एउटा पुस्तकको भूमिका लेखिरहेका उनी विभिन्न कार्यक्रममा समेत सक्रिय सहभागिता जनाउँदै आएका छन् ।

अध्ययनशील स्वभावका उनी लामो समयसम्म सक्रिय जीवन जिउन दर्शनशास्त्रले महŒवपूर्ण भूमिका खेलेको बताउँछन् । जोशी भन्छन्, ‘दर्शन मेरो बुढेसकालको साथी हो ।’ सन्तोषको भावना, चिन्तन–मनन, आफूलाई आफैले चिन्ने तथा वृद्धावस्थासम्म पनि केही योगदान दिन सकेमा लामो आयु वरदान साबित हुने जोशीको बुझाइ छ । तर, अर्थपूर्ण जीवन जिउन नसकेको खण्डमा लामो आयु श्रापजस्तै हुने उनी बताउँछन् । जोशी भन्छन्, ‘विवेक तथा क्षमतासहितको बुढ्यौलीपन अर्थपूर्ण हुन्छ, अन्यथा दुःखदायी पनि हुन सक्छ ।’

खानामा सामान्य दाल, भात, तरकारी खाने जोशीलाई हरेक दिन बेलुका एक ‘पेग’ मदिरा खानैपर्छ । उनी भन्छन्, ‘रक्सीले बेफाइदा मात्रै होइन, औषधिको काम पनि गर्छ ।’

रक्सीको ब्रान्ड भने सधैँ एउटै नहुने उनको भनाइ छ । जोशी अहिले पनि लट्ठीको सहाराबिनै हिँडडुल गर्छन् । ‘छोराले हिँडडुलमा सहारा होस् भनेर लट्ठी ल्याइदिएको छ, तर म अहिले पनि लट्ठी प्रयोग नगरी हिँड्छु,’ उनले भने ।

नियमित प्राणायाम र व्यायाम गर्छन् दीक्षित

साहित्यकार मदनमणि दीक्षित, दीक्षित परिवारमा ९० वर्षभन्दा बढी बाँच्ने पहिलो व्यक्ति हुन् । ‘लामो आयु बाँच्नु ठूलो कुरा भएन, सक्रिय भएर बाँच्नु महŒवपूर्ण कुरा हो,’ ९४ वर्षीय दीक्षित भन्छन् । आफ्नो भनाइजस्तै उनी यो उमेरमा पनि सक्रिय छन् । सक्रिय मात्र किन ? उनी त अझ व्यस्त छन्, लेखनमा ।
कालिकास्थानमा रहेको आफ्नै निवासको अध्ययनकक्षमा गफिन तयार भएका उनले भने, ‘दुईवटा किताब प्रेसमा छ । सुतेर बसे जिउ कुँजिन्छ, लेखपढमा लागे स्फूर्ति आउँछ ।’ आँखाको दृष्टि कमजोर भएर चस्माको सहारामा अक्षर हेर्नुपर्छ । उनको श्रवणशक्ति धेरै नै कमजोर भइसक्यो, तर आत्मबल भने घटेको छैन । त्यसैले उनी सकेसम्म आफूलाई सक्रिय राख्ने प्रयास गर्छन् । बिहान साढे ४ बजे ओछ्यानबाट ओर्लन्छन् र नित्यकर्मपछि शारीरिक व्यायाममा लाग्छन् । प्राणायाम र हातखुट्टा चलाउने साधारण अभ्यास गर्छन् । भन्छन्, ‘मलाई दीर्घजीवन दिने यो एक्सरसाइज पनि हो कि जस्तो लाग्छ ।’
बिहान ९ बजेतिर खाना खान्छन् । खानामा दाल, भात र तरकारी मिसाएर चम्चाले खान्छन् । दिउँसो ३ बजेतिर हर्लिक्स पिउँछन् । बेलुकाको खानामा एक कचौरा दूध र दुइटा सुक्खा रोटी टुक्रा गरेर भिजाएर खान्छन् ।

गएको साल चैततिर वसन्त चौधरीले दीक्षितलाई नर्भिक अस्पतालमा निःशुल्क उपचार गराइदिने चिठी पठाए । यसका लागि उनी चौधरीप्रति कृतज्ञ छन्, ‘त्यसपछि अहिले बिरामी परे त्यतै जान्छु । दुईचोटि त्यसको लाभ उठाएँ ।’

२००७ सालपछि कम्युनिस्ट बन्ने लहडमा उनले रक्सी र चुरोट खान सिके । यद्यपि, २०÷२५ वर्षपछि चुरोट रक्सीको लत छुट्यो । उनी भन्छन्, ‘पछि बोध भयो, रक्सी र चुरोटले मान्छेको आयु घटाउन ठूलो काम गर्छ । यो खानु हुँदैन ।’

पत्नी रीता दीक्षितको जोडमा मदनमणिले रक्सी–चुरोट छाडेका हुन् । अहिले पनि मदनलाई निकै माया र हेरचाह गर्ने रीता मदनभन्दा चार वर्ष कान्छी हुन् । दुई वर्षअघिसम्म मदनमणिलाई रीता आफै खाना बनाएर ख्वाउँथिन् । ‘बुढेसकालमा फूर्तिलो हुन समयमा खानुपर्छ । मैले पनि उहाँ (मदन) लाई सधैँ समयमा खान दिने गरेकी छु ।’ जवानीमा त वीरगन्ज (माइत) बाट ल्याएर मदनलाई उनले घिउ पनि खुबै खान दिएकी थिइन् ।

मध्यरातमा सुरु हुन्छ भद्राकुमारीको लेखन

गएको फागुन १९ गते ८६ वर्ष पूरा भएकी भद्राकुमारी घले सामाजिक काममा व्यस्त छिन् । बुढेसकालमा अझ धेरै सक्रिय रहेकी घलेको स्वस्थ जीवनको विशेष सूत्र केही छैन । तर, उनको सुत्ने बानी भने अनौठो छ ।

दिनको ४ बजे सहरमा मानिसको दौडधूप चलिरहेको हुन्छ, भद्राकुमारी भने सुतिरहेकी हुन्छिन् । कुनै अस्वस्थताका कारण उनी दिउँसै सुतेकी भने होइनन्, न त उनको रात्रिकालीन कुनै व्यस्तता नै छ । यो त उनको दैनिक सुत्ने तालिका हो, उनी दिउँसो ४ बजे सुतेपछि राति ११ बजे उठ्छिन् । ‘राति जब मानिसहरू मस्त निद्रामा हुन्छन्, अनि मेरो पढाइ–लेखाइको काम सुरु हुन्छ,’ उनी भन्छिन् ।

अहिलेसम्म पनि लेखपढ गर्न उनले छाडेकी छैनन् । मैतीदेवीमा रहेको बहिनीको घरको छतमा घाम ताप्दै अखबार र किताब पढ्छिन् । लेखनमा पनि उनी दैनिकजसो कलम चलाउँछिन् । उनी भन्छिन्,

‘बुढेसकालका गन्थन लेख्छु । दैनिक कविता र निबन्ध पनि लेख्छु ।’ उनले आफ्नै दैनिकीदेखि समाज र देशको परिस्थितिबारे मनका विचार पोखेर कविता र टिप्पणी लेखेर प्रकाशन गरेकी छन् ।

उनको विचारमा काममा सधैँ सक्रिय रहे धेरै वर्ष स्वस्थ भएर बाँच्न सकिन्छ । खानपानको बानी पनि उनको अलि फरक छ । दिउँसो ४ बजे सुत्नुअघि उनी चिउरामा दुइटा केरा मुछेर दूधसँग खान्छिन् । साथमा केही सागसब्जी र तरकारी अनिवार्य खान्छिन् । बिहान तातो र चिसो मिलाएर तीन–चार गिलास पानी पिउँछिन् । बिहानको खानामा ९ बजे दिदीको घरबाट ल्याएको तरकारीसँग भात खान्छिन् । त्यसपछि दिउँसो २ बजेतिर चिया खान्छिन् । त्यसबाहेक घरमा उपलब्ध भएसम्म फलफूल खाने उनी शाकाहारी हुन् । दैनिक बिहान आधा लिटर र बेलुका आधा लिटर गरी एक लिटर दूध भने उनको नछुट्ने खान्की हो ।
सामान्य औषधिबाहेक स्वास्थ्यका कारण कुनै औषधि उनले खानुपरेको छैन । उनले योग किताब पढिन् र आफ्ना लागि सजिलो प्रकारको योगाभ्यास तयार पारेकी छन् । आफैले बनाएको त्यही योग उनी नियमित गर्छिन् ।

शताब्दीछेउ पुगेका सबैको दूधमोह

शताब्दीछेउ पुगेका यी हस्तीमा एउटा समान विशेषता भेटिन्छ– दूधमोह । राष्ट्रकवि घिमिरे भन्छन्, ‘बाल्यकालमा म दूध मात्र खाएर हुर्किएको हुँ, त्यही स्वभावले हुन सक्छ, अहिले पनि अन्य कुरा खाएपछि अन्त्यमा दूध–भात खानैपर्छ ।’ उनले आफ्नो खानामा दूध अनिवार्य रहेको जनाए ।

संस्कृतिविद् जोशी पनि नियमित गाईको दूध पिउँछन् । ‘मेरो खानामा नियमित नै गाईको दूध हुने गर्छ,’ उनले भने । उनलाई एक गाईपालकले घरमा नियमित दूध ल्याइदिने गर्छन् ।

भद्रकुमारी पनि नियमित दूध पिउँछिन् । ‘दिनमा एक लिटर दूध खान्छु, बिहान आधा लिटर र बेलुका आधा लिटर,’ उनले भनिन् ।

मदनमणि पनि नियमित दूध पिउँछन् । ‘हरेक दिन बेलुका एउटा सुक्खा रोटीसँगै एक कचौरा दूध खाने गरेको छु,’ दीक्षितले भने ।

प्रकाशित: १९ चैत्र २०७३ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App