४ वैशाख २०८१ मंगलबार
समाज

भोजपुरमा गैरकानूनी रुपमा सुर्तीजन्य पदार्थ बिक्री

भोजपुर – भोजपुरमा इजाजत नलिई सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जिल्ला अनुगमन समिति, भोजपुरले शुक्रबार गरेको बजार अनुगमनमा यस्तो पाइएको हो । 

कानुनतः व्यवसाय दर्ता गरी आन्तरिक राजश्व कार्यालयबाट इजाजत लिनुपर्ने व्यवस्था भएपनि अनुगमनको क्रममा इजाजत बिना नै बिक्री वितरण भएको भेटिएको हो । भोजपुर बजारस्थित किराना, होटल, खाद्यान्न पसलहरूमा अनुगमन गर्दा अधिकांश पसलले इजाजत पत्र नलिई सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइएकोले सचेत गराइएको धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन समिति भोजपुरका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेले बताए ।

सुर्ती नियन्त्रणका लागि जिल्लास्तरीय अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजार र सूचना अधिकारी राजु श्रेष्ठ, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख इश्वरी देवकोटा, स्वास्थ्य अधिकार सुर्ती नियन्त्रण जिल्ला सञ्जाल भोजपुरका संयोजक फविन्द्र प्रधान, भोजपुर बहुमुखी क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रिताल, सुरक्षा निकाय र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरू लगायत एक दर्जन बढी सहभागी अनुगमन टोलीले सो अनुगमन गरेको हो । 

भोजपुर सदरमुकामस्थित पोखरे बजारदेखि चारभञ्ज्याङ्ग, बीच बजार, बैंक रोड, डाँडागाउँ, लोकतान्त्रिक चोक, क्याम्पस गेट हुँदै जिल्ला अस्पतालको गेटसम्म करिब पाँच दर्जन बढी पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा गैरकानुनी रुपमा राखिएका सुर्तीजन्य पदार्थहरूलाई हटाउन, किराना पसल, होटल, कस्मेटिक पसल, हार्डवेयर पसलहरूमा नियम विपरित बेचविखन नगर्न, छुट्टै इजाजत पत्र लिएर मात्र बिक्री वितरण गर्न सरकारले निर्णय गरी व्यवस्था गरेको बारे सम्झाउने कार्य गरिएको थियो । साथै नेपाल सरकार मन्त्री परिषद्ले गत माघ ६ गते गरेको निर्णयको हाते पर्चाहरू र नयाँ वर्षसंगै स्वास्थ्य मन्त्रालयले शुरुवात गरेको मेरो वर्ष २०७४ अभियान र ५ वटा प्रतिबद्धताहरूसमेत वितरण गरिएको थियो । 

अनुगमनको क्रममा पसलमा म्याद सकिएका उपभोग्य सामग्रीहरू समेत फेला परेका थिए भने दर्ता नभई सञ्चालनमा रहेका पसलहरु समेत भेटिएका थिए । त्यस्तै अनुगमनको क्रममा किराना पसल, कस्मेटिक पसल, सब्जी पसलहरुबाट समेत गैर कानुनी रुपमा सुर्ती तथा मदिरा बिक्री वितरण भइरहेको पाइएको थियो । साथै कोष तथा लेखा नियन्त्रण कार्यालयले दर्ता प्रमाण पत्रहरु भए नभएको अनुगमन गरी अनिवार्य ग्राहकले देख्ने गरी प्रमाण पत्रहरु राख्न, नविकरण नगरेको भए तत्काल नविकरण गर्न समेत ब्यापारीहरुलाई आग्रह गरेका थिए ।

जिल्लास्तरीय अनुगमन समितिको गत बुधवार बसेको बैठकले सदरमुकामस्थित बजार पसलहरुमा सुर्ती नियन्त्रणका लागि अनुगमन गर्ने निर्णय गरेको थियो । 

 

प्रकाशित: ८ वैशाख २०७४ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App