coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रमुख पदमा महिला : चर्चा हुँदै सेलाउँदै

इलाम –  जिल्लाका राजनीतिक दलहरू यतिबेला आउँदो स्थानीय तहको चुनावका लागि उम्मेदवार चयन गरिरहेका छन् । तर, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्ष पदमा महिलाको नाम भने चर्चामा आउँदै सेलाउँदै छ । 

नेकपा एमालेले जिल्लाका १० वटै स्थानीय तहका उम्मेदवारको नाम सिफारिस गर्ने टुंगो लगाइसकेको छ । अहिलेसम्म इलाम नगरपालिका प्रमुखमा महेश बस्नेत र देउमाई नगरपालिका प्रमुखमा सूर्य पोख्रेल दलभित्रबाट उम्मेद्वारका लागि सर्वसम्मत भएका छन् । सन्दकपुर गाउँपालिका अध्यक्षमा उदय राई र माङ्सेबुङ गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस हुने उम्मेद्वार पनि पुरुष नै छन् । 

‘विपक्षमा आउने पुरुष उम्मेदवारलाई महिला उम्मेदवारले उछिन्नुलाई ठूलो चुनौती मान्छन् तर अवसर चाहीँ दिँदैनन्,’

सूर्याेदय नगरपालिकामा प्रमुखका लागि खिनु लङ्वा लिम्बूको नाम सिफारिस हुँदैछ । तर, अन्य ३ पुरुषहरूको नाम पनि सँगै रहेकाले महिला नै प्रमुखको उम्मेद्वार हुने निश्चित चाहीँ छैन् । 

एमालेका अनुसार सर्वसम्मत हुन नसकेका नगरप्रमुख र गाउँपालिका अध्यक्षमा २ वा त्यसभन्दा बढी संख्याका उम्मेद्वारको नाम सिफारिस हुँदैछ । तर, ती कुनै प्रमुख पदमा महिलाको नाम देखिएको छैन । एमाले जिल्ला कमिटी सचिवालय सदस्य नवराज शंकरले नगरप्रमुखमा १ महिलाको नाम अन्य पुरुषसहित सिफारिस हुन लागेपनि अहिलेसम्म अन्य तहका प्रमुखमा महिलाको नाम नआएको बताए।

जिल्लास्थित दलहरूले अहिलेसम्म चर्चामा ल्याएका र सिफारिसको तयारी गरेका वडाध्यक्षका उम्मेदवारमा समेत महिलाको नाम थोरै छ । एमालेले सूर्याेदय नगरपालिका १४ मा वडाध्यक्षको उम्मेदवारका लागि मुना राईको नाम सर्वसम्मत छानेको छ । ‘अन्य वडाहरूमा चाहिँ वडाध्यक्षका लागि महिलाको नाम पनि आएको छ,’ शंकरले भने, ‘तर, अन्य पुरुषहरू पनि त्यही वडाका वडाध्यक्षमा दाबी गर्दैछन् ।’ जिल्लाका ८१ वडामध्ये धेरैमा एमालेले आफ्ना उम्मेदवारको नाम टुंग्याइसकेको जनाएको छ।

 नेकपा माओवादी केन्द्रले जिल्लाका केही नगर र गाउँपालिकाका उम्मेदवारको नाम सर्वसम्मत चयन गरेपनि बाहिर ल्याएको छैन । माओवादीले गत चैत २४ मै उम्मेदवारको टुंगो लगाइसक्ने जनाएपनि अहिलेसम्म त्यसलाई अन्तिम रूप दिन नसकेको हो । 

माओवादी स्रोतका अनुसार अहिलेसम्म पार्टीले इलाम नगरपालिका प्रमुखमा प्रभाष शर्मा, सूर्याेदय नपा प्रमुखमा छविराज राई र माई नगरप्रमुखको उम्मेदवारमा भक्त लुंगेलीको नाम ‘करिब–करिब टुंगो’ लगाइसकेको छ । तर, कुनैमा महिला प्रमुख या अध्यक्ष भने छैनन् । इलाम नपामा टीका घिमिरे र माई नपा प्रमुखमा उर्मिला तामाङको नाम चर्चामा थियो ।

माओवादीले सन्दकपुर गाउँपालिका अध्यक्षमा प्रेम नाछिरिङ राई, रोङमा नवराज कट्टेल, फाकफोकथुममा राजकुमार गोदार, चुलाचुलीमा तुला लावती र माङ्सेबुङमा लक्ष्मण राईको नाम सर्वसम्मत रूपमा अध्यक्षको उम्मेद्वारका लागि टुंगो लगाइसकेको छ । माइजोगमाई गाउँपालिकामा देवी शिवाकोटीको नाम अध्यक्षको उम्मेदवारका लागि ‘करिब टुंगो’ भएको छ । 

तर, माओवादीले पनि कुनै तहमा महिलालाई प्रमुख वा अध्यक्ष पदको उम्मेदवार बनाउने सम्भावना न्यून छ । माओवादी इलामका प्रचार संयोजक अशोक राईले चुलाचुली गाउँपालिकाको वडा–४ मा शुभमाया राईलाई वडाध्यक्षका लागि सर्वसम्मत सिफारिस गरेको जानकारी दिए । ‘अन्य वडाध्यक्षमा महिलाको नाम आएपनि अहिलेसम्म टुंगो लागिसकेको छैन,’ उनले भने ।

गत चैत २५ मै उम्मेदवार छानिसक्ने दाबी गरेको नेपाली कांग्रेसले जिल्लाका कुनै पनि तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । कांग्रेस जिल्ला सचिव निरोज खड्गीले शुक्रबारसम्ममा कुनै न कुनै रूपमा उम्मेदवारको खाका आउने बताए । ‘छलफल व्यापक भइरहेको छ, टुंगो लागिसकेको छैन,’ उनले भने ।

कांग्रेसले पनि जिल्लाका १० वटै स्थानीय तहको प्रमुख पदमा महिलालाई स्थान दिने सम्भावना कम छ । इलाम नगरपालिकाको प्रमुख पदमा विष्णु दाहालको नाम चर्चामा रहेपनि पार्टी सभापति हिमालय कर्माचार्य र सचिव खगेन्द्र देवानलगायतका अन्य पुरुष उम्मेदवारले पनि त्यसैमा इच्छा देखाएको कांग्रेस स्रोतले जनाएको छ । जिल्लाका अन्य ३ नगरपालिका र ६ गाउँपालिकाका प्रमुख र अध्यक्षमा पनि महिलाको नाम चर्चामा आएको छैन । यसअघिका संविधानसभा निर्वाचनहरूमा जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेले विजय हासिल गरेकाले अहिले पनि यिनै २ सहित माओवादी केन्द्रले विजय हासिल गर्ने अनुमान स्थानीयको छ । तर, यिनै दलले महिलालाई प्रमुख पदहरूमा चाहिँ अगाडि सारेका छैनन् ।

‘महिलाको क्षमता देखाउन बागी भएपनि उठ्छु’

 नेपाली कांग्रेस महासमिति सदस्य विष्णु दाहालले आफू इलाम नगर प्रमुख पदको दाबेदार भएपनि आफूलाई त्यस पदमा उम्मेदवार नबनाउने जानकारी आएको नागरिकलाई बताइन् । पुरुषको तुलनामा महिला सक्षम हुँदैनन् भन्ने भ्रमले दलहरूले महिला नेतृत्व नचाहेको उनको भनाइ छ । 

आफूलाई इलाम नगरपालिकाको प्रमुख पदमा पार्टीले उम्मेदवार नबनाए आफू स्वतन्त्र रूपमा भएपनि उम्मेदवार बन्ने उनले बताइन् । ‘महिलालाई अवसर नै दिइँदैन अनि भन्नलाई चाहिँ महिलाले प्रमुख पद हाँक्न सक्दैनन् भनेर आरोप लगाउँछन्,’ उनले भनिन्, ‘नेतृत्वमा रहेका पुरुषको यो भ्रम चिर्न पार्टीबाट इलाम नगरपालिकाको प्रमुख पदका लागि बागी भएपनि उठ्छु ।’ उनले समाजको भ्रम निमिट्यान्न नहुञ्जेल महिलाले चुनौती सामना गरिरहनुपर्ने अवस्था रहेको जनाइन् । 

नेकपा माओवादी केन्द्रकी जिल्ला सहसंयोजक उर्मिला तामाङले महिलालाई स्थानीय तहको प्रमुख पदमा उठाउनेबित्तिकै अर्काे दलले कमजोर ठानेर पुरुष उम्मेदवार उठाइदिने गरेको सुनाइन् । ‘हुन त, महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने होइन । तर, समाजको बुझाइ नै महिला कमजोर हुन्छन् भन्ने छ, जुन बुझाइ भ्रम मात्रै हो ।’     
    
उनले गाउँ–समाजमा मात्र नभई कुनै पनि दलको नेतृत्वले महिलालाई कमजोर नै ठान्ने गरेकाले अहिले स्थानीय तहका प्रमुखमा महिला उम्मेदवार कम भएको बताइन् । ‘विपक्षमा आउने पुरुष उम्मेदवारलाई महिला उम्मेदवारले उछिन्नुलाई ठूलो चुनौती मान्छन् तर अवसर चाहीँ दिँदैनन्,’ उनले सुनाइन्, ‘यो माओवादीभित्र मात्र होइन, सबै दलको समस्या हो ।’ 

प्रकाशित: ८ वैशाख २०७४ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App