coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

७३ का १३

कुमारी लामा

हरेक वर्षको उत्तरार्द्धको समय नेपालमा साहित्यिक वातावरण भयंकर चलायमान हुने गरेको छ। लेखक–प्रकाशक पुस्तक अनावरणको चटारोमा देखिन्छन्। सकिनै लागेको वर्षको अन्त्यमै काम फत्ते गर्ने उत्सुकता कतिपय प्रकाशमा रहेको पाइन्छ। लेखकलाई पनि आफ्नो पुस्तक सोही सालमा आओस् भन्ने लाग्न थाल्छ। यही कारण पनि हरेक वर्षको चैत महिना पुस्तक प्रकाशनका दृष्टिमा उर्वर बन्दै आएको पाइन्छ। तर, प्रत्येक वर्ष केही पुस्तकमात्रै चर्चा कमाउन सफल हुन्छन्। कतिचाहिँ सोचेजस्तो नभएर खिसि्रक्क पनि पर्छन्। वास्तवमा पुस्तक चर्चा या लेखकको लोकप्रियताको सर्वमान्य कसी के होला? पुस्तक चर्चामा आउनु या नआउनुका पछाडि अनेक कारण हुन सक्छन्। डिजर्भिङ पुस्तकहरू पनि बिनाचर्चा नै कतै हराइगएका उदाहरण पनि नेपाली पुस्तक दुनियाँमा प्रशस्तै छन्। समीक्षक राजकुमार बानियाँ पुस्तकको चर्चामा बजारको मुख्य भूमिका देख्छन्। 'यो विज्ञापनको समय हो। किताब पनि कमोडिटी भएको छ। प्रोमोसनमा प्रकाशकले के कति खर्च गरेको छ त्यसमा पनि भर पर्न सक्छ पुस्तकको पपुलारिटी,' उनी भन्छन्।

नयाँ वर्ष लाग्दै गर्दा बितेको वर्ष के कस्ता उपलब्धि भए, कमजोरी कुन कुन क्षेत्रमा देखिए भन्ने कुराको मूल्यांकन हरेक क्षेत्रले गर्ने गर्छ। साहित्य पनि यस कुराबाट अलग हुन सक्दैन। पछिल्लो समय प्रकाशन उद्योगले गति लिन थालेको छ।

अर्का समीक्षक गुरुङ सुशान्त बानियाँको कुरामा समर्थन गर्दागर्दै पनि फरक मत राख्न चुक्दैनन्। 'कमसल भए पनि बिकाउनु नै बजारको मूल ध्येय भएपछि क्वालिटी भएका पुस्तकलाई बजारले ओझेलमा पार्न सक्छ, तर मार्नचाहिँ सक्दैन। ती कुनै दिन पाठकको दिल–दिमागमा बस्न सफल हुन्छन् नै,' उनी भन्छन्।

बजारसँगै मिडिया पनि हुन सक्छ जिम्मेवार। कतिपय पत्रकार साहित्यकारको रूपमा अवतरित भएका छन्। 'प्रिभिलेज्ड' पत्रकारहरूले केही हदसम्म सञ्चारमाध्यमलाई उपयोग गरेको पनि पाइन्छ। १३ कै सूचीमा रहेका यी पुस्तक पत्रकारका पनि छन्। मिडियामा पहुँच नहुने लेखक स्वतः खुम्चने नै भए। कृति चर्चाको विषयमा कवि–समालोचक गीता त्रिपाठीको धारणा अलि फरक छ। उनी भन्छिन्, 'लेखक, पाठक र समीक्षकबीच छोटिएको दूरीका कारण पनि कृतिको सही समीक्षा हुन सकिरहेको छैन। साथै, ‰याँगिएको पपुलर कल्चरले पनि स्तरीय कृतिलाई धेरै हदसम्म ओझेलमा पारेको छ।' 

लोकप्रियताका कारणहरू केलाउँदै जाने हो भने लामै विवरण तयार हुन सक्छ। यस्ता अनेकन प्राविधिक कारणले गर्दा यस वर्ष पनि कतिपय पुस्तक हुनुपर्ने जति चर्चामा आउन नसकेको सत्य हो। सीमान्त समुदायको आवाज उठाएको उन्मुक्त पुस्ताको संयुक्त कवितासंग्रह 'आफर', हरिहर विरहीको संस्मरण 'आगो निभेको छैन', हरि अधिकारीको उपन्यास 'एक्लो नायक', कृष्ण अविरलको 'नम्रता', नवीन विभासको 'रोल्पा सुइना', राधाकृष्ण मैनालीको 'नलेखिएको इतिहास'लगायतका कृति बजारमा कतै छेलिएका छन्। तर, तिनले निकट भविष्यमा आफ्नो बलअनुरूपको चर्चा पाउने आशा गर्न सकिन्छ।

चैतको अन्तिम साता या अन्तिम दिनसम्म पनि पुस्तक सार्वजनिक हुने चलन अघिल्लो वर्ष पनि कायम रह्यो। भर्खरै बजारमा आएको श्रीओम श्रेष्ठ रोदनको निबन्धसंग्रह 'भनौँ कि नभनौँ', पवित्रा सुनारको कवितासंग्रह 'युगको आवाज', टंक चौलागाईंको उपन्यास 'टालाटुली' र श्याम सिंघकको उपन्यास 'रेमिटल्यान्ड' लगायतका कृतिको चर्चा हुन बाँकी नै छ।

पाठक, मिडिया ह्विप, बिक्री, बजार या अरु नै केही?

यो एउटा छुट्टै बहसको विषय बन्ला। तर, यतिखेर मेरो ध्याउन्न २०७३ सालभरि चर्चामा रहेका केही पुस्तकबारे पाठकलाई जानकारी दिनु रहेको छ। 

शुक्रराज शास्त्रीको 'पावरफुल' चस्मा

कवि, उपन्यासकार, कथाकार, पत्रकार जे पनि भन्न मिल्ने पात्र हुन् राजेन्द्र पराजुली। उनकै कथाकृति 'शुक्रराज शास्त्रीको चस्मा' २०७३ सालभरि 'हट टक' रह्यो। सांग्रिला बुक्सले बजारमा ल्याएको यस पुस्तकको चर्चा प्रायः सबै दैनिक पत्रिकादेखि साप्ताहिक या अनलाइनमा पनि निरन्तर भए। यो क्रम अद्यापि रोकिएको छैन। अचम्मको जगजगी फैलायो यस पुस्तकले। कथासंग्रहप्रति उतिसारो मन नमिलाउने पाठकहरू यतिबिघ्न उदार किन भइगए भन्ने खुलदुली छ मनमा। राजनीतिक विषय केन्द्रित छन् उनका कथाहरू। उनले छुटाएका छैनन् पत्रकारका पीडा–व्याथहरू केलाउन पनि। राजनीतिक विकृति, भ्रष्टाचार, शक्तिको दुरुपयोग आदि विषयमा दह्रो व्यंग्य गरेका छन् उनले। गुण्डा, भँडुवाहरू अरु कुनै कारणले मर्दा पनि सहिद घोषण गर्न सरकारलाई दबाब दिने पार्टीदेखि भातृ संगठनमा मौलाएको विसंगतिप्रतिको तिखो नजर राखेका छन् उनले आफ्ना कथाहरूमा। 'भर्‍याङ', 'काठमाडौँ गीत'लगायतका कथामा पत्रकारका पीडा पोखिएको छ। हाम्रो समयको दुरुस्त चित्र कलात्मक ढंगमा आएका कारण पनि पराजुलीको कथासंग्रह पाठकमाझ लोकप्रिय भएको हुन सक्छ।

इति एक सुरुवात

इति अर्थात् अन्त्य। तर, उमा सुवेदीको उपन्यास इति नयाँ सुरुवातको संकेतसँगै अन्त्य हुन्छ। रोजगारीका लागि इजरायल हानिएकी युवतीको विषयलाई उठाएको अघिल्लो उपन्यास 'तोदा'ले उनलाई एकाएक चर्चाको चुलीमा पुर्‍याइदिएको थियो। तोदाकै ह्याङओवरमा थिए सायद पाठक–समीक्षक पनि। त्यसैले राष्ट्रिय दैनिकदेखि साप्ताहिक म्यागेजिन कतै बाँकी भएन इतिको समीक्षा छाउन। अक्षर क्रियसन्सले प्रकाशन गरेको यस पुस्तक वर्षभरि नै चर्चामा रह्यो। नेपालको पूर्वी भेग बुधबारे, बाहुनडाँगीवरपरको काल्पनिक दामाटार गाउँको उत्पत्तिदेखि विलयसम्मको कथा समेटिएको इतिमा हात्तीआतंक, सुपारी तस्करीदेखि युवाको विदेश पलायनसम्मको सामयिकता आएको छ। दामाटारकी वर्षाको हुर्काइसँगै त्यस ठाउँमा आएको परिवर्तन, बजार नियन्त्रित विदु्रप समय र अन्त्यमा त्यस ठाउँको विलय र विजयबजारको उत्पत्तिको कथाले पाठकको मन छोएको हुन सक्छ।

घाटमान्डु क्रेज

घाँटीभरि अनेकन माला पहिरिने, तालुचिन्डे टाउको र तिलचामले बोके दाह्री बोकी हिँड्ने कुमार नगरकोटीको 'अपिरियन्स' मात्र 'अफ बिट' नभई लेखाइमा दिने 'आउट अफ ट्र्ययाक फ्लेवर'का कारण सधैँ चर्चामा रहिरहन्छन्। यी स्वघोषित 'फिक्सन डिजाइनर'को कृति घाटमान्डु वर्षभरि 'रिडर टक' बनिरह्यो। बुक हिल प्रकाशन गृहले ल्याएको यस पुस्तकलाई कोलाज क्रियसन भन्दा बढी सान्दर्भिक होला। फिक्सन, ननफिक्सन एन्ड अदर एडिक्सन्स नै भनी घोषणा भएको छ पुस्तकको आवरणमा। त्यसैले पनि सबैथोकको मिश्रण चाख्न सक्छन् पाठकले यस पुस्तकमा। उनको कल्पनाको उडानमा बत्याउने आयु चोर, निद्राजस्ता कथादेखि पाटनका चिया गल्ली हुँदै 'समथिङ लाइक पोयट्री'भित्रका अस्तित्व चेतले ओतप्रोत टुक्रे कवितासम्म पढ्न पाइन्छ यस संग्रहमा। मिस्टर नगरकोटीका केही पकेट पाठक छन् नै, जसले उनका प्रत्येक पुस्तक धुइँपत्ताल खोजी पढ्ने गर्छन्। त्यसैले होला घाटमान्डु क्रेजको पारो माथि चढेकै देखियो।

मनसुन मोन्टाज

बिकाऊ लेख्ने कि टिकाऊ लेख्ने? सधैँ विवाद छ। नेपालमा मात्र होइन, अन्यत्र पनि। बजारले भन्छ– बिक्नुपर्छ। बिके पछि असल हुन्छ। सुविन भट्टराईको उपन्यास मनसुनले फेरि पनि बिक्रीमा सनसनी फैल्याइदियो। प्लस टु पुस्ताको हातहातमा मनसुन सजिए। उनको लोकप्रियतामा कुनै शंका छैन। लभ गुरुझैँ भइसकेका भट्टराईको मनसुनको प्रेमकथाले युवाको मन राम्रै जितेको देखियो। बेलाबखत उनी गुनासो पोख्छन् र भन्न बाँकी राख्दैनन्– समीक्षकहरू कुण्ठा व्यक्त गर्छन्। पुस्तककै बिक्रीबाट एउटा आरामदायी जीवन बिताइरहेको उनको भनाइ छ। यस कोणबाट हेर्दा उनको लोकप्रियतालाई नस्वीकारी धरै छैन। फाइन प्रिन्टले प्रकाशन गरेको मनसुनले अपेक्षामुताविक साहित्यिक बजारमा हलचल पैदा गरिदिएको छ।

कम्प कम्पन

आख्यान, गैरआख्यान र कविताकृति बजारमा ल्याइसकेकी शारदा शर्माको यस वर्षको उपन्यास 'कम्प'ले साहित्यिक वृत्तमा कम्पन पैदा गरेको निश्चित हो। यद्यपि, यो पुस्तक आउनुअघि जुन ढंगमा कम्पन ल्याउने अपेक्षा गरिएको थियो, त्यति भएको भने देखिएन। २०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाएकी चित्रांगदाले देखेको यमलोकको चित्रण वरपर घुमेको छ यो उपन्यासको कथा। संाग्रिला बुक्सले बजारमा ल्याएको यस कृतिमा मृत्यु परको जीवनको कल्पना र गरुड पुराणका कथा तथा वर्तमान नेपालका विभिन्न क्षेत्रमा मौलाएको भ्रष्टाचार र विसंगतिलाई समानान्तर रूपमा अघि बढाइएको छ। यस लोकमा मात्र नभई यमलोकमा पनि शक्ति र पदको दुरुपयोग, धर्मको नाममा फस्टाएका परिमल गुरुहरूजस्ताको प्रवृत्ति, जातको नाममा चित्रांगदा स्वयंले भोगेको पीडा सबै नै हाम्रै भोगाई हुन्। कल्पना र स्वैरकल्पनाको मिश्रण रहेको यस पुस्तकले हाम्रै समयको बेथिति उतारेका कारण पाठकको रूचि बनेको हुन सक्छ।

कहर कहानी

समसामयिक विषयलाई आकर्षक ढंगमा टिप्न माहिर छन् जनकराज सापकोटा। पत्रकारीय तिखो नजर सधैँ नै बोकी हिँड्छन् जस्तो लाग्छ उनी। त्यसैको परिणाम हो उनको निबन्धसंग्रह 'कहर'। वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक हानिएका युवाको कहरको पोको फुकाउँछन् उनी पुस्तकभरि। वि रिडको प्रकाशन कहर मूलतः सपना बोकी बिदेसिएका जोशिला युवाको आँसुको वरपर घुमेको छ। पार्सल भई बाकसमा देश पसेपछि परिवारमा जाने पहिरो र व्यथाको ठेली पोखिदिन्छन् उनी। गोरखाका २१ वर्षीय सुरेन्द्र अधिकारी काठको बाकसमा देश छिर्छन् भने धनुषाका छोटु र महोत्तरीका सलित अपांग भई फर्कन्छन्। पीडा नै हो बिक्ने सायद अचेल। यही कारण सपना टिप्न हिँडेकाहरूको असहज जीवन टिपिएको कहर चर्चामा रह्यो। पुस्तकमा उनिएका प्रत्येक कथा हाम्रो समयको घाउ हुन्।

सीमाको सीमातीत उडान

गएको वर्ष कविताका निम्ति उतिसारो उर्वर देखिएन। कविताका केही संग्रह आए पनि ती कतै हराइगए। तर, सीमा आभासको कवितासंग्रह 'म स्त्री अर्थात् आइमाई'ले आशातीत सनसनी नमच्चाए पनि केही हदसम्म पाठक, समीक्षकमाझ चर्चाको विषय भने बनेर रह्यो। महिलाका विषयमा विभिन्न बहसमा आफ्ना धारणा निकै 'एग्रेसिभ्ली' राख्ने सीमाको यस संग्रहका कवितामा पनि महिलाकै विषय केन्द्रमा छन्। नारी अस्तित्वबोध, जीवन भोगाई, पीडा, शक्ति, चेतना, प्रेम आदि विषयमा लेखिएका उनका कविताले महिला मुक्ति र समान हक–अधिकारका विषयमा वकालत गर्छन्। आफूभित्रको आफूलाई चिन्नुजस्ता अस्तित्व चिन्तनका दह्रा उद्घोष पाइन्छन् उनका कवितामा। एक उग्र नारीवादीको कवितासंग्रहको रूपमा 'बायस्ड' भएर कविता नै नपढी 'कमन' धारण दिने समीक्षक र पाठकबाट दिक्क भएका उनका कुरा बेलाबखत सुन्न–पढ्न पाइन्छ। चाहे बायस्ड अभिव्यक्ति दिनेहरू हुन् या पढेरै इमानदार धारण राख्ने नै हुन्, उनीहरूकै कारण सीमाको कवितासंग्रहले चर्चा पाएको हो। यस संग्रहलाई मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो।

सेलिब्रेटी साइन

अभिनेता खगेन्द्र लामिछानेको साहित्यिक 'इन्ट्री' पाठकले रूचाएको नै देखिन्छ। कथासंग्रह 'फूलानी'को चर्चाले त्यसै भन्छ। गण्डक क्षेत्रका विभिन्न ठाउँका कथाहरू समेटेर स्थानीय लवज बोल्ने पात्र उभ्याएका छन् खगेन्द्रले। अधिकांश कथा प्रेम, विवाह र सम्बन्धको उत्तार–चढावको वरपर घुमेका छन्। सम्बन्ध भत्किए पनि नभत्किने केही चिज हुन्छ। सायद भावना या मानवता नै हुन ती। कथामा घनघसेमा पोइल गएकी स्वास्नीले छाडेको लोग्नेलाई खर्चबर्च पठाइरहन्छ अनि अपांग पूर्वपति पनि छाडेर गएकी स्वास्नीको माया गरिरहन्छ। यस्तै मानवीय संवेदनालाई दुरुस्त टिपेका कारण कलाकारको साहित्यकार रूप पनि रूचाएका होलान् पाठकले। बुक हिलले प्रकाशनमा ल्याएको हो यो पुस्तक। भत्किएको सामाजिक–राजनीतिक संरचनालाई उतारेको कथा 'बाउसापको साइकल' होस् या नारी स्वतन्त्रताको पक्षधरता लिएको 'फूलानी' सबै सामाजिक–राजनीतिक परिवर्तनका उपज हुन्। समय टिपेका छन् कथाकारले यसमा। यो पुस्तक लोकप्रिय हुनुमा अलिकति उनको 'स्टार भ्याल्यु' पनि जोडिएको भने हुन सक्छ।

मुदिर मेलाङ्कोली

शिखा बुक्सले प्रकाशन गरेको मीनराज वसन्तको उपन्यास 'मुदिर'ले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको पीडाको कथा कहेको छ। खाडीको पीडाका कुरा पत्रपत्रिकादेखि निबन्ध र आख्यानका रूपमा पनि लेखिने क्रम बढेको छ। वैदेशिक रोजगारीको विषय अब आम बनिसकेकाले यसमा कलम चलाउन धेरै मेहनत गर्नुपर्ने अवस्था छ। मुदिरले अरबका मेलाङ्कोलिक गल्ली र कामदारहरूको दुःखदायी भोगाइतिर डोर्‍याउँछ। ती सबै हामी र हाम्रै आफन्तले भोगेका पीडाको कहानीले हामी नछोइन पक्कै सक्दैनौँ। पीडाले नै हो बढी छुने मान्छेलाई। यसैकारण पनि पाठकले रूचाएका होलान् मुदिर। तीन लाखभन्दा बढी नेपाली युवा पसिना बगाइरहेको ठाउँ जहाँ लेखक स्वयं पनि केही समय कामदार रहेका कारण चरित्र चित्रण र भोगाइको बयानमा सजीवता आएको हुन सक्छ। यी भोगाइ हामीले बाँच्दै गरेको समयको तीतो सत्य हो।

साउने झरीको रुझाइ

नेपाली फिल्मी दुनियाँमा पछिल्लो समय चलेका स्त्रि्कप्ट राइटर हुन् अभिमन्यु निरवी। छक्का पन्जा सिनेमाको सफलताले त स्त्रि्कप्ट लेखाउन चाहने प्रोड्युसरको पहिलो रोजाइमा पर्छन् उनी। उनैको कथासंग्रह 'साउने झरी' ले पनि बजार राम्रै तताएको देखिन्छ। नयाँ प्रकाशन गृह लिजेन्ड पब्लिकेसनले बजारमा ल्याएको यस कथासंग्रहमा नारी मनोविज्ञानदेखि तराई आन्दोलनको पेचिलो समय, पहाडको पीडा, राजनीतिक बेथिति, गरिब मिर्गौला रोगीको कहर, दाइजोप्रथाको कुरीतिसम्मका विषय उठान गरिएको छ। मानवीय संवेदनाको महŒवपूर्ण पाटाहरूलाई आशालाग्दो प्रस्तुति दिनुका साथै नवआगन्तुक लेखकको सम्भावनायुक्त उपस्थितिका कारण यो पुस्तकलले पाठकको मन जितेको हुन सक्छ।

छाउघरको रंग

गीत लेखनमा रमाइरहेका राज सरगम उपन्यासकार अवतारमा अवतरित भएका छन् 'छाउघर' मार्फत्। आईएनजीओ(अन्तर्राष्ट्रिय गैरसरकारी संस्था) साहित्य भनी कतिले नाक खुम्च्याएका पनि हुन् उनको उपन्यासलाई लिएर। तर, पत्रपत्रिकामा छाउघर छाएपछि चर्चा भएको नकार्न सकिन्न। विषय निकै गम्भीर उठाएका छन् उनले उपन्यासमा। सुदूरपश्चिमको छाउप्रथा हो एक पीडादायी यथार्थ। आज पनि किशोरीहरू मरिरहेकै छन् छाउघरमा। १२ वर्षे बालिका कलाले पहिलो पटक महिनावारी हुँदा कष्टपूर्ण २२ दिन बिताउँदाको मनोविज्ञान र उनी साक्षी भएका अनेकन घटनाको सेरोफेरोमा घुमेको छ यसको कथा। शिक्षा, विज्ञान र प्रविधिमा निकै फड्को मारेको देखिए पनि नेपाली समाजमा रहेको यस्ता रुढी मान्यताप्रतिको दह्रो झापड भएका कारण रूचाइएको हुन सक्छ छाउघर। पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो।

सरसर्ती संसार घुम्दा

नेपाली साहित्यमा थोरै लेखिए पनि नियात्रा निकै रूचाइने विधामा पर्छ। त्यसमा पनि अझ नाम चलेका व्यक्तिको घुमाइ र भोगाइ त सधैँ पाठकको रोजाइमा पर्ने नै भयो। व्यवसायी तथा समाजसेवीका रूपमा स्थापित जीवा लामिछानेको नियात्रा 'सरसर्ती संसार'ले पनि पत्रपत्रिकाहरूमा राम्रै ठाउँ पाएको देखिन्छ। लामिछानेको युरोप, अमेरिका, अफ्रिका, अस्टे्रलिया र एसियाली मुलुकको यात्राको वर्णनसँगै उनले उतार्ने ती देशको रहनसहन, संस्कृति र विकासका विभिन्न किस्साका कारण यस पुस्तकले पाठकको मन खिचेको हुन सक्छ। चेक गणराज्यको राजधानी प्रागको बियर संस्कृतिमा झुम्दाको रंगीन समय होस् या जापानीहरूको इमानदारीको साक्षी हुँदाका उनका सुन्दर अनुभूति यस पुस्तकमा अटाएका छन्। लामो समयदेखि रसियामा बसोबास गरिरहेका लामिछानेले गरेको सोभियत संघको विघटन र सबैभन्दा पिछडिएको ताजकिस्तानको वर्णनमा 'फस्ट ह्यान्ड एक्सिपिरियन्स'को मीठास पाउन सकिन्छ। नेपालयको प्रकाशन यस पुस्तकले नियात्रा प्रेमीलाई उत्साही बनाएको पाइन्छ।

राक्षसको सुमधुर गीत

किशोर नेपाल सधैँ चर्चामा रहन्छन्। चाहे प्रोफाइल राइटिङले होस् या दैनिक अखबारको विचार पृष्ठमा लेख्ने 'हट इस्यु'ले नै किन नहोस्! उनी हुन् सधैँका 'हट टक'। लामो समयदेखि पत्रकारितामा रामाउँदै आएका नेपालको पछिल्लो कृति निबन्धसंग्रह 'राक्षसको गीत'ले पनि सनसनी नमच्चाउने कुरै भएन। गुदी नहुँदो हो त अभि सुवेदीजस्ता स्वनामधन्य स्रष्टाले किन त्यति खुलेर बखान गर्दा हुन् यस संग्रहको। डर लाग्दो टाइटलभित्र थन्किएका छन् सफ्ट र सुमधुर निबन्धहरू। लेखकले टिप्ने समय नै हो। त्यसमा पनि बाँचिरहेको समय। किशोर पनि आफ्ना निबन्धहरूमा त्यसै गर्छन्। चित्रण गर्छन् आजको विविध विसंगतिको, कन्फ्युज्ड धुलाम्मे समयको, इतिहास र आजका मान्छेको सूक्ष्म सम्बन्धको, अनि सुन्दर मिलन गरिदिन्छन् बाहिरी र आफूभित्रको संसारको। दार्शनिक चेतको प्रचुरता पाइन्छ उनका निबन्धहरूमा। सायद समय र 'म्याच्युरिटी'का उपज हुन् उनका खारिएका निबन्धहरू। बी एन पुस्तक संसारले बजारमा ल्याएको निबन्धसंग्रह संग्रहणीय कृति हुन सक्छ निबन्ध पारखीका हकमा।

प्रकाशित: २ वैशाख २०७४ ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App