coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मध्यपहाडी लोकमार्गको नयाँ रेखांकन

काठमाडौं- साबिकको लम्बाइमा दुई सय २२ किलोमिटर घट्ने गरी मध्यपहाडी लोकमार्गको नयाँ रेखांकन गरिएको छ। पहिला तय गरिएको नक्सांकनमा कतै ठूला जलविद्युत् आयोजना त कतै सडक निर्माण गर्न नसकिने अवस्था सिर्जना भएपछि लोकमार्ग आयोजनाले  नयाँ रेखांकनको प्रस्ताव गरेका हुन्।

आउँदो ५–६ वर्षभित्र निर्माण कार्य सक्न पाँचथरको चियोभञ्ज्याङ्देखि नुवाकोटको पातीभञ्याङसम्मलाई पूर्वी र पातीभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मलाई पश्चिम खण्डको रूपमा विभाजन गरिएको छ। पूर्वी खण्डलेे चियोभञ्ज्याङ्सँग जोडिने भारतीय नाकामा सिक्किमको राष्ट्रिय निकुञ्ज पर्ने भएकाले र खुर्कोट–सुनकोसी खण्डमा विभिन्न जलविद्युत् आयोजना बन्ने तयारी भएको भन्दै नयाँ रेखांकनको प्रस्ताव गरेको हो।

लोकमार्गमा सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३, इन्द्रावती, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, भेरी, छेदा, लोहरे, सेती, पञ्चेश्वर जस्ता ठूला जलाशयुक्त विद्युत् आयोजना बन्ने चर्चा चलेपछि लोकमार्गको रेखांकन बदल्न प्रस्ताव गरिएको।

त्यस्तै पश्चिम खण्डमा बूढीगण्डकी जलविद्युत् आयोजनालाई छल्ने गरी नयाँ  रेखाकंनको प्रस्ताव गरिएको बताइएको छ। लोकमार्गको पूर्वी र पश्चिम खण्डले प्रस्ताव गरेका नयाँ रेखांकनलाई  स्वीकृतिका लागि भौतिक तथा पूर्वाधार मन्त्रालयमा पठाइए पनि उक्त प्रस्तावबारे के गर्ने भन्नेबारे कुनै निर्णय भइसकेको छैन।

मन्त्रालयका सहसचिव राजेन्द्र शर्माले दुवै खण्डले स्वीकृति प्राप्त गर्न पेस गरेका नयाँ रेखांकनलाई स्वीकृत गर्ने या पुरानैलाई मान्यता दिइने भन्नेबारे केही दिनमै टुंगो लाग्ने बताए। 'लोकमार्गको विभिन्न खण्डमा बनाउने भनिएका ठूला जलाशययुक्त विद्युत् आयोजनाले सडकलाई क्षति पुर्‍याउने देखिए पनि ती आयोजना कहिले बन्ने हुन् भन्नेबारे राष्ट्रिय योजना आयोगसँग छलफल गर्न बाँकी छ,' शर्माले भने।

नयाँ प्रस्ताव गरिएको रेखांकनमा पहिलाभन्दा दुई सय २२ किलोमिटर कम प्रस्ताव गरिएको छ। पहिला मध्यपहाडी लोकमार्गको लम्बाइ एक हजार सात सय ६६ किलोमिटर हुने भनिएको थियो। हाल प्रस्ताव गरिएको नक्सांकनमा एक हजार पाँच सय ४४ किलोमिटरको प्रस्ताव गरिएको छ। शर्माका अनुसार सुनकोसी–दोलालघाट–मेलम्ची हुँदै नुवाकोटसम्मको नयाँ रेखांकन प्रस्तावले धेरै दुरी घटाएको देखिएको हो। उक्त लोकमार्गमा सुनकोसी–१,  सुनकोसी–२, सुनकोसी–३, इन्द्रावती, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, भेरी, छेदा, लोहरे, सेती, पञ्चेश्वर जस्ता ठूला जलाशयुक्त विद्युत् आयोजना बन्ने चर्चा चलेपछि लोकमार्गको रेखांकन बदल्न प्रस्ताव आएको शर्माले बताए।

तराईका जिल्ला जोड्ने पूर्व–पश्चिम राजमार्ग निर्माण भएको लामो समयपछि पहाडी र हिमाली जिल्ला जोड्न सरकारले आर्थिक वर्ष ०६४/६५ देखि मध्यपहाडी लोकमार्ग निर्माण कार्य थालेको हो। सुरुमा निर्माण कार्य थालेको ७–८ वर्षभित्र उक्त लोकमार्गको निर्माण सकिने योजना बनाइए पनि पछिल्लो समयमा भौतिक प्रगतिको लक्ष्य भेटाउन भने गाह्रो परिरहेको छ। यद्यपि मध्यपहाडी लोकमार्गको निर्माण कार्यमा जुटेका प्राविधिकका अनुसार कहिले निर्माण कार्यमा सुस्तता त कहिले राजनीतिक अन्योलले लक्ष्य अनुरुप काम हुन नसकेको हो।

भौतिक तथा पूर्वाधार मन्त्रालयले मध्यपहाडी लोकमार्गको काम सम्पन्न हुन अझै करिब ५ वर्ष लाग्ने जनाएको छ। 'पछिल्ला वर्ष मध्यपहाडी लोकमार्गमा विनियोजित बजेटमध्ये बढी रकम खर्च भइरहेको छ,' उक्त लोकमार्गको पूर्वी खण्ड निर्माणको नेतृत्व गरिरहेका आयोजना प्रमुख सतेन्द्र श्रेष्ठ भन्छन्, 'चालु आर्थिक वर्षमा पनि पूर्वी खण्डमा विनियोजितमध्ये करिब एक अर्ब रुपैयाँ बढी खर्च भएको छ।' काम चुस्त र गतिशील बनाउन पूरै सडकलाई दुई खण्डमा विभाजन गरिएको छ।

लोकमार्गको पूर्वी खण्ड पाँचथर जिल्लाको चियोभञ्ज्याङदेखि नुवाकोट जिल्लाको पातीभञ्ज्याङसम्म कायम गरिएको छ। लोकमार्गको नुवाकोटको पातीभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मलाई पश्चिमी खण्ड नामाकरण गरिएको छ। पुरानो नक्सांकन अनुसार पूर्वी खण्ड सात सय ७६ किलोमिटर लामो छ भने पश्चिमी खण्ड एक हजार किलोमिटर छ। दुवै खण्डमा गरी नयाँ सडक करिब सात सय ६५ किलोमिटर विस्तार गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार लोकमार्गको निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्न यतिखेर कतै नयाँ सडकको ट्र्याक खोल्ने र कतै सडकलाई कालोपत्रे गर्ने काम भइरहेको छ। शाक्यले पूर्वी खण्ड अन्तर्गतको सेलेघाट–नेपालकोटसम्मको एक सय १५ किलोमिटर बाहेक अन्य सबै खण्डमा ट्र्याक खोल्ने काम सकिएको बताए। उनका अनुसार ट्र्याक खोल्ने काम सकिएका सडकमा धमाधम कालोपत्रे भइरहेको छ। मध्यपहाडी लोकमार्गमा सात मिटर चौडाइमा कालोपत्रे भइरहेको छ। सडकको दुवै किनारामा भने डेढ–डेढ मिटर छाडिएको छ। शाक्यका अनुसार पूर्वी खण्डमा ट्र्याक खोल्न थालिएको सेलेघाट–नेपालकोटसम्मको काम सकिएलगत्तै सडक पूर्ण रूपमा सञ्चालनमा आउनेछ। एक सय १५ किलोमिटरको उक्त नयाँ ट्र्याक खोल्ने काम सक्न तीनदेखि चार वर्ष लाग्ने बताइएको छ।

पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको सडक निर्माणमा भने केही कठिनाइ रहेको आयोजनाले जनाएको छ। 'पश्चिम खण्डमा कडा चट्टान रहेको र सडकको दूरी पनि बढी भएकाले पूर्वको तुलनामा पश्चिमको काम सक्न बढी समय लाग्ने अनुमान गरिएको हो,' मध्यपहाडी लोकमार्ग अन्तर्गत पश्चिम खण्डका कार्यरत इन्जिनियर जयनाथ यादवले भने, 'तैपनि अबको पाँच वर्षमा पश्चिम खण्डको पनि काम सकिएला भन्ने अपेक्षा गरेका छौं।'

पहाडी भेकमा २५ जिल्लालाई प्रत्यक्ष जोड्ने मध्यपहाडी लोकमार्गको निर्माणपछि कम्तीमा ७० लाख जनसंख्या लाभान्वित हुने भएकाले विकासविदहरूले उक्त लोकमार्गलाई पहाडी विकासको मेरुदण्डको रूपमा व्याख्या गर्ने गरेका छन्। पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले तराईसँग सधैं असमानता महसुस गर्दै आइरहेको पीडा उक्त लोकमार्गको निर्माणपछि अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २५ चैत्र २०७३ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App