६ वैशाख २०८१ बिहीबार
ब्लग

चुचुरोमा झण्डा फहराउने रहर

हवाइ जहाजबाट खिचेको सगरमाथाको दक्षिणी मोहोडाको तस्विर।

‘सगरमाथा चढ्न के चाहिन्छ ?’ एक भेटमा आङफूला शेर्पासँग सोधँ ।

आङफूलाले मलाई कान्छो भनेर सम्बोधन गर्नुहुन्छ। त्यस दिन पनि हाँस्दै भन्नुभयो, ‘ए कान्छो आज साँच्चिकै गम्भीर भएर सोध्यौ। सगरमाथा चढ्ने बिचार छ कसो?’

‘हो दाई मलाई सगरमाथा चढ्ने ठूलो रहर छ,’ मैले आङफूलालाई भने। सगरमाथा चढ्छु भनेर डेढ वर्षअघि पहिलो पटक आङफूलालाई सुनाएको थिएँ। उनी पर्यटन व्यवसायी र चार पटक सगरमाथा चुचुरोमा पाइला टेकीसकेका आरोही हुन्। हामी दाजुभाइ जस्तै छौं।

तयारी कर्म गरिहँदा सोच्दैछु यी सबै तयारीको अन्तिम विन्दू— सगरमाथा टुप्पोको यात्रा नै हो। विश्वको शिरमा उभिएर झन्डा फरहाउनु नै हो।

‘किन सगरमाथा चढ्ने?’ कारण छुट्टै होला। तर, सगरमाथा चढ्न के चाहिने रहेछ? त्यो कुरा मसँग छ वा छैन् भनेर पहिचान गर्नु थियो। ‘आत्माबल सबैभन्दा आवश्यक पर्ने कुरा हो। चुचुरोमा जसरी पनि पुग्छु भनेर अठोट लिने हो भने सगरमाथा चढ्न गाह्रो छैन्,’ आङफूलाले मेरो प्रश्नको उत्तर दिए, ‘तर सगरमाथा चढ्ने सजिलो काम पनि होइन्। प्रत्येक पाइलामा मृत्यु कुल्चदै हिँड्नुपर्छ।’

आङफूलाको पहिलो वाक्यले जुरुक्क उठाएको मलाई दोस्रो वाक्यले भने थचक्क बसायो। संसारकै अग्लो सगरमाथाको चुचुरोमा पुग्ने आत्मबल त मसँग छ। के मसँग मृत्यु कुल्चिन सक्ने क्षमता छ त? आफैंले आफैंलाई प्रश्न गरेँ। उत्तर भेट्न नसकेपछि मृत्यु कुल्चन के गर्नुपर्छ ? फेरि आङफूलालाई सोधेँ ।

‘यसको लागि त तालिम नै हो। साँच्चिकै तिमी सगरमाथा नै चढ्ने हो भने एक दुई पटक सगरमाथा आधार शिविर जाउ। उचाइसँग घुलमिल गर। छ हजार मिटर भन्दामाथि उचाई भएका एउटा दुईवटा पीक चढ। यसले तिमीलाई सगरमाथा चढ्न सहयोग पुर्‍याउनेछ।’

सगरमाथा चढ्न चाहिने अर्को कुरा त स्वास्थ्य पनि हो। अझ भनौं हामी जती उचाईमा घुलमिल हुन सक्छौं त्यती हामीलाई सहज हुन्छ।
म कतिको उचाइमा घुलमिल हुन सक्छु भनेर आङफूलासँग कुरा भएलगातै अन्नपूर्ण आधार शिविर गएँ। त्यहाँसम्म उचाईमा मेरो स्वास्थ्यमा खासै असर गरेन्।

‘सगरमाथा चढ्ने साहस जुटाएको छु दाई’ अन्नपूर्णबाट आएपछि अमेरिकामा बस्नुहुने पेम्दोर्जी शेर्पालाई फेसबुकमा म्यासेज पठाए। उनीदुई पटक चुचुरोमा पुगेका हुन्। सगरमाथामा गएर विवाह गरेका व्यक्ति हुन् उनी। ‘आँट गर्नु नै ठूलो कुरा हो। कठिन छ तर पनि सकिन्छ,’ पेम्दोर्जीले म्यासेन्जरमा लेख्नुभयो, ‘मार्चमा खुम्बु क्षेत्रमा जानेगरी म आउँछु। त्यसबेला तिमी पनि सँगै जाउला। उचाई पचाउन सहयोग पुग्छ।’

मार्चको अन्तिममा पेम्दोर्जी दाईसँगै खुम्बु क्षेत्र पुगेँ। बेलाबेलामा दाईले आफ्नो आरोहणको अनुभव सुनाउनु हुन्थ्यो। बेलाबेला हिमाल चढ्दा आवश्यक पर्ने टिप्स दिनुहुन्थ्यो। यसले मलाई झनै हौसला थप्यो। उचाई पनि सजिलै पचाउन सकेँ। हिउँमा हिँड्न पनि सिकेँ। पेम्दोर्जीसँगको ८ दिने खुम्बु भ्रमणले सगरमाथा चढ्ने साहस झनै बलियो बन्यो।

कतिखर्च लाग्छ होला? जिज्ञास पहिलै देखि थियो। आएर मैले आङफूलालाई सुनाए। उनले झण्डै आधा करोडको हिसाब निकाले। यो हिसाबले  सगरमाथाको सपनालाई थचक्कै पार्‍यो। पत्रकारिता गरेर विहान बेलुकाको रोजीरोटी गरिरहेको मेरा लागि यो रकम धेरै ठूलो हो। कताकता मन मर्न लागेको थियो। त्यतिबेलै सम्पादक गुणराज लुइँटेलले एउटा खुशीको खबर सुनाउनुभयो। हो मेरो अभियानमा मैले काम गर्ने पत्रिका नागरिक दैनिकले साथ दिने निश्चित भएको छ। सँगै रिपब्लिका र न्युर्योक टाइम्सको साथ पनि हुने भएको छ। अब म मानसिक र शारीरिक तयारीतर्फ लागे हुने भयो।

फेरि म मन फुकाएर उचाइँमा घुलमिल, पीक चढ्ने लगायत तयारी गर्दैछु। तयारी कर्म गरिहँदा सोच्दैछु यी सबै तयारीको अन्तिम विन्दू— सगरमाथा टुप्पोको यात्रा नै हो। विश्वको शिरमा उभिएर झन्डा फरहाउनु नै हो।
 

प्रकाशित: ४ वैशाख २०७४ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App