७ वैशाख २०८१ शुक्रबार
अन्य

बिपीमा ओपन हर्ट सर्जरी

धरान- मुटु रोगको उपचार गराउन राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपन हर्ट सर्जरी सुरु भएको छ। महिनादिनको अवधिमा यहाँ ११ जना मुटु रोगीको सफल शल्यक्रिया भइसकेको छ। मुटुको सम्पूर्ण रोगको उपचार एवं शल्यक्रिया सेवा यहीं उपलब्ध हुने प्रतिष्ठानको दाबी छ। अब मुटु रोगको उपचार गराउन बिरामी राजधानी एवं विदेश जानुपर्ने बाध्यता पनि हटेको छ।

'महिनादिनदेखि यहीं ओपन हर्ट सर्जरी सुरु भएको छ, अहिलेसम्म विभिन्न खालका ११ जना मुटु रोगीको सफल शल्यक्रिया पनि भइसक्यो,' प्रतिष्ठानका अस्पताल निर्देशक डा. अरविन्दकुमार सिन्हाले भने, 'अब मुटु रोगीले उपचार गराउन काठमाडौं गइरहनै पर्दैन, सबै उपचार यहीं हुन्छ।'

 प्रतिष्ठानमा यसअघि नै क्याथल्याब सेवा सञ्चालनमा भएपनि दक्ष जनशक्ति अभावमा ओपन हर्ट सर्जरी भने हुन सकेको थिएन। नेपालका अधिकांश मुटु रोगीहरू काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार गराउन जान्छन्। त्यसनिम्ति बढी खर्च हुन्छ भने समय पनि धेरै जान्छ।

 प्रतिष्ठानका अनुसार भारतको प्रसिद्ध मेडिकल कलेज एम्सबाट एमसीएच गरेका कार्डियोथोरासिक सर्जन डा. लोकेश जैसवाल आएपछि प्रतिष्ठानले विशेषज्ञ उपचार सेवाअन्तर्गत ओपन हर्ट सर्जरी सुरु गरेको हो। सर्जन जैसवाल कार्डियोथोरासिकमा डिग्री (एमसीएच) गर्ने पहिलो नेपाली चिकित्सक हुन्। उनी जनकपुरनिवासी हुन्।

 एमबिबिएस एम्सबाटै उत्तीर्ण गरेका जैसवालले एमएस पिजिआई चण्डीगढमा अध्ययन गरेका थिए। उनी करिब १० महिनाअघि नै प्रतिष्ठानमा आएका थिए। त्यसयता नर्सिङ स्टाफ, एनेस्थेसियालगायत टिम तयार गर्न तालिम र आवश्यक सामग्री, मेसिन तयारीमा प्रतिष्ठान जुटेको थियो।

अस्पताल निर्देशक सिन्हाका अनुसार, हालसम्म जन्मजात मुटु रोगको ३ (एएसडी २ र पिडिए १) शल्यक्रिया भइसकेको छ। यस्तै, सिउडोएन्युरिज्म रिपेयर ५, एनुर्जम सर्जरी एउटा र पेरिकार्डियोटोमी २ वटा शल्यक्रिया सफल भइसकेको छ। चिकित्सक जैसवालका अनुसार, सफल शल्यक्रिया भएका मुटु रोगीहरू धरान, झापा, सिन्धुली र उदयपुरका हुन्।

 विशेषज्ञ सेवाअन्तर्गत जन्मजात मुटु रोग (एएसडी, भिएसडी, पिडिए, टिओएफ) को शल्यक्रिया प्रतिष्ठानमै हुन्छ। यस्तै, भल्व प्रत्यारोपण (एमभिआर, एभिआर, डिभिआर) सेवा पनि यहीं उपलब्ध छ। सिएबिजी सर्जरी, एन्युरिजम सर्जरीलगायत सबै सेवा भएकाले अब पूर्वाञ्चलवासीले मुटुको उपचार गराउन अन्यत्र गइरहनु नपर्ने उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले बताए। सेवालाई अझ प्रभावकारी बनाउन नयाँ क्याथल्याब स्थापना गर्ने प्रक्रिया सुरु भइसकेको उपकुलपति दासको भनाइ छ।

 'हामी नेपालको स्वास्थ्य क्षेत्रमा धेरै अघि बढिसकेका छौं। कति विशेषज्ञ सेवा सुरु भइसकेको छ, कति प्रक्रियाको चरणमा छ,' उपकुलपति दासले भने।

 पछिल्लो समय सरकारले प्रतिष्ठानमा ४ सय शऒ्ढयाको मातृशिशु स्याहार केन्द्र (एमसिएच सेन्टर) बनाउन बजेट विनियोजन गरिसकेको छ। केन्द्र निर्माणनिम्ति टेन्डर पनि भइसकेको छ। यस्तै, हालै बजेटमार्फत सरकारले आर्थिक वर्ष ०७३/०७४ मा २ सय शऒ्ढयाको क्यान्सर सेन्टर (अस्पताल) बनाउने घोषणा गरिसकेको छ।

प्रकाशित: ३० असार २०७३ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App