coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भएका प्रयोग छैनन्, नयाँ किन्ने तयारी

काठमाडौं- काठमाडौं उपत्यकामा धुलो नउड्ने सडक बिरलै छन्। सडक विस्तार र खानेपानी पाइप बिच्छ्याउने कार्यले काठमाडौं यति बेला धुलमाडौं भएको छ।

सहरको सौन्दर्य कामय राख्ने जिम्मेवार निकाय महानगरपालिका हो। काठमाडौंलाई सफा राख्ने जिम्मा काठमाडौं महानगरपालिकालाई छ। विड्म्बना, महानगरपालिकाले गरिस् भन्दा गरें भन्ने बाहेक केही काम गर्न सकेको छैन। ‘खै महानगरपालिका धुलो कहाँ कम गरेको छ?’ चाबहिलका सुरेश मगर भन्छन्, ‘महानगरपालिकाले कर उठाउने काम गर्छ, यो बाहेक जनताको सेवा केही गरेजस्तो लाग्दैन।’

भएकै ब्रुमर व्यवस्थापन गरेर राम्रोसँग चलाउन नसकिरहेको अवस्थामा नयाँ ल्याएर धुलो कम भइहाल्ने विश्वास महानगरकै कर्मचारी पनि गर्दैनन्।

महानगरपालिका भने धुलो कम गरिरहेको दाबी गर्छ। ‘हामीले धुलो कम गर्ने काम गरिरहेका छौं,’ महानगर वातावरण विभागका प्रमुख रविमान श्रेष्ठले भने, ‘दैनिक पानी छर्किने र ब्रुमर चलाउने काम गरिरहेका छौं।’ तर, कहाँ पानी छर्केको छ र ब्रुमर (धुलो बडार्ने मेसिन) चलाएको छ भन्दा भने विभागका प्रमुख श्रेष्ठ आफैं अलमल्ल परे।

महानगरपालिकाले काठमाडौंलाई धुलोबाट मुक्त गर्ने भन्दै त्रैमासिक योजना अघि सारेको छ। रुद्रसिंह तामाङको सरुवा भएपछि महानगरको प्रमुख कार्यकारी अधिकृत बनेर आएका ईश्वरराज पौडेलले यस्तो योजना सारेका हुन्। काठमाडौंलाई धुलोरहित बनाउन उनले ब्रुमर पाँचवटा र रुख रोप्ने मेसिन पाँचवटा खरिद गर्न लागेका छन्। यसका लागि आवश्यक ३० करोड रुपैयाँ बजेट अर्थ मन्त्रालयसँग माग गरेको पौडेलले जानकारी दिए। ‘पहिलो चरणमा पाँचवटा ब्रुमर ल्याएर सडक सफा गरी धुलो हटाउँछौं,’ उनले भने, ‘ती प्रभावकारी भएको खण्डमा थप ब्रुमर ल्याएर सडक सफा गर्नेछौं।’ महानगरसँग अहिले पनि एउटा ब्रुमर छ। यही एउटा ब्रुमर राम्रोसँग चलाउन नसकिरहेको अवस्थामा पाँचवटा ल्याएर सडकमा चलाउँदैमा धुलो कम हुनेमा महानगरकै कर्मचारी शंका गर्छन्। उसो त सडकको अवस्था नियाल्दा ब्रुमर ल्याएर चलाउँदैमा धुलो कम होला भन्न सकिने अवस्था पनि छैन। ‘सडकको अवस्था अध्ययन गरेर ब्रुमर ल्याउन लागेका हौं,’ कार्यकारी अधिकृत पौडेलले भने, ‘यसका लागि अध्ययन समिति पनि बनिसकेको छ।’ उनका अनुसार तीन महिनाभित्रमा ब्रुमर ल्याएर सडकमा धुलो कमी गरिनेछ।

सडक विभाग र महानगरसँग गरेर यति बेला पाँचवटा बुम्रर छन्। ती ब्रुमर हुनु र नहुनुमा फरक केही देखिँदैन। तसर्थ भएकै ब्रुमर व्यवस्थापन गरेर राम्रोसँग चलाउन नसकिरहेको अवस्थामा नयाँ ल्याएर धुलो कम भइहाल्ने विश्वास महानगरकै कर्मचारी पनि गर्दैनन्।

श्रेष्ठले ब्रुमर मेसिन कालोपत्र गरिएको चिलो सडकमा मात्रै प्रयोग गर्न सकिने बताए। ‘ब्रुमर मेसिन खाल्डाखुल्डी नभएको कालोपत्रे सडकमा मात्रै प्रयोग गर्न सकिन्छ', उनले भने, ‘खाल्डाखुल्डी भएको सडकमा मेसिन चलाएमा उतिखेरै बिग्रिहाल्छ।' महानगरसँग करिब नौ सय कुचिकार छन्। यी कुचिकारसमेत राम्रोसँग परिचालन गर्न सकिरहेको देखिन्न।

सडक विभाग यान्त्रिक महाशाखाका नायब महानिर्देशक हरिराम आचार्यका अनुसार विभागसँग भएका तीनवटा ब्रुमरमध्ये महाशाखाले आयोजना कार्यान्वयन निर्देशनालयलाई दुई र डिभिजन सडक कार्यालय काठमाडौंलाई एउटा दिइसकेको छ। तर, काठमाडौंको धुलो कम भएको महसुस नभएको सर्वसाधारण बताउँछन्।

निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले सडक धुलाम्मे भएकाले बु्रमर मेसिन प्रभावकारी नभएको बताए। उनले भने, ‘केही दिनअघि मीनभवन सडकमा बु्रमर मेसिन प्रयोग गरेका थियौं, मेसिनले बाक्लो धुलो तान्नै सकेन।' प्रवक्ता ढकालले निर्देशनालयले पानी छर्किने काम गरेर धुलो कम गर्ने प्रयत्न गरिरहेको जानकारी दिए।

वर्षमा दुई सय सात दिन हानिकारक

स्वास्थ्य परिषद्को एक अनुसन्धानअनुसार धुलोका कारण उपत्यकामा वर्षमा दुई सय सात दिन (५७.७ प्रतिशत) प्रदूषणको मात्रा राष्ट्रिय औसतभन्दा बढी (हानिकारक अवस्थामा) रहन्छ।

वरिष्ठ श्वासप्रश्वास रोगविशेषज्ञ डा. अर्जुन कार्कीले राजधानीको धुलो र प्रदूषण भावी पुस्तालाई समेत ठूलो स्वास्थ्य चुनौतीका रूपमा रहेको बताए।  उनका अनुसार धुलो र प्रदूषणका कारण  हाच्छिउँ आउने, नाक बन्द हुने, घाँटी खसखस हुने र छालामा डाबर आउने समस्या देखिन्छ। लामो समयसम्म घाँटी दुख्ने र खोकी लागेमा श्वासप्रश्वासमा दीर्घकालीन समस्या देखा पर्न सक्ने उनले बताए।

प्रकाशित: ३१ चैत्र २०७३ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App