८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव प्रचारमा हिँड्ने शिक्षकको जागिर जाने

बाजुरा- जिल्ला शिक्षा कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर चुनावी प्रचारमा हिँडे शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ। स्थानीय तह निर्वाचनलाई लक्षित जानकारी पत्र प्रकाशित गरी शिक्षा कार्यालयले राजनीतिक दलका सभा सम्मेलनमा हिँड्ने शिक्षकलाई कारबाही गर्ने बताएको हो।

                निर्वाचन आचारसंहिता विपरित कार्यमा संलग्न शिक्षकलाई तत्काल कारबाही गरिने निमित्त जिल्ला शिक्षा अधिकारी धर्मराज जोशीले बताए। पेशागत मर्यादालाई बिर्सेर जबरजस्त चुनावी प्रचारमा हिँडेको, भाषण गरेको, झण्डा बोकेको प्रमाणका आधारमा जागिरबाटै बर्खास्त गर्ने सम्मको कारबाही हुन सक्ने जोशीले बताए।   

                शिक्षा कार्यालयले चैत्र २१ गते जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयलाई बोधार्थ सहीतको जानकारी पत्र प्रकाशित गरेको हो। शिक्षकहरु शिक्षण पेशालाई छोडेर आचार संहिता विपरित राजनीतिक दलको चुनाव प्रचारमा खटिएको चौतर्फी आलोचना बढेपछि कडा पत्र जारी गरेको हो।

निर्वाचन आयोगले सरकारी सेवा सुविधा लिने जुनसुकै व्यक्ति वा संस्थाले राजनीतिक दलको झण्डा बोकेर चुनावी प्रचार प्रसारमा जान नमिल्ने गरी आचार संहिता बनाएको छ । राजनीतिक गतिविधिमा निजामति कर्मचारी भन्दा शिक्षकहरु बढी संलग्न देखिएका छन्।

राजनीतिक दलका चुनावी प्रचार अभियान देखि आमसभा र आर्थिक संकलनमा समेत शिक्षकहरु नै खटन पटनमा देखिएका छन् । उनीहरुले आफ्नो पेशागत इमान्दारीता नै बिर्सेर चुनावी प्रचार लागे स्वयम व्यक्तिका लागि पनि राम्रो नहुने जिल्ला शिक्षा कार्यालयले बताएको छ।

कार्यालयले जिल्ला छोड्दा समेत सम्पर्कमा बस्नु पर्ने, कारण देखाएर मात्र विदामा बस्नु पर्ने र चुनाव अवधिभर विद्यालय समयमा अनिवार्य शिक्षण पेशामा संलग्न हुनु पर्ने निर्देशन जारी गरेको छ।

प्रकाशित: २३ चैत्र २०७३ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App