८ वैशाख २०८१ शनिबार
समाज

चाबहिलको जामले हैरानी

काठमाडौं- चार वर्षअघि चाबेलको बाटो भएर यात्रा गर्दा हैरान हुन्थे उपत्यकाबासी। कतै निस्कँदा चाबेल वारपार गर्न एक घण्टा छुट्याउनु पर्ने बाध्यता थियो। सडक विस्तारपछि यो बाध्यता हट्यो। विडम्बना, उपत्यकाबासीको यो दिकदारी दोहोरिएको छ। कारण- सवारी जाम।

अहिले गौशाला–मित्रपार्क–चाभेल–गोपीकृष्ण–चुच्चेपाटीमा लामो जाम हुन थालेको छ। कार्यालय समयमा चाभेल छिचोल्ने दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ भने अघिपछिका समयमा पनि एक घण्टाभन्दा कम लाग्दैन। ‘१०/१५ दिनयता चाभेलको जामले धेरैलाई रुवाएको छ,’ महानगरीय प्रहरी प्रभाग गौशालाका प्रहरी नायब निरीक्षक जेजंग कार्कीले बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म बढी जाम हुने बताए। अपरान्ह ५–८ बजे पनि उतिकै जाम हुने गरेको छ।

जामका कारण यात्रु, ट्राफिक, चालक सबै आजित भएका छन्। जाममा परेपछि यात्रुहरु गाडीबाट ओर्लेर हिँड्ने गरेका छन्। ‘चुच्चेपाटीबाट गाडीबाट ओर्लिएर पैदलयात्रा गरिरहेकी कृष्णा मायाले हिलाम्मे खुट्टा देखाउँदै भनिन्, ‘हिड्न पनि बाटो कहाँ छ र! जहीँतहीँ हिलैहिलो छ। जुत्ता, लुगा सबै हिलाम्मे हुन्छ।’ यो समस्या भोग्ने उनी मात्र होेइनन्, चाबेल भएर यात्रा गर्ने धेरैले यस्ता समस्याको सामना गरिरहेका छन्।

चाबेलको जाममा फसेपछि घरगुजारा गर्नै झन्झट भएको चालकहरु बताउँछन्। ‘दैनिक ३/४ पटक ओहोरदोहोर गरिन्थ्यो,’ साँखु–रत्नपार्क मार्गमा बस चलाउने ध्रुव न्यौपानेले भने, ‘चाबेलको जामले दुईपटक पनि आउजाउ गर्न सकिनँ।’ कतिपय चालकले त चाबेलको जामले गर्दा ग्यारेजमा गाडी थन्काएको समेत उनले जनाए। एकाधपटकको कमाइले तेल हाल्न मात्र पुग्ने भएकाले व्यापार धान्न मुश्किल भएको उनको भनाइ छ।

अहिले चाबेलको जाम ट्राफिक व्यवस्थापन गतिलोे नभएर भएको होइन।  गौशाला–मित्रपार्क–चाबेलमा १०/१२ जना ट्राफिक खट्थे भने अहिले २७ जना ट्राफिक रहने गरेका छन्। ‘ यी ठाउँमा बढी सँख्यामा जनशक्ति परिचालन गरिए पनि बाटोको दुरवस्थाले केही लाग्दो रहेनछ,’ प्रहरी नायब निरीक्षक कार्कीले भने, ‘हिलोमा गाडी फसेर बढी झमेला हुने गरेको छ।’ मेलम्चीको खानेपानीको पाइप बिछ्याउने क्रममा खनिएका सडकका कारण नै चाबेल जामको समस्यामा परेको कार्कीको भनाइ छ। पाइप बिछ्याउन खनिएका सडक मर्मत गरिएमात्र चाबेलको जाम हट्ने उनले बताए।

पाइप बिछय्ाइरहेको निकाय मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले चाबेल क्षेत्रको २ सय ५० मिटर सडकमा पाइप बिछ्याउने काम भइरहेको बतायो। यो साताभित्र उक्त सडकमा पाइप बिछ्याउने काम सक्ने र त्यसपछि कालोपत्रे गरिने जनायो। निर्देशनालयले रमन कन्सट्रक्सन निर्माण कम्पनीलाई पाइप बिछ्याउने जिम्मा दिएको छ। निर्माण कम्पनीले लापारबाह भएर निर्माण अघि बढाउँदा पनि धेरै समस्या आइरहेको स्थानीयको दाबी छ। केही दिनअघि सडकलाई लथालिंग पारेर लामो समयसम्म काम नगरेको भन्दै स्थानीय सडकमा समेत उत्रिएका थिए। स्थानीयको विरोधपछि निर्देशनालयले सडकमा दैनिक पाँचपटक पानी हाल्न लगाएर कम धुलो उड्ने बनाएको बताए। निर्माण कम्पनीले पाँचपटक पानी छर्केर धुलो कम गर्नुका साथै पाइप बिछ्याउने कामसमेत तीव्र गतिमा गरिरहेको छ। व्यवस्थित ढंगबाट तीव्र्र गतिमा काम गराएर १५ दिनभित्र चाबेलमा कालोपत्रेको काम सुरु गरिने सुनारले जनाए।

प्रकाशित: २५ चैत्र २०७३ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App