coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘पढ्न लायक नभएकाले नेपाली पुस्तक नपढिएका हुन्'

सौरभ, लेखक तथा विश्लेषक

लेखक सौरभ क्रिटिकल लेखनी र अध्ययनशील व्यक्तिका रूपमा चिनिन्छन्। हरेक विषयमा गहिरो अध्ययन गर्ने उनी कुनै पनि विषयमा हल्का टिप्पणी गर्न मन पराउँदैनन्। आलेख तयार पार्दा होस् वा पुस्तक लेख्दा, सम्बन्धित विषयमा निकै लामो अध्ययनपछि मात्र उनको कलम चल्छ। पछिल्लो समय उनी नेपालका बारेमा लेखिएका पुस्तकको अध्ययनमा केन्द्रित छन्। कतिपय विदेशी लेखकले नेपालका बारेमा उत्पन्न गरेका भ्रमलाई चिर्न ‘ब्रेकिङ नेपाल' नामक पुस्तक हालै सार्वजनिक गरेका उनले छिट्टै अर्काे पुस्तक पनि ल्याउने तयारी गरेका छन्। लेखनीमार्फत् राष्ट्रियता प्रवर्द्धनमा जुटेका उनै सौरभलाई हामीले यसपटकको ‘पुस्तक परिक्रमा' मा समावेश गरेका छौँ। 

तपाईंको हातमा अहिले कुन पुस्तक छ?

एलेक्स माइकल्स र गोविन्द टन्डनको ‘पशुपति क्षेत्र' अध्ययन गरिरहेको छु। तर, यो पुस्तक मलाई मन परेन। यसका पछाडि दुई वटा कारण छन्। पहिलो कारण, टण्डन आफै पशुपति सम्बन्धी आधिकारिक व्यक्ति हुन्, त्यसैले उनले यो पुस्तक लेख्न पश्चिमाको सहयोग लिनु आवश्य थिएन। दोस्रो कारण, वर्णानुक्रमअनुसार पनि पुस्तकमा पश्चिमाकै नाम आउँछ। यो पुस्तक हेर्दा काम गर्ने हनुमान (गोविन्द टण्डन) जस पाउने ढेडु (एलेक्स माइकल्स) बनेका छन्। त्यसैले पुस्तक मन नपरेको हो।

यसअघि कुन पुस्तक पढ्नुभएको थियो?

जरेड डायमन्डको ‘गन्स, जर्म्स एन्ड स्टिल' अध्ययन गरेको थिएँ। 

मन पर्‍यो कि परेन?

मन पर्‍यो पनि, परेन पनि। पुस्तक निकै मेहनत गरेर लेखिएको रहेछ। त्यसकारण मन पर्‍यो, तर यसले मलाई प्रभाव भने पार्न सकेन त्यसैले मन परेन।

अब के पढ्ने योजना छ?

अहिले राजनीतिकर्मी आरके मैनालीको ‘नलेखिएको इतिहास' पढ्ने तयारीमा छु। अरु पनि कैयौँ पुस्तक पढ्ने योजना छ, तर ती लेखिएकै छैनन्। जस्तो, नेपालको हितमा मैले के काम गरेँ भन्ने विषयमा माधवकुमार नेपाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, कृष्ण सिटौला, राजेन्द्र महतो, महन्थ ठाकुर, शेखर कोइराला र रामचन्द्र पौडेलले पुस्तक लेखिदिएमा मेरो पढ्ने योजना साकार बन्थ्यो। 

कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ?

नेपालका बारेमा पश्चिमाहरूको मुख बन्द गराउन सक्ने पुस्तक लेखिए हुन्थ्यो जस्तो लाग्छ। त्यसै गरी, विज्ञान र प्रविधिमा नेपाल कुन ठाउँमा छ, कुन बाटोमा गयाँै भने व्यापार घाटा हुँदैन र नेपाली सम्पन्न हुन्छन्? नेपालमा बसाइसराइ रोक्न तथा खुल्ला सीमा बन्द गर्न कसरी सकिन्छ भन्ने विषयमा पुस्तक लेखिनु आवश्यक छ। नेपालको कर्मचारीतन्त्र कुन हदसम्म बिकेको छ? नीति बनाउँदा कसरी अन्य मुलुकको अनुकूल हुने गरी बनाइन्छ? विश्वविद्यालयमा सेलेबस बनाउँदा विश्वविद्यालयका विज्ञहरू कसरी बिक्ने गरेका छन् भन्ने जस्ता विषयमा लेख्नु अति आवश्यक छ।

पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक?

मेहनत गरेर लेखिएका सबै पुस्तक मन पर्छ। विलियम एल शिररको ‘थर्ड राइख', विष्णु प्रभाकरले अर्का लेखक शरद्चन्द चट्टोपाध्यायका बारेमा लेखेको ‘आवारा मसिहा' र श्रीकृष्ण गौतमको ‘सय रंगी घुम्टोभित्र हुम्ला' बढी मन परेका पुस्तक हुन्। थर्ड राइखमा हिटलरको उदय र पतनका विषयमा राम्रोसँग उल्लेख गरिएको छ। आवारा मसिहा जीवनीमा आधारित पुस्तक हो। यस पुस्तकले पीडित लेखक शरदचन्दमाथि न्याय गरेको छ। सौरंगी घुम्टोभित्र हुम्लामा लेखकले थोरै शब्दमा हुम्लाको निकै राम्रो वर्णन गरेका छन्। 

नपढी नहुने पुस्तक?

एउटा पुस्तक नपढ्दैमा त्यसमा भएको जानकारीबाट अनभिज्ञ होइन्छ भन्ने हुँदैन। एउटा पुस्तकमा रहेका विषयवस्तु अर्काे पुस्तकमा दोहोरिने भएकाले यो पुस्तक पढ्नैपर्छ भन्ने नै हुँदैन। तर, नेपालको विषयमा भन्ने हो भने, जगमान गुरुङले पछिल्ला १/२ वर्षमा लेखेका लेखहरू संकलन गरेर पुस्तक छापिएमा नेपाल र नेपालीलाई माया गर्ने सबैले पढ्नैपर्ने पुस्तक त्यो हुने देख्छु। तर, उहाँले जाँगर नलागेर हो वा सम्पादन गर्ने अनुमति नदिएर हो पुस्तक प्रकाशित हुन सकिरहेको छैन। 

नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका?

धेरै कारण छन्। नेपाली पुस्तक नेपाली भाषामा मात्रै भएर अन्य मुलुकमा नपढिएका होइनन्। कुनै विदेशीले पढ्न चाहेमा अनुवाद गराएर पनि पढ्न सक्छ। नेपाली लेखकका पुस्तक अन्य मलुलुकमा नपढिनुका पछाडि ती पढ्न लायक नहुनु, प्रशस्त मेहनत नगर्नु, विदेशीले पढ्ने किसिमको होराइजन तथा पृष्ठभूमि नहुनुलगायतका कारण रहेको देख्छु।

पढ्न मन लागेर पनि नपाएको पुस्तक?

नेपालका बारेमा केही सामग्री भएका उर्दु भाषाका ६ वटा पुस्तक छन् भन्ने सुनेको छु। पुस्तकको नाम पनि टिपोट गरेको छु, तर ती पुस्तक अहिले कतै पाउने सम्भावना देखिन्न। त्यस्तै, ऋग्वेदका केही ऋचा नेपालमा लेखिएका हुन् भन्ने प्रमाण भएको कृति विश्वको कुनै पुस्तकालयमा छ भन्ने सुनेको छु, त्यो पनि पाउने सम्भावना कम छ। यी पुस्तक पढ्ने इच्छा छ।

घरमा कतिवटा पुस्तक छन्?

कतिवटा पुस्तक छन् भनेर तथ्यांक राखेको छैन। तर, जति पनि पुस्तक छन् ती सबै पढेको छु। कतिपय पुस्तक आफूले पढिसकेपछि अरुलाई पनि पढ्न दिने गरेको छु। त्यसैले ठ्याक्कै यत्ति पुस्तक छन् भनेर भन्न गाह्रो छ।

प्रस्तुति : वसन्त खड्का

प्रकाशित: ९ वैशाख २०७४ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App