१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

गिरान्चौरमा राजपाल यादव

काठमाडौं– नेपालमा छायांकनरत फिल्म ‘करोडपति’मा अभिनय गर्न भारतबाट आएका चर्चित कमेडियन राजपाल यादव केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा राम्रै छाए । फिल्मका नायक आर्यन अधिकारीसँगको तस्बिरभन्दा पनि सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माण भइसकेको ‘धुर्मुस सुन्तली एकीकृत नमूना बस्ती’मा राजपाल पुगेको तस्बिर फेसबुकमा भाइरल भयो । कतिपयले उक्त तस्बिर हेरेपछि बस्ती अवलोकनका लागि राजपाल पुगेको अड्कल गरे । तर, राजपाल गिरान्चौर हेर्नका लागि हैन, सुटिङका लागि त्यहाँ पुगेका थिए । यो सुटिङ मात्र थिएन, फरक भूगोलका हास्य कलाकारलाई भावनात्मक रुपमा जोड्ने कडी पनि थियो ।

क्लाइमेक्स खिच्नका लागि उपयुक्त स्थानको खोजी भइरहेको बेला फिल्म युनिटको ध्यान गिरान्चौरको बस्तीले तान्यो । त्यहाँको बस्तुस्थिति बताउँदै एकीकृत बस्तीमा प्रवेश गराइदिने माध्यम बने, नेपाली हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ । गत साता ‘धुर्मुस’ ‘धुर्मुस सुन्तली फाउण्डेसन’ले तेस्रो चरणअन्तर्गत महोत्तरीको मुसहर बस्तीमा निर्माण गरिरहेको एकीकृत नमूना बस्तीमा पुग्ने बाटोको ड्रेन बनाउने काममा व्यस्त थिए । आगामी बैशाख १ गते स्थानीय मुसहर समुदायलाई ५३ वटा नयाँ घर हस्तान्तरण गर्ने तयारी गरिरहँदा उनको मोबाइलमा फिल्म ‘करोडपति’का निर्माण नियन्त्रक सुरज आचार्यको फोन बज्यो । सीतारामले मोबाइल उठाएर सुरजसँग गफ गर्न मात्र के सुरु गरेका थिए, उनको मुहार नै उज्यालो भयो ।

‘कहिलेकाहीँ अनौठो किसिमको संयोग पनि मिल्दोरहेछ, भारतीय कमेडियन राजपाल यादवको अभिनय रहेको उक्त फिल्मको सुटिङका लागि उहाँहरुले सिन्धुपाल्चोकको गिरान्चौरस्थित धुर्मुस सुन्तली एकीकृत नमूना बस्तीमा गर्न चाहनुभएको रहेछ,’राजपालका फ्यानसमेत रहेका सीतारामले भने,‘एउटा देशको कमेडियनलाई अर्को देशको कमेडियन जोडीले बनाएको बस्तीमा सुटिङ गराउन पाउनुभन्दा ठूलो अवसर अरू बेला कहिले पाइएला र !’

सुटिङका लागि गत शुक्रबार गिरान्चौर पुगेका राजपालले सीतारामसँग टेलिफोनमा पनि कुराकानी गरेका थिए । ‘म भगवानलाई धन्यवाद दिन चाहन्छु कि आज मलाई यस्तो पवित्र ठाउँमा ल्याउने वातावरण बनाइदिनुभयो,’राजपालको भनाई उद्यृत गर्दै सीतारामले भने, ‘नेपालमा भुइँचालो गएको मलाई राम्ररी थाहा थियो, तर एउटा गरिब समुदायलाई राम्रो घरमा बस्ने वातावरण बनाउने काम तपाईहरुले गर्नुभएको छ भन्ने कुरा चाहिँ थाहा थिएन । तपाईहरुको जोडीले राम्रो मानवीय काम गर्नुभएको रहेछ । तपाईसँग भेटेर गफ गर्ने मन थियो । तर बलिउडमा पनि नयाँ फिल्मको काम भइरहेकाले भेट्ने मौका मिलेन ।’

सीतारामका अनुसार हालसम्म कुनै पनि फिल्मको सुटिङ नभएको गिरान्चौरमा भारतीय कलाकारको समेत सहभागितामा सुटिङ हुनु आफैमा गर्वको कुरा थियो । राजपाल अभिनित अधिकांश कमेडी फ्लेबरका फिल्म हेरेका सीतारामलाई राजपालको ‘चुप चुपके’ र ‘पार्टनर’ फिल्मको चरित्र निकै मनपरेको रहेछ । ‘उहाँका अधिकांश फिल्म मैले हेरेको छु, फिल्ममा देखिरहने मान्छेसँग मोबाइलमा कुराकानी गर्न पाउँदा मेरो मन प्रसन्न भयो,’ उनले भने,‘मैले उहाँलाई प्रत्यक्ष भेटघाट हुन नसके पनि सामाजिक सञ्जाल फेसबुकमार्फत संवाद गर्न सक्छौं भन्ने सल्लाह दिएँ ।’

सीताराम महोत्तरीमै भए पनि उनले सुरजलाई गिरान्चौरस्थित नमूना बस्तीका रामबहादुर तामाङको फोन नम्बर दिए । तामाङको नम्बर पाएपछि सुरजले तामाङलाई सम्पर्क गरेर सुटिङ समय निर्धारण गरेपछि गिरान्चौरको बस्तीतर्फ सुटिङ युनिट हिड्यो । ‘बाटोमा जाँदै गर्दा हामीले सीताराम र उनकी श्रीमति कुञ्जना घिमिरे ‘सुन्तली’ले काभ्रेको पहरी बस्ती र सिन्धुपाल्चोकको गिरान्चौरको बस्तीमा निर्माण गरेका नयाँ घरका बारेमा राजपाललाई जानकारी गरायौं,’सुरजले भने, ‘गिरान्चौरको नमूना बस्ती देख्दा उहाँ निकै उत्साहित र रोमाञ्चित हुनुभयो, त्यहाँ पुग्दा उहाँले धर्तीलाई नमन गर्दै धुमुर्स–सुन्तलीलाई धन्यवाद दिनुभयो ।’

निर्माण नियन्त्रक आचार्यका अनुसार फिल्ममा राजपालले नायक आर्यन अधिकारीको मामाको भूमिकामा अभिनय गरेका छन् । ‘विदेशमा बसिरहँदा नेपालमा भूकम्प गएको थाहा पाएपछि नेपाल हाम्रो देश हो, दुःखको बेलामा सहयोग गर्नुपर्छ भनेर विदेशमा कमाएको पैसा बिर्सेर उनीहरु बस्तीको पुनर्निर्माणका लागि नेपाल फर्किन्छन्,’आचार्यले फिल्मको क्लाइमेक्स खुलाए,‘त्यसैअन्तर्गत उनीहरुले गिरान्चौरमा बस्ती पुनर्निर्माण गरेपछि समुदायलाई हस्तान्तरण गर्न त्यहाँ फिल्मको अन्तिम दृश्य खिचिएको हो ।’ उनले गिरान्चौरमा नायिका नीता ढुंगाना, नायक आर्यन र राजपालसहितका कलाकारको दृश्य खिचिएको बताए ।

फिल्मको छायांकन सकेर जनकपुर पुगेका राजपाल त्यहाँ यादव समुदायको भेलामा सहभागिता जनाएपछि भारत फर्किएको आचार्यले उल्लेख गरे । उनका अनुसार राजपालले गिरान्चौरका स्थानीयसँग केही समय भलाकुसारीसमेत गरेका थिए ।

फिल्मको निर्माताका बारेमा केही नखुलाए पनि फिल्म नेपाल र भारतका निर्देशकले निर्देशन गरेको बताए। ‘ फिल्मका दुईतीनवटा दृश्य खिचेपछि एउटा गीत खिच्नका लागि हामी मुस्ताङ जानेछौं, सम्भवत अब ११ दिनमा फिल्मको सबै सुटिङ सकिनेछ ’ आचार्यले भने । यो फिल्म अधिकारी ब्रदर्श पिक्चर्स र केतन फिल्मस्ले संयुक्तरुपमा निर्माण गरिरहेको छ ।

 

प्रकाशित: २२ चैत्र २०७३ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App