काठमाडौं— जापानको टोकियोमा नेपालको चर्चित ब्याण्ड कन्दराको कन्सर्ट सम्पन्न भएको छ। कास्की पोखरा समाजले आयोजना गरेको कार्यक्रममा आइतवार कन्दराले लाइभ प्रस्तुति दिएको हो।
'तगारोमा रुमाल राखी' गीत गाउँदा भने उनको प्रस्तुतिमा मस्त भएका दर्शकले वान्समोर वान्समोर भन्दै हुटिंग गरेका थिए।
पोखरेली चर्चित गायक बिनोद बानियाँको प्रस्तुतिबाट सुरू भएको कन्सर्टमा सहभागी सबै संगीतको तालमा झुम्न पुगे। बिनोदले तिमी हाँसी रहे, सधै बाँची रहेँ भन्ने गीत गाएर सहभागीलाई मनोरञ्जन प्रदान गरे।
बिनोदको प्रस्तुति पछि जब कन्दरा ब्याण्डका सदस्यहरू स्टेजमा देखा परे तब उपस्थित दर्शकले जोडदार तालीले स्वागत गरे। कन्दरा ब्याण्डका सुमधुर आवाजका धनी गायक विवेक श्रेष्ठ कार्यक्रमको मुख्य आकर्षण बने। उनको गीतमा तालमा ताल मिलाउँदै प्रस्तुतिको अन्तसम्म सहभागीहरूले साथ दिएका थिए।
जिन्दगी यो उत्सव हो बरदान ईश्वरको गीतबाट शुरू गरेका विवेकले संझिरहेछु आमालाई, राष्ट्रियता मिसिएको हैन भने नेपाली नभन लगायतका गीत गाए। उनले सदाबहार 'तगारोमा रुमाल राखी' गीत गाउँदा भने उनको प्रस्तुतिमा मस्त भएका दर्शकले वान्समोर वान्समोर भन्दै हुटिंग गरेका थिए। कन्दराको लामो समयको विश्राम पछिको पुनरागमनलाई धेरैले प्रसंसा गरेका छन्।
'माछपुच्छ्रे,अन्नपूर्ण हाम्रो शान, शिक्षाको लागी कास्की पोखराको अभीयान' भन्ने नारासहित आयोजना गरिएको कार्यक्रमबाट जम्मा भएको रकम कास्की जिल्ला शिक्षा क्षेत्रमा खर्च गरिने समाजका अध्यक्ष शिवप्रसाद पौडेलले नागरिक न्यूजलाई बताए।
कन्सर्टमा ८ सय भन्दा बढिको सहभागिता रहेको कन्सर्ट संयोजक कृष्ण तिमिल्सिनाले बताए।
प्रकाशित: ५ वैशाख २०७४ १२:४१ मंगलबार