coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

विपन्नको आफ्नै बैंक

विराटनगर- मोरङ सोरभाग–२ कि समु खातुन तरकारी व्यापार गर्छिन्। कर्सिया बजारमा तरकारी बेचेर उनले राम्रो आम्दानी गर्न थालेकी छन्। केही वर्ष पहिलेसम्म घरधन्दामै सीमित हुने समु यतिबेला व्यवसायी  भएकी छन्। गरिबी निवारण कोषले नारी विकास संघ मोरङमार्फत गाउँमै रहमनिया सामुदायिक संस्था स्थापना गरिदिएपछि उनको दैनिकी परिवर्तन भएको हो। बैंकिङ कारोबार गर्ने संस्था गाउँमा स्थापना भएपछि व्यवसाय गर्न सजिलै ऋण नपाउने समस्या पनि यतिबेला नरहेको उनले बताइन्।

 अहिले गाउँमा स्थापना भएको  संस्थाबाट सानोतिनो व्यवसाय गर्न सजिलै ऋण पाइन्छ। संस्थाको सञ्चालक सदस्य पनि आफैं भएकाले बैंक तथा अन्य वित्तीय संस्थाबाट ऋण लिँदाजस्तो समस्या झेल्नुपर्दैन । ऋणको ब्याज पनि कम तिर्नुपर्छ। ऋण लिन सजिलो र तिरेको ब्याज पनि आफ्नै हुने भएपछि स्थानीय महिलाहरू चुरा पसल, तरकारी व्यापार, शैलुन, सिलाइकटाइजस्ता व्यवसायमा आकर्षित भएका छन्।

 व्यापार–व्यवसाय गरेर  आएको फाइदामध्ये केही रकम संस्थामा जम्मा पनि गर्न थालेको समुले बताइन्। आफ्नै संस्थाबाट ३० हजार रुपैया“ ऋण लिएर उनले व्यापार थालेपछि घर खर्चमा पनि सहयोग पुगेको छ। उनले भनिन्, 'ऋणको किस्ता र बचत तिरेर पनि कमाएको पैसाले घर खर्च चलाउन  पुगेको छ।’ उनले मात्रै हैन, स्थानीय जुरेखा खातुनले पनि २० हजार रुपैया“ ऋण लिएर चुरा पसल थालेकी छन्। चुरा पसलबाट दैनिक  ४ सय रुपैया“ फाइदा हुने गरेको उनले बताइन्। 

ऐलेनी जग्गामा बसोबास गर्दै आएका विपन्न समुदायका उनीहरूलाई गाउ“मा आफ्नै बैंक भएपछि जीविकोपार्जनमा सहज भएको छ। सजिलै ऋण पाइने भएपछि गाउ“मै स्वरोजगारको बाटो पनि खुलेको छ। श्रीमतीहरूले लगानी जुटाइदिएपछि श्रीमानहरूसमेत व्यवसायमा लागेका छन्। २५ हजार रुपैया“ ऋण लिएर चुरा पसल थालेकी जहिरा खातुनले पुरानो ऋण चुक्ता गरेर  श्रीमानलाई समेत ५० हजार लगानीमा चुरा पसल खोलिदिएकी छन्। श्रीमान् पसलमा बस्ने र आफूले हटियामा चुरा बेच्न लैजाने गरेको खातुनले बताइन्।

संस्थाकी अध्यक्ष अजमेरी खातुनले बैंकले दिने सेवा आफ्नै संस्थाले गाउ“मै दिन थालेपछि स्थनीयको जीवनस्तरमा सुधार आउन थालेको बताइन्। उनले पनि संस्थाबाट २० हजार रुपैया“ ऋण लिएर टेलर्स सञ्चालन गरेकी छन्। टेलर्सबाट दैनिक १ हजार ५ सय रुपैया“सम्म आम्दानी हुने गरेको खातुनले बताइन्। खातुनका अनुसार, संस्थालाई  गरिबी निवारण कोषले ३ लाख ४९ हजार रुपैयाँ अनुदान दिएको छ।

वर्षदिनपहिले स्थापना भएको संस्थामा सदस्यहरूको अनिवार्य बचत २७ हजार २ सय र स्वेच्छिक बचत ९ हजार ४ सय ३३ रुपैया“ जम्मा भएको छ।

यस्तै, ३८ हजार रुपैया“ ब्याज  आम्दानी पनि भएको खातुनले बताइन्। नारी विकास संघले मोरङका ८ गाविसमा ६० वटा संस्था स्थापना गरी विपन्न परिवारलाई बैंकिङ पहु“च पुर्‍याउने र आयआर्जज बढाउने सरकारको योजनामा सहयोग गरिरहेको जनाएको छ।

यस्तै, बहुउद्देश्यीय विकास व्यवस्थापनले पनि ६ वटा गाविसमा ३५ वटा संस्था स्थापना गरी विपन्न वर्गको आर्थिक उत्थानमा सहयोग पुर्‍याइरहेको संस्थाले जनाएको छ।

प्रकाशित: ३० असार २०७३ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App