१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्यटकलाई दिक्दारी

काठमाडौं- नाम चलेको पयर्टकीय केन्द्र हो–ठमेल। नेपालमा वर्षेनी करिब छ लाख पयर्टक आउँछन्। नेपाल आउने अधिकांश पर्यटक ठमेल पुगेकै हुन्छन्। अझ धेरै पयर्टक त एयरपोर्टमा झरेर सिधै ठमेल पुग्छन्।

वसन्तकालीन समयलाई पयर्टन क्षेत्रमा ‘सिजन’ मानिन्छ। अहिले ठमेललाई पनि सिजन लागेको छ। ठमेलका टे्रकिङ, ट्राभल्स अफिसदेखि होटल, गेष्टहाउस सबैतिर पयर्टक देख्न सकिन्छ। तर, ठमेल पुग्ने पयर्टक भने सडकको खराब हालत देखेर खिन्न हुन्छन्।

ठमेलभित्रका कुनै पनि सडक सद्दे छैनन्। धुलो बुङबुङ उडिरहेको हुन्छ। कतै ढल ओछ्याउने काम चलिरहेको छ त कतै पानीको पाइप ओछ्याउने सुरसार भइरहेको हुन्छ। यी कार्यले गर्दा ठमेलका कतिपय सडकमा त हिँड्नै सकिन्न। ठमेलमा प्रवेश गर्ने सबैतिरका सडकको अवस्था दयनीय छ। ‘महिनौंदेखि सडक क्षतविक्षत छन्,’ ठमेलमा टे्रकिङ कार्यालय चलाउँदै आएका आङफूला शेर्पा भन्छन्, ‘विदेशीले सडकको दुर्दशालाई लिएर खुबै गुनासो गर्छन्।’ कतिपय पयर्टक त ठमेलमा बस्नै नमान्ने उनले सुनाए। पयर्टकीय क्षेत्र जसरी ठमेललाई सफा, स्वच्छ तथा व्यवस्थित गर्न नसकेको गुनासो स्थानीय व्यवसायीको छ।

ठमेलका सडकमा अहिले खानेपानी र ढलको पाइप बिछ्याउनेलगायतका काम चलिरहेका छन्। विकास निर्माणका काम सम्बन्धित निकायले व्यवस्थित ढंगले नगर्दा ठमेलमा यतिबेला स्थानीय तथा पर्यटकलाई समस्या झेल्नुपरेको छ।

ठमेल क्षेत्रमा मेलम्चीको पानी ल्याउन आयोजना कार्यान्वयन निर्देशनालयले शर्मा हान्जाउ जेभी निर्माण कम्पनीलाई जिम्मा दिएको छ। यो कम्पनीले अहिले काम गरिरहेको निर्देशनालयका कन्सलटेन्ट राजलाल ठाकुरले जानकारी दिए। उनका अनुसार कम्पनीले ठमेल, अनस, न्युरोड, इन्द्रचोकलगायतका क्षेत्रमा ८० किलोमिटर पाइप बिछ्याउने काम गरिरहेको छ। कम्पनीले करिब–करिब आधा खण्डमा पाइप बिछ्याउने काम गरिसकेको उनले जानकारी दिए।

निर्माण कम्पनीका ईन्जिनियर सुगत शाक्यले कम्पनीले व्यस्थित ढंगबाटै काम गरिरहेको दाबी गरे। ‘हामीले आवतजावतलाई असर नपुग्ने गरी काम गरिरहेका छौं,’ ईन्जिनियर शाक्यले भने, ‘विकास निर्माण गर्ने क्रममा केही कमजोरी हुनेहुँदा त्यसलाई मुद्दा बनाउन हुन्न।’ उनका अनुसार कम्पनीले ठमेलमा आधाभन्दा बढी सडकमा पाइप बिछ्याइसकेको जनाए। बाँकी रहेको काम पनि चाँडै सकिने उनले बताए। ‘ठमेलमा पाइप बिछ्याउने काम चाँडो सकाएर एक–डेढ महिनामै कालोपत्रे गर्नेछौं,’ उनले भने। 

प्रकाशित: ५ वैशाख २०७४ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App