coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘हिमाल, पहाड र तराई’ जोड्ने उद्‍घोष

प्रकाश तिमल्सिना/भुवन शर्मा

काठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराईमधेस सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले बिहीबार पार्टी एकीकरण गरी राष्ट्रिय जनता पार्टी घोषणा गरेका छन्। नयाँ पार्टी घोषणा गर्ने क्रममा उनीहरूले पार्टीको नामबाट मधेस शब्द हटाएका छन्। यी ६ पार्टीमध्ये चार वटाको नाममा मधेस शब्द जोडिएको थियो भने अन्य दुई दलको परिचय पनि मधेससँगै जोडिएको हो।

कुनै बेला मधेस शब्द राख्न होडबाजी देखिएको यी पार्टीमा अहिले त्यो शब्द छाड्न सहमत भएको विषयलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ। पार्टीमा तराई, मधेस र पहाडको प्रतिनिधित्व देखाउन मधेस शब्द हटाएको दाबी उनीहरूले गरेका छन्।

अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोका अनुसार नयाँ पार्टीले हिमाल, पहाड र तराईका सबै जनतालाई जोड्ने उद्देश्यसहित संगठन विस्तारलाई तीव्रता दिनेछ। तराईमधेसका २२ जिल्लामा मात्रै केन्द्रित ६ दलले राष्ट्रिय स्वरूप लिने अठोट लिएको छ।

‘हाम्रो पार्टीलाई सबै नेपाली उत्पीडित जनताको साझा पार्टीका रूपमा स्थापित गर्न चाहन्छौं जसमा  हिमाल, पहाड र मधेसका सबै उत्पीडित जनता अट्न सक्नेछन्,' अध्यक्ष मण्डलका जेठा सदस्य महन्थ ठाकुरले प्रसन्न मुद्रामा नागरिकसँग भने, ‘हामीले सम्पूर्ण उत्पीडित र विभेदमा परेका जनताको आवाजलाई उठाएका थियांै तर मधेसमा मात्रै केन्द्रित हुँदा आन्दोलन सोचेजति प्रभावकारी हुन सकेन, अनि पार्टीको नाम परिवर्तन गरेर सबै नेपालीलाई समेट्ने सन्देश दिएका हौं।'

ठाकुरका अनुसार एकीकरणपछिको  नयाँ पार्टीले सातवटै प्रदेशमा संगठन विस्तार कार्य तीव्र बनाउनेछ।

स्वागत मन्तव्यका क्रममा नेता मनीषकुमार सुमनले नयाँ राजपा सबैको साझा पार्टीका रूपमा उदय भएको घोषणा गरेका थिए।  ‘यो एकीकरण मधेस र मधेसी जनताको हो नै, त्यसमाथि यो एकीकरण उत्पीडनमा परेका जनजाति, खस आर्य, हिमाली र पहाडीको पनि हो, यसमा आउन सबैलाई झन् खुला भएको छ', नेता सुमनले यसो भन्दा हल तालीले गुन्जायमान भएको थियो। अर्का नेता जितेन्द्र सोनालले बृहत् एकताका लागि राजनीतिक पार्टी गठन गरेको भन्दै राजपा समतामूलक समाज निर्माणका लागि लाग्ने घोषणापत्र पढेर सुनाए।

अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले मधेसकेन्द्रित दलमा देखापरेको विभाजनले मधेसी जनताको भावनामा चोट पुगेको स्मरण गर्दै क्षमाभावमा अभिव्यक्ति  दिए। ‘एकल जातीय राष्ट्रिय एकताले मुलुकलाई बलियो बनाएन, अब नयाँखाले राष्ट्रिय एकताका लागि पार्टीले पहलकदमी लिनेछ,' रायले प्रतिबद्धता जनाए, ‘यसमा पार्टीमा मुख्यतः दलित र शिल्पी समुदायलाई सम्मानजनक उपस्थिति दिनेछौं र यो पार्टीलाई तीन करोड नेपालीको साझा पार्टी बनाउनेछौं।'

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले नेपालका जुनसुकै भूगोलमा रहेका उत्पीडित र विभेदमा परेका जनताको नेतृत्व नयाँ पार्टीले गर्ने दाबी गरे। ‘चाहे त्यो मधेसको होस्, चाहे त्यो कर्णालीको होस्, चाहे त्यो पहाडको नै किन नहोस्, अब सबै उत्पीडिन र विभेदमा परेका नेपाली जनताको साथमा यो पार्टी उभिनेछ', यादवले भने। उनका अनुसार पार्टीको मार्गदर्शक सिद्धान्त ‘लोकतान्त्रिक समाजवाद' र ‘प्रतिनिधिमूलक समावेशी लोकतन्त्र' पार्टीको विचारधारा भएकाले संगठन पनि त्यहीअनुसार विस्तार हुनेछ।

तराईमधेसमा बसोबास गर्ने पहाडी समुदाय, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सबै समुदायलाई नयाँ पार्टीले सम्बोधन गर्ने अर्का सदस्य शरतसिंह भण्डारीले बताए। ‘यो अब राष्ट्रिय स्तरको संगठन भएको पार्टी हो र नेपालीको साझा पार्टी हो, जसले उत्पीडिन र विभेदमा परेका जनताको आवाज बोल्छ,' भण्डारीले सभामा भने।

एकीकरणपछि बनेको राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झाले एकीकृत पार्टीलाई तराई, मधेस, पहाड र हिमालमा प्रभाव जमाउन मधेस शब्द हटाइएको बताए। ‘अब पहाडमा पनि पार्टीको वर्चस्व देखाउन हामीले मधेस शब्द हटाएका हौं,' उनले भने, ‘अब यसमा सबै समेटिनेछन्।'

एकीकृत पार्टी अध्यक्षमा ६ वटै पार्टीका अध्यक्ष रहने गरी अध्यक्ष मण्डल गठन गरिएको छ।  अध्यक्ष मण्डलको संयोजन महन्थ ठाकुरले गर्नेछन्। एक वर्षभित्रै एकीकृत पार्टीको महाधिवेशन हुने नेताहरूले बताए। एकीकृत पार्टीको चुनाव चिह्न छाता रहने भएको छ। 

राजपा नाम र छाता चुनाव चिह्न कसरी?

६ पार्टीका नेताहरूले एकीकृत पार्टीको चुनाव चिह्न छाता राख्ने निर्णय गरेका छन्। मोर्चासँग आबद्ध ६ वटै दलको चुनाव चिह्न छाडेर साझा चुनाव चिह्न राख्ने क्रममा छाता चिह्न छानिएको मोर्चाका नेताहरूले जनाएका छन। सुरुमा छाता चुनाव चिह्न राख्ने  प्रस्ताव राजकिशोर यादवले राखेका थिए। उनको प्रस्तावलाई अन्य नेताहरूले सहमति जनाएका थिए। ‘छाता चुनाव चिह्न राख्न मैले प्रस्ताव राखंे। यसमा सबैले सहमति जनाउनुभयो,' यादवले भने, ‘६ वटा पार्टीलाई एउटै छातामुनि राख्न लागि छाता चुनाव चिह्न छानेका हौं।' छाता चुनाव चिह्नलाई तराईमधेस पाहाडका सबै जनताले मन पराउने पनि उनले दाबी गरे।

मोर्चामा आबद्ध छवटै पार्टी छाडेर नयाँ र सबैलाई मान्य हुने नाम राख्ने क्रममा राष्ट्रिय जनता पार्टी चयन गरिएको यादवले बताए। एकीकृत पार्टीको नाम कस्तो राख्ने भन्नेबारे ६ दलकोे बैठकमा पटकपटक छलफल भएको थियो। सुरुमा सबै पार्टीलाई प्रतिनिधित्व हुने एउटा नाम राख्ने प्रस्ताव आएको थियो। तर यसमा पनि व्यावहारिक नहुने भएपछि छुट्टै नयाँ नाम राख्ने भन्नेमा नेताहरूले सहमति जनाएका थिए।

 यसैगरी नयाँ पार्टीको झन्डा कस्तो राख्ने कुरामा पनि ६ पार्टीका नेताहरूले रातो, सेता, हरियो रङ रहेको र बीचमा छाता चुनाव चिह्न रहने गरी नयाँ झन्डा चयन गरिएको नेताहरूले बताएका छन्। राता रङ क्रान्तिको, सेतो रङ शान्तिको र हरियो रङ समृद्धिको भएको नेताहरूले बताएका छन्। राजपा अब संसद्मा पाँचांै ठूलो दल हुने छ।

यसैबीच, राजपाका नेताहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान छलफलमा डाकेका छन्। चुनाव र संविधान संशोधनबारे छलफल गर्न बोलाइएको बालुवाटार निकट स्रोतले जनायो।

लोकतान्त्रिक फोरम र थरुहट पार्टीको एकीकरण

मधेसी मोर्चासँग आबद्ध ६ दलले कालिकास्थानमा पार्टी एकीकरण गरिरहेका बेला लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजय गच्छदारले बिहीबार नै तीनकुनेमा कार्यक्रम गरी भानुराम चौधरीले नेतृत्व गरेको थरूहट तराई पार्टीसँग पार्टी एकीकरण गरे। पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारले पार्टीको नामबाट मधेस शब्द हटाइएको घोषणा गरे।

केही दिनअघि तत्कालीन नयाँ शक्ति पार्टीका सहअध्यक्ष महेश कर्माेचालाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा गच्छदारले आफूले पार्टीको नामबाट मधेस शब्द हटाउने निर्णय गरेको बताएका थिए। ‘पार्टीको नाममा मधेस शब्द राख्दा मधेसले एउटा जातझैं देखाउने गर्छ । त्यसले क्षेत्रीय पार्टीको संकेत गर्छ, ‘ फोरम लोकतान्त्रिकका कोषाध्यक्ष शिवकुमार गुर्माछानेले भने, ‘त्यसैले पार्टीलाई राष्ट्रिय पार्टी देखाउन र हिमाल, मधेस पहाडको प्रतिनिधित्व गराउन मधेस शब्द हटाउने निर्णय गरेका हौं।'

पार्टीको नामबाट मधेस शब्द हटाउने निर्णय  सबैभन्दा पहिले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। यादवले तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण गरेपछि एकीकृत पार्टीको नाममा मधेस शब्द हटाए। उनले पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखे। फोरम नेपालपछि गच्छदारले पार्टीको नामबाट मधेस शब्द हटाए।

अब मेघलाल निषादले नेतृत्व गरेको मधेस समता पार्टीमा मात्र ‘मधेस' शब्द छ। उक्त दलको संसद्मा एक सिट छ। एकीकरण कार्यक्रममा शीर्ष नेताहरूले अब राष्ट्रिय राजनीतिको तालासाँचो राजपाले बोक्ने दाबी गरे। नेता राजेन्द्र महतोले भने, ‘अब हाम्रो पार्टीले देशको ताला बोक्छ। पहिले जय जनता भनौं अनि जय मधेस भनौं।' अन्य नेताहरूले पनि एकीकृत पार्टीले अब देशभर संगठन विस्तार गर्ने बताए।

किन आएनन् उपेन्द्र यादव?

मधेसी मोर्चासँग आबद्ध ६ दलले पार्टी एकीकरण गर्दा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने एकीकरण प्रक्रियामा सहभागी भएनन्। मोर्चासँग आबद्ध सातवटै दलबीच एकता गर्न महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताहरूले यसअघि यादवलाई पटकपटक आग्रह गरेका थिए।

पार्टी एकीकरण गर्न बुधबार मोर्चाका नेताहरूले बोलाएको निर्णायक बैठकमा पनि मोर्चाका नेताहरूले यादवसँग सम्पर्क गरेका थिए। सुरुमा यादव केही लचिलो भए पनि बिहीबार बिहानको वार्तामा भने उनले एकीकरण प्रक्रियामा आफू सहभागी नहुने बताए।

यादवले आफ्नो पार्टीले एकदुई दिनमै नयाँ शक्ति पार्टीसँग एकीकरण गर्न लागेको जनाउँदै ६ पार्टीको एकीकरणमा सहभागी नहुने बताएका छन्। नेता अनिल झा पनि सुरुमा एकीकरण प्रक्रियामा सामेल भएनन्। पाँच दलले काठमाडौंमा कार्यक्रम गरी एकीकरण गरेको घोषणा गरेपछि झा पनि हतारहतार कार्यक्रम स्थल पुगेका थिए। ‘सार्थीहरूसँग सल्लाह गर्न केही ढिलो भएकाले एकीकरण कार्यक्रममा अलि ढिलो गएको हुँ', उनले भने।

प्रकाशित: ८ वैशाख २०७४ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App