७ वैशाख २०८१ शुक्रबार
राजनीति

बेलायतमा नयाँ सरकार, पूर्व लन्डन मेयर बोरिस विदेशमन्त्री नियुक्त

 लन्डन- बेलायतको सत्तारुढ दल कन्जरभेटिभ दलका नेता टेरेसा मेले प्रधानमन्त्रीको पद सम्हाले लगत्तै आफ्नो मन्त्री मण्डलको विस्तार गरेकी छन् । ५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्रीको कार्यभार समाल्दै आएकी मेले प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिएपछि बुधवार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । उनले आफ्नो मन्त्रिमण्डलमा लन्डनका पूर्व मेयर बोरिस जनसनलाई विदेशमन्त्रीका रुपमा नियुक्त गरेकी छन् ।

ब्रिटेनले युरोपेली युनियन छोड्नु पर्ने अभियानका प्रमुखसमेत रहेका जनसनको नियुक्तीले धेरैलाई अचम्मित तुल्याएको छ । ब्रिटेनको दोस्रो महिला प्रधानमन्त्री बनेकी मेले  उर्जामन्त्री एम्बर रडलाई गुह मन्त्रालयको जिम्मेवारी दिएकी छन्। यसअघि बेलायतमा हालै भएको जनमत संग्रहले यूरोपीयन युनियनबाट बाहिरिने भन्ने पक्षमा बहुमत आएपछि प्रधानमन्त्री डेविड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । प्रधानमन्त्री क्यामरुनले नेतृत्व हस्तान्तरण गर्नुअघि बेलायतको तल्लो सदन हाउस अफ कमन्समा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

बेलायले यूरोपियन यूनियन छाड्न नहुने पक्षमा लागेकी मे आप्रवासी मामिलामा कठोर नेतृको रुपमा चिनिएकी छन् । मेको नियुक्तिपछि बेलायतले अप्रवासीमा थप कडाई गर्न सक्ने आशंका बढेको छ । बेलायतको अध्यागमनसम्बन्धी मामिलाका जनाकार कमल कँडलेले मेको नियुक्तिले तत्कालै कुनै परिवर्तन हुने सम्भवना अत्यन्त कम भएता पनि दीर्घकालमा त्यसको असर देखिने बताए ।

बेलायतको ऐतिहासमै सबैभन्दा लामो समयदेखि गृहमन्त्रालय समालेकी मेको पालामा यूरोपिय यूनियन भन्दा बाहिरबाट अध्ययनका लागि बेलायत आउने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि कडा कानुन ल्याएरको, प्रहरीलगायत आन्तरिक सुरक्षा निकाएको कटौती गरेको आरोपमा चर्को अलोचना भएको थियो ।  

नवनियुक्त प्रधामन्त्रीको पहिलो प्रथामिकता यूरोपियन यूनियनसँग बेलायतको सम्बन्ध कस्तो रहने भन्ने एजेन्डा भएकाले नेपालजस्तो मुलुकका लागि मेको नियुक्तिले विदेश नीतिमा कुनै फरक नपर्ने कँडेलले बताए । उनले बेलायतको नयाँ परिस्थितिलाई आंकलन गर्दै नेपालीले बेलायतसँगको दुई पक्षीय व्यापारिक सम्झौता गर्नु पर्ने तर्क गरे । यूरोपियन यूनियनका २३ देशले बेलायतसँग छुट्टै ब्यापारिक सम्झौता गर्न इच्छा देखाइसकेको अवस्थामा नेपालले पनि अग्रसरता देखाएर राष्ट्रिय हितका लागि व्यापारिक सम्झौता गर्नुपर्ने उनले बताए ।

यसअघि कन्जरभेटिभ दलको प्रतिस्पर्धी  आन्द्रिया लिड्समले आफ्नो नाम फिर्ता लिएपछि मे दलको नेतामा निर्विरोध चयन भएकी थिइन ।

प्रकाशित: ३० असार २०७३ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App