coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रोकिएको छैन ‘त्रास’ को पहिरो

भोटेकोसी कटानले बगाएका लिपिङ बजारका घर । तस्बिर: टेकनारायण भट्टराई

तातोपानी (सिन्धुपाल्चोक)-धन्नले बाँचे उनीहरू तर अझै मुहारमा चमक फर्किएको छैन । हताशा, त्रास र थकान मात्र देखिन्छ । तलबाट भोटेकोसी कटान, माथि अक्करबाट झरिरहेको चट्टाने पहाड । त्यसमाथि झरी बर्संदा पीडाले निचोरिन्छ उनीहरूको मन ।भोटेकोसी बाढीले निम्त्याएको विनाशलीलाको छैटौं दिन बाह्रबिसे बजार छोडेर खुर्सानीबारी हुँदै लिपिङ बजारको मितेरी पुल पुग्दा उराठलाग्दो सन्नाटा र कारुणिक दृश्यबाहेक केही देखिएन । बाढीले खोस्रिएका भित्ता समाउँदै, अक्करबाट खसिरहेका चट्टान छल्दै पार गरिएको यो यात्रा कम्ती त्रासद रहेन ।

सडक कुनामा पहाडमा टाँसिएका घर चट्टानले थिचिएका छन् । बाढीले बगाएका घरसंरचना बगरमा यत्रतत्र छरिएका छन् । ठाउँठाउँमा सडकको नामोनिसानै छैन । कतै धस्सिएको सडक चिराचिरा छ । केही घरसंरचना जमिनमा झुन्डिरहेछन् त बिजुलीका खम्बा र तार जताततै लत्रिएका  । नदी कटान र पहिरो जोखिममा रहेका घरबाट सामान निकाल्ने क्रम जारी छ । बचेखुचेको सडकमा झिटीझ्याम्टा र पोकापन्तुरा यत्रतत्र छन् ।

नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी आउजाउ गर्ने अरनिको राजमार्गको बाह्रबिसे–लिपिङ २६ किमी खण्डमा यस्तै मात्र देखिन्छ अहिले । पुरानो व्यापारिक नाका बाह्रबिसेदेखि नै सुरु हुन्छ, त्रासद दृश्यावली । बीचमा अनगिन्ती खहरे मिसिँदा झन् ठूलो हुने भोटेकोसी तटीय क्षेत्रका दुवैतर्फका घरतिर     सोझिँदै छ । नदी नियन्त्रण गर्न लगाइएको पर्खाल र तारजाली बगाउँदै भोटेकोसीले कमलो माटो कटान गरेर घरका जग हिर्काइरहेकै छ ।

राजमार्गको जम्बुबाट अघि बढ्नेबित्तिकै सडक हराउन थाल्छ । नदीले ठाउँ–ठाउँमा सडक कटान गरिरहेकै छ । पैदल बाटोधरि बाँकी छैन । तलमाथि दुवैतिर चट्टाने पहिरो खसिरहेकै छन् । जति माथि उक्लियो विनाश उति धेरै थपिँदै जान्छ । केटाकेटी र महिला रुवाबासी गर्दै भागिरहेका भेटिन्छन् । लत्ताकपडा, सुन, गरगहना जोगाउन चुइँचुइँती भारी बोकेर बाह्रबिसेतिर झरिरहेको लावालस्कर राजमार्गैभरि देखिन्छ ।
चाकु र नयाँ पुलबीचको पहिरोमा भेटिए, झिर्पुका निमा शेर्पा । टाउकोमा बडेमानको भारी छ । ‘घर भोटकोसीले तान्ने भइहाल्यो,’ निधारबाट तुरुक्क पसिना खसाल्दै उनले भने, ‘सामान मात्रै भए पनि जोगाउन पाए हुन्थ्यो ।’ आठ भरियालाई भारी बोकाएर बाह्रबिसे झर्दै रहेछन् उनी । ‘त्यहाँ आफन्त छन्,’ भारी बोकेर झन्डै दुई घन्टा हिँडिसकेका उनले सुस्केरा हाल्दै भने, ‘भोटेकोसीले बाँच्न देलाजस्तो छैन !’

 नदीकिनारका जम्बु, बसेरी, नयाँ पुल, चाकु, हिन्दी र खोकुन्डोल बजारमा उस्तै सन्नाटा छ । कतै जाने ठाउँ नभएका स्थानीय भिरबाट खसिरहेका चट्टान छल्दै त्यहीँ बसिरहेका छन् । पसल, होटल खोलेर दिउँसो बटुवालाई चिया, खाजा बेच्ने उनीहरू राति सुत्न भने अन्यत्र जान्छन् ।
 नदी कटानले लार्चानजिक निर्माणाधीन सुक्खा बन्दरगाह उच्च जोखिममा छ । जमिन काटेर बगिरहेको लेदो माटो र ग्रेगरले खोकुन्डोल र हिन्दी बजार तान्दै छ । लार्चा पुल कटेपछि लिपिङसम्म झन्डै ११ किमी क्षेत्रमा विनाशको चरम रुप देख्न सकिन्छ । लार्चामा निरन्तर पहिरो खसिरहेको छ । ठीक त्यहीँनिर नदीले सडक कटान गरिरहेको छ । बेला–बेलामा माथिबाट ठूल्ठूला चट्टान खस्छन् । बम विस्फोट भएको आवाजमा त्यो नदीमा बज्रँदा छाल निकै माथि आइपुग्छ ।

 ज्यान बचाउन भाग्दै गरेका पासाङबुटी शेर्पा दम्पतीलाई त्यही पहिरो र चट्टानले अघि बढ्न दिएन । उनीहरू १० किलोमै रोकिए । ‘अब भागेर जाऊँ, कुन ठाउँ जाऊँ ?’ फुल्पिङकट्टीस्थित माइतीमा आश्रय लिन हिँडेकी पासाङबुटी हातगोडा कमाउँदै डाँको छोडेर रुन थालिन् । तातोपानीमा रहेका उनीहरूका दुई घर भूकम्पले ढाल्यो । त्यसपछि १० किलोमा डेरा लिएका उनीहरू मजदुरी गरी पालिँदै आएका थिए ।
 
झन्डै १५ सय कन्टेनर अटाउने १० किलोस्थित पार्क बगरमा परिणत भएको छ । त्यहाँ विशाल पहिरो खसेको छ । केही घर क्षतिग्रस्त अवस्थामा छन् । त्यहीँ रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी आयोजनाको बाँध क्षतिग्रस्त छ । बाँधमाथि ठूल्ठूला चट्टान थुप्रिएका छन् । नदीले राजमार्ग कटान गर्दै पहिरो निम्त्याएपछि सडकमाथिका घर बग्ने अवस्थामा छन् । 

भूकम्पले क्षतिग्रस्त घरमा बसोबास भने थिएन । खाली ठाउँमा बनाएको टहरो भत्काएर जतिसक्दो छिटो भाग्ने हतारोमा थिए स्थानीय । ‘जमिन लच्किसक्यो । सामान निकाल्न पनि भ्याइएलाजस्तो छैन,’ टहरो भत्काउँदै गरेका धनबहादुर तामाङले भने । उनका छिमेकी पनि त्रासैत्रासमा टहरा भत्काइरहेका थिए ।

जग खोतलिएका १० किलोका केही घर स्थानीयले खाली गराइसकेका छन् । सडक किनारमा थुप्रिएका सामान सुरक्षित स्थानमा लैजान जुटिरहेछन् उनीहरू । मुख्य तातोपानी बजार छिर्ने सडक नदीले तान्दा आवागमन बन्द छ । स्थानीयले घर छाडेर हिँडेपछि बजार सुनसान छ ।  

पहिला मानसरोवर बोर्डिङ स्कुल रहेको ठाउँमा अहिले नदी बगिरहेको छ । तातोपानी निमावि, स्वाथ्यचौकी कटानमा परिरहेकै छन् । तातोपानी धाराको आधा संरचना नदीले बगाइसकेको छ । त्यहाँबाट केही अघि बढ्दा फेरि सडक टुटेको छ । सडक नदीले तान्दा आठ घर बगेका छन् । भिरमा अड्केका दुई घरबाट स्थानीय ज्यानको बाजी थापेर सामान निकालिरहेका थिए ।

कोदारीदेखि माथिको बजार झन्डै–झन्डै उखेलिएको छ । कोदारी बजार प्रवेशस्थलमै नदीले तान्दा ठूलो विनाश निम्तिएको छ । निरन्तर कटानले सडकमाथिको नयाँ बस्ती खोतलिँदै छ । आइतबार दिउँसो बग्न ठिक्क परेका घरबाट पुरुषहरू सामान निकाल्दै थिए ।  महिलाहरू रुवाबासी गरिरहेका थिए ।
गाँस न बास
तातोपानी अघिपछि पनि पानी परिरहने क्षेत्र हो । खासामा त झन् हरेक दिनजसो वर्षा हुन्छ । त्यसैले भोटेकोसी सतह घट्नुको सट्टा अझै बढिरहेको छ । तातोपानी क्षेत्रमा प्रायः साउन, भदौमा बाढी र पहिरो निम्तिन्छ । यसपालि अगाडि नै निम्तिएको विपत्तिले स्थानीय थप त्रस्त छन् । ‘चिनियाँ प्रहरीले थप बाढी आउन सक्ने भन्दै यहाँ नबस्न आग्रह गरेका छन्,’ नोगेनले भने । उनका अनुसार खोंच भएर बग्ने भोटेकोसीले बाढीका बेला ६ मिटर उचाइ लिएको थियो ।

बाढीपछि काठमाडौंमा घर हुनेहरू उतै लागिसकेका छन् । अन्यत्र जाने विकल्प नरहेकाहरू चौकी डाँडामा विस्थापित छन् । दिउँसो जसोतसो मन बाँधे पनि राति पानी पर्दा उनीहरू निदाउन सक्दैनन् । सडक र सञ्चारबाट तातोपानी एक्लिएको छ । सदरमुकाम र काठमाडौंसँगको सम्बन्ध विच्छेद भएको छ । सडक छैन, सञ्चार–सुविधा छैन । बिजुलीबत्ती छैन । अन्धकारमा छ तातोपानी । आकस्मिक कामका लागि स्थानीय ज्यान जोखिममा पारेर चट्टान र पहिरो छल्दै बाह्रबिसे पुगिरहेका छन् । विपत्तिको साता बित्दा सरकारका प्रतिनिधिसम्म नआएकोमा उनीहरूको गुनासो छ ।
 ‘खाद्यान्न सकिन लाग्यो । ल्याउने बाटोघाटो छैन,’ स्थानीय पदम लामाले भने, ‘भोकमरीमा पर्न लागिसक्यौं ।’ उनका अनुसार १० किलोस्थित झोलुंगे पुल बगाउँदा भोटेकोसीपारिको पाङ्सेगो गाउँ नाकाबन्दीमा परेको छ । नदी किनारको बस्ती जोखिममा परेपछि स्थानीय ज्यान जोगाउन माथि जंगलतिर लागिरहेका छन् । ‘उनीहरू के खाएर कहाँ बसिरहेका छन्, पत्तो छैन,’ उनले चिन्ता गर्दै भने ।
 

भोटेकोसी कटानले बगाएका लिपिङ बजारका घर । तस्बिर: टेकनारायण भट्टराई
भोटेकोसी कटानले बगाएका लिपिङ बजारका घर । तस्बिर: टेकनारायण भट्टराई
भोटेकोसी कटानले बगाएका लिपिङ बजारका घर । तस्बिर: टेकनारायण भट्टराई
भोटेकोसी कटानले बगाएका लिपिङ बजारका घर । तस्बिर: टेकनारायण भट्टराई
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App