८ वैशाख २०८१ शनिबार
विचार

संकीर्ण राष्ट्रवादका आयाम

निश्चित सीमाभित्रको भूगोल, अर्थतन्त्र, संस्कृति, मनोविज्ञान, जनसंख्या र शासन प्रणालीसहितको सग्लो र सार्वभौम भौतिक रूप नै राष्ट्र हो। यसमा रहेको सम्पूर्ण मानव समुदायले स्वाभिमान, सम्मान, समानता र न्याय पाउने प्रक्रिया नै खाँटी राष्ट्रियता हो। एउटा समुदायले अर्काको सम्मान र सहअस्तित्व स्वीकार गर्ने राजनीतिक संस्कृति आन्तरिक वा स्थानीय राष्ट्रियता हो। कुनै मुलुकले आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्नु समग्र राष्ट्रवाद हो। यही सग्लो राष्ट्रवादी उन्नत चेतनाको रणनीतिक साध्य अन्तर्राष्ट्रियतावाद हो। त्यसैले राष्ट्रवाद भनेको आन्तरिक राष्ट्रियता र अन्तर्राष्ट्रियताबीचको सङ्क्रमणकालीन आन्दोलन हो। राष्ट्र र राष्ट्रिय स्वार्थ रहेसम्म यो निरन्तर जारी रहने सार्वभौम प्रक्रिया हो।

राष्ट्रियता नै कमजोर भएपछि अन्तर्राष्ट्रियतावादी रणनीति टाढाको विषय बन्छ। प्राविधिक राष्ट्रवादी आयाममा उत्पीडितहरूले न्याय पाउँदैनन्। राजनीतिक राष्ट्रवादी आयाममा मात्र आन्तरिक राष्ट्रियताको ग्यारेन्टी गरिन्छ।

पछिल्लो समय राष्ट्रवादको भ्रष्टीकरण वा अपव्याख्या गर्ने प्रवृत्ति बढेको छ। यो अतिराष्ट्रवाद र सङ्कीर्णतावादमा फस्दै गएको देखिन्छ। विश्वको राष्ट्रवादी आयाम नै अतिराष्ट्रवादमा अभिव्यक्त भइरहेको छ। अनपेक्षितरूपमा डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी, नेपालको ढोंगी राष्ट्रवाद अनि युरोपमा व्रेक्जिटवादी लहर आउनु सङ्कीर्ण राष्ट्रवादी प्रवृत्तिका पछिल्ला उदाहरण हुन्। उपर्युक्त दल, पात्र र घटनाको उदय अचानक र अप्रत्याशित भएको होइन। यो उनीहरूको नाटकीय क्षमता र प्रतिभाको परिणाम पनि होइन। यो त विश्व जगतमा आएको संकीर्ण राष्ट्रवादी मूल प्रवृत्तिकै अंशगत आयामहरू हुन्। अतिराष्ट्रवादी प्रवृत्तिले क्षणिक माहोलसँगै कसैको स्वार्थ पूरा गरे पनि दीर्घकालीकरूपमा यो प्रत्युत्पादक नै हुन्छ। किनकि यसको निषेधात्मक र संकीर्ण चरित्रले राष्ट्रिय एकता र सद्भावको वकालत गर्दैन।

वास्तवमा भूगोल, भावना र माहोल संकीर्ण राष्ट्रवादका रूप पक्ष हुन्। यसले राज्य रहेसम्म निरन्तर राष्ट्रवादी आन्दोलन भइरहने सच्चाइलाई इन्कार गर्छ। बरु उल्टै आफ्नो दलगत स्वार्थका लागि मौसमी राष्ट्रवादको एकतारे रेट्ने गर्छ। बाह्य हस्तक्षेपबाट आक्रान्त जनताका कमलो भावनामाथि ब्ल्याकमेलिङ गर्न राष्ट्रवादको ढोंग गर्छ। तर सार तत्वमा जाँदा संकीर्ण राष्ट्रवादी इमोसनमा अति निरङ्कुशता, जातीयता, साम्प्रदायिकता, धार्मिकता, प्रतिगमन, एकपक्षीयता र निषेधको राजनीति अन्तरनिहीत हुन्छ। संकीर्ण राष्ट्रवाद नै विभिन्न अतिवादी प्रवृत्तिको मुहान हो। भावनात्मक तथा प्राविधिक आयामबाट हेर्दा जायज लागे पनि यसको निषेधवादी चरित्रले विभाजन र विखण्डन निम्त्याउँछ जसले राष्ट्रियता झनै कमजोर बनाउँछ। यसको भावनात्मक कभरले कसैलाई लाभको पदमा एक दुई कार्यकाल विराजमान गराए पनि प्रकारान्तरमा मुलुकको हित गर्दैन। 

राष्ट्रवाद राष्ट्र रहेसम्म निरन्तर आन्दोलन हो। यसले राष्ट्रिय एकता, सद्भाव, सहयोगी र सिर्जनशील भावनाको विकास गराउँछ। यही केन्द्रीकृत बलमा सबैखाले बाह्य हस्तक्षेपविरुद्ध लड्ने शक्ति पैदा हुन्छ। द्विपक्षीय हितमा समान र सम्मानपूर्ण सम्बन्धको वातावरण बनाउँछ। यसले राष्ट्र, राष्ट्रियता, जनता, समुदाय, दल, समूह, नेता र कार्यकर्तालाई एकताको सूत्रमा सङ्गठित गर्छ। आन्तरिक राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सग्लो रूप नै असली राष्ट्रवाद हो। साँचो राष्ट्रियताले हमेशा अन्तर्राष्ट्रियतावादको सेवा गर्छ। अर्थात यसले आन्तरिक राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादबीच गतिशील पुलको काम गर्छ। आन्तरिक राष्ट्रियताबिनाको राष्ट्रवाद ढोंग र ढाँट/छलमात्र हो। अर्थात आन्तरिक राष्ट्रियता मजवुत हुनु नै राष्ट्रवाद सवल हुनु हो। राष्ट्रवाद सवल हुनु नै अन्तर्राष्ट्रियतावाद संस्थागत हुनु हो।

राष्ट्रवादका दुइटा आयाम हुन्छन्। आन्तरिक राष्ट्रियता, जनतन्त्र र जनजीविका यसको राजनीतिक आयाम हो। यो प्रगतिशील राष्ट्रवादभित्र पर्छ। यता भूगोल, भावना र फलामे पर्खाल प्राविधिक वा भावनात्मक आयाम हो। यो सङ्कीर्ण राष्ट्रवादभित्र पर्छ। यसले भूगोल, भावना, सिमाना र निहीत स्वार्थमा राष्ट्रवादी आन्दोलनलाई कुण्ठित गर्छ। सिङ्गो मुलुक, जनता, समुदाय, दल, नेता तथा कार्यकर्तालाई विभाजित गर्छ। भावनात्मक आयाममा आधारित राष्ट्रवाद सस्तो लोकप्रीयता र चुनावमा जीत वाजी मार्ने रणनीतिक घेराबाहिर जान सक्दैन। तर राष्ट्रवाद भनेको चुनाव, लोकप्रियता, दल र घटनासँग दाँज्न मिल्ने सवाल नै होइन। यो निरन्तर जारी रहने साझा महाअभियान हो। हरेक नागरिकमा राष्ट्रवादी भावना हुन्छ। यसमा इमोसनल ब्ल्याकमेलिङ गर्नु भनेको अपराधतुल्य हो। अतिराष्ट्रवादी ढोंगभित्र उल्टै राष्ट्रघात लुकेको हुन्छ। अर्थात अतिले खती गर्छ भन्ने उखान चरितार्थ हुन्छ। सारतः संकीर्ण राष्ट्रवादमा जनताका भावनामा च्याँखे थाप्दै इमोसनल भोट विनिमय गर्नेभन्दा गतिलो उद्देश्य हुँदैन।

राष्ट्रवाद पनि उत्पीडित तथा उत्पीडक वर्गीय हितमा हुन्छ। मुलुकभित्रका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको समान अधिकार र न्यायको सुनिश्चिततासहितको राष्ट्रिय स्वभिमान रक्षा गर्ने निरन्तर आन्दोलन उत्पीडित वर्गीय वा प्रगतिशील राष्ट्रवाद हो। प्रगतिशील राष्ट्रवादमा न्याय र समानतासहितको सुदृढ राष्ट्रिय एकता हुन्छ। सुदृढ एकता र सुशासनले राष्ट्रवादलाई बलियो बनाउँछ। यता महेन्द्रीय राष्ट्रवाद उत्पीडक वर्गीय राष्ट्रवाद थियो जसले संकीर्ण राष्ट्रवादी कभरमा सामन्ती पञ्चायती शासनलाई सुदृढ गरे। पछिल्लो समय नेपालका केही समूहले ढोंगी राष्ट्रवादको कभरमा भावनाको राजनीतिक व्यापार गर्दैछन्। यो महेन्द्रपथीय वा उत्पीडक वर्गीय संकीर्ण राष्ट्रवादकै पछिल्लो संस्करण हो। यसले तपार्इँको कमलो राष्ट्रवादी भावनामा चुनावी व्यावसायिक खेती गर्दैछ। किनकि अतिराष्ट्रवादमा बाह्य हस्तक्षेप देखाएर जनताका अधिकार अपहरण गरिन्छ।

राष्ट्रवाद भनेको भूगोल, भावना, सिमाना र वातावरणमात्र होइन। माहोलका लागि कसैको चर्को विरोध र गाली गर्नु नै राष्ट्रवाद होइन। दक्षिणको उत्तर र उत्तरको दक्षिण बनिबनाउ विकल्प हुन सक्दैन। यो राष्ट्रवादको अतिराष्ट्रवादी संकीर्ण र प्राविधिक आयाम हुन्। कसैले अतिराष्ट्रवाद सकारात्मक भावनामा उठाए पनि परिणाममा यो राष्ट्रघाती हुनपुग्छ। आन्तरिक न्याय र समानताको उचित व्यवस्थापनबिना राष्ट्रिय एकता, शान्ति, सद्भाव, अमनचयन र समृद्धि सम्भव हुँदैन। यस्ता मूलभूत पक्षहरूको सुनिश्चितताबिना राष्ट्रवाद मजवुत हुँदैन। यो प्रगतिशील राष्ट्रवादमा मात्र सम्भव हुन्छ। प्रगतिशील राष्ट्रियताबिना बाह्य हस्तक्षेपको पनि अन्त्य हुँदैन साथै आन्तरिक ढंगले जनताले न्याय पनि पाउन सक्दैन। न्यूनतमरूपमा प्रगतिशील राष्ट्रवादमा मुलुकभित्रका सबै राष्ट्रियतालाई समान र सम्मानपूर्ण व्यवहार गरिन्छ। यस्तो कसिलो राष्ट्रिय एकतामा वैदेशिक हस्तक्षेप कमजोर हुन जान्छ अनि राष्ट्रवाद स्वतः बलियो हुन्छ।

तसर्थ, विश्वव्यापीरूपमा बढ्दै गएको अतिराष्ट्रवादी प्रवृत्तिलाई शुभसङ्केत मान्न सकिन्न। केवल भूगोल, भावना, माहोल र घटनाविशेष ढोंगी राष्ट्रवाद नै अतिराष्ट्रवाद हो। राष्ट्रवाद जस्तो महान् आन्दोलनलाई मौसमी च्याँखे स्वार्थमा सीमित गरिनु लज्जाको विषय हो। यसले आन्तरिक राष्ट्रियता, जनतन्त्र, जनजीविकालाई नजरअन्दाज गर्छ। राष्ट्रिय एकता, सद्भाव, शान्ति र समृद्धि खल्बल्याउँछ। हरेक समुदायलाई निषेध गर्दै विभाजित र विखण्डित पार्छ। विभाजित राष्ट्रले राष्ट्रियता रक्षा गर्न सक्दैन। राष्ट्रियता नै कमजोर भएपछि अन्तर्राष्ट्रियतावादी रणनीति टाढाको विषय बन्छ। प्राविधिक राष्ट्रवादी आयाममा उत्पीडितहरूले न्याय पाउँदैनन्। राजनीतिक राष्ट्रवादी आयाममा मात्र आन्तरिक राष्ट्रियताको ग्यारेन्टी गरिन्छ। त्यसैले प्रगतिशील राष्ट्रवाद सत्य हो भने संकीर्ण राष्ट्रवादी प्रवृत्ति ढोंग, भ्रम र पाखण्डीपनको पराकाष्ठ हो। सबैलाई चेतना भया!

प्रकाशित: ५ वैशाख २०७४ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App