८ वैशाख २०८१ शनिबार
कला

पोखरामा 'ए साइँला' र 'ए साइँली'

पोखरा- पोखरा रंगशालाको फुटबल मैदान, जहाँ गायक अमृत गुरुङ कुनै बेला खेल्ने र रमाउने गर्दथे। त्यही मैदानमा शनिबार बेलुकी गायक गुरुङले 'ए साइँला' र 'ए साइँली' भनेर भाका हाल्दा हजारौं पोखरेली युवायुवती झुम्मिए। करिब दश दिन जति लगातार असिनापानीले भिजेको पोखरा शनिबार बिहानैदेखि मुस्कुराएको थियो। वर्षाले भिजेको पोखरेली मन दिनभरको चर्काे घामले ओभानो थियो। ओभानो मनलाई मनोरञ्जनमा डुबाउँदै सांगीतिक माहोलमा रमाउन पोखरेली गायक गुरुङका गीतको व्यग्र प्रतिक्षा भइरहेको थियो।

बेलुकी पौने सातबजे जब गुरुङ स्टेजमा उत्रेर 'मर्दी खोला घुम्दै आएँ है, साइँलीमाइली मेलैमा' भनेर भाका हाल्न थाले, फुटबल मैदानको खुला चौरमा भेला भएका युवायुवती गीतमा रमाउन थालिहाले। गुरुङले सधैंजसो गाउने भाका 'चरि मर्‍यो शिशैको गोलीले' को साटो साइँली माइँलीको गीत सुन्दा रंगशालामा झनै रौनक थपियो। लगातार दुइ घन्टासम्मको प्रस्तुतिमा 'चरि मर्‍यो, शिशैको गोलीले' नगुञ्जिए पनि 'मर्दी खोला घुम्दै आएँ है' भनेर गुरुङले भाका हाल्दा सबैले त्यसमा ताल मिलाइहाले। नेपथ्यको कन्सर्टमा नसुनिने दुई दशक पुरानो यो गीत पोखरा रंगशालालाई बेजोड बनाएको दर्शकको जोशले देखाउँथ्यो।

झण्डै चार वर्षको अन्तरालपछि गृह मैदानलाई फेरि तताउन आइपुगेको नेपथ्यले कन्सर्टको सुरुवातै पोखरेली अग्रज सरुभक्तको शब्द र विक्रम गुरुङको संगीत रहेको 'कुरुप अनुहार हो, यहाँ कुनै साथी छैन' बाट गरेको थियो। यो गीत पछि 'भेँडाको उनजस्तो' गाइसक्दा यो वर्षको गर्मी अनुभूति सुरु गरेकै बेलुकी नेपथ्यको गीतमा रंगशालामा कृत्रिम हिउँको वर्षा गराइएको थियो।

नेपथ्यले यो वर्षलाई रजत वर्षउत्सव घोषणा गरिसकेको छ। त्यही क्रममा ब्याण्डले पहिलो कन्सर्ट उसकै थलो पोखराबाट थालेको थियो। २७ वर्ष पहिले तयार पारिएको ब्याण्डकै पहिलो रेकर्डेड गीत 'आँगनैभरि हिउँ नै झरे' सुनाउँदा नेपथ्यको पहिलो टोलीका सदस्यहरुको विभिन्न गतिविधि झल्काउने तस्बिरहरु पृष्ठभागमा देखाइएको थियो। तीबाहेक 'छेक्यो छेक्यो देउराली डाँडा', 'जोमसोमै बजारमा', 'रेशम' र 'तालको पानी' लगायतका भाका पनि गुन्जिए।

कार्यक्रममा गायक गुरुङले अरुलाई मात्र नचाएनन्, आफू पनि गायनकै दौरान छमछमी नाचे। त्यसले अरुलाई पनि नाच्न बाध्य बनायो। 'नयाँ वर्ष २०७४ को पूर्वसंध्यामा गृहनगरमा गाउन पाउँदा खुशी छु,' गुरुङले भने, 'चैतको मास हावाहुरी लागिरहेको छ। तर, नयाँ वर्षको स्वागातार्थ आफू खेलेको र रमेको मैदानमा गाउँन पाउँदा खुशी छु।'

गुरुङले गीत मात्र गाएनन्, आफ्नो चढ्दो बुढेसकालको चर्चा पनि गरे। २५ वर्षअघि रचेको गीत सुनाउँदै उनले गीतले २५ वर्ष बुढ्यौली लागेको अनुभव गरेको पनि बताए। त्यसबाहेक उनलेे पोखरा र आसपासका डाँडाको बखान गर्न पनि भ्याए। साथीहरु मिलेर पकेटमनि जम्मा पारेर जोमसोम घुम्न जान उनले दर्शकलाई आग्रह गरे।

'हामी खेलेर हुर्केको यो ठाउँलाई पहिलेजस्तै सुन्दर राखिदिनुस् है,' स्थानीय तहको निर्वाचनको सन्दर्भ कोट्याउँदै उनले भने, 'कुन दलको मानिस भनेर होइन, पोखरालाई माया गर्ने असल मानिसलाई छानेर जिताइदिनुस्।' जन्मदिने ठाउँ र आमालाई माया गर्न पनि उनले सबैलाई आग्रह गरे। उनले 'आमा हुन साह्रै असजिलो छ' र 'आमाको कोखमा बासमात्रै लिएँ नि, कुन देशको मरन हौ हजुर' जस्ता गीत पनि सुनाएका थिए।

बेलुकी पौने ९ बजेसम्म तातेको माहोलले रंगशाला परिसर गुन्जयमान बनेको थियो। रातको समयमा पनि हजारौं दशर्कले रंगशाला भरिभराउ हुँदा रौनकता थपिएको थियो। नेपथ्य भनेपछि हुरुक्कै हुनेको भीडले मैदान छपक्कै देखिन्थ्यो। काखेबालकदेखि बुढेसकालका बुबाआमा पनि रंगशालामा देखिन्थे। पोखरेली दर्शक नेपथ्यको प्रस्तुतिलाई सकेसम्म छुटाउन चाहँदैनन्। 'म सकेसम्म नेपथ्यको प्रस्तुति हेर्न छुटाउँदिन,' रंगशाला पुगेका विजय गुरुङले भने, 'कन्सर्ट भनेकै नेपथ्यको मात्र हो जस्तो लाग्छ।'

'फेरि उठ्नेछ नेपाल' शीर्षकमा आयोजित यस कन्सर्टबाट भएको आर्थिक लाभको रकम कास्कीकै ल्वाङघलेलस्थित गौरीशंकर मणिलाल मावि र बाँसखर्क सल्यानस्थित भुमेश्वर प्राविलाई प्रदान गरिने छ।  रविन्द्र मिश्रको 'तिमी पनि नेपाली, म पनि नेपाली' गीत सुनाएर कार्यक्रमको अन्त्य गरिएको थियो।

प्रकाशित: २८ चैत्र २०७३ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App