१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

चोर-पुलिस

अँध्यारो रात थियो। त्यसमाथि सुनसान। रातको समय, स्वाभाविकरूपले म सुतिरहेको थिएँ। तर कोठामा कोही थियो जो सुतिरहेको थिएन। वा भनौं जागा नै थियो। जसका कारण कोठामा कुनै खत्र्याक् खुत्रुक आवाज आइरहेको थियो। यति राति के गर्दैछे यो श्रीमती भनेर यसो आँखा खोल्छु त श्रीमती पनि म जस्तै मजाले सुति नै रहेकी थिइ। बरु कोठामा हामी अतिरिक्त अर्का एक व्यक्ति पनि उपस्थित थियो। अपरिचित। अन्जान। नसुतेको उनी नै रहेछन्। ऊ हाम्रो कोठामा कताबाट हो प्रवेश गरी आरामसाथ दराज खोल्ने प्रयास गरिरहेको थियो। शायद साँचो नमिलेर होला, उनको प्रयास सफल भइरहेको थिएन। ऊ आफ्नो काममा यति एकाग्र थियो कि मैले आँखा खोलेको र श्रीमतीलाई पनि उठाएर उसको कामतिर इशारा गरेको उसलाई पत्तै भएन।

उताबाट भनियो, 'ल त्यो पछि मिलाउँला, अहिले यहाँ सुन्, त्यहाँ तेरो एरियातिर भर्खरै एउटा चोर पक्रेको छ रे। घरबेटीले यहाँ फोन गर्‍या गर्‍यै छ। लोकेसन पनि टिपाएको छ। तुरुन्तै गएर लिएर आ त्यो चोरलाई।

अब गर्ने के? कोठामा म छु, श्रीमती छिन् र एक चोर छ। पति, पत्नी और वह भनेजस्तै! चोरको जिउडाल हेर्छु, खासै मासु भात खाएको जस्तो लागेन। मै ढाल्छु कि जस्तो लाग्यो। सोचेँ, अब यो चोरलाई यहींँ समाउनुपर्ला। हामी दुई छौँ। ऊ एक। मेरी श्रीमती पनि बलमा कम्ता त छैन।

म विस्तारै उठेर चोरको छेउ पुगेँ। ऊ पनि ताला खोल्ने सफलताको छेउमै थियो। मलाई देख्नेबित्तिकै चोर झसंग भयो। मैले ‰यापझुप समाइहालेँ। श्रीमतीले एक लात प्रदान गरिहाली। चोर अइ्या बाबा भन्न थाल्यो। श्रीमतीले चोरको मुखैमा कपडाको टालो कोचिन्। ऊ बोल्न सकेन्। अनि कोठैमा भएको पुरानो डोरीले चोरलाई मज्जाले बाँधेर त्यहीं लडाइदिएँ।

ठूलै विजय प्राप्त भएको जस्तो लाग्यो। अनि हतरपतर प्रहरीलाई फोन गरेँ, 'हेलो! प्रहरी कार्यालय हो? यहाँ हामीले एउटा चोर पक्र्यौँ। अहिले बाँधेर राखेका छौँ। तुरुन्त लिन आउनुपर्‍यो।'

मैले आफ्नो पूरा ठेगाना, फोन नम्बर, घरको नम्बर, नक्सासमेत बताएँ। प्रहरीले तुरुन्तै जवानहरू पठाउने जानकारी गरे। ढुक्कै भयो।

तर त्यो ढुक्क अलि लामै चल्यो। किनभने एक घन्टा भइसक्यो प्रहरी आएको होइन। नेपाल प्रहरीलाई चुस्तता भनेको थाहै छैन। न महानिरीक्षक नभएर पो यस्तो ढिलो भएको हो कि? नयाँ महानिरीक्षक आएपछिमात्रै जवान पठाउने विचार त गरेन?

फेरि फोन गरेँ, 'के हो सर? एक घन्टा भइसक्यो खोइ तपाईँको जवान? यहाँ पक्रेको चोरलाई पनि तपाईँको टेबुलसम्मै ल्याएर बुझाएमात्रै पक्रने हो कि क्या हो?'

उताबाट जवाफ आयो, 'ओहो! अझै आएको छैन? तपाईँले भन्नुभएको एरियातिर हाम्रो गस्ती नै गइरहेको छ  तर सेट लागिरहेको छैन। म ट्राइ गर्दैछु। पख्नोस् है, म मोबाइलमा फोन गरिहेर्छु। अनि तपार्इँलाई पनि खबर गर्छु, मोबाइल 'अन' राख्नुहोला।'

'हुन्छ।' मोबाइल त के, यहाँ मान्छे नै 'अन' मा छ नि। कुरेर बसेँ। तर अहँ! फोन आएन। घन्टी बज्ला भनेर मोबाइलमै टोलाएर बसिरेहेँ। चोरचाहिँ उँ..हुँ..भन्दै डोरी फुकाउने प्रयास गर्दै थियो। त्यही बेला अचानक मोबाइलको घन्टी बज्यो। मैले जुरुक्क मोबाइल समाएँ। तर घन्टी मेरोमा बजेको होइन रहेछ। श्रीमतीले आफ्नो मोबाइल हेरी। त्यो पनि बजेको होइन। बजेको त चोरको मोबाइल पो रहेछ! टाङटाङ टुङटुङ...टाङटाङ टुङटुङ...घन्टी बज्न थाल्यो। चोरको त हात खुट्टा दुवै बाँधिएको थियो। उठाउने कुरै भएन। सोचेँ, यो पक्कै यसको साथीको फोन होला। यसलाई लिन प्रहरी आइरहेकै छ। साथीचाहिँलाई पनि यहीँं बोलाएर सँगै मुन्ट्याइदिनुपर्ला।

गएर चोरको मोबाइल लिएँ। ज्याकेटकै पकेटमा थियो। घन्टी बजिरहेकै थियो। स्विच अन गरेँ, तर केही बोलिन। उतैबाट सोधियो, 'ओए! कहाँको तिमी?'

मैले भनेँ, 'यतै छु। को हो?'

उताबाट सोधियो, 'स्वर के भा तेरो? सेट पनि अफ् छ। के भो?

'सेट? कुन सेट?' म अक्मकिएँ।

उताबाट भनियो, 'ल त्यो पछि मिलाउँला, अहिले यहाँ सुन्, त्यहाँ तेरो एरियातिर भर्खरै एउटा चोर पक्रेको छ रे। घरबेटीले यहाँ फोन गर्‍या गर्‍यै छ। लोकेसन पनि टिपाएको छ। तुरुन्तै गएर लिएर आ त्यो चोरलाई। घर थाहा नभए घरपतिको नम्बर टिप् , नाइट अइट फोर वान....'

उताबाट नम्बर टिपाउन थालियो जो मेरै नम्बर थियो।

चोरलाई हेरेँ। चोर मेरी श्रीमतीलाई हेरिरहेको थियो। श्रीमतीचाहिँ भित्तामा टाँगिएको एउटा क्यालेन्डर हेरिरहेकी थिइ जसको मुनि एउटा नारा लेखिएको थियो– प्रहरी मेरो साथी!    

प्रकाशित: २५ चैत्र २०७३ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App