७ वैशाख २०८१ शुक्रबार
विचार

संरक्षणमा खतरा संकेत

तेस्रो शून्य सिकार वर्ष मनाउने तयारी भइरहेका बेला सिकारीले चितवनमा दुर्लभ एकसिंगे गैंडा मारेर खाग चोरी गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा गैंडा संरक्षण क्षेत्रमा राम्रो सन्देश दिन सफल संरक्षणकर्मीलाई यो घटनाले स्तब्ध पारेको छ।

वन र वन्यजन्तु संरक्षणको इतिहास केलाउने हो भने नेपालमा जहिले पनि राजनीतिक अस्थिरता वा कुनै ठूला घटनाका बेला दुर्लभ वन्यजन्तुको सिकार हुने गरेको छ।

तीन वर्षयता सिकारीले यसरी गैंडा मारेको सम्भवतः पहिलो पटक हो। तेस्रो शून्य सिकार वर्ष मनाउन २५ दिनमात्र बाँकी हुँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र त्यसको सुरक्षार्थ खटिएको सैनिक गणको आ“खा छलेर यो घटना गराइएको छ। आकाशमा गड्याङगुडुङ भइरहेका बेला गैंडाको टाउकोमा गोली हानिएको प्रारम्भिक अनुमान संरक्षणकर्मीको छ। खराब मौसम, विक्रमबाबा मेला र चितवनका गैंडा शुक्लाफा“टा निकुञ्जमा स्थानान्तरण गर्ने कार्यक्रमको मौका छोपेर सिकारी सक्रिय भएको अनुमानसमेत गरिएको छ। गैंडा चोरी सिकारी नियन्त्रण गर्न नेपाली सेना, प्रहरी, वन रक्षक र प्रशासनसहितको समन्वयमा काम हुँदै आएको छ। त्यतिमात्र होइन, यो काम प्रभावकारी रुपमा सम्पन्न गर्न सकेका कारण सुरक्षा निकायलाई विभिन्न क्षेत्रले पुरस्कृत र सम्मानितसमेत गर्दै आएको छ।

वन र वन्यजन्तु संरक्षणको इतिहास केलाउने हो भने नेपालमा जहिले पनि राजनीतिक अस्थिरता वा कुनै ठूला घटनाका बेला दुर्लभ वन्यजन्तुको सिकार हुने गरेको छ। राज्यको ध्यान अन्यत्र मोडिएका बेला वन र वन्यजन्तुको विनाश हुने गरेको भेटिन्छ। विशेषगरी निर्वाचन वा आन्दोलनका बेला देशका सबै सुरक्षा निकायको ध्यान त्यसतर्फ केन्द्रित भएको मौका पारेर वन्यजन्तुको सिकार गरिएको दृष्टान्त छ। अहिले पनि स्थानीय चुनाव नजिकिँदै गएको छ। निकुञ्जवरपरका बासिन्दा वा संरक्षणकर्मीको ध्यान चुनावमा गएको हुन सक्छ। तथ्यांक, विवरण र घटनाक्रमले पनि निर्वाचन र आन्दोलनका समयमा प्राकृतिक स्रोतको उच्चतम दोहन भएको देखाउ“छन्। चितवनको घटनाले संरक्षणकर्मीको ध्यान अन्यन्त्र जान थाल्यो कि भन्ने संकेत पनि गरेको छ। संरक्षण यस्तो क्षेत्र हो जहाँ दसौं वर्ष सिकार हुन नदिए पनि ढुक्क भएर बस्न सकिन्न। तीन वर्षसम्म नियन्त्रणमा रहेको गैंडा सिकार फेरि सुरु भएको छ। चितवनमात्र होइन, बर्दिया र शुक्लाफा“टाका गैंडा पनि असुरक्षित हुँदैछन् भन्ने सन्देश यो घटनाले दिएको छ। सुरक्षा र संरक्षण संयन्त्र हरेक मिनेट उच्च सतर्कतामा बस्नुपर्ने देखिएको छ। यो घटनामा देखिएको सुरक्षा कमजोरीमाथि पनि अनुसन्धान हुनुपर्छ र भविष्यका निम्ति पाठ सिक्नु समेत जरुरी छ। कडा सुरक्षाबीच पनि यस्ता घटना हुन्छन् भने त्यसको भित्री पाटो केलाउनु जरुरी हुन्छ।

यतिमात्र होइन, गैंडा होस् वा बाघ, वा अन्य कुनै वन्यजन्तु, संरक्षणकर्मीले त्यसको मौसमअनुसारको त्यसको व्यवहार र प्रवृत्तिबारे पनि जानकार हुनुपर्छ। यो डढेलोको पनि मौसम हो। वनमा आगलागी भएका बेला जनावर एकत्रित हुन्छन्। त्यही मौकामा सिकारीको निसानामा पर्न सक्छन्। यो मौसममा पानीका अधिकांश स्रोत सुकेका हुन्छन्। संरक्षण क्षेत्रभित्रका सीमित आहालमा यी वन्यजन्तु पानी खान आइरहेका हुन्छन्। हो, यस्ता क्षेत्रको निगरानी र सुरक्षामा विशेष ध्यान दिन जरुरी छ। निकुञ्जभित्र र बाहिरको सुरक्षा वातावरणको विश्लेषण र बलियो सुराकी संयन्त्रको आवश्यकता त्यत्तिकै देखिन्छ। मध्यवर्ती क्षेत्रका समुदायलाई विश्वासमा लिएर गरिने संरक्षणका कार्यक्रम धेरै सफल भएका छन्। यो नेपालको संरक्षण क्षेत्रको मूल मन्त्र पनि हो। यसलाई आत्मसात् गर्दै सरकारले स्थानीय चुनावको समयलाई ध्यान दिएर विशेष सुरक्षा र संरक्षण योजना बनाउनुपर्छ अनिमात्र गैंडा संरक्षण सम्भव छ। चुनावको मुखमा गैंडा स्थानान्तरण कार्य तत्काल रोक्दा उपयुक्त हुन्छ।  दुर्लभ गैंडामात्र होइन, सबै दुर्लभ वन्यजन्तु जोगाउने हो भने तत्काल वन्यजन्तु संरक्षण राष्ट्रिय सुरक्षा योजना बनाउनुपर्छ। अनिमात्र यसको संरक्षण सम्भव छ। तीन वर्षको प्रयासपछि जोगिएका ६ सय ४२ गैंडाको संरक्षण हुन्छ। २०५८/५९ सालमा एकै पटक सबैभन्दा धेरै ३७ गैंडा मारिएका थिए। त्यसको तुलनामा पछिल्ला वर्षमा संरक्षण र सुरक्षाकर्मीको प्रयासले यी निर्दोष जनावर जोगिएका थिए। अहिलेसम्म देखाएको उच्च सतर्कतालाई फेरि पनि कायम राख्न सक्दा मात्र यिनीहरू जोगिन सक्छन्। एउटा गैंडा मारिएको भनेर सामान्यरूपमा लिनु भन्दा पनि यसले देखाएका खतरनाक संकेततर्फ ध्यान जानु आवश्यक छ।

प्रकाशित: २८ चैत्र २०७३ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App