७ वैशाख २०८१ शुक्रबार
राजनीति

उम्मेदवार आकांक्षी धेरै, छान्नै सकस

सिन्धुपाल्चोक- स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्लामा क्रियाशील राजनीतिक दल उम्मेदवार छनोटमा जुटेका छन्। नयाँ संरचनामा झन्डै १९ वर्षपछि हुन लागेको स्थानीय चुनावमा आकांक्षी धेरै देखिएपछि उम्मेदवार छान्न दलहरूलाई उत्तिकै सकस भइरहेको छ।

 जिल्लाका प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा उम्मेदवार छनोटमा जुटेका हुन्। जिल्लाको १२ वटै तहको प्रकृतिअनुसार बहुपक्षीय प्रतिस्पर्धा हुने भएकाले दलहरू बढीभन्दा बढी भोट तान्ने योग्य उम्मेदवारको खोजीमा छन्।

 दुई पार्टी एकीकरणपछि उत्साही राप्रपा उम्मेदवारी छनोटमा अगाडि देखिएको छ। स्थानीय तहका एक सय तीन वडामध्ये अधिकांशमा बडा समिति उम्मेदवार छनोट गरिसकेको पार्टी जिल्ला अध्यक्ष गोपाल श्रेष्ठले बताए। 'हेलम्बु, पाँचपोखरीलगायत गाउँपालिकाका केही वडामा मात्र उम्मेदवार छान्न बाँकी छ,' उनले भने। वडा टुंगिएपछि गाउँपालिका र नगरपालिका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखको उम्मेदवार छान्ने उनले बताए।

गाउँ, नगर समिति पुनर्गठन गरेर वडा भेला गरिरहेको एमालेले उम्मेदवार छान्न लामै गृहकार्य गरेको छ। अध्यक्ष झम्क नेपाल जिल्ला समिति बैठकले उम्मेदवार छान्न मापदण्ड नै बनाएको बताउँछन्। 'लोकप्रिय, पारदर्शी, पार्टीमा निरन्तर समर्पण भएको, विकास निर्माणको भिजन भएको र त्यसको नेतृत्व गर्न सक्ने नेताकार्यकर्ता मात्रै उम्मेदवार हुन्छन्', उनले भने।

 स्थानीय तहको नेतृत्वदेखि वडा सदस्यसम्म उम्मेदवारको आकांक्षी धेरै देखिएको उनले बताए।

 सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सम्भावित उम्मेदवारको प्रारम्भिक खाका तयार गरिसकेको छ। अन्य दलले समेत उम्मेदवार सार्वजनिक नगरेका कारण उसले त्यस्ता नाम गोप्य राखेको माओवादी स्रोतले बतायो। माओवादी जिल्ला नेता माधव सापकोटा भने बिहीबार बस्ने जिल्ला समिति बैठकले उम्मेदवार छनोटको मापदण्ड बनाउँदै अन्य निर्णय गर्ने बताउँछन्। 'मापदण्डका आधारमा उम्मेदवार छान्छौं', उनले भने।

 परिवर्तित संरचनामा गाउँ, नगर समिति बनाएर वडा भेला गरिरहेको माओवादीले नेतृत्वदेखि तल्लो पदसम्म धेरै आकांक्षी देखिएको जनाएको छ।

 गाउँ, नगर समिति पुनर्गठनका साथ वडा भेला गरिरहेको कांग्रेसले योग्य उम्मेदार पहिचान गरिरहेको छ। 'पपुलर फिगरले जित्ने हो', कांग्रेस जिल्ला सभापति विकास लामाले भने, 'त्यस्ता उम्मेदवार पहिचान गरिरहेका छौं।' उनले बढीभन्दा बढी भोट ल्याउन सक्ने योग्य उम्मेदवार पहिचान गर्न वडा तहसम्मै प्रतिनिधि खटाएको बताए। 'सबैभन्दा बढी आकांक्षी भएको पार्टी कांग्रेस हो। सर्वसम्मत निर्णयको प्रयास गर्छौं', उनले भने।

प्रकाशित: २४ चैत्र २०७३ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App