८ वैशाख २०८१ शनिबार
कला

गिनिजमा डिजे

काठमाडौं- मनाङको थोरङला पासमा पुगेर डिजेइङ गरेका डिजे छेवाङ शेर्पाले सर्वाधिक उचाईमा डिजेइङ गर्ने डिजेको कीर्तिमान बनाउँदै गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाएका छन्। गत २०१६ अक्टोबर २७ मा ५ हजार ४ सय १६ मिटरको उचाईमा रहेको थोराङलामा उनीसहितको समूहले गरेको डिजे सेसनलाई गिनिज बुकले आधिकारिक मानेको हो। छेवाङ दशकदेखि डिजेइङ गर्दै आएका छन्।

राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरी शेर्पाले डिजे छेवाङलाई गिनिजको प्रमाणपत्र दिँदै शेर्पाको नाम राखेकोमा गर्व लागेको बताए। 'यो सम्मान केवल छेवाङको मात्र नभई समग्र शेर्पाले पाएको सम्मान हो,' अध्यक्ष आङछिरिङले भने, 'शेर्पा समुदायका लागि यो ठूलो गौरवको कुरा हो।'

डिजे छेवाङले थोरङला पासमा डिजेइङ गर्नु सजिलो काम नभए पनि यो काम सजिलो भएको अवस्थामा विश्व कीर्तिमान पनि नबन्ने बताए। 'पर्यटन प्रवर्द्धनमा योगदान दिने उद्देश्यले सबैभन्दा अग्लो स्थानमा डिजेइङ गरेको हुँ,' उनले भने, 'भूकम्पपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालका पर्यटन क्षेत्रको बारेमा नकारात्मक सन्देश जाँदै गर्दा उक्त गलत सन्देशलाई चिर्दै नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिन डिजेइङ गरें।'

उनले सोलुखुम्बुमा रहेको ६ हजार मिटर अग्लो मेरा पिकमा पुगेर डिजेइङ गर्ने प्रयास असफल भएपछि त्यसलाई बिर्साउनका लागि थोराङला पास गएको खुलाए। छेवाङको समूहका ल्हाक्पाले छेवाङको कामले नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने विषयलाई पुष्टि गरेको दाबी गरे।

कार्यक्रममा वितरित विज्ञप्तिमा छेवाङले विश्व कीर्तिमानका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा पत्राचार गरेको र गिनिजले प्रमाण पेश गर्न आह्वान गरेपछि डिजेइङको प्रमाण पेश गरिएको उल्लेख छ। 'हामी यो जानकारी गराउँन पाउँदा निकै उत्साहित बनेका छौं कि तपाईले सर्वाधिक उचाईमा गरेको डिजेइङको दाबीसहित गरेको निवेदन अन्ततः सत्य साबित भएको छ, र अब तपाईको नाममा सर्वाधिक उचाईमा डिजेइङ गर्ने डिजेको कीर्तिमान लेखिएको छ,' विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ चैत्र २०७३ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App