coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मतपत्र छपाइ अन्तिम चरणमा

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले देशभरका ७५ जिल्लामध्ये ७३ जिल्लाको मतपत्र छपाइको काम भइरहेको जनाएको छ । 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंगलबार दैनिक पत्रिका र अनलाइनका सम्पादकसँगको अन्तरक्रियामा मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । आइतबारसम्म ६२ जिल्लाको मतपत्र छपाइको काम सकेको आयोगमा हाल ११ जिल्लाको मतपत्र छपाइ भइरहेको छ ।  आयोगका अनुसार छपाइ भइरहेका मतपत्रबाहेक अब दुई जिल्लाका मतपत्र छपाइको काम मात्रै बाँकी छ । 

आयोगले स्थानीय तह निर्वाचनका लागि विभिन्न ६ आकारमा ७५ प्रकारका मतपत्र छापेको छ । आयोगले एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाताका लागि थपसहित एक करोड ६० लाख मतपत्र छाप्दैछ ।

त्यसैगरी आयोगले ६२ जिल्लाको मतदाता परिचयपत्र र ६७ जिल्लाको मतदाता विवरण छपाइ सम्पन्न भएको बताएको छ । स्थानीय तह निर्वाचनमा मतदान गर्न फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य गर्न लागेको आयोगले १० गतेभित्रै मतदाता परिचयपत्र छापेर जिल्ला पठाउने तयारी गरिरहेको प्रमुख आयुक्त यादवले जानकारी दिए । 

आयोगले मतदाता शिक्षाका लागि २१ हजार कर्मचारी परिचालन गरेको जनाएको छ । आयोगका अनुसार प्रतिमतदान केन्द्र एकजनाका दरले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेको हो । आयोगका अनुसार १७ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयार गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने ८४ हजार मतपेटिकामध्ये नपुग ३० हजार मतपेटिका खरिद भइसकेको आयोगले जनाएको छ । प्रमुख आयुक्त यादवका अनुसार निर्वाचन पर्यवेक्षणका लागि ४१ व्टा संस्थालाई अनुमति प्रदान गरिएको छ । 

निर्वाचन आयोगका अनुसार मतदाताको संख्या विश्लेषण गरेर देशभर १० हजार ६ सय ४० मतदानस्थल स्थल र १९ हजार मतदान केन्द्र हुने अनुमान गरिएको छ । 

प्रकाशित: ६ वैशाख २०७४ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App