६ वैशाख २०८१ बिहीबार
विचार

चारैतिर उपलब्धि

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण यसपालि भएरै छोड्यो। प्रधानमन्त्री केपी ओलीले यो भ्रमण  रोकिदिनुभएको थियो। प्रधानमन्त्री पिके दाहालले खोलिदिनुभयो। जसको फलस्वरूप यो भ्रमण सम्भव हुन पुग्यो। तर नेपालमा केही मानिस त्यस्ता पनि भेटिए जसलाई यो भ्रमण मन परेको थिएन। भ्रमण हुने भएपछि  उनीहरूले सार्वजनिक रूपमै प्रश्न पनि गरे– आखिर राष्ट्रपतिले भारत भ्रमण गरेर नेपाली जनताले के पायो?

कस्तो भिखारी सरकार होला यो? त्यसरी दिइसकेको बिदा पनि कहिल्यै फिर्ता लिनुहुन्छ? यो बिदा फिर्ता लिनु भनेको त भ्रमणको आधा उपलब्धि तुहाइदिनु हो।

मलाई लाग्छ, यो त अत्यन्त वाहियात प्रश्न हो। किनभने राष्ट्रपतिको भारत भ्रमणबाट नेपाली जनताले धेरै कुरा पाएको छ। यो भ्रमणबाट नेपाली जनताले एक विशुद्ध सार्वजनिक बिदा पाएको छ। त्यो पनि पूरा एक दिन। सिङ्गै एक दिन बिदा पाउनु सानो कुरा हो? राष्ट्रपति भारत पुग्नुभएकै थिएन नेपाली जनताले यो बिदा पाइसक्यो। के सार्वजनिक बिदा पाउनु भ्रमणको उपलब्धि होइन?

बिदा त सरकारले दुई दिन दिएको थियो। एक दिन जाने बिदा, अर्को दिन आउने बिदा। तर आउने एक दिन बिदा बीचैमा फिर्ता लियो। किनभने जसलाई यो बिदा दिइएको थियो उनीहरूले नै बिदाको विरोध गरे। जनता पनि अनौठा हुँदारहेछन्। जहिले पनि सरकारले केही दिएन भनिरहेका हुन्छन्। तर जब दिन्छ, किन दियौ भन्न थाल्छन्। बिदा पनि यस्तै भएको छ। सरकारले त दिएकै हो। तर लिनेले लिन मानेनन्। आखिर सरकारले दिने त त्यही न हो जो आफूसँग छ। सरकारसँग बिदा थियो, त्यही दिइदियो। दिइएको कुरा नलिने, नदिइएकोचाहिँ नभइ नहुने। के चाला हो यो जनताको?

वास्तवमा प्रधानमन्त्री प्रचण्ड जनतालाई दिने मामिलामा अत्यन्त उदार हुनुहुन्छ। उहाँले मधेसी जनतालाई अधिकार दिन्छु भन्नुभएको थियो। तर दिन सक्नुभएन। तर अधिकार दिन नसके पनि गोलीचाहिँ भकाभकै दिनुभयो। गोली लागेर जो मरे, उनीहरूलाई १०–१० लाख पनि दिनुभयो। दिनमा उहाँ कुनै कन्जुस्याइँ गर्नुहुन्न। भारतीय राष्ट्रपति आउँदा पनि बिदा दिनुभयो। नेपालको राष्ट्रपति जाँदा पनि बिदा दिनुभयो। बिदा दिनुमा उहाँले कुनै कन्जुस्याइँ गर्नुभएन। शायद त्यसैले पनि होला, नेपालका सबै सरकारी कर्मचारीबीच उहाँ अत्यन्त लोकप्रिय हुनुहुन्छ। उहाँको बस चल्ने भए त नेपालको राष्ट्रपति भारत गएकामा मात्र होइन, जिम्बाबेका राष्ट्रपति इथियोपिया गएकामा पनि बिदा दिइदिनुहुन्थ्यो होला। तर के गर्ने, जिम्बाबेका राष्ट्रपतिको विदेश भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी नै आएको हुँदैन।

भारतीय राष्ट्रपति नेपाल आउँदा यहाँ एकखाले कर्फ्यु जस्तै लगाइएको थियो। काठमाडौंमा यातायात पूरै बन्द। मानौं माओवादीको नेपाल बन्द हो। बाटोभरि सैनिकै सैनिक। आकाशभरि हेलिकप्टरै हेलिकप्टर। अहिले नेपालको राष्ट्रपति भारत जानुहँुदा काठमाडौं जस्तै पूरा दिल्ली पनि कर्फ्युमय होला कि भन्ने चिन्ता लागेको थियो। तर धन्य, भारतले त्यस्तो कर्फ्यु–सर्फ्यु केही लगाएन। लगाएको भए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि नेपालको सामु लम्पसार परे भनेर ‘लम्पसारवाद' को आरोप लाग्न सक्थ्यो। राम्रै भयो, त्यस्तो कुनै भएन।

तर एउटा गडबडचाहिँ भइदियो। त्यो के भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न विमानस्थलमा एकजना राज्यमन्त्रीलाई मात्रै पठाएको रहेछ। स्वागत गर्न त प्रोटोकल मिलाएर आउनुपर्थ्यो। राष्ट्रपतिको स्वागतमा राष्ट्रपति नै आउनुपर्ने हो। तर आएनन्। एउटी राज्यमन्त्री मात्रै आइन्। राष्ट्रपतिको स्वागतमा राज्यमन्त्री? यो त बडा अनौठो कुरा भयो। अझ त्योभन्दा पनि अनौठो कुरा त के हो भने राष्ट्रपतिको स्वागतमा आएकी ती राज्यमन्त्री ‘बालबालिका राज्यमन्त्री' थिइन्। न विदेश राज्यमन्त्री, न रक्षा राज्यमन्त्री, न गृह राज्यमन्त्री। आएकी छिन् एउटी बालबालिका राज्यमन्त्री। राष्ट्रपति लिन एउटी बालबालिकासम्बन्धी राज्यमन्त्रीलाई पठाएर भारतले के सन्देश दिन खोजेको होला?

नेपाल–भारत सम्बन्धको कुरा गर्दा भारतले अक्सर भनिरहने एउटा वाक्यांश छ– नेपाल त हाम्रो भाइ हो। भाइलाई सधैँ माया गर्नुपर्छ। हामीलाई मन परोस्, मन नपरोस्। भारत हामीलाई भाइकै व्यवहार गरिरहेको हुन्छ। कतै अहिले पनि त्यही भाइ सम्झेर नै विमानस्थलमा बालबालिकासम्बन्धी मन्त्रीलाई पठाएको त होइन?

भ्रमण राम्रै भयो। नराम्रो भएको त्यही एउटा पर्‍यो, बिदा फिर्ता। दिइसकेको बिदा फिर्ता भएकाले कर्मचारी  सबै  आक्रोशित भएका छन्। कस्तो भिखारी सरकार होला यो? त्यसरी दिइसकेको बिदा पनि कहिल्यै फिर्ता लिनुहुन्छ? यो बिदा फिर्ता लिनु भनेको त भ्रमणको आधा उपलब्धि तुहाइदिनु हो। यो राम्रो भएन।

अर्को कुरा, यो भ्रमणमा पनि भारतीय राष्ट्रपतिले नेपाली राष्ट्रपतिलाई एउटै सुझाव दिनुभयो रे – सबै पक्षलाई मिलाएर अघि बढ्नुपर्‍यो। भारतीय राष्ट्रपतिको यो सुझाव पनि मैले बुझिरहेको छैन। किनभने नेपालको सरकार अहिले त्यही सबै पक्षलाई मिलाएर त अघि बढिरहेको छ नि। यो सरकारमा गणतन्त्रवादी पनि छ, राजतन्त्रवादी पनि छ, धर्म निरपेक्षतावादी पनि छ हिन्दु राष्ट्रवादी पनि छ, संघीयता विरोधी पनि छ, संघीयता पक्षधर पनि छ, भ्रष्टाचारी पनि छ, कमिशनखोरी पनि छ...सबै छ। र, यी सबैलाई मिलाएरै सरकार अघि बढिरहेको छ। जब सबैजना मिलेकै छ भने फेरि अर्को के मिलाउनुपर्‍यो?

प्रकाशित: ८ वैशाख २०७४ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App