coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भूगोल र भाषामा सीमित छैनन् भानुः प्रणव मुखर्जी(फाेटाेसहित)

दार्जिलिङको सुकियापोखरीमा आयोजित भानुजयन्तीमा सहभागी हुँदै रामायण बोकेका स्थानीय स्कुलका बालबालिका । तस्बिरः भीम चापागाईं

दार्जिलिङ (भारत)–  ‘एक नारद जी सत्यलोक पुगिगया लोकको गरूँ हित भनी

                          ब्रह्मा तहीं थिया प¥या चरणमा खोजी गराया पनि’

आदिकवि भानुभक्त आचार्यका कविता त कुनैबेला नेपाली राष्ट्रिय गीत घन्किरहँदा लाग्थ्यो– यहाँको चौरस्ता चोक भारत नभएर नेपालकै भूमि हो। दौरा–सुरुवाल पहिरिएर गोर्खे खुकुरी भिरेका पुरुषहरूले ढाकाटोपी त लगाएकै थिए, कतिपय भने ‘भानुभक्ते टोपी’ मा ठाँटिएका थिए। महिलाहरू चौबन्दी र साडी अनि बालबालिकासमेत नेपाली पोसाकमा सजिएको देख्दा ‘असली नेपाल’ लाग्थ्यो दार्जिलिङ।

बुधबार नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २ सय २ औं जन्मजयन्ती परेकाले भारत दार्जिलिङका नेपालीभाषी अन्य बेलाजस्तो सामान्य बसेनन्। नेपालीभाषी मात्र नभएर आदिकवि भानुभक्तको पूर्णकदको शालिकमा पुष्पगुच्छा चढाउन आएका थिए, भारतका राष्ट्रपति प्रणव मुखर्जी। पश्चिमबंगाल राज्यपाल केशरीनाथ त्रिपाठी र मुख्यमन्त्री ममता बेनर्जीलगायत पनि उपस्थित थिए। हजारौंको संख्यामा चौरस्तामा भेला भएर नेपालीभाषीले भानुभक्तको जन्मजयन्ती मनाए।

भारतले सरकारीस्तरबाटै जन्मजयन्ती कार्यक्रम आयोजना गरी आदिकवि भानुभक्त आचार्यप्रति सम्मान जनाएको हो। सरकारअन्तर्गतको सूचना तथा संस्कृति विभागले आयोजना गरेको समारोहमा गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) प्रमुख विमल गुरुङ कार्यक्रमस्थलमा आउँदा ‘यो नेपाली शिर उचाली’ राष्ट्रिय गीत घन्कियो। दार्जिलिङका नेपालीभाषीको अधिकारका लागि भएको ‘गोर्खाल्यान्ड’ आन्दोलनको नेतृत्व गरेका गुरुङलाई हजारौं नेपालीभाषीले मञ्चमा स्वागत गरे। राज्यपाल त्रिपाठी, मुख्यमन्त्री बेनर्जी र जिटिए प्रमुख गुरुङले दार्जिलिङ पहाडमा अघिल्लै दिन भव्य समारोहमा राष्ट्रपति मुखर्जीलाई स्वागत गरिसकेका थिए।

भानुजयन्तीमा भारत दार्जिलिङको चौरस्ता चोकस्थित नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको शालिकमा माल्यार्पण गर्दै भारतका राष्ट्रपति प्रणव मुखर्जी ।

विभिन्न जातजातिका लोक र परम्परागत गीत–नृत्य अवलोकन गरिसकेपछि राष्ट्रपति मुखर्जीले आदिकवि भानुभक्त कुनै भूगोल र भाषामा सीमित कवि नभएको समारोहमा बताए। उनले भानुभक्तका कविताले भारत र नेपालको सम्बन्ध अझ बलियो बनाएको भन्दै भानुभक्तका कविता २ देशमा मात्र नभई विश्वभर फैलिएको बताए। ‘भारतका साहित्यकारहरूले नेपाली साहित्यको चर्चा–परिचर्चा गरिरहेको मैले सुनेको छु,’ उनले भने, ‘भारतमा नेपाली साहित्यकारको संख्या निकै रहेकाले नेपाली साहित्यकारहरू दुवै देशको सम्बन्धका सेतु हुन्।’

भानुभक्तका कविता क्षणिक नभएर सधैं जीवित रहने बताउँदै राष्ट्रपति मुखर्जीले उनका कविता गहन आशयका भएको बताए। ‘भानुभक्तका कवितामा मानवता र यथार्थ चित्रण गरिएको छ,’ मुखर्जीले भने, ‘त्यस्ता कविको जन्मजयन्तीमा सहभागी हुन पाउँदा गौरवान्वित छु।’ उनले दार्जिलिङमा भारतभरका विविधता पाइने भन्दै दार्जिलिङ ‘मिनी भारत’ भएको बताए। मुखर्जीले कार्यक्रमस्थलमा पस्नुअघि आदिकविको पूर्णकदको शालिकमा माल्यार्पण गर्दै पुष्पगुच्छा चढाए।

 

राज्यपाल त्रिपाठीले कवि भानुभक्तका बारेमा आफूले निकै पहिलेदेखि सुनेको भन्दै उनको बारेमा थप जान्न इच्छा भएकाले दार्जिलिङ आएको बताए। ‘रामायण भारतका हरेक प्रान्तमा पुगेको छ,’ उनले भने, ‘रामायणजस्तो कृति तयार गर्ने भानुभक्तलाई सलाम।’

पश्चिम बंगाल मुख्यमन्त्री बेनर्जीले भानुभक्तको जन्मदिन परेकाले बुधबार ‘शुभ दिन’ भएको बताइन्। भानुभक्त नेपालीको मात्र नभएर सबै साहित्यानुरागीको मन–मनमा रहेको बताइन्। ‘भानुभक्तको जन्मदिनमा दार्जिलिङ आउन पाउँदा गौरव लागेको छ,’ उनले भनिन्, ‘भानुभक्त विश्वभरका जनताका लागि प्रेरणा र ज्ञानका स्रोत हुन्, मार्गदर्शक हुन्।’

समारोहमा करिब २० बालिकाले भानुभक्तको रामायणको केही अंश लयबद्ध पाठ गरेर सुनाए। दार्जिलिङमा बसोबास गर्ने मगर, लाप्चा, लिम्बू, तामाङ, भोटे, राईलगायत नेपालीभाषी समुदायका कलाकारले परम्परागत नृत्य प्रस्तुत गरे। पश्चिमबंगालमात्र होइन, भारतका विभिन्न प्रान्तबाट भेला भएका नेपालीभाषीले भानुभक्तलाई ‘कविहरूका पनि कवि’का रूपमा बुझेको प्रतिक्रिया दिए। असामबाट आएका विवेक क्षेत्रीले भानुभक्तका कविताले विश्वभरका मानिसलाई असल बाटोमा हिँड्न सिकाएको प्रतिक्रिया दिए। समारोहमा पश्चिमबंगाल सरकारले नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेवापत साहित्यकारहरू गुप्त प्रधान र शंकर प्रधानलाई साहित्य एकाडेमी पुरस्कार प्रदान ग¥यो। यस्तै, सिजन क्षेत्रीलाई युवा साहित्य र गान्तोकका शंकरदेव क्षेत्रीलाई बालसाहित्य पुरस्कार प्रदान गरियो। समारोहलाई भव्य बनाउन दार्जिलिङलाई भानुभक्तका पोस्टर, पम्प्लेट र ध्वजा–पताकाले झकिझकाउ पारिएको थियो।
सिक्किमका मुख्यमन्त्री पवन चम्लिङले भानुजयन्ती अवसरमा शुभकामना सन्देश दिँदै भानुभक्त राज्यको एकताका प्रतीक रहेको बताए। भानुभक्तले नेपाली साहित्यमा ठूलो योगदान दिएको भन्दै मुख्यमन्त्री चाम्लिङले उनका विचारलाई अनुसरण गर्नुपर्ने बताए। भानुजयन्ती सिक्किममा बर्सेनि एकता दिवसका रुपमा मनाउने गरेको उनले सन्देशमा उल्लेख गरेका छन्।

बुधबार बिहान नेपाली साहित्य सम्मेलनले आदिकविको जन्मजयन्तीमा चौरस्तामा कवि गोष्ठी आयोजना गरेको थियो। त्यस अवसरमा प्रवासी नेपाली साहित्यकारहरूले भानुभक्तबारेका आ–आफ्ना रचना सुनाएका थिए। सम्मेलनले दिउँसो सुधपा प्रेक्षागृहमा साहित्य सम्मेलन नै आयोजना गरेको थियो। यही अवसरमा बुधबार दार्जिलिङ, मिरिक, सुकियापोखरी, कालिम्पोङ, खर्साङ र सिक्किमलगायत नेपालीभाषी बहुल क्षेत्रमा भव्य समारोह आयोजना गरिएका थिए।

दार्जिलिङको सुकियापोखरीमा आयोजित भानुजयन्तीमा सहभागी हुँदै रामायण बोकेका स्थानीय स्कुलका बालबालिका । तस्बिरः भीम चापागाईं
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App