८ वैशाख २०८१ शनिबार
राजनीति

संयुक्त निर्वाचन सञ्चालन केन्द्र गठन

खोटाङ – आगामी वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि खोटाङमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका कामु शाखा अधिकृत लिलाबहादुर विश्वकर्माको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन सञ्चालन केन्द्र गठन गरिएको हो ।

 जिल्लामा भइरहेका निर्वाचन सम्बन्धि सम्पूर्ण गतिविधि, समस्या, सुरक्षा चुनौती, अवरोध लगायतको विस्तृत जानकारी संकलन गर्दै निर्वाचन आयोगलाई जानकारी गराउनका लागि मंगलबार जिल्लास्तरको संयुक्त निर्वाचन सञ्चालन केन्द्र गठन गरिएको हो । केन्द्रमा सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन कार्यालय, दुई जना शाखा अधिकृत लगायत समेटिएका छन् । 

संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतदान पूर्व अवधिको, मतदानको दिनको, मतदान पश्चातको अवधिको, मतगणनाको समयको सम्पूर्ण गतिविधि तथा निर्वाचन आचार संहिता उल्लंघन भए नभएको समेतका विषयमा अनुगमन, विश्लेषण गर्ने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घट्नाको विबरण संकलन, विश्लेषण गर्दै रोकथामका लागि कदम चाल्न आयोगलाई जानकारी गराउनेगरी निर्वाचन सञ्चालन केन्द्र गठन गरिएको हो । 

जिल्ला निर्वाचन अधिकारी खत्रीका अनुसार निर्वाचनमा सहभागी दलले मतदाता समक्ष आफ्नो विचार सहजरुपमा राख्न पाए/नपाएको, आवतजावत र प्रचार प्रसारमा अवरोध भए/नभएको, हातहतियार सहितका हिंसात्मक गतिविधि भए/नभएको, दलले मतदातादलाई अनूचित प्रभावमा पारे/नपारेको, निर्वाचन प्रकृयामा सहभागीलाई अवरोध भए/नभएको, मतदातालाई मतदानबाट वञ्चित गर्ने किसिमका वाधा भए/नभएको, मतदात केन्द्र वरपर हुलदंगा, हतियार प्रदर्शन भए/नभएको, मतदात केन्द्र कब्जा भए/नभएको लगायतका गतिविधिका विषयमा निर्वाचन सञ्चालन केन्द्रले निगरानी गर्ने छ।

यसबाहेक मतपेटीका लगायतका निर्वाचन सामग्री ओसारपसारमा बाधा अवरोध भए/नभएको, मतदात केन्द्रमा कर्मचारी सुरक्षित रहे/नरहेको, उम्मेदवार र तिनका प्रतिनिधि सुरक्षित भए/नभएको, मत गणनामा अवरोध आए/नआएको, मत गणनापछि शान्तिपूर्ण तरिकाले सभा, जुलुस गर्न पाए/नपाएको लगायतका विषयमा गतिविधिलाई केन्द्रमा पठाउने जनाइएको छ । 

प्रकाशित: ६ वैशाख २०७४ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App