राजादेखि रंकसम्मका डाक्टर

शनिबार, ०२ बैशाख २०७४, १० : २८ वसन्त खड्का  | @bashantkdk


डा. खगेन्द्रबहादुर श्रेष्ठ त्यस्ता भाग्यमानी डाक्टर हुन्, जसले राजादेखि साधारण नागरिकको स्वास्थ्य अवस्थालाई नजिकबाट बुझ्ने अवसर पाए।

महेन्द्रकालीन राज्य व्यवस्थामै सैन्य डाक्टरका रूपमा युवराज वीरेन्द्रको निकट भएर काम गरेका उनले राजा भइसकेपछि पनि वीरेन्द्रको स्वास्थ्य अवस्था नजिकबाट हेरे।

आफ्नो जीवनको महŒवपूर्ण समय राजपरिवारको स्वास्थ्य सेवामा खर्चिएका उनी ८२ वर्षको उमेरमा पनि आमनागरिकको स्वास्थ्य सेवामा अनवरत लागिरहेका छन्।

उमेरले आठ दशक कटिसक्दा पनि उनको जोस, जाँगर र उत्साहमा कुनै कमी देखिँदैन। उनी बिहान ४ बजे उठिसक्छन्। प्रत्येक दिन बिहान अहिले पनि रंगशालालाई दुई फन्को लगाउँछन्।

सामान्यतः राजतन्त्रका बेला राजपरिवारसँग निकट हुने मानिस नागरिकसम्म जान हिचकिचाउँथे।

श्रेष्ठ भने दरबारका चिकित्सक भएर पनि न्युरोडमा क्लिनिक राखेर सर्वसाधारणको उपचार गर्थे। राजदरबारसँग निकट तथा सेनाका जागिरे समेत रहेका उनलाई पैसाकै लागि निजी क्लिनिक चलाउनुपर्ने अवस्था थिएन।

यसबारे उनी भन्छन्, 'म आफ्नो ड्युटीमा विश्वास गर्ने सिपाही हुँ, एउटा डाक्टरको नजरमा सबै बिरामी एकै हुन्, डाक्टरले सानो ठूलो भनेर बिरामीमाथि भेदभाव गर्न मिल्दैन, मैले त्यही प्रयास गरेको हुँ।'

खेलाडीबाट डाक्टर

श्रेष्ठ फुटबलका कुशल खेलाडी पनि हुन्। उनी खेल क्षेत्रमै आफ्नो भविष्य बनाउन चाहन्थे, २००७ सालमा एसएलसी गरेका उनीमाथि डाक्टर बन्नुपर्ने पारिवारिक दबाब आयो। किनकि उनी डा. भक्तबहादुर श्रेष्ठका छोरा हुन्। बाबु डाक्टर भएकाले उनलाई पनि डाक्टर बन्नुपर्ने पारिवारिक दबाब थियो।

उनी खेलका कतिसम्म क्रेजी थिए भने खेलमा ध्यानदिँदा आइएससी पहिलो वर्षको अध्ययन नै ड्रप गरेका थिए। उनले फुटबलप्रतिको लगाबका कारण पढाइप्रति कम ध्यान दिन्थे। अध्ययन कम खेलकुद बढी हुन थालेपछि उनले बिएससी पूरा गर्न दिनमै १६ घन्टासम्म मेहनत गर्नुपर्‍यो।

२०१२ मा त्रिचन्द्र कलेजबाट बिएससी गरेपछि उनी एमबिबिएस अध्ययनका लागि किङ जर्जेज मेडिकल कलेज लखनउ गए। एमबिबिएस अध्ययन गर्दा पनि उनी कलेजको तर्फबाट फुटबल खेलमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गर्थे। तर डाक्टर बन्नुपर्ने बाध्यताका कारण उनले खेलकुद छाडेर डाक्टरी पेसा रोजे।

टोनी हेगनसँगको भेटले मोडिएको यात्रा

नेपालमा भ्रमण गर्ने पहिलो विदेशीका रूपमा समेत चर्चित स्विस नागरिक (नेपालबाट समेत मानार्थ नागरिकता प्राप्त ) टोनी हेगनसँगको भेटपछि डा. श्रेष्ठको जीवनको यात्रा नै मोडियो। लखनउबाट एमबिबिएस पूरा गरेर काठमाडौं फर्किए उनी २०१८ मा हेगनको आग्रहमा अन्तर्राष्ट्रिय रेडक्रस समितिअन्तर्गत तिब्बती शरणार्थी शिविर जोमसोममा करिब ११ महिना ओपिडी डाक्टरका रुपमा काम गरे।

जोमसोम बसाइका क्रममा उनी त्यहाँका सैनिकसँग निकट भए। त्यतिबेला सेनामा डाक्टरको माग रहेछ। उनलाई जोमसोमका हितैषी सैनिक क्याप्टेनले त्यसबारे जानकारी दिँदै प्रस्ताव पनि गरिदिए। त्यसपछि श्रेष्ठको यात्रा प्राविधिक उपसेनानीका रूपमा सुरु भयो।

श्रेष्ठले सैन्य डाक्टरको जिम्मेवारी सम्हालेलगत्तै २०२२ मा तत्कालीन युवराज वीरेन्द्रले देशका विभिन्न स्थानमा पैदलयात्रा सुरु गर्दै थिए। उनको टोलीमा एक डाक्टर पनि आवश्यक थियो। सैनिक डाक्टर बनेका श्रेष्ठलाई युवराजको पैदलयात्रामा सहभागी हुने संयोग जुर्‍यो। त्यसपछि उनी युवराजको भ्रमण टोलीमा सहभागी बन्दै त्रिशूली–पोखरा, पोखरा–भैरहवा तथा गोरखा–पोखरा पैदलयात्रामा सहभागी भए।

पैदलयात्रामा अधिकांश सेनाकै अधिकारी हुन्थे। तर, भ्रमणमा युवराज वीरेन्द्र पनि छन् भन्ने कुरा सँगै यात्रा गर्नेबाहेक कसैलाई थाहा हुँदैनथ्यो। यात्राका क्रममा युवराजले सहयोगीसँगै खोलामा माछाहरू जालमा पार्ने, गाउँका स्कुल तथा टहरामा बास बस्ने गर्थे। तीन वटा लामो दूरीका यात्रामा युवराजलाई राम्रोसँग सहयोग गरेकाले युवराज वीरेन्द्र श्रेष्ठबाट प्रभावित थिए। यसैले युवराजदेखि राजा भइसकेपछि पनि वीरेन्द्रले श्रेष्ठलाई राजपरिवारका फिजिसिएनका रुपमा सेवा गर्ने अवसर दिइरहे। वीरेन्द्रले आफ्नो भ्रमणमा श्रेष्ठलाई साथमा लिएर हिँड्थे।

अझ अनौठो त के भने सामान्यतः ५८ वर्षमा अवकाश भइसक्नुपर्ने श्रेष्ठ ६६ वर्षसम्म पनि सेनाकै पोसाकमा काम गरिरहे। यसको कारण बताउँदै उनी भन्छन्, 'राजाको मप्रतिको विश्वासले गर्दा नै नियम तोडेर ६६ वर्षसम्म पनि बर्दीमा काम गर्ने अवसर जुरेको थियो।' राजाको निकट रहेर चिकित्सा सेवामा सक्रिय रहेका कारण वीरेन्द्रले उनलाई शाही चिकित्सकको सम्मान दिएका थिए।

दरबारमै हृदयघातको उपचार

एकपटक राजा वीरेन्द्रलाई नागार्जुन दरबारमा हृदयघात भयो, आर्मी अस्पतालमा रहेका श्रेष्ठलाई उपचारका लागि सुरुमै बोलाइयो। उनले उपचारका लागि आवश्यक पर्ने सबै सामग्रीसहित नागार्जुन पुगेर राजाको उपचार गर्न थाले।

उनले राजाको उपचारका लागि दरबारमै आइसियुको व्यवस्था गरेका थिए। हृदयघात भएको दिन रानी ऐश्वर्यसँगै उनी पनि रातभर राजालाई कुरेर बसे। रानीले उनलाई आराम गर्न जाने अनुमति दिएकी थिइन्, उनी भने राजाको स्वास्थ्य अवस्था चेकजाँच गर्दै रातभर राजासँगै बसे।

उपचार सुरु भएको तीन–चार दिनपछि डा. अञ्जनी कुमार शर्मा आएर राजालाई किन अस्पताल नलगेको, दरबारमै उपचार गर्दा राजालाई केही भयो भने? भनेर प्रश्न गरेपछि श्रेष्ठ झसंग भए। हुन पनि सामान्य उपचारबाहेक पेसमेकर राख्नुपर्ने तथा जटिल किसिमको उपचार गर्नुपर्ने अवस्थामा अस्पताल वा सुविधासम्पन्न मुलुकमा लैजानुपर्ने अवस्था थियो।

त्यति नै बेला रानीले नारायणहिटी दरबारमा चर्चित कार्डियोलजिस्टहरूलाई बोलाएर राजाको अवस्थाबारे छलफल गर्न लगाएकी थिइन्। पछि बेलायतबाट पनि कार्डियोलजिस्ट बोलाइयो। बेलायती डाक्टरले राजालाई दिल्ली वा सिंगापुर लैजान सुझाव दिएका थिए। त्यतिबेलाको अनुभव सुनाउँदै श्रेष्ठ भन्छन्, 'त्यतिबेला मैले खतरा मोलेर दरबारमै राजाको उपचार गरेको थिएँ।' दरबारमै राजाको उपचार गरेका श्रेष्ठ त्यहाँ उपचार गर्दा राजालाई केही भएको भए त्यसको दोष आफैँमाथि आउने र त्यसको परिणाम सोच्न पनि नसकिने जनाउँछन्।

वीरेन्द्रबाट प्रभावित

राजपरिवारका चिकित्सक रहेका श्रेष्ठ राजा वीरेन्द्रको अनुशासनबाट निकै प्रभावित छन्। वर्तमान राजनीतिलाई नजिकबाट नियालिरहेका श्रेष्ठ राजाका रुपमा वीरेन्द्रले पालना गर्ने नियम र अनुशासनको खुलेरै प्रशंसा गर्छन्।

एकपटक राजपरिवारका सदस्यको साथमा सिकार खेल्न गएका श्रेष्ठ त्यहाँ राजा वीरेन्द्रले प्रदर्शन गरेको अनुशासन देखेर चकित भएको बताउँछन्।

'सिकार खेल्न गएका राजपरिवारका प्रत्येक सदस्यलाई २५ वटा गोली खर्च गर्ने अधिकार दिइएको थियो,' उनी भन्छन्, 'तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र लगायतले आफ्नो भागमा परेका गोली सिकार गर्नका लागि खर्चिसकेका थिए। राजा वीरेन्द्रले भने गोली खर्च गर्नुभएको थिएन। त्यति नै बेला एउटा हरिण अधिराजकुमार ज्ञानेन्द्रको क्षेत्रमा प्रवेश गर्‍यो, त्यसलाई मार्न राजा वीरेन्द्रसँग मात्र गोली थियो। तैपनि राजा वीरेन्द्रले हरिण आफ्नो क्षेत्रमा प्रवेश नगरेसम्म गोली चलाउनुभएन। उहाँको त्यो अनुशासन देखेर म साँच्चिकै प्रभावित भएँ।'

राजा वीरेन्द्रका हरेकजसो विदेश भ्रमणमा सहभागी हुने उनले राजाले जुनसुकै काम गर्दा निकै योजनाबद्ध र पर्याप्त तयारीपछि मात्र गर्ने गरेको बताए। विगत र वर्तमान अवस्थालाई तुलना गर्दै उनले भने, 'राजाले अभिभावकको भूमिका निर्वाह गर्थे, उनी सबैका साझा थिए तर अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरू कसका हुन् भनेर पहिल्यै किटान गरिन्छ।'

त्यतिबेलाको भ्रमणको अनुभव सुनाउँदै उनी भन्छन्, 'त्यतिबेला विदेशी राष्ट्रप्रमुखले राजासँग सम्मानजनक र समान ढंगले व्यवहार गर्थे, तर अहिलेका सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई विदेशी राष्ट्रप्रमुखको छोटो समय पाउनु पनि ठूलो कुरा हुन्छ।

श्रेष्ठ राजदरबार हत्याकाण्डपछिको एक महिना आफ्नो जीवनकै अविस्मरणीय क्षण रहेको बताउँछन्। श्रेष्ठ भन्छन्, 'त्यो एक महिना निकै महŒवपूर्ण काम गरेँ, त्यतिबेला सानो गल्तीले पनि ठूला अपजस खेप्नुपर्न सक्थ्यो। तर निष्कलंक भएर आफ्नो जिम्मेवारी निर्वाह गरेँ।'

उनी वीरेन्द्रको मृत्युको खबर सुन्दाको पीडालाई शब्दमा व्यक्त गर्न नसक्ने जनाउँछन्।

डाक्टर कम फोटोग्राफर बढी

जिम्मेवारीका हिसाबले श्रेष्ठ शाही चिकित्सक थिए, तर भूमिकाका हिसाबले उनी चिकित्सक कम फोटोग्राफर बढी थिए। उनले वीरेन्द्र तथा राजपरिवारका सदस्यका दुर्लभ तस्बिर खिचेका छन्। वीरेन्द्रको बाल्यकालदेखि मृत्यु हुनेबेलासम्मका दुर्लभ तस्बिरहरू उनीसँग छन्। त्यस्तै, राजपरिवारका अन्य सदस्यका तस्बिर पनि उनीसँग संकलित छन्।

फोटोग्राफी श्रेष्ठको रुचिको विषय होइन। सुरु–सुरुमा विभिन्न भ्रमणका बेला राजपरिवारको तस्बिर खिच्ने गरेका उनलाई एकपटक एक साथीले राजाको फोटो डलरमा खरिद गर्ने बताएका थिए। त्यसपछि भने आफूले राजपरिवारको तस्बिर नियमित खिच्न थालेको श्रेष्ठ बताउँछन्।

दरबार हत्याकाण्डको एक वर्षपछि उनले स्वर्गीय राजा वीरेन्द्र तथा राजपरिवारका सदस्यको फोटो प्रदर्शन गरेका थिए। दरबार हत्याकाण्डपछि उनी निरन्तर आफूले खिचेका तस्बिरमा घोत्लिरहन्थे। उनको त्यो व्यवहार देखेपछि श्रेष्ठका छोराछोरीले फोटो प्रदर्शन गर्न सुझाव दिए। त्यसपछि उनले तत्कालीन राजा ज्ञानेन्द्रबाट अनुमति लिएर बानेश्वरस्थित बिआइसिसिआईमा पाँच दिनसम्म फोटो प्रदर्शन गरे। हत्याकाण्डको १० वर्षपछि पनि उनले आर्ट ग्यालेरीमा फोटो प्रदर्शन गरेका थिए।

श्रेष्ठसँग अहिले पनि तत्कालीन राजपरिवारका सयाँै दुर्लभ तस्बिर छन्। उनी ती तस्बिर म्युजियममा राख्न चाहन्छन्, तर आफ्नो प्रस्तावमा सहयोग गर्न अहिलेसम्म कोही तयार नभएको उनको भनाइ छ। 'मसँग भएका तस्बिरको संग्रहालय बनाउन चाहन्छु तर त्यसलाई सहयोग गर्न अहिलेसम्म कोही आएको छैन,' उनले भने।

स्वस्थ जीवनका पक्षपाती

अरुको स्वास्थ्यको ख्याल गर्दागर्दै आफ्नो महŒवपूर्ण जीवन व्यतीत गरेका श्रेष्ठ आफ्नो स्वास्थ्यप्रति उत्ति नै सचेत छन्। उमेरले आठ दशक कटिसक्दा पनि उनको जोस, जाँगर र उत्साहमा कुनै कमी देखिँदैन। उनी बिहान ४ बजे उठिसक्छन्। ६ बजेसम्म अध्ययन गर्छन्। अहिले पनि प्रत्येक दिन बिहान रंगशालालाई दुई फन्को लगाउँछन्।

त्यसपछि शारीरिक अभ्यास गर्ने उनी केही समय आफू मेडिकल डाइरेक्टर रहेको ब्लु क्रस हस्पिटलमा केही समय बिरामीको स्वास्थ्य जाँच गर्छन्।

खानामा उनको कुनै रोजाई छैन। 'माया गरेर दिएको जे पनि खाइदिन्छु,' उनी भन्छन्। सकारात्मक सोचले मानिसलाई स्वस्थ र दीर्घ जीवन बाँच्न सहयोग गर्ने उनको अनुभव छ। श्रेष्ठ भन्छन्, 'सधैँ खुसी रहनुस्, सकारात्मक सोच्नुस्, लोभ, ईर्ष्या नगर्नुस्, अरुका बारेमा अनावश्यक सोच्ने र तुलना गर्ने काम नगर्नुस्, खुसी तपाईंसँगै छ।'

उनी अगाडि भन्छन्, म भोक न भकारी भएको मान्छे हुँ, मसँग प्रशस्त पनि छैन र प्रशस्त कमाउने लोभ पनि छैन, जे छ त्यसैमा सन्तुष्ट छु, यसले मलाई खुसी रहन मद्दत गरिरहेको छ।'

श्रेष्ठ नियमित शारीरिक अभ्यासले पनि मानिसलाई दीर्घ र स्वस्थ जीवन जिउन मद्दत गर्ने बताउँछन्।







यसमा तपाईको मत

अन्य समाचार

आलुको  सभापतित्वमा कार्यक्रम

आलुको  सभापतित्वमा कार्यक्रम

हाँस्य कलाकारको बाक्लो जमघट थियो । जब अजय अधिकारी सुशील मञ्चमा उक्लिएर कार्यक्रम चलाउन थाले । अनि छुट्यो हाँसोको गुन्जायस्...

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक...

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

धादिङको रुबी भ्यालीमा दुई साता लामो छायांकन पछि फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ। सात दिनको समय तालिका मिलाएर रुबी...

वस्तीको नेपाली लेखाउने काइदा

वस्तीको नेपाली लेखाउने काइदा

भाषामा भए गरेका गाईजात्राले आहत भएका भाषाविद् शरच्चन्द्र वस्तीले भाषाशुद्धी र एकरूपताका लागि ‘नेपाली कसरी लेख्ने ?’ ...