काठमाडौं- आफू अभिनित फिल्मले व्यावसायिक असफलता चाखिरहे पनि नायक निखिल उप्रेतीको फिल्म प्रर्दशन हुने क्रम जारी छ। लामो समयपछि फिल्म 'भैरव'बाट नेपाली फिल्म क्षेत्रमा पुनरागमन गरेका निखिलले यो फिल्मबाट सफलता पाए पनि त्यसपछिका फिल्म भने असफल नै भए। फिल्म असफल बनिरहँदा उनी अभिनिति फिल्म 'राधे' आगामी वैशाख १ गतेबाट अल नेपाल रिलिज हुँदैछ।
फिल्मबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नायक निखिलले आफ्ना फिल्मले पाएको असफलताभन्दा पनि 'राधे'मा निर्वाह गरेको चरित्रमा केन्द्रित भए। 'फिल्मले बेपत्ता पात्रको कथालाई प्राथमिकता दिएको छ। नेपालमा यस किसिमका घटना धेरै भएका छन्, उनीहरुमाथि राजनीति भएको छ,' निखिलले भने, 'राधे चरित्र आफै समस्यामा जेलिएको चरित्र हो, मैले राधे चरित्रलाई मूर्त बनाउने कोसिस गरेको छु।' उनले फिल्ममा सबैको कथा समेटिएकाले सबैले एकपटक फिल्म हेर्नुपर्ने दाबी गरे। निखिल यतिबेला होम प्रोडक्सनको फिल्म 'रुद्र'को छायांकन सकेर 'पिँजडा ब्याक अगेन'को सुटिङमा व्यस्त छन्।
नायिका प्रियंका कार्कीले फिल्ममा आफूले राम्रो चरित्र निर्वाह गरेकाले नयाँ वर्षमा दर्शकले मनोरञ्जन लिने बताइन्। 'फिल्ममा इमोसन धेरै छ, त्यसकारण पनि कुनै न कुनै किसिमले दर्शकको मन अवश्य छुन्छ,' कार्कीले भनिन्।
फिल्मका लेखक तथा निर्देशक जगदीश्वर थापाले फिल्मले बेपत्ता नागरिकको कथालाई प्रस्तुत गर्ने भएकोले दर्शकलाई छुने दाबी गरे। निर्माता सुशील पोखरेलले आफूले हालसम्म व्यावसायिक फिल्म निर्माण गरिरहेकाले फिल्म 'राधे' पनि त्यस्तै फ्लेबरको फिल्म भएको बताए।
कार्यक्रममा नायक निखिललाई मूर्तिकार नवीन सुवेदीले अर्धकदको मूर्ति उपहार दिएका थिए।
फिल्ममा निखिल र प्रियंकासँगै प्रमोद अग्रहरि, शिशिर भण्डारी, अशिष्मा नकर्मी र सलोन बस्नेतलगायतका कलाकारको अभिनय छ। अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र कृष्ण श्रेष्ठको छायांकन छ।
प्रकाशित: २५ चैत्र २०७३ ०३:०७ शुक्रबार