१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

युट्युबको सहारा पाउँदै फिल्मी गीत

काठमाडौं- केही वर्षअघिसम्म बजारमा आएको नयाँ गीत थाहा पाउन रेडियो वा टेलिभिजनको सहारा लिनुपर्थ्यो। गीत चल्छ कि चल्दैन भन्ने भेउ पाउन चार–पाँच महिना सञ्चारमाध्यममा गीत बज्नैपर्थ्यो। त्यसपछि मात्र गीत, संगीत र म्युजिक भिडियोबारे प्रतिक्रिया आउँथ्यो। राम्रो भए सिडी क्यासेट बिक्रीसँगै कलाकारको कमाइ पनि मनग्यै हुन्थ्यो। गीत नचल्दा भने सिडी क्यासेट कलाकारका घर वा म्युजिक कम्पनीमै थन्किन्थे।

तर, अहिले समय फेरिएको छ। प्रविधि विकासकै कारण गीत स्रोतामाझ पुर्‍याउन रेडियो, टिभी, सिडी वा क्यासेटको सहारा लिइरहनु पर्दैन। इन्टरनेटको बढ्दो प्रयोग र  सामाजिक सञ्जालको विकासले स्रष्टाले गीतका बारेमा तुरुन्तै प्रतिक्रिया पाउन थालेका छन्। रेडियो र टेलिभिजन युगमा कति दर्शकले भिडियो हेरे भन्ने थाहा नहुने समस्यालाई पनि युट्युबले हटाइदिएको छ। दर्शकको संख्या बढेसँगै युट्युबबाटै सर्जकले आम्दानी पनि राम्रै गर्न थालेका छन्।

युट्युबमा राखिएका गीतकै कारणले फिल्म हेर्न दर्शकहरू हलसम्म पुग्ने गरेका छन्। त्यसैले निर्माताहरु 'गीत हिट त फिल्म सुपरहिट' भन्ने मान्यता राख्छन्।

फिल्म 'छक्कापञ्जा'को ‘पूर्वपश्चिम रेल’ गीत युट्युबमा आउँदा त्यसको दुई दिनसम्म संगीतकार तथा गायक राजनराज सिवाकोटीलाई  निद्रा लागेन। फिल्म 'वडा नम्बर ६' को गीत 'सुर्केथैली' भाइरल भएपछि अर्को गीत चलाउन उनलाई ठूलै चुनौती थियो। ‘रातभरि सुत्न सकिनँ’ सिवाकोटीले भने ,‘कस्तो प्रतिक्रिया आउला वा चल्ला कि नचल्ला भन्ने तर्कनाले कसरी निदाउनु?’ तर तेस्रो दिनमै १ लाख दर्शकले गीत हेरेको समाचार आएपछि सिवाकोटीले राहत महसुस गरेका थिए। गीतमा राजनराज र अञ्जु पन्तको स्वर छ।

‘दुई–तीन पटक सुनेपछिमात्र मनपनर्ेे खालको गीत थियो पूर्वपश्चिम रेल,’ उनले बताए ,‘पहिले–पहिले गीत हिट हुन दुईचार महिना कुर्नुपर्थ्यो, अहिले युट्युबकै कारण चौबिस घण्टामै गीतको भविष्य थाहा हुन थालेको छ।’ उनका अनुसार युट्युबमा फिल्मका गीत राख्दा निर्माताले सम्झौता गरेर दिन्छन्। तर निर्माताले दिने पारिश्रमिकमै चित्त बुझाउनुपर्ने अवस्था रहेको उनको अनुभव छ।

रोयल्टीको ठूलो हिस्सा नपाइए पनि दर्शक–स्रोताको माया पाएको बताउने राजनराजको फिल्म 'पिंजडा ब्याक अगेन'को ‘लामाकाने बाख्रो' र 'दुई रुपैयाँ'को ‘कुटु कुटु सुपारी दाना’ गीत चाँडै नै रिलिज हुने तयारीमा छ।

फिल्म 'लुट २' को ‘ठमेल बजार’ हेर्ने दर्शकको संख्या युट्युबमा दिनानुदिन बढिरहेको छ। मिना निरौलाको स्वर रहेको गीत ६ महिनाअघि नै युट्युबमा आएको थियो। ‘पूर्व पश्चिम रेल’को दर्शक बुधबारसम्म १ करोड ३४ लाख ८८ हजार ३ सय ९१ पुग्दा ‘ठमेल बजार’को दर्शक १ करोड ४० लाख ९८ हजार ५ सय ९८  पुगिसकेको छ। अघिल्लो वर्ष नै युट्युबमा हिट भएको ‘सुर्केथैली खै’ लाई १ करोड ७६ लाख ८,९६६ दर्शकले हेरिसकेका छन्।

गीत 'ठमेल बजार'का संगीतकार कालीप्रसाद बाँस्कोटा युट्युबमा राखिएको चौबिस घण्टामै गीतले दुईदेखि तीन लाख दर्शक बटुलेको दाबी गर्छन्। ‘चर्चासँगै गीतबारे स्रोता–दर्शकका प्रतिक्रिया तुरुन्त पाउने माध्यम युट्युब बनेको छ’, बाँस्कोटाले भने ,‘ठमेल बजारबाट चल्छ कि चल्दैन मात्र हैन, आम्दानीको स्रोत पनि युट्युब नै बन्यो मेरा लागि।’ उनका अनुसार रेडियो टेलिभिजनमा गीत र भिडियो सीमित समयमा बज्छन्। अन्तर्राष्ट्रियस्तरको अवसरसँगै कलाकारलाई विश्वमाझ चिनाउन युट्युबमा भाइरल हुने गीतले सघाउने दाबी उनको छ।

नेपालमा रोयल्टीको स्पष्ट कानुन नबनेको अवस्थामा युट्युबले धेरै राहत दिएको उनको अनुभव छ। ‘तर कसले कसरी तिर्छ वा बाँड्छ, कुन च्यानलबाट गर्ने भन्ने कुरा फरक हुन्छ,’ उनी सुनाउँछन् ,‘अपलोड गर्दा नै कलाकारले व्यावसायिकता देखाए घाटामा जाँदैन।’ उनका 'जहिले रिसाउने', 'साइँली', 'ठमेल बजार', 'पारी त्यो डाँडामा'जस्ता गीतले युट्युबमा टन्न दर्शक पाएका छन्।

पछिल्लो समयमा रिलिज भएका दुई गीत ‘साइँली’ र ‘कालेदाइ’को चर्चा पनि युट्युबमा उत्तिकै छ। 'साइली'मा हेमन्त रानाको स्वर छ भने 'काले दाइ'मा मिना निरौला र निश्चल बस्नेतले स्वर दिएका छन्। ‘साइली’ आफ्नो भ्युअर बढाउने लाइनमै छ। दुई महिनाअघि मात्रै युट्युबमा आएको 'साइली'ले करोड बढी दर्शक पाइसकेको छ। त्यस्तै ‘कालेदाइ’ले पनि 'साइली' लाई पछ्याइरहेको छ। पछिल्लो समय रिलिज भएका 'ए मेरो हजुर २' , 'जोनी जेन्टलमेन' र 'प्रेमगीत २'का गीतले छोटो समयमै लाखौं दर्शक पाएका छन्।

केही वर्षयता क्यासेट चक्का र सिडी दर्शक–स्रोताले किन्न छाडिसकेका छन्। पेनड्राइभमा राखेर गीत सुन्ने क्रम बढ्दो छ। मोबाइलमै इन्टरनेट भएपछि जहाँसुकै भए पनि युट्युब खोलेर सुन्न र हेर्न पाइने हुँदा पनि दर्शक–स्रोताको क्रेज त्यता बढेको गायक खरेल बताउँछन्।

गायक तथा संगीतकार अर्जुन पोखरेलले भने युट्युब र परम्परागत सिडी क्यासेटको बजार फरक रहेको उल्लेख गर्छन्। ‘हिजो हाम्रो गीत गाउँपाखामा बस्नेले क्यासेट किनेर बजाउँथेे,’ पोखरेलको तर्क छ ,‘विदेश जानेले किनेर बोकेरै लान्थ्यो अनि चल्थ्यो र चलिराखेको छ।’ त्यस्ता क्यासेट सिडी अहिले पनि विभिन्न देशमा जाने नेपालीका साथी बनेर जाने गरेको उनले बताए। नयाँ मार्केटका रुपमा युट्युब उदाएको पोखरेलको बुझाइ छ। उनको फिल्म 'प्रेमगीत'को 'म यस्तो गीत गाउँछु' र 'मैले सोचेको जस्तै', प्रमोद खरेलले गाएको लोक पप ' झुमा झुम्कावाली', फिल्म 'विन्दास'को 'सुन्छु तिमीले मलाई' जस्ता गीत युट्युबमा निकै हिट भए।

युट्युबमा गीत राख्ने कम्पनीमा हाइलाइट्स नेपाल अग्रणी कम्पनीमा दरिन्छ । यसका सञ्चालक ओम गुरुङ रोयल्टी रकम जोसँग सम्झौता हुन्छ, उसैलाई दिने गरेको बताउँछन्। ‘कम्पनीसँग सम्झौता भए कम्पनीलाई, निर्मातासँग भए निर्मातालाई रोयल्टी दिन्छौ,’ गुरुङ भन्छन् ‘गायक, कलाकार वा व्यक्तिसँग भए उनलाई नै दिन्छौ।’ तर फिल्मका ९९ प्रतिशत गीत निर्मातासँग पहिल्यै पारिश्रमिक तय गरेर किनिने भएकाले त्यसको रोयल्टी नतिर्ने गरेको उनले बताए। उनका अनुसार युट्युबले दिने रोयल्टीको रकम न्युनतम ५० देखि ७५ प्रतिशत सम्म हुन्छ। 'छक्का पञ्जा'को 'पूर्वपश्चिम रेल' र 'लुट २' को ठमेल बजार किनेरै लिएकाले आम्दानी नबाँडिएको जानकारी दिए।

प्रकाशित: ३ वैशाख २०७४ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App