६ वैशाख २०८१ बिहीबार
अन्य

आहुतिको घुमाउरो यात्रा

एकपटक उनको गाउँमा कांग्रेस युवाले नाटक देखाए। कर्तव्य नामक नाटकमा एक दलित युवालाई नायकको भूमिका दिइएको थियो। आफ्नो भूमिका भव्य बनाउन उनले भरपूर प्रयास गरे। तर, दलितले अभिनय गरेको गाउँलेले मन पराएनन्। आयोजकले दलित युवालाई हटायो र गैरदलितलाई राखेर नाटक देखायो।

‘इतिहासप्रति जिम्मेवार नभईकन लेख्नुभन्दा कुनै चुरा पसल खोलेर बस्नु वेश हुन्छ,' आफ्नो पहिलो उपन्यास नयाँ–घरको भूमिकामा आहुतिले लेखेका छन्। यही एउटा पंक्ति प्रशस्त छ, उनको साहित्यिक चेतको चर्चा गर्न।

यो घटनाले विश्वभक्त दुलाल ‘आहुति'को कलिलो मस्तिष्कलाई ठूलो झट्का भयो। किशोर अवस्थाका उनले पनि नाटक खेल्ने वा लेख्ने सपना पालेका थिए।  

सानैदेखि उनलाई हिन्दी सिनेमा हेर्ने अवसर जुटेको थियो। आफूले हेरेका हिन्दी सिनेमाका कथावस्तु उनी सम्झन्थे र गम्थे। नाटक वा फिल्मको कथानक यस्तो हुन्छ वा हुनुपर्छ भन्ने सामान्य संरचना उनको मस्तिष्कमा परिसकेको थियो।

यही आधार र अभीप्सामा उनले दुई साथीसँग मिलेर एउटा नाटक लेखे– इर्ष्या, जतिबेला उनी कक्षा ६ मा पढ्थे। निर्देशन पनि साथीहरूकै सहयोगमा गरे र डबलीमा देखाए। यसमा खेल्नेहरू गैरदलित नै बढी थिए।

राजधानीवासीले सुस्ताउने र रमाउने चौतारी थियो, डबली। नेवार समुदायको संस्कृति डबलीहरूमा नाटकलगायत मनोरञ्जनात्मक गतिविधि भइरहन्थ्यो।

आहुतिले लेखेको इर्ष्या नाटक खुब मन पराइयो, धेरैपल्ट देखाउनुपर्‍यो। दलित युवाले अभिनय गरेको समेत दुत्कार्ने समाजले जुत्ता सिलाएर जीविकोपार्जन गर्ने दलित परिवारका आहुतिलाई केटाकेटी सम्झेर छुट दियो सायद। आहुति भन्छन्, ‘खोई, केटाकेटी भनेर हो कि मैले लेखेको नाटकलाई बहिष्कार गरेनन्।'

बौद्धिक ‘सेलेब्रिटी'

‘इतिहासप्रति जिम्मेवार नभईकन लेख्नुभन्दा कुनै चुरा पसल खोलेर बस्नु वेश हुन्छ,' आफ्नो पहिलो उपन्यास नयाँ–घरको भूमिकामा आहुतिले लेखेका छन्। यही एउटा पंक्ति प्रशस्त छ, उनको साहित्यिक चेतको चर्चा गर्न।

आहुति बौद्धिक वृत्तमा व्यापक नाम हो। उनका तपसीका गीतहरू, नयाँ घर, स्खलन, गहुँगोरो अफ्रिका, नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्षलगायत पुस्तक प्रकाशित छन्।

पछिल्लो समय उनको आख्यान, व्याख्यान, विचार, विश्लेषणको विशेष चर्चा–परिचर्चा हुन थालेको छ। सामाजिक न्यायलाई केन्द्रमा राखेर गरिने साहित्यिक संवादमा उनको उपस्थिति अनिवार्यजस्तै मानिन्छ। वा, उनको अभाव अनुभव गरिन्छ। आहुति एक ढंगले बौद्धिक ‘सेलेब्रिटी' बन्दै छन्, यो उनको खास खुबी हो। 

उनी यहाँसम्म कसरी, कस्तो परिवारबाट आए त? उनी कस्तो समाज र परिवारको कल्पना गर्लान्?

०००

आहुति काठमाडौं नैकापमा जन्मिएका हुन्,  सार्की परिवारमा, ०२४ मा। नैकापमा उतिबेला नेवार अलि बढी, केही परिवार बाहुन–क्षेत्री र सार्कीहरू ३६ परिवार थिए। त्यतिबेला उनको गाउँमा चर्को छुवाछुत थियो।

आहुति भन्छन्, ‘पँधेराहरूमा छुवाछुत हुन्थ्यो। दलितका पँधेरा पनि बेग्लै थिए।'  

केही बारी र खेत भएको निम्नमध्यम वर्गीय उनको परिवारको खास पेसा जुत्ता बनाउने थियो। उनका दुई दाइ र दुई दिदीले घरको कामले गर्दा खासै पढ्न पाएनन्। परिवारका सबैभन्दा कान्छा सदस्य भएकाले पनि आहुतिले सानैमा स्कुल छाडेनन्।

उनलाई पढ्न सहज भने भएन। उतिबेला स्कुलमा शुल्क तिर्नुपर्थ्यो। त्योसँगै पुस्तक र पोसाक किन्न पैसा जुटाउँदाजुटाउँदै ढिला हुन्थ्यो। फागुनदेखि स्कुल खुल्थ्यो, उनी चैत कटेपछि मात्रै स्कुल जान थाल्थे।

यस्ता दुःख १ देखि ५ कक्षासम्म रह्यो। ६ कक्षादेखि भने उनलाई केही राहत मिल्यो, उनी कक्षामा प्रथम हुन थाले। विद्यालयले प्रथम विद्यार्थीसँग शुल्क नलिने भयो।

६ कक्षादेखि भने उनले ऊनको कपडा बुनेर परिवारलाई सघाए। त्यतिबेला उपत्यकामा ऊनका कपडा बुन्ने लहर नै थियो। काठेतानमा बुनेको कपडा सहजै बिक्री हुन्थ्यो।

‘दिदीको कानका गहना बेचेर कीर्तिपुरबाट पुरानो तान किन्यौँ, नौ सय रुपैयाँमा,' आहुति भन्छन्, ‘एक मिटर कपडा बेचेर ६० रुपैयाँ नाफा हुन्थ्यो।'

उनले स्कुल पढ्दै बिहान–साँझ दिदीलाई सघाउँथे। दिदीभाइले दिनमा ६०–७० रुपैयाँ कमाउँथे, यो रकम त्यतिबेला निकै ठूलो थियो।

 

‘जन्मनेबित्तिकै सात पाइला हिँड्ने कम्युनिस्ट'

माओत्से तुङको तस्बिर देखाएर उनका हजुरबाले भने– यो मान्छे जन्मनेबित्तिकै सात पाइला हिँडेको रे। यसले धनी–गरिब, जातपात मान्दैन रे, जातपात नै मेटाइदिने यो कम्युनिस्ट हो रे।

जन्मनेबित्तिकै सात पाइला हिँड्ने मान्छे त चानचुने होइन! उनको कलिलो मस्तिष्कमा बेग्लै प्रभाव पर्‍यो, नजानिँदो गरी कम्युनिस्टप्रति उनको आकर्षण बढ्दै गयो।

उतिबेला चीनबाट निकालिएका केही पत्रिका नेपाल आउँथे, जसमा माओका तस्बिर हुन्थे। पुस्तकमा गाता हाल्न भनेर उनका हजुरबाले यस्ता पत्रिका किनेर ल्याइदिन्थे।

आहुति गर्भैमा छँदा बाबुको निधन भएको हो। आहुतिको हुर्काइ, बढाइ र बुझाइमा हजुरबुवाको विशेष भूमिका रह्यो।

उनको गाउँमा पञ्चहरूको हालिमुहाली र दमन थियो, राजनीतिक गतिविधिमा कांग्रेस सक्रिय थियो। केटाकेटी नै भए पनि ०३६ सालको आन्दोलन र ०३७ को जनमत संग्रहताका उनी बहुदलको प्रचारमा लागे।

०००

पछि उनको गाउँमा पनि कम्युनिस्ट देखिन थाले। कम्युनिस्टहरूको सर्वहारावादी श्रमिक संगठन भन्ने थियो, त्यसको नेता रुपलाल विश्वकर्मा रहेछन्, यो उनलाई पछि मात्रै थाहा भयो। नाटक लेखेर टोलमा चर्चित भइसकेका उनलाई कम्युनिस्ट पार्टीमा लाग्न सहज भयो, उनी एसएलसी दिनेबित्तिकै कम्युनिस्ट पार्टीका सदस्य बने।

०४३ देखि उनी कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता भएका हुन्। ०४६ को आन्दोलनपछि पाँचवटा पार्टी एकता भएर नेकपा एकता केन्द्र बन्यो, जसमा उनी क्षेत्रीय कमिटी सदस्य भए। पछि महाधिवेशनबाट सल्लाहकार चुनिए, जतिबेला उनी २४ वर्षका थिए। यसरी नै अहिले उनी माओवादी केन्द्रमा केन्द्रीय कार्यालयको सदस्य छन्।

०००

अहिलेका प्रगतिशील विचारधाराका लेखक र प्रखर वक्ता आहुति सुरुमा खास दृष्टिकोण बनाएर लेखन र अध्ययनमा लागेका होइनन्। उनले स्कुले जीवनमा लेखेका नाटक हुन् या सुरुवाती अध्ययन होस्, त्यो कुनै विचारधाराबाट प्रभावित थिएन।

एसएलसी दिएपछि २२–२३ महिना उनी नेपाल–भारत सांस्कृतिक केन्द्रको लाइब्रेरी धाए। सानैदेखि हिन्दी फिल्म हेरेका उनले हिन्दी ठिकैठिकै बुझ्थे। त्यसपछिको सात महिनाजति त्रिभुवन विश्वविद्यालयको लाइब्रेरीमा पढे।

राजनीतिमा पूर्णकालीन भएर हिँड्नुअघि लाइब्रेरीमा भेटेसम्म, भाषिक क्षमताले भ्याएसम्म र रुचि लागेसम्मका धेरै पुस्तक पढे।

‘त्यतिबेला नेपाली लेखक युधिर थापा, प्रकाश कोविददेखि भारतीय गजानन माधव ‘मुक्तिबोध', नागार्जुन, वेद प्रकाशसम्मका भेटेसम्मका पुस्तक अन्धाधुन्ध पढेँ,' उनी  भन्छन्, ‘पछि राजनीतिमा लागेपछि मात्रै रुसी, चिनियाँ साहित्य पढ्न थालेको हुँ। मेक्सिम गोर्की, निकोलाई गोगोललगायतलाई पढ्न थालेँ। यसरी नै ममा साहित्यिक चेतना बन्दै गयो।'  

युवाको प्रिय नयाँ घर

काठमाडौंमा दुई साहित्यिक कार्यक्रम भइरहन्थ्यो– साहित्य सन्ध्या र प्रतिभा प्रवाह। सानैदेखि नाटक लेख्ने र राजनीतिमा लागेका उनी यी कार्यक्रममा नियमितजसो कविता सुनाउन जान थाले। पारिजातलगायत साहित्यकारसँग उनको चिनजान भयो।

राजधानीबाट त्यतिबेला उत्साह, संकल्प, झिसमिसे, वेदनालगायत पत्रिका निस्कन्थे। वामपन्थीको साझा पत्रिकाको रुपमा निस्कने उत्साहमा उनले रचना पठाउँथे। यतिबेलै उनले साहित्यिक नाम आहुति लेख्न थालेका हुन्।

पारिजातकहाँ उनको आउजाउ हुन थालिसकेको थियो। पारिजात बिरामी हुन थालेपछि एक दिन उनले भनिन्, ‘तपाईंको कवितामा भूमिका नलेखी मर्ने हो कि झैँ लाग्यो। एउटा कविता संग्रह निकाल्नुस्।'

संग्रह निकाल्ने उनको कुनै सुर थिएन। तर, पारिजातको आग्रह थियो। ४०–४२ वटा कविता दिएर उनले हरिगोविन्द लुइँटेललाई छान्न लगाए। २५ कविताको संग्रह ‘तपसीका गीतहरू' छापियो, ०४९ मा।

आहुति भन्छन्, ‘त्यतिबेला पारिजातले त्यति भन्नु ठूलो कुरा थियो। भूमिका लेखेको अर्को वर्ष उहाँ खस्नुभयो।'

आहुतिको पहिलो उपन्यास नयाँ घर निस्कियो, ०५० मा। नयाँ घरलाई सुरुमा वरिष्ठ समीक्षक र पाका मानिसबाट त्यति मन पराइएन। जब यो युवाहरुको माझमा पुग्यो, यसले अद्भुत स्नेह पायो।

‘सुरुमा वरिष्ठ समालोचक र पाका भनिएका मानिसले नयाँघरलाई उपेक्षा नै गरे। जब यो युवाहरूको बीचमा पुग्यो, समालोचक र पाका मानिसका उपेक्षालाई उल्टाइदियो,' आहुति भन्छन्, ‘राजनीतिक जीवनमा हिँड्दा सयौँ युवाले नयाँघर पढेको र मन पराएको मलाई सुनाएका छन्। नयाँघर पढेर कति युवा पुरानो जीवन छाडेर पूर्णकालीन राजनीतिमा लागेको पनि भेटेँ।'

द्वन्द्वकालमा नयाँघर राज्य पक्षबाट प्रतिबन्धजस्तै थियो, तर घोषित रुपमा भने होइन। आहुति भन्छन्, ‘घरमा वा साथमा यो पुस्तक भेटिएका कतिपय समातिए, तर घोषित रुपमै पुस्तकलाई प्रतिबन्ध गरिएको थिएन।'

युवालाई यति प्रभाव पार्न सक्ने पुस्तक कसरी, कुन परिवेशमा र कुन प्रेरणाले लेखियो होला?

‘त्यतिबेला मैले जेजति प्रगतिशील साहित्य पढेँ, त्यसमा पार्टीको आन्तरिक जीवन र मनोवैज्ञानिक रूपमा व्यक्तिले गरेको आत्मसंघर्ष पाउन सकिनँ,' आहुति नयाँघरको जग सम्झन्छन्, ‘कम्युनिस्ट आन्दोलनको आन्तरिक जीवन र एउटा युवा कम्युनिस्टकरण हुँदा उसले गर्ने आत्मसंघर्षलाई लिएर उपन्यास लेख्ने ममा एक प्रकारको तिर्सना बढ्यो। त्यही परिवेशमा नयाँघर लेखिएको हो।'

सम्बन्ध विच्छेद

आहुतिको पहिलो विवाह परम्परागत तबरले भयो, ०४८ मा, चिनजानकै परिवारबाट। तर, यो विवाह सम्बन्ध विच्छेदमा टुंगियो। 

‘हामीबीच केही मतमतान्तर भए र सम्बन्ध भत्कियो। हामीले आधिकारिक रुपमा सम्बन्ध–विच्छेद गर्‍यौँ,' आहुति भन्छन्, ‘यसबारे सार्वजनिक रुपमा मैले केही भन्नुहुँदैन, यसबारे बोल्न हामी दुवैको आपसी समझदारी चाहिन्छ। किनभने उहाँ पनि आफ्नो वैवाहिक सम्बन्धमा हुनुहुन्छ र म पनि। अहिले यति मात्रै भनौँ, हामीबीच कुरा मिलेन।'

आहुति स्वतन्त्रता र समानताले नै सम्बन्ध बलियो हुने विचार बोक्छन्। उनको बुझाइमा समानता र स्वतन्त्रता नभएको संस्था परिवार हो। पति र पत्नीबीचको समानताको परिभाषामा त उनी धेरै अगाडि छन्।

‘मेरो कल्पनाको समानता र स्वतन्त्रता त आफूलाई ठीक नलागेपछि कुनै पनि पल पतिले पत्नीलाई वा पत्नीले पतिलाई म तिमीसँग सम्बन्ध–विच्छेद गर्छु भन्न पाउनुपर्छ,' आहुति भन्छन्, ‘जति पीडा भए पनि भन्नुपर्‍यो– एकचोटि पुनर्विचार गर। पुनर्विचार नगर्ने हो भने खुसीसाथ सम्बन्ध–विच्छेद गरिदिनुपर्छ। म फलानो ठाउँमा छु भनेर पत्नीले पतिलाई वा पतिले पत्नीलाई पलपल खबर गर्नुपर्ने सम्बन्ध राम्रो होइन। यस्तो परिवार अब भत्कँदै जानुपर्छ।'

‘अर्की खोजिदिन्छु भनेर छोरी जिस्कन्छे'

पहिलो विवाहबाट एउटी छोरी भइन्। बाबुआमाबीच सम्बन्ध–विच्छेद हुँदा उनी आठ वर्षकी थिइन्। उनलाई हजुरआमा र फुपूले हुर्काए। आहुतिकी एउटी दिदी विवाह नगरी बसेकी छन्।

आहुति भन्छन्, ‘हामी दुवै राजनीतिमा थियौँ। त्यसैले छोरी सानैदेखि हजुरआमा र फुपूसँग हुर्किएकी हो।'

आहुतिकी जेठी छोरी अहिले विराटनगरमा एमबिबिएस पढ्दै छन्, सरकारी कोटामा नाम निकालेर।

भनिन्छ, बाबुआमाबीच जस्तो सम्बन्ध छ, सन्तानमा त्यस्तै मानसिक प्रभाव पर्छ। आहुतिकी छोरीलाई बाबुआमाको सम्बन्ध विच्छेदले त्यति ठूलो असर गरेन। उनले आफ्नी आमालाई पनि बराबर भेट्छिन्। 

‘हामी दुवैले सकारात्मक कुरा बताएर होला, हाम्रो सम्बन्ध विच्छेदबाट उसको व्यक्तित्वमै असर परेको देखिँदैन, केही त मनमा परेको होला,' आहुति भन्छन्, ‘ऊ धेरै नै फरवार्ड छ, संक्रीर्ण छैन। अर्की ल्याउने भए म खोजिदिन्छु भनेर मसँग जिस्कन्छे।'

दोस्रो विवाह र परिवार

पहिलो वैवाहिक सम्बन्ध औपचारिक रुपमै टुंगिएपछि आहुतिले दोस्रो विवाह गरे, ललितपुर मंगलबजारकी बुद्धलक्ष्मी महर्जनसँग। किसान परिवारकी बुद्धलक्ष्मी मजदुर नेतासँगै स्थायी जागिरे थिइन्, ललितपुरको श्री टेक्सटाइलमा इलेक्ट्रिक तान चलाउँथिन्।

पार्टी जीवनमै आहुतिको भेट बुद्धलक्ष्मसँग भएको हो, ०५२ सालतिर। नेताको रुपमा आहुति बुद्धलक्ष्मीको घरमा गइरहन्थे।

‘उहाँ सचेत कार्यकर्ता हुनुहुन्थ्यो। उहाँलाई पूर्णकालीन कार्यकर्ता बनाउने मेरो सोच थियो,' आहुति भन्छन्, ‘नेता भइसकेपछि स्वाभाविक रुपमा अलिकति प्रतिभावान्, क्षमतावान्लाई पूर्णकालीन बनाउन लागिन्थ्यो। यसैले म उहाँको घरमा गइरहन्थेँ।'

०५४ देखि जागिर छाडेर बुद्धलक्ष्मी पूर्णकालीन कार्यकर्ता भइन्। यसबीचको लामो पार्टी जीवन, भेटघाट, छलफलमै उनीहरूले एकअर्कालाई बुझेका थिए, ०५९ देखि उनीहरु सँगै बस्न थाले।

नेवार परिवारकी बुद्धलक्ष्मी र आहुतिले दाम्पत्य जीवन सुरु गर्न पारिवारिक र सामाजिक अप्ठेरा भोग्नुपरेन। बुद्धलक्ष्मीले जागिर छाडेर राजनीतिमा आएपछि नै उनको परिवारलाई परिसकेको थियो– यो छोरी बेग्लै भइसकी।

आहुति भन्छन्, ‘नेता भएकाले उहाँको परिवारले मलाई सम्मान नै गर्थ्यो। स्वाभाविक रुपमा जातप्रथा भएको समाजमा र पहिलो वैवाहिक सम्बन्ध विच्छेद भएको व्यक्तिसँग छोरीले विवाह गर्दा पक्कै पनि सहज अनुभूति त भएन होला तर मुखर रुपमा नकारात्मक प्रतिक्रिया व्यक्त भएन।'

बुद्धलक्ष्मी बाबुआमाका पाँच छोरीमध्ये जेठी हुन्, सबै छोरीको विवाह भइसक्यो। अहिले उनका बाबुआमाका लागि आहुति भरपर्दा आफन्त हुन्। भोजभतेरमा आहुतिलाई बोलाइरहन्छन्। 

आहुति भन्छन्, ‘अरु भोजभतेरभन्दा देवालीमा बोलाउँछन् कि बोलाउँदैनन् भन्ने महत्वपूर्ण हो। उहाँहरू मलाई देवालीमा बोलाउनुहुन्छ।'

बुद्धलक्ष्मीले सानैदेखि स्कुल पढेकी होइनन्। ०४५ सालदेखि पार्टी निकट भएपछि उनले प्रौढहरू पढ्ने प्रेरणा महिला स्कुलमा ८ कक्षासम्म पढिन्।

त्यसैको आधारमा उनी लेखपढ गर्छिन्। फाट्टफुट्ट लेख पनि लेख्छिन्। यो जोडीबीच घरमा आवश्यकताअनुसार राजनीतिक बहस पनि हुन्छ।

राजनीतिले जोडेको सम्बन्ध

आहुतिकी प्रथम पत्नी राजनीतिमा छन्। पहिले उनको कार्यक्षेत्र ललितपुरमा थियो। आहुतिसँग सम्बन्ध विच्छेद हुनुअघि उनी र बुद्धलक्ष्मी साथी थिए। अहिले यी तिनै पात्रबीच बेलाबेला पार्टीगत छलफलमा भेटघाट भइरहन्छ।

आहुति भन्छन्, ‘पहिले पनि दुवै एउटै पार्टीको राजनीतिमा हुनुहुन्थ्यो, ललितपुर जिल्लामै। अहिले दुवैजना केन्द्रीय आयोजक समितिमा हुनुहुन्छ। उहाँहरूको सम्बन्ध सामान्य नै देख्छु।'

प्रकाशित: ९ वैशाख २०७४ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App