७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेयर र उपमेयरमा दावी गर्न कार्ययोजना अनिवार्य

खोटाङ – आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङका दलहरू योग्य र प्रभाव राख्न सक्ने उम्मेद्वार छानिरहेका छन् । योग्य उम्मेद्वारमार्फत आफ्नो जीत सुनिश्चितताका लागि अधिकांश दलहरू आन्तरिक अभ्यासमा रहेका समय नेकपा एमाले खोटाङले भने रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा दावी गर्ने उम्मेद्वारले अनिवार्य भिजन’ पेश गर्नुपर्ने मापदण्ड बनाएको छ ।

‘उम्मेद्वार जोसुकै छानियोस् तर, मेरो नगरपालिकालाई यस्तो बनाउँछु भन्ने योजना पनि चाहियो नी ।’ – अध्यक्ष चामलिङ 

भावी मेयर र उपमेयरले सिंगो नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिक परिवर्तन गर्ने दक्षता राख्नुपर्ने भएकाले उम्मेद्वारको क्षमता पहिचान एवम् योग्य व्यक्ति छान्नका लागि छुट्टै मापदण्ड बनाइएको एमालेका अध्यक्ष बबी चामलिङले बताए । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको उम्मेद्वार छान्नका लागि आइतबारदेखि सुरु गरिएको बैठकमा मेयर र उपमेयरमा दावी गर्ने हरेक उम्मेद्वारलाई तीन–तीन मिनेटको कार्ययोजना पेश गर्न लगाइएको छ । रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका लागि ९ जना र उपमेयरका लागि ७ जना आकांक्षी देखिएका छन् । मेयरमा महिलाकातर्फबाट उम्मेद्वारी नै नपरेको एमालेले जनाएको छ ।  

मेयर र उपमेयरका आकांक्षीले नगरपालिकाको आर्थिक, सामाजिक, राजनैतिक र भौतिक क्षेत्रमा परिवर्तन गर्न सकिने सम्भावना सहितको कार्ययोजना बारेमा प्रतिबद्धता जनाउँदै उम्मेदवारकारुपमा दावी गरेका छन् । एमाले नगर कमिटीको निर्णयानुसार आकांक्षीबाट नगरपालिकाको परिर्वतनका सवालमा पाँच वर्षभित्र गर्न सकिने र बहुवर्षीय कार्ययोजना माग गरिएको हो । ‘मेयर र उपमेयरको उम्मेदवार बन्छु भनेर मात्र हुँदैन,’ अध्यक्ष चामलिङले भने, ‘उम्मेद्वार जोसुकै छानियोस् तर, मेरो नगरपालिकालाई यस्तो बनाउँछु भन्ने योजना पनि चाहियो नी । त्यही भिजन पेश गर्न लगाइएको हो ।’ 

मेयर र उपमेयरका आकांक्षीबाट रुपाकोट मझुवागढीमा रिङरोड निर्माण, स्वर्ण रुपाकोट मझुवागढी चक्रपथ निर्माण, नमूना नगरपालिका, उद्योगको स्थापना लगायतका कार्ययोजना पेश भएको श्रोतले जनाएको छ । मेयरका लागि नेताबीचमै होडबाजी चलेको छ । उनीहरू केन्द्रीय पहुँच प्रयोग गरेरै भए पनि मेयरको टिकट हात पार्ने आन्तरिक कसरतमा समेत छन् । 

प्रकाशित: ४ वैशाख २०७४ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App