८ वैशाख २०८१ शनिबार
समाज

लोकल बसमा फर्के सीमा विवादका घाइते

काठमाडौं- काठमाडौं–महेन्द्रनगर रात्रिसेवा, बस नम्बर ना४ख १६२। यो बस न एक्सपे्रस हो न त डिलक्स नै। यात्रुको भाषामा ‘लोकल बस'। त्यही गाडीको क्याबिनको लामो सिटमा सुतेका छन् उनी। गाडी महेन्द्रनगर पुग्न पूरै १८ घन्टा लाग्छ। यो बस नयाँ बसपार्कबाट महेन्द्रनगर छुट्ने तयारीमा छ। सिटबाट नखसून् भनेर छेवैमा पत्नीले आड दिएकी छन्।

घाइते भएयता उपचारमा साढे तीन लाख खर्च भइसकेको भए पनि सरकारले अस्पतालको बिलमात्रै तिर्ने कुरा गरेकाले चापागाईं अप्ठेरोमा परेका छन्।

यो दृश्य हो काठमाडौंको नयाँ बसपार्कबाट बस चढेर घर फर्किन लागेका सीमा विवादका घाइते टीकाराम चापागाईंको। उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा तीन साताको उपचारपछि घर फर्केका हुन्। लगातार  १८ घन्टाको  यात्रापछि उनी शुक्रबार घर पुगे।

मुग्लिन–नारायणघाट सडक र कञ्चनपुरको अत्तरियादेखि घर पुग्ने बेलासम्म अप्ठेरो झेल्नुपरेको उनले सुनाए। ‘यो खण्डमा बाटो पिच थिएन, बसले घरिघरि उफार्थ्यो', उनले भने। बसका चालक तथा यात्रुको सहयोगले घर पुग्न सफल भएको उनले सुनाए।  ‘चालक र यात्रु सबैलाई धन्यवाद पुर्‍याइदिनुस् है। बाटोमा उहाँहरुले बोकेर शौचालय पुर्‍याउनुभएको थियो' उनले टेलिफोनमा नागरिकसँग भने।

फागुन २६ मा कञ्चनपुरको पुनर्वास सीमा विवादका क्रममा भारतीय प्रहरीको कुटाइबाट घाइते भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। प्रहरीको कुटपिटबाट उनको देब्रे कुम छुटेको, टाउकोमा चोट लागेको र मेरुदण्डको हड्डी चर्केको छ।  चिकित्सकले लामो समय अस्पताल बस्दा अन्य रोगको संक्रमण हुन सक्ने भन्दै गत बुधबार डिस्चार्ज गरे। ‘फिजियोथेरापी सिकाएका छन्, घरैमा बसेर गर्छु र आराम गर्छु', उनले भने।

घरमा पुगे पनि उनलाई बसेपछि उठाउनुपर्ने र हिँडडुल गर्न नसक्ने समस्या छ। ‘घरमा परिवारका सदस्यले ट्वाइलेट लगिदिन्छन् बसेपछि उठ्न सक्दिनँ', उनले समस्या सुनाए।

लामो समय आराम र फिजियोथेरापी गर्न भनी डिस्चार्ज भएका चापागाईंको न राजधानीमा केही दिन बस्ने उपाय थियो न त आफैं एम्बुलेन्स खोजेर जाने अवस्था। टिचिङ अस्पतालका एम्बुलेन्स लामो दूरीमा जान सक्ने अवस्थाका थिएनन्, अरु एम्बुलेन्सको व्यवस्था गर्न उनको परिवारसँग खर्च थिएन। यसको उपाय खोज्न चापागाईंका आफन्तले पटकपटक स्वास्थ्य मन्त्रालयमा अनुरोध गरे, कुनै पहल भएन। ‘कतिपटक भन्यौं। मन्त्री चुनावमा गएको भन्दै वास्तै गरेनन्', चापागाईंकी पत्नी सविनाले भनिन्।

विकल्प नभएपछि आफैं खर्चको जोहो गरेर एकजना आफन्त, श्रीमती र चापागाईंले लोकल बसको क्याबिनमा जाने निधो गरेका थिए।  ‘अहिले ठीकै छ, बाटोमा बस उफ्रिन्छ कि भन्ने डर लागेको छ', बुधबार साँझ राजधानी छोड्नुअघि चापागाईंले भनेका थिए।  केही दिन राजधानी बस्ने इच्छा भए पनि खर्च अभावले हिँड्नुपरेको उनले सुनाए। ‘खर्च भएको भए केही दिन यतै बसेर हेर्थें। सरकारले पहिल्यै खर्च दिएको भए केही दिन यतै बसेर फिजियोथेरापी गर्थें।

चापागाईंको उपचारमा संलग्न शिक्षण अस्पताल हाडजोर्नी विभागका अनुसार उनलाई घरैमा बसेर आराम गर्न डिस्चार्ज गरिएको हो। हड्डीको बिरामी भएकाले एम्बुलेन्स र हवाईजहाजमा जानु उनका लागि सहज हुने थियो। उनको डिस्चार्ज समयमा आफूलाई जानकारी नभएको र एम्बुलेन्स व्यवस्था गर्न प्रशासनिक तहमा जानकारी नआएकोले  पहल गर्न नसकेको अस्पतालका निर्देशक तथा अर्थोपेडिक सर्जन डा. दीपक महराले बताए। उनले भने, ‘प्रशासनिक तहमा जानकारी आएको भए हामीले गृह मन्त्रालयसँग पहल गर्थ्यौं', उनले भने।

‘सरकारले पूरै उपचार खर्च दिए हुन्थ्यो'

सरकारले उपचारमा लागेको खर्च बेहोर्ने भने पनि उचित व्यवस्थापन नभएको चापागाईंको गुनासो छ। घाइते भएदेखि यता साढे तीन लाख उपचार खर्च लागिसकेको भए पनि सरकारले अस्पतालको बिलमात्रै तिर्ने कुरा गरेकाले चापागाईं अप्ठेरोमा परेका छन्।

औषधिबाहेक आफू र दुईजना कुरुवाले खाएको खाना खर्च, यातायात खर्च सबै जोड्दा सरकारले बेहोर्नेभन्दा बढी भएको उनले सुनाए। ‘सरकारले उपचारखर्च मात्र बहोर्ने कुरा छ, महँगो काडमाडौंमा छुट्टै खर्चमा परियो', उनले भने।

आफू हिँडडुल गर्न नसक्ने घाइते बनेकाले घरमा आम्दानीको बाटो बन्द भएको, आफूसहित परिवारका चारजनाको दैनिकी चलाउने उपाय नभएको, उपचारका क्रममा तीन लाखभन्दा बढी ऋण लागेको उनले बताए।

सरकारले उपचारको बिल पेस गरे पनि अहिलेसम्म रकम भुक्तानी दिएको छैन। ‘ऋण खोजेको पैसा हो, छिटो भुक्तानी गरिदिए क्रण फिर्ता दिन्थें', उनले सरकारसँग अनुरोध गर्दै भने। 

‘अब घरमा के खाएर बस्ने? मोकाइल रिपियर गर्न जान सक्दिनँ', घाइते हुनेअघि मोबाइल मर्मतको काम गर्दै आएका उनले भने। उपचारका क्रममा भएको सबै खर्च बेहोरिदिन, श्रीमतीलाई जागिर लगाइदिन र आफूलाई राहत दिन उनले सरकारसँग आग्रह गरेका छन्। ‘श्रीमतीले आइए पढेकी छन्, सुहाउँदो जागिर मिलाइदिए बच्चा पाल्थें', उनले भने। घरमा दुई छोरी, आफू र श्रीमतीसहित वृद्ध बुवाआमा छन्। यी सबैलाई हेर्ने जिम्मेवारी अब उनकी पत्नी सवनाको काँधमा आएको छ।

चापागाईं गत फागुन २६ गते सीमा विवादमा भारतीय एसएसपीको गोली लागी गोविन्द गौतमको मृत्यु भएलगत्तै प्रदर्शनको अग्रपंक्तिमा जाने क्रममा पिटिएका थिए।

प्रकाशित: ५ वैशाख २०७४ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App