१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

चित्रेमा सहिद सम्झिँदा (फोटो फिचर)

चमैता (इलाम)– ‘हामीले जो सोचेका थिएनौं, त्यही दिन सम्झेर बर्सेनि आँसु झार्नु हाम्रो नियति बनेको छ दाइ,’ चमैताको चित्रे गाउँकी देउकला राईले गहभरि आँसु पारेर सहिद रत्नकुमार बान्तवाको शालिकमा माला लगाइदिँदै भनिन्, ‘तर, देश–विदेशमा तिम्रो जुन नाम र कामको चर्चा छ, त्यसैमा सन्तोक मान्छु ।’

३८ वर्षअघि हत्या गरिएका सहिद रत्नकुमार बान्तवाको शालिकमा अनुहार खुल्नेबित्तिकै उनको जन्मगाउँ चित्रेका बासिन्दा निकै भावुक देखिए । उनका दाजु–भाइ, दिदी–बहिनी, भतिजा र परिवारले टोलाएर रत्नको अनुहार हेरे । अनि, उनका परिवारका सदस्य र सहयोद्धामध्ये केही भक्कानिए भने केहीले गहभरि आँसु बनाए । ‘ल है रत्ने, बाँचेको भए पक्कै केही गर्थिस् होला, बेलैमा शत्रुका आँखामा पर्दा अहिले देशको यो गति भइरहेको छ,’ दाह्री–कपाल फुलिसकेका, बोली पनि निकै कम मात्र बुझिने एक वृद्ध रत्नको सालिकको खुट्टामा माला चढाउँदै भन्दै थिए, ‘तँ पनि बाँचेको भए ठूलो नेता बन्थिस्, हाम्रो गाउँलाई केही गर्थिस् कि !’

सहिद रत्नकुमार बान्तवाको ३८औं स्मृति दिवस अवसरमा उनको जन्मघरमै आयोजित शालिक अनावरण कार्यक्रममा भेला भएका सयौं गाउँलेका मुखमा उही साझा शब्द सुनिन्थे– रत्नलाई नमारिएको भए अहिलेसम्म देश अर्कै हुने थियो होला ।    कम्युनिस्ट आन्दोलनमा लागेका बेला २०३५ साल चैत २७ मा प्रहरीले गोली हानी रत्नको हत्या गरेको थियो । उनैको स्मृतिमा आयोजित कार्यक्रममा भेला भएका नेकपा एमालेका केन्द्रदेखि गाउँस्तरसम्मका नेता–कार्यकर्ता र परिवारले रत्नबारे आफ्ना स्मृति सुनाए ।

‘उसबेला एउटै कोठामा बस्थ्यौं, एउटै कक्षामा एउटै विषय पढ्थ्यौं । रोल नम्बर पनि ठीक अघि–पछि थियो,’ रत्नकुमारसँगको सामीप्यताबारे नेकपा एमाले महासचिव ईश्वर पोख्रेलले सम्झिए, ‘हुन त देहान्त भएपछि धेरैजनाको विषयमा काल्पनिक कथा बनाइन्छन् । तर, रत्न यस्ता प्रतिभा थिए, जो एकैपटक २ हातले बेग्लाबेग्लै विषयमा लेख्न सक्थे ।’

पोख्रेल त्यतिमै रोकिएनन्, ‘आफूलाई ठीक लागेका काम दृढ भएर गर्ने, बाजा बजाउन, गीत गाउन र हरेक कामको विशिष्ट प्रतिभा झल्किन्थ्यो रत्नमा ।’ सहिद रत्नको जन्मघर पुगेर पोख्रेलले रत्नसँगको युवाकालका स्मृति बाँडे । कम्युनिस्ट आन्दोलनको बीउ झाँगिँदै गरेका बेला रत्नले पु¥याएको योगदानको चर्चा गर्दै पोख्रेलले भने, ‘सँगै बस्ने र राजनीतिक गतिविधि गर्नेक्रममा २०३३ सालमा म रत्नसँगै उनको यो घरमा आएको थिएँ,’ उनले सुनाए, ‘मेरो अत्यन्त घनिष्ट साथी रत्नको हत्या भएको खबरले अहिले पनि भावुक हुन्छु । उनी भूमिगत रूपमा कति लगनशील भएका थिए भन्ने चर्चा गरेर सकिँदैन ।’

संविधानसभाका पूर्वअध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले नेपालको कम्युनिस्ट आन्दोलन अहिले पनि रत्नकै योगदानको जगमा उभिएको बताए । ‘रत्नले आजभन्दा ४० वर्षअघि नै इलामका दुर्गम गाउँसम्म कम्युनिस्ट चेत भर्न भ्याएका थिए,’ नेम्बाङले भने, ‘कम्युनिस्ट आन्दोलनकै जगमा बनेको नेपालको नयाँ संविधान कार्यान्वयन हुन नदिन अहिले केही शक्ति लागेका छन् । तर, त्यो कुनै हालतमा सम्भव हुँदैन ।’

गृहजिल्ला इलाम नै भएका नेम्बाङले पनि रत्नसँगका बाल्यस्मृति सुनाए । ‘ज्यादै मीठो बोल्ने, काम गर्न सबैलाई उत्साहित गर्ने रत्नकुमार साँच्चीकै प्रतिभावान र निष्ठावान राजनीतिज्ञ थिए,’ नेम्बाङले भने, ‘मलाई उनको कोठामा लगेर भुटेको मकै खुवाएको झल्झली याद आइरहेछ ।’ देश र जनता जगाउनेक्रममा तत्कालीन शासकले रत्नको कायरतापूर्वक हत्या गरेको नेम्बाङले बताए ।

नेकपा एमालेका केन्द्रीय अनुशासन आयोग सदस्य तथा रत्नका भतिजा अगमप्रसाद बान्तवाले रत्नले नेपाली राजनीतिमा गरेको योगदान र उनको समाजसेवाबारे चर्चा गरे । रत्नकुमारलाई प्रहरीले गोली हान्दा सँगै रहेका अगमले रत्नको गाउँघरसँगको सम्बन्ध र हत्या कसरी भयो भन्नेबारे सुनाएका  थिए । रत्नको जन्मघरमा भेला भएका उनका सहपाठी, तत्कालीन सहयोद्धा र उनका अभिभावकलगायतले पनि रत्नको योगदानबारे चर्चा गरेका थिए । रत्नलाई सरकारले २०७२ साल फागुन १७ मा सहिद घोषणा गरेको छ । २ दिनपछि प्रहरीबाटै हत्या गरिएका उनका सहयोद्धा बम बान्तवालाई सहिद घोषणा गर्न उनका परिवारको माग छ ।

सहिद रत्न र बमका परिवारलाई रत्न–बम प्रतिष्ठानले सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा सहिद परिवारका महेश बान्तवा, देउकला राई, अगम बान्तवा र देउप्रकाश राई रहेको प्रतिष्ठान संयोजक डाक्टर देवी क्षेत्री दुलालले बताए । त्यस अवसरमा सहिद रत्न र बमको जन्मघरछेउमा निर्माण गरिएको पूर्णकदको शालिक अनावरण गरियो । शालिक निर्माता विष्णु श्रेष्ठलाई पनि सम्मान गरियो ।

चमैतास्थित चित्रे गाउँका रत्नको इभाङ गाउँको जंगलमा प्रहरीले गोली हानी हत्या गरेको थियो । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा योगदान गरेका थोरै योद्धामध्ये रत्नकुमार अग्रपंक्तिमा पर्छन् । चैत २७ मै जन्मिएर चैत २७ मै दिवंगत हु“दा जन्मको ठ्याक्कै २७ वर्ष पुगेको थियो । झापा विद्रोहले जन्माएका क्रान्तिकारी योद्धा रत्नकुमार ३ महिनाअघि मात्र नेकपा मालेको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टीले खटाएअनुसार ताप्लेजुङको यात्रा तय गरी हिँडेका थिए ।

रत्न, सुशीला श्रेष्ठ र कल्पना (निरमाया राई) इभाङ पुगेको ३ दिन भएको थियो । अघिल्लो दिन उनकै मावली घर इभाङमा बैठक गरेर पार्टीको जिम्मेवारी बाँडफाँट गरी भोलिपल्ट ३ जनाको टोली ताप्लेजुङ पुग्नै पर्ने थियो । बिहान उज्यालो हुनअगावै हिँडेका उनीहरूले घरबाट केही तल पुगेपछि मान्छे बोलेजस्तो आवाज सुने । १०–१५ जनाको समूहमा रहेका मान्छे देख्दा स्थानीय हुन् या प्रहरी उज्यालो भइनसकेकाले ठम्याउन सकेनन् । 

समूहमा रहेकाहरूले हातमा लामा–लामा लठ्ठी बोकेको देखेपछि उनीहरू सशंकित भए । नभन्दै ‘ऊ त्यही हो रत्नकुमार’ भन्ने आवाज आएलगत्तै प्रहरीको घेरामा पर्दामात्र आफूहरूले प्रहरी रहेछ भन्ने थाहा पाए । बान्तवालाई एकजना खाइलाग्दो प्रहरीले अ“ठ्याएर समातेको थियो । तैपनि, उनी उम्किन प्रयास गरिरहेका थिए । सँगै रहेकी सुशीलालाई भने त्यसबेलासम्म पनि प्रहरीले पक्रेका थिएनन् । त्यही मौका छोपेर सुशीलाले रत्नलाई समात्ने प्रहरीको हातमा लठ्ठीले बेस्सरी बजारेपछि रत्नकुमार प्रहरीबाट उम्किन सफल भए । एकछिनमै ड्याम्म गोली चलेको आवाज आयो, उम्किएर भाग्न प्रयास गरिरहेका रत्नकुमार त्यहीं ढले । सुशीला भागेर बाँचिन् ।

बुबा गर्जमान राई र आमा पुष्पमायाका कोखबाट २००८ साल  चैत २७ मा गरिब किसान परिवारमा जन्मिएका बान्तवा ६ दाजु–भाइ र ६ दिदी–बहिनीमध्ये चौथो सन्तान थिए । २०३२ सालदेखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा दैनिक ज्यालादारीमा पढाउन थालेदेखि नै उनको कम्युनिस्ट राजनीतिमा सक्रियता बढेको थियो । त्यसैक्रममा रत्नको हत्या गरिएको थियो ।
    
हेर्नुहाेस् कार्यक्रमका झलकहरू । (तस्बिरहरूः भीम चापागाईं):
 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App