coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदाता शिक्षा पुगेनः ‘श्रीमानले भनेकालाई नै भोट’

तिलाठी (सप्तरी)– ‘चुनावमा भोट कसलाई हाल्ने ?’ मतदाताका लागि लागि यो नितान्त व्यक्तिगत प्रश्न हो । आफ्नो वर्ग र समुदायको हित गर्न सक्ने, सिद्धान्त अनुकूल हुने तथा आफूले रुचाएका उम्मेदवारलाई भोट हाल्ने स्वतन्त्रता सबैमा हुन्छ ।

बहुसंख्यक महिला मतदाताको हकमा भने यस्तो देखिँदैन । पति, पिता, छोरा वा परिवारका सदस्य जसमाथि उनीहरू आश्रित हुन्छन्, उनीहरूकै निर्णयका आधारमा भोट हाल्ने गरेको सप्तरीका ग्रामीण महिला बताउँछन् ।

‘आगामी निर्वाचनमा कस्ता उम्मेदवारलाई भोट हाल्नुहुन्छ त ?’ भन्ने प्रश्नमा सप्तरी सकरपुरा गाविस–१ की लिलिया खंगले भनिन्, ‘कसलाई हाल्ने त ? उहाँ (पति) जसलाई भन्नुहुन्छ त्यसैलाई नै हाल्ने हो नि ।’ हालसम्म आफूले पतिकै निर्णयअनुसार गरेको उनले बताइन् । लिलियाले भनिन्, ‘अहिलेसम्म त उहाँले नै भनेको ठाउँमा  भोट हाल्दै आएकी छु ।’

सकरपुराकै शोभा मुखिया पनि पतिकै निर्णयअनुसार मत हाल्ने गरेको बताउँछिन् । ‘परिवारका बारेमा सबै निर्णय उहाँ (पति) नै लिनुहुन्छ’, उनले भनिन्, ‘भोट हाल्न जाँदा उहाँले चुनाव चिह्न बताइदिनुहुन्छ । म गएर त्यसमै छाप लगाइदिन्छु ।’

ग्रामीण भेगमा बसोबास गर्ने दलित तथा निम्नवर्गीय महिला मात्रै नभई पढेलेखेका महिलामा पनि मत हाल्ने निर्णय पनि आफ्नो भएको पाइँदैन ।

तिलाठी–७ की गुञ्जन झा हाल बिएड अध्ययनरत छिन् । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत झाले पनि घरपरिवारको सल्लाहबमोजिम भोट हाल्ने बताइन् । ‘घरको सम्पूर्ण महŒवपूर्ण निर्णय बुवाले नै गर्दै आउनु भा’ छ, मतदान पनि गम्भीर र महŒवपूर्ण विषय हो तसर्थ उहाँकै सल्लाहबमोजिम गर्नुपर्ला’, उनले भनिन् ।

आफ्नो मनले मतदान गर्नुपर्ने कुरा सैद्धान्तिक मात्रै रहेको राजविराज–८ की २५ वर्षीया सोनी साह बताउँछिन् । ‘यी सब कुरा किताब र भाषणमा सुहाउँछन्’, उनले भनिन्, ‘व्यावहारिक रूपमा हेर्ने हो भन्ने अहिले पनि महिलाका लागि त्यस्तो स्वतन्त्रता आएको छैन । फेरि जसले जिते पनि उस्तै, अनि किन बुवा, दाजुभाइ र घरपरिवारका कुरा नमान्नु ? जहाँ भन्छन्, त्यहीं भोट हालिदिन्छु ।’

आरक्षणबारे बेखबर

स्थानीय तहको निर्वाचनमा महिलाका लागि झन्डै ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । कुनै पनि गाउँपालिका वा नगरपालिका प्रमुख वा उपप्रमुखमध्ये एक पदमा अनिवार्य महिला राख्नुपर्ने प्रावधान छ । त्यस्तै प्रत्येक वडाका चार सदस्यमध्ये एक जना दलित महिलासहित दुई जना महिला सदस्य अनिवार्य राख्नुपर्ने व्यवस्था छ । यद्यपि यसबारे अधिकांश महिलालाई जानकारी छैन ।

‘अहिले त चुनाव हुन्छ वा हुँदैन त्यसमै अन्योल छ, अन्य जानकारी खै के पाउनु ?’ राजविराज–८ की सञ्जु यादवले भनिन्, ‘स्थानीय तहमा महिलाका लागि विशेष आरक्षण गरिएको सुनेकी थिएँ, तर ठ्याक्कै केकति आरक्षण हो जानकारी भएन ।’ सरकार र दलहरूले यस विषयमा चासो देखाउनुपर्ने सञ्जुको भनाइ छ ।

संघीय समाजवादी फोरमकी युवा नेत्री सुनिता साह चुनाव घोषणासँगै तराई÷मधेसमा जारी आन्दोलन र खासगरी फाल्गुन २३ को मलेठ घटनापछि  सप्तरीको अवस्था झन् असहज बन्न पुगेकाले आरक्षणलगायतका बारे महिलालाई जानकारी नभएको बताउँछिन् । ‘मोर्चा र सरकारबीच राजनीतिक सहमतिपछि महिलालाई पनि जानकारी गराउने काम हामी आफ्नो स्तरबाट पनि गर्छौं तर राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्छ’, उनले भनिन् ।

‘महिला मतदाताका लागि विशेष अभियानको खाँचो’

लोकतान्त्रिक प्रक्रियाबारे आवश्यक जानकारी तथा मतदाता शिक्षाको अभावका कारण महिलाको मत पुरुष मतकै आधारमा विभाजन हुने महिला अगुवाको गुनासो छ । ‘पुरुषको मतका आधारमा महिलाको मतदान हुने भन्दा बहुसंख्यक महिलाले अझै मतको महŒव नबुझ्नु ठूलो मुद्दा हो’, अवकाश प्राप्त प्राचार्य मीना ठाकुर भन्छिन्, ‘पति वा पिताले भन्दैमा भोट हाल्यो भने त्यो खराब होइन बरु महिलाले पनि भोटको महŒव बुझेमा उनीहरूले पति वा पितालाई सही सल्लाह दिन सक्छन् ।’

मतदान के हो, एउटा मतको महŒव कतिको छ, आफू अनुकूलका उम्मेदवारलाई जिताएर पठाउँदा कतिको फाइदा हुन्छ भन्नेबारे महिलामा चेतना स्तर बढाउन सकियो भने लोकतन्त्रका लागि निकै फलदायी हुने ठाकुरको भनाइ छ । महिला मतदाताका लागि छुट्टै निर्वाचन शिक्षासम्बन्धी कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ ।

‘आरक्षण मात्रैले हुँदैन, जानकारी र जागरण (शिक्षा) को पनि खाँचो छ’, उनले भनिन्, ‘अहिले पनि समय छ, ग्रामीण महिलाका लागि घरदैलो केन्द्रित निर्वाचन शिक्षा ल्याउन सकियो भने त्यसले राज्यका निकायमा राजनीतिका माध्यमले महिलाको वास्तविक प्रतिनिधित्व पु¥याउन सघाउँछ ।’

निर्णायक मत हुँदाहुँदै पनि महिला प्रतिनिधित्व दिनप्रतिदिन न्यून हुँदै गएको अर्का अधिकारकर्मी आभासेतु सिंहको भनाइ छ । महिलाप्रति राजनीतिक दलको रबैया पनि सन्तोषजनक नरहेको उनको गुनासो छ ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्यांकअनुसार अगामी स्थानिय तह निर्वाचनका लागि सप्तरीमा कुल तीन लाख ३९ हजार ६ सय पाँच नेपाली नागरिकता भएका मतदाताको नाम दर्ता गरिएको छ । जसमध्ये एक लाख ७३ हजार सात सय चार महिला मतदाता छन् ।

प्रकाशित: २३ चैत्र २०७३ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App