७ वैशाख २०८१ शुक्रबार
अन्य

नयाँ वर्ष, नयाँ योजना

नयाँ वर्षलाई धेरैले नयाँ कामको थालनीका लागि उत्तम दिनको रूपमा लिन्छन्। यो दिनमा शुभकामना आदानप्रदान मात्र नभएर नयाँ काम सुरु गर्ने सोच धेरैको हुन्छ। कतिपयले त आफ्नो जिन्दगीकै निर्णय लिन नयाँ वर्ष नै कुरेका हुन्छन्। वर्ष दिनसम्मका योजना पनि नयाँ वर्षकै दिनदेखि अघि सार्ने पनि थुप्रै छन्। केहिले आफ्ना अवगुुण, कमीकमजोरी तथा नराम्रा पाटा सुधारेर नयाँ वर्षदेखि राम्रो काम गरेर देखाउने बाचासमेत गरेको पाइन्छ।

नयाँ वर्ष २०७४ मा लेखकहरूले भिन्नभिन्न सोच बनाएका छन्। उनीहरूले नयाँ वर्षकै साइत पारेर नयाँ योजना अघि सारेका छन्। यो वर्ष लेखकहरूले नयाँ पुस्तक तथा रचना लेख्ने, नयाँ पुस्तक पढ्ने, अनुसन्धान गर्ने, नयाँ ठाउँ घुम्ने तथा बितेको वर्ष अघिसारेको योजना सम्पन्न गर्नेलगायतका योजना बनाएका छन्। आफूूलाई फरक धारमा उभ्याउने किसिमले ०७४ सालमा पुस्तक लेख्ने संकल्प पनि धेरै लेखकको छ।

लेखनमै रमाएका सर्जकहरूले पनि नयाँ वर्ष २०७४ मा भिन्न सोच बनाएका छन्। उनीहरूले नयाँ वर्षकै साइत पारेर नयाँ योजना अघि सारेका छन्। यो वर्ष लेखकहरूले नयाँ पुस्तक तथा रचना लेख्ने, नयाँ पुस्तक पढ्ने, अनुसन्धान गर्ने तथा बितेको वर्ष अघिसारेको योजना सम्पन्न गर्नेलगायतका योजना बनाएका छन्। आफूूलाई फरक धारमा उभ्याउने किसिमले ०७४ सालमा पुस्तक लेख्ने संकल्प पनि धेरै लेखकको छ। लामो समयदेखि लेखन क्षेत्रमा जम्दै आएका केही लेखक/कवि यो वर्ष नयाँ र फरक योजना फत्ते गर्ने सोचमा रहेको बताउँछन्। नयाँ वर्षमा लेखकहरूको नयाँ योजनाबारे नागरिक दैनिककले जिज्ञासा राख्दा साहित्यकारहरूले आफ्ना योजना उत्साह र खुसीसाथ प्रस्तुत गरे।  

लामो समयदेखि लेखन क्षेत्रमा जम्दै आएका आख्यानकार परशु प्रधान हरेक नयाँ वर्ष आफूले नयाँ कामको सुरुवात गर्दै आएकोे बताउँछन्। उनी भन्छन्, 'हरेक वर्ष एउटा नयाँ योजना त बनाउनैपर्छ, नत्र हामी साहित्य क्षेत्रमा लागेका सर्जकहरू गुमनाम हुनुपर्छ।' उनी यो वर्ष नयाँ पुस्तक लेख्ने योजनामा छन्। उनले आफ्नो कथासंंग्रह 'सम्बन्ध' यसै वर्ष प्रकाशनमा ल्याउने योजना रहेको बताए। आफ्नो कामलाई नयाँ वर्षकै दिनदेखि सुरु गर्दा राम्रो हुने भएकाले आफूले नयाँ वर्षलाई नै टेको बनाएर वार्षिक योजनाहरू अघि सारेको उनको भनाइ छ। 'सकेसम्म नयाँ बर्षकै  दिनदेखि नयाँ काम थाल्दै आएको छु, मेरो मान्यता पनि यही हो,' प्रधानले भने, 'यो वर्ष पनि नयाँ योजना बनाएको छु, यो वर्ष मेरो नयाँ कथासंग्रह पाठकका हातमा पर्नेछ।' मन लगाएर गर्ने हो भने जतिसुकै ठूलो योजना पनि एक वर्षमा सम्पन्न गर्न सकिने भएकाले नयाँ वर्षदेखि नयाँ काम थाल्नु उत्तम रहेको उनको भनाइ छ।

नयाँ वर्षदेखि नयाँ कार्ययोजना अघि सार्दा शुभसाइत हुने र नयाँ कामलाई पनि निरन्तरता दिएजस्तै देखिने भएकाले कतिपय कविले नयाँ वर्षमा नयाँ काम थालनी गरेको सुनाए। कवि तथा आख्यानकार सरुभक्तको विचार पनि प्रधानसँग मिल्दोजुल्दो छ। उनले यो वर्ष आफ्नो उपन्यास, नाटकसंग्रह र लामो समयदेखि लेख्न सुरु गरेको महाकाव्य विमोचन गर्ने योजना बनाएका छन्। 'सर्वप्रथम त महाकाव्यको काम सक्छु, त्यसपछि मात्र नयाँ कामलाई अघि बढाउँछु,' उनी भन्छन््, 'यो वर्ष पाठकले थाहा पाउने गरी नयाँ काम गर्ने योजनामा छु।' त्यसो त सरुभक्त नयाँ काम गर्न नयाँ वर्ष नै पर्खनुपर्छ भन्ने मान्यतामा विमति राख्छन्। 'नयाँ कामको लागि नयाँ वर्ष पर्खिनैपर्छ भन्ने कुरा छैन,' उनले भने, 'तैपनि हरेक नयाँ काम सुरु गर्दा नयाँ वर्षलाई पर्खनु नयाँ अभ्यास हो जस्तो लाग्छ।'

विभिन्न विधामा कलम चलाउँदै आएका लेखकहरू नयाँ वर्षमा विधाअनुसार नै सोच र योजना बनाइरहेका छन्। उनीहरूले आफ्नो सोचअनुसारका नयाँ योजना तथा थाती रहेको काम यो वर्ष सक्ने संकल्प पनि गरेका छन्।

आख्यान पुरुषको उपमा पाएका लेखक डा. धु्रवचन्द्र गौतमले भने यो वर्ष आत्मकथा लेख्ने योजना बनाएका छन्। उनले आत्मकथा लेख्न थालिसकेको जानकारी दिए। '०७३ सालमा फुटकर लेखरचना त थुप्रैँ लेखे, तर पुस्तक लिएर पाठकमाझ उपस्थित हुन सकिनँ, अब यो वर्ष भने पाठकलाई आत्मकथा पस्कने छु,' गौतमले भने। नयाँ वर्षमा नयाँ कामको थालनी गर्ने परम्परा मनोवैज्ञानिक भएको उनी बताउँछन्। उनको विचारमा नयाँ वर्ष वर्षभरिको निर्णय लिने दिन हो। 'नयाँ वर्षमा चुरोट, रक्सी, गाँजालगायत लत छाडेर नयाँ कार्यको थालनी गर्छु भन्ने सोच पनि मान्छेको मनोविज्ञान नै हो,' गौतमले थपे, 'यद्यपि, नयाँ वर्षमा नयाँ काम गर्नुपर्छ भन्नेबारे कुनै बन्देज, नियम, सफलता–असफलता जोडिएको छ जस्तो लाग्दैन, यो त मानिसको मनोविज्ञान हो।'

२०७३ सालमा नयाँ कवितासंग्रह प्रकाशनमा ल्याएकी कवि सीमा आभासले भने यो वर्ष फरक विधामा काम गर्ने योजना बनाएकी छन्। उनी ०७४ सालमा सामाजिक विषयमा केन्द्रित रहेर नाटक लेख्ने सोचमा छिन्। 'यो वर्ष अलि फरक विधामा कलम चलाउने योजना बनाएकी छु,' उनले भनिन्, 'नयाँ वर्षको दिनदेखि नाटक लेख्न सुरु गर्छु।' उनले आफ्ना वार्षिक योजना हरेक नयाँ वर्षको दिनदेखि सुरु गर्दै आएको पनि बताइन्। 'हामी कुनै नयाँ काम थाल्नुपर्‍यो भने शुभसाइत वा त्यस्तो महŒवपूर्ण दिनको खोजी गर्छौं, त्यसैले नयाँ काम गर्नेका लागि नयाँ वर्ष नै उत्तम हो,' उनले भनिन्।

साहित्य लेखकहरू सकेसम्म अरुभन्दा भिन्न हुन चाहन्छन्। उनीहरू सकेसम्म अरुभन्दा फरक र कोही नहिँडेको बाटो हिड्न रूचाउँछन्। यस्तै विचार बोकेर लेखन क्षेत्रमा लागेका कवि–समीक्षक हुन् हरि अधिकारी। नयाँ वर्षको सुरुवातसँगै फरक विधामा कलम चलाउने योजना बनाएको उनले बताए। यो वर्ष उनी अपराध कथासंग्रह प्रकाशनमा ल्याउने योजनामा छन्। 'धेरै लेखकले सामाजिक, मनोवैज्ञानिक, प्रेम, राजनीतिकलगायत विषयलाई मात्र उठाएका छन्, अन्तर्राष्ट्रिय अपराध केलाएर लेखिएका पुस्तकहरू नेपाली बजारमा पाइँदैनन्,' उनले भने, 'अन्तर्राष्ट्रिय आपराधिक क्रियाकलापको ट्रान्जिट प्वाइन्ट नेपाल नै बनेको छ, तर अहिलेसम्म लेखकहरूले यो विषयमा अध्ययन–अनुसन्धान गरेका छैनन्। त्यसकारण पनि यो वर्ष मैले यसमा कलम चलाउन अठोट गरेको छु।' उनले यो विषयमा आफूले अध्ययन–अनुसन्धान गरिरहेको बताए। 'यो वर्षभित्रै सक्ने गरी आपराधिक कथा लेख्न सुरु गरिसकेको छु,' अधिकारीले भने, 'नेपाली साहित्य क्षेत्रमा यो पुस्तक नयाँ र फरक स्वादको हुनेछ।'

निबन्धकार कल्पना बान्तवा पनि यो वर्ष नयाँ कार्य गर्ने सोचमा छिन्। नयाँ वर्षकै दिन पारेर दोश्रो उपन्यास 'कल्की' लेख्न सुरु गरेको उनले जानकारी दिइन्। 'अन्य क्षेत्रमा लागेका व्यक्तिजस्तै लेखन क्षेत्रमा लागेका व्यक्तिले नयाँ वर्षमा नयाँ कार्यको थालनी गर्नु स्वाभाविक नै हो,' उनले भनिन्, 'नयाँ वर्षबाट थालनी गरेको कार्य सफल हुन्छ भन्ने मनोविज्ञानलाई मैले पनि आत्मसात गरेकी छु।' उनले आफ्नो नयाँ उपन्यासका लागि अहिले अध्ययन–अनुसन्धान गरिरहेको बताइन्। 'मैले नयाँ वर्षको पहिलो दिनलाई आफ्ना वार्षिक योजना बनाउने दिनको रूपमा पनि लिएको छु,' बान्तवाले थपिन्, 'एउटा मुख्य विषय उठाएर वर्षभरि उक्त विषयको खोजीतर्फ लाग्ने हो भने ठूलै उपलब्धि हासिल गर्न सकिन्छ।'

यसअघि कविता र निबन्धका पुस्तक बजारमा ल्याइसकेका भूपीन व्याकुलले पनि नयाँ वर्षमा नयाँ योजना बुनेका छन्। उनी यो वर्ष उपन्यास प्रकाशनमा ल्याउने तर्खरमा लागेको बताउँछन्। '२०७४ सालमा मैले अहिले लेखिरहेको उपन्यालाई प्रकाशनमा ल्याउन सकेँ भने मेरा लागि यो वर्षको ठूलो सफलता हुनेछ,' उनले भने, 'नयाँ वर्ष नयाँ काम थाल्ने र पुरानो कामको समीक्षा गर्ने समय पनि हो।' तर, उनी देशमा भइरहेको राजनीतिक अस्थिरताप्रति भने चिन्तित छन्। 'अहिले रानजीतिक दलहरूको कमजोर कार्यसम्पादनकै कारण आमनेपालीले दुःख खेप्नुपरेको छ,' उनले भने, 'अन्य क्षेत्रका सबैले आफ्नो भूमिका निर्वाह गरेजस्तै राजनीतिक नेताले पनि जिम्मेवारी निर्वाह गर्ने हो भने नयाँ वर्षमा नेपाली जनताले धेरै खुसी महसुस गर्न पाउँथे।'

नयाँ वर्षको दिनदेखि नै नयाँ योजना अघि बढाउनुपर्छ भन्ने मान्यताप्रति विमति राख्छन् समालोचक तथा उपन्यासकार डा. सञ्जीव उप्रेती। मानिसमा इच्छाशक्ति भयो भने जुनसुकै बेला पनि नयाँ कामको थालनी गर्दा फरक नपर्ने उनको तर्क छ। २०७४ साललाई बितेका वर्षभन्दा फरक काम गर्ने वर्षको रूपमा लिएको उनी बताउँछन्। 'मैले यो वर्ष समालोचना, नाटक लेखन, लघुउपन्यास प्रकाशनलगायत धेरै काम गर्नुछ,' उनी भन्छन्, 'यी काम सकाएँ भनेमात्र मेरो ०७४ साल सफल रहेको महसुस हुनेछ।'

त्यसो त नयाँ कामको सुरुवात गर्नुभन्दा पुराना योजना सम्पन्न गर्नुपर्ने केही लेखकको सुझाव छ। नयाँ वर्षका दिन नयाँ काम थाल्नुभन्दा पनि पुरानै कामलाई निरन्तरता दिने सोचमा छन् आख्यानकार नारायण ढकाल। उनी नयाँ वर्षमा आफ्नो खास नयाँ योजना नभएको बताउँछन्। 'नयाँ वर्षमा त्यस्तो कुनै नयाँ नै योजना त छैन, आफूलाई समयक्रमअनुसार हिडाउँछु,' उनले भने, 'अहिले उपन्यासमा काम गरिरहेको छु, सकेसम्म यो वर्षै नयाँ उपन्यास प्रकाशनमा ल्याउने कोसिसमा छु।' लेखकको जिम्मेवारी आफ्नो लेखनलाई निरन्तरता दिनुमात्र नभएर समाजलाई उत्प्रेरित गर्नु पनि हो भन्ने मत उनी राख्छन्। 'हामी लेखकहरू छिटोछिटो पुस्तक प्रकाशनमा ल्याउन आतुर हुन्छौँ,' ढकाल भन्छन्, 'तर, हाम्रो सिर्जनाको सामाजिक अस्तित्व कस्तो छ भनेर नापजोख गर्दैनौँ, त्यसैले थोरै लेखौँ तर सार्थक लेखौँ भन्न चाहन्छु।'

लेखक ताथा विचारक आहुतिको विचार ढकालसँग मिल्दोजुल्दो  छ। उनी नयाँ वर्षकै दिन पुस्तक लेख्न थाल्नु वा प्रकाशन गर्नु मनोवैज्ञानिक विषयमात्रै भएको बताउँछन्। 'हामीले एकदिन मात्र होइन, सकिन्छ भने हरेक दिनलाई नयाँ दिन मानेर नयाँ कामको थालनी गर्नुपर्छ,' उनले भने। उनी यो वर्ष 'नेपाली समाजको अन्तर्कथा' नामक पुस्तक प्रकाशनमा ल्याउने तर्खरमा छन्। 'अहिलेसम्म कुनै लेखकले उठाउन नसकेको र समाजमा लुकेको विषयलाई मैले उठान गर्न खोजेको छु, यही पुस्तकलाई पाठकमाझ ल्याउनु नै मेरो यो वर्षको संकल्प हो,' उनी भन्छन्। 

आफूलाई पूर्णकालीन लेखक बनाउँदै आएकी कवि उषा शेरचन यो वर्ष आफ्ना चारवटा कृति पाठकमाझ ल्याउने सोचमा छिन्। यौनहिंसाबारे कथासंग्रह, मुक्तकसंग्रह, कवितासंग्रह, गीतिसंग्रहलगायतका पुस्तक यो वर्ष पाठकमाझ ल्याउने शेरचनले बताइन्। 'मैले प्रकाशनमा ल्याउन लागेका पुस्तकहरू यसअघि प्रकाशन भएका भन्दा फरक हुनेछन्,' उनले भनिन्, 'पूर्णकालीन रूपमै लेखन क्षेत्रमा लाग्ने हो भने एक वर्षमा धेरै काम गर्न सकिन्छ।' त्यसो त हरेक वर्ष क्यालेन्डरको पाना पल्टाउँदा राम्रै लागे पनि देशको अँध्यारो राजनीतिक अवस्था देखेर उनी पनि दिक्क हुन्छिन्। 'अन्य क्षेत्रमा काम गर्ने व्यक्तिले जस्तै राजनीतिक दलका नेताहरूले पनि जिम्मेवारीपूर्ण ढंगमा काम गर्ने हो भने नेपाली जनताका मनमा नयाँ आशा जाग्थे,' उनी भन्छिन्। लामो समयपछि स्थानीय चुनाव आउन लागेकोमा उनी निकै खुसी छिन्।

नयाँ वर्ष :  शुभसाइत

योजनावद्ध ढंगमा काम गर्ने आदत भएका मान्छेका लागि नयाँ वर्ष महत्वपूर्ण हुन्छ नै। कतिपय मान्छे नयाँ वर्षमा सुरु गरेको हुनाले काम सफल हुने मान्यता पनि राख्छन् र वर्षभरि को योजना यो दिन तयार पार्छन्। कतिपयले त वर्षभरि गर्ने कामको सूची नै नयाँ वर्षका दिन सार्वजनिक गर्छन्। नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई हो। नेपाललगायतका विक्रम संवत् मान्ने स्थानहरूमा वैशाख १ गतेका दिनलाई एउटा पर्वका रूपमा मानिन्छ। नयाँ वर्षमा साथीभाइ, इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठमन्दिरमा गई पूजाआजा गर्ने, मीठा–स्वादिला परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ। यस दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ। विगतका असफलताबाट पाठ सिकेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर यो दिन सर्वत्र कामना गरिन्छ।

राजनीति देखेर दुःखी

अधिकांश लेखक/साहित्यका देशमा भइरहेका राजनीतिक गतिविधि देखेर चिन्तित छन्। राजनीतिक दलकै कारण देश संकटमा फस्दै गएको उनीहरूको गुनासो छ। 'देशको राजनीतिक अवस्था हेर्दा नयाँ वर्ष पनि खल्लो होला जस्तो लागेको छ,' परशु प्रधानले भने, 'साहित्यकारहरूले जस्तै राजनीतिकर्मीले पनि हरेक वर्ष नयाँ योजना बनाउने र त्यसलाई पूरा गर्दै जाने हो भनेे देश पनि बन्ने थियो।' उनले राजनीतिक अस्थिरताका कारण युवामा आलस्य, वैमनस्य बढेको र राम्रो सोच भएका व्यक्तिलाई पनि राजनीतिले दुषित बनाएको टिप्पणीसमेत गरे। राजनीतिक दलका नेताहरूले अन्य क्षेत्रका मान्छेले जस्तै जिम्मेवारीमा खरो उत्रने हो भने नयाँ वर्ष ०७४ विगतभन्दा सुखद रहने कवि भूपीनको टिप्पणी छ। 'देशका हरेक क्षेत्र राजनीतिसँग जोडिएको हुन्छ,' उनले भने, 'तर, राजनीति नै दुषित भएपछि देश सप्रिने कुरै भएन।' दुई दशकपछि देशमा हुन लागेको स्थानीय चुनावले देश सरल बाटोमा लागेको र नागरिकको आशा पलाउँदै गएको उनको ठहर छ। उनीजस्तै कवि उषा शेरचनले पनि राजनीतिक दलका नेताकै कमजोरीका कारण जनताले दुःख पाउनुपरेको बताउँछिन्। उनी भन्छिन्, 'राजनीतिक नेताहरूले हरेक वर्ष नयाँनयाँ काम गर्दै जाने हो भने देश र जनताको यस्तोे खराब हालत हुँदैनथ्यो।'

प्रकाशित: २ वैशाख २०७४ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App