फोटो फिचर

चौंरी : पर्यटनको नयाँ ‘प्रोडक्ट’

सोमबार, ०४ बैशाख २०७४, ११ : ३० भीम चापागाईं


इलाम – मेची पहाडको पर्यटन विकासका लागि विभिन्न सम्भावना खोजी भइरहेका बेला पाँचथरको फालेलुङ गाउँपालिकास्थित चाररातेमा आयोजित चौंरी महोत्सवले नयाँ ‘प्रोडक्ट’ थपेको छ । लोपोन्मुख हुन लागेको चौंरीपालन व्यवसायलाई पर्यटनसँग जोडेर दीर्घकालिन बनाउने प्रयासमा सम्भवतः नेपालमै पहिलो पटक चौंरी महोत्सव आयोजना गरिएको हो । 

‘चौंरी हेर्न पर्यटक आयो भने त पैसा पनि हुने भो, चौंरीको दूध पनि चाखेर जाने भो।’

नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको महोत्सवमा वरपरका आधा दर्जन गाउँबाट २ सय हाराहारी चौंरी भेला गरियो । चौंरी हेर्न स्थानीय सर्वसाधारण र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख–प्रतिनिधिका साथै रष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीसमेत सहभागी भए । उनले चौंरीसँग रमाएका स्थानीयको जीविकोपार्जन, पारिस्थितिक प्रणाली र चौंरी देखाएर पाहुना पल्काउने खालका कार्यक्रम तयार गरी आयोगमा पठाउनसमेत आग्रह गरे । 

इलामको उच्च पहाडी क्षेत्र सन्दकपुरबाट करिब ५ किलोमिटर र पाँचथरको फिदिमबाट १६ कोष पूर्वमा पर्ने चाररातेमा चौंरी हेर्न करिब २ हजार नर–नारी भेला भएका थिए । चौंरीपालन व्यवसाय पनि पर्यटक पल्काउने काइदा हुनसक्ने बुझेपछि स्थानीय निकै हर्षित देखिए । ‘चौंरी पाल्यो, छुर्पी र घिउ–दूध मात्रै खायो गर्दैथियौं,’ स्थानीय पासाङडन्डु शेर्पा हौसिए, ‘चौंरी हेर्न पर्यटक आयो भने त पैसा पनि हुने भो, चौंरीको दूध पनि चाखेर जाने भो ।’ महोत्सवमा भेला भएका धेरै स्थानीयले चौंरी पनि पर्यटक आकर्षित गर्ने विषय बन्छ भन्ने सोचेका रहेनछन् । 

हुन त, यो लेकाली भेगमा अरूबेला पनि वर्षेनी ४५ हजार हाराहारी पर्यटक आउने गरेको तथ्यांक छ । तर, चौंरी महोत्सवले यहाँ पर्यटनको नयाँ प्रोडक्ट थपेको इलामस्थित मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जनाएको छ । ‘चौंरीपालनलाई लोप हुन नदिन र थप व्यावसायिक बनाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ चौंरी महोत्सव आयोजना गरिएको हो,’ समितिका कार्यकारी निर्देशक केशव धौरालीले भने, ‘पर्यटक आकर्षित गर्न चौंरीपालन व्यवसायले पनि सघाउने रहेछ ।’ 

महोत्सवमा आयोजकले ५ सय चौंरी भेला गर्ने लक्ष्य राखेपनि २ सयभन्दा बढी भएनन् । ‘प्राङबुङ, फलैंचा, कालीखोलालगायत क्षेत्रबाट ३ दिनसम्म हिँडाएर महोत्सवमा देखाउन चौंरी ल्याइएका थिए,’ समितिका कर्मचारी सन्दीप पौडेलले सुनाए, ‘कतिपय चौंरी त बाटैमा हराएछन् पनि ।’ पौडेलले उच्च पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धन र चौंरीपालक किसानको आयस्तर सुधारमा काम गर्नु जरुरी देखिएको बताए । 

‘चौंरीपालन व्यवसाय लोप हुँदा त्यसमा आश्रित धेरै किसानको आम्दानीको स्रोत पनि नासिन सक्छ,’ उनले भने, ‘चौंरीको संख्या बढाउन र पर्यटनसँग त्यसलाई जोड्न सके मेची पहाडको पर्यटनले निकै गति लिनसक्छ ।’ उनले इलाम, पाँचथर हुँदै ताप्लेजुङको कञ्चनजंघाको दक्षिणी बेसक्याम्पसम्म पुग्ने पर्यटकका लागि यहाँको चौंरीपालन व्यवसाय नयाँ गन्तव्य हुने बताए । 

तीनै जिल्लाको जैविक विविधता संरक्षण, चौंरीको दूधजन्य पदार्थ तेस्रो मुलकसम्म निर्यात, जडीबुटी व्यवसाय प्रवद्र्धन र चौरीपालन व्यवसायको आधुनिकीकरणका लागि पनि चौंरी महोत्सव उपलब्धिमूलक भएको समितिले जनाएको छ । ज्यादै दुर्गम भेगमा पर्ने लेकाली क्षेत्रका पशुपतिनगर, मानेभञ्ज्याङ, तुम्लिङ, कालपोखरी, सन्दकपुर, चारराते, शिखरथुम, फालोट, तीनसीमा हुँदै कञ्चनजंघा हिमालको बेसक्याम्पसम्म पुग्न पदमार्ग निर्माण गर्न सके यहाँको पर्यटनले नयाँ उचाइ लिने सम्भावना छ । 

‘तीनै जिल्लाका लेकाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ध्यानाकर्षण गराउन महोत्सव एउटा माध्यम मात्रै हो,’ कार्यकारी निर्देशक धौरालीले भने, ‘पर्यटनका असीमित सम्भावना भएका लेकाली भेगमा चौंरीलाई पनि पर्यटकीय सम्पदाका रूपमा राख्नु आवश्यक छ ।’ 

नेपाल पर्यटन बोर्ड, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, पाँचथरस्थित वन कार्यालय, इसिमोड, जिल्ला समन्वय समिति, पशुसेवा कार्यालय, दीपज्योति युवा क्लब, फालेलुङ गाउँपालिका वडा ४ र ५, चौंरीपालक कृषक समूह र सामुदायिक वन उपभोक्ता महासंघले महोत्सवको प्रवद्र्धन गरेका थिए । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले महोत्सव आयोजना गरेका हुन् । 

 

 तस्बिरहरू सौजन्य : मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, इलाम 













यसमा तपाईको मत

अन्य समाचार

आलुको  सभापतित्वमा कार्यक्रम

आलुको  सभापतित्वमा कार्यक्रम

हाँस्य कलाकारको बाक्लो जमघट थियो । जब अजय अधिकारी सुशील मञ्चमा उक्लिएर कार्यक्रम चलाउन थाले । अनि छुट्यो हाँसोको गुन्जायस्...

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक...

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

धादिङको रुबी भ्यालीमा दुई साता लामो छायांकन पछि फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ। सात दिनको समय तालिका मिलाएर रुबी...

वस्तीको नेपाली लेखाउने काइदा

वस्तीको नेपाली लेखाउने काइदा

भाषामा भए गरेका गाईजात्राले आहत भएका भाषाविद् शरच्चन्द्र वस्तीले भाषाशुद्धी र एकरूपताका लागि ‘नेपाली कसरी लेख्ने ?’ ...