coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सुटिङ स्थल बन्दै भोटेचौर

भोटेचौर(सिन्धुपाल्चोक)- पारितिर शिवपुरी निकुञ्जको हरियो वन, वारितिर अर्को पहाड। त्यसैको बिचमा छ सिन्धुपाल्चोकको भोटेचौर चियाबगान। 'मिनी इलाम' को रुपमा परिचित यो स्थानका सानाठूला थुम्काका वरिपरि चियाका बुट्यान छन्। केही दिनयता निरन्तर पानी परेपछि हरिया मुना पलाउँदा यो स्थान झनै सुन्दर देखिएको छ।

यही सुन्दर ठाउँमा गत शनिबार स्वर्गीय राजा महेन्द्र वीरविक्रम शाहद्वारा लिखित तथा गुलाम अलीको स्वरमा रहेको गीत 'गाजलु ती ठूलाठूला आँखा'को भिडियोलाई नयाँ स्वरुपमा अहिलेका युवा पुस्ताले छायांकन गरिरहँदा वातावरण निकै रमाइलो बनेको थियो।

सिन्धुपाल्चोकको भोटेचौर चियाबगानमा गत शनिबार गीतका केही अंशहरुको सुटिङ चल्यो। भिडियोका मोडल जोडी गीतका भावलाई हाउभाउमा ढालिरहँदा भिडियोका छायाकार उनीहरुका गतिविधिलाई क्यामरामा कैद गर्न व्यस्त थिए। जरी भरेको कालो सारी लगाएकी मोडललाई एकतमासले हेर्दै पुरुष मोडल गीतको तालमा ओठ चलाउँदै थिए।

मोडलद्वयको यो क्रियाकलाप नियाल्न नजिकै र अलिपरको माथिल्लो थुम्कामा स्थानीयको भिड नै लागेको थियो। एउटा–दुईवटा गर्दै चियाबगानका केही लोकेसनमा गीतको सुटिङ गरेर कलाकार टोली तल ओर्लिँदासम्म क्यामरा रोकिएको थिएन।

पिकनिक पार्कमा रहेको ग्रीनभ्यू रिसोर्टका सञ्चालक राजु गुरुङले भिडियो छायांकन गर्न सुटिङ युनिटहरु धेरै आउने गरेको बताए। ‘यही साता दुईवटा गीतको सुटिङ भयो,’ उनले भने, ‘फिल्मको सुटिङ त कति हो कति भनिसाध्यै छैन।’ उनले शुक्रबार र शनिबार सुटिङ टोलीसँगै पार्कमा रमाइलो गर्न आउनेहरुको घुइँचो लाग्ने जनाए।

जोरपाटीदेखि भोटेचौरसम्म पुग्ने सडकको मर्मत भइरहेकोले पानी परेका बेला सवारी चल्न अप्ठ्यारो हुँदा सुटिङ टोली रोकिने गरेका छन्। अर्का व्यवसायी लक्ष्मण खतिवडाले काठमाडौंको धुलोधुवाँबाट मुक्त भई केही समयका लागि रमाउनेका लागि चियाबगान राम्रो गन्तव्य बनेको दाबी गरे।

‘हामीले सुटिङमा आउनेका लागि मात्र सेवा दिएका हैनौं, पिकनिक र परिवार प्याकेज पनि चलाएका छौं,’ खतिवडाले नागरिकसँग भने, ‘सुटिङ टोली आउँदा घुम्न आउनेलाई थप रमाइलो हुँदोरहेछ।’

म्युजिक भिडियो र फिल्म सुटिङ गर्न आउनेलाई चियाबगानमा ताजा चियाको स्वाद चखाउन पनि यहाँका व्यवसायी उत्तिकै सक्रिय छन्। ‘यहाँको चिया बढी अर्गानिक भनेर विदेश जान्छन्, नेपाली बजारमा पुग्दैनन्’ स्थानीय भन्छन् ,‘तर हामी घरमै चियाका बोट लाएर हरियो चिया पिउने सोख पूरा गर्छौं।’

स्थानीय वृद्ध धर्मप्रसाद अधिकारीले भोटेचौरमा धेरै आगन्तुकहरु 'मिनी इलाम' भनेर हेर्न आउँदा नायकनायिकासँग पनि भेट हुने गरेको बताए। स्थानीयका अनुसार यहाँ चिया रोपेको २२ वर्ष भए पनि मानिसको आउजाउ चार वर्षअघि बाटो बनेपछि बढेको छ।

करिब १३ सय रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानमा चियाका बुटामाझ सेल्फी खिच्नु, र विभिन्न पोजमा फोटो खिच्नु घुम्न आउनेका लागि दैनिकी नै बनिसकेको छ। पिकनिक खान आउनेले चियाका बुट्टा बिगार्न थालेपछि स्थानीयको पहलमा बगानभित्रै पिकनिक खान भने बन्देज गरिएको छ।

सहरिया खानेकुरादेखि लोकल कुखुरा, गुन्द्रुक, ढिडो, मोही, निगुरो, भुइँस्याउजस्ता खान्की भनेअनुसार पाइने भएकाले पनि कलाकार र रमाइलो गर्नेहरुका लागि भोटेचौर नयाँ स्वाद चाख्ने थलो पनि बनेको छ। 'ठाउँ निकै रमाइलो रहेछ' पिकनिक खान आएका संजीव बस्यालले भने 'बाटो देख्दा दिक्क लागे पनि यहाँ आएपछि सबै भुलिने रहेछ।'

नजिकै खोलाको चिसोपानीमा ट्राउट माछा पालिएका छन्। माथि अर्को डाँडामा देउताको पुरानो मन्दिर छ। शिवपुरी राष्ट्रिय निकुञ्जका वन र अरु डाँडामा फुलेका राताम्य गुराँस र नजिकै चिसो झरना सुटिङ गर्नेहरुका लागि सुन्दर ठाउँ हुन्।

ऐतिहासिक गुफा, हाइकिङ र साइक्लिङमा जानेहरुको लहर यही देख्न पाइन्छ।

काठमाडौंदेखि ३२ किलोमिटर दुरीमा रहेको भोटेचौर जान र आउन  भाडा खर्च १ सय ९० रुपैयाँ लाग्छ। बौद्ध, जोरपाटी, साँखु, जर्सिङ पौवा, चौकी र धारापानी हुँदै देउराली डाँडा खोल्सापारी नगर गिरानचौर गाविस हुँदै भोटेचौर पुग्न सकिन्छ।

प्रकाशित: २४ चैत्र २०७३ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App