८ वैशाख २०८१ शनिबार
राजनीति

दल परिवर्तनपछि छायाँमा परेकाहरु

चाँदनी हमाल/वसन्त खड्का

समकालीन नेपाली राजनीतिमा ‘दलबदल’ सामान्य बनेको छ। विशेष गरी कुनै नयाँ दलको स्थापना वा निर्वाचनका बेला एउटा दललाई छाडेर अर्काे दलमा प्रवेश गर्ने प्रवृत्ति राजनीतिक दलहरुमा व्यापक देखिने गरेको छ। एउटा दल छाडेर अर्काे दलमा प्रवेश गर्ने प्रक्रियामा सामान्य कार्याकर्ता देखि उच्च तहका नेतृत्वसमेत संलग्न हुने गरेका छन्।

यससँगै कुनै एउटा दलको महत्वपूर्ण जिम्मेवारीमा पुगेका नेता अर्काेदलमा प्रवेश गरेपनि पहिलेजस्तो चर्चा नहुने तथा गुमनाम अवस्थाबाट गुजि्रने प्रवृत्ति पनि राजनीतिक दलका नेताहरुमा देखिने गरेको छ। एउटा दल छाडेर अर्काे दलमा प्रवेश गरेका त्यस्तै गुमनाम तथा छायाँमा परेका प्रतिनिधि पात्रहरु हाल कहाँ के गर्दै छन् भन्ने विषयमा चर्चा गर्ने प्रयास गरेका छाँै।

विचारको निषेधमा परेका झा

२०३४ सालदेखि राजनीतिमा सक्रिय रामचन्द्र झा पहिलो संविधान सभाको निर्वाचनमा धनुषा क्षेत्रनम्बर १ बाट नेकपा एमालेको तर्फबाट सभासदमा निर्वाचित भएका थिए। नेकपा एमालेको पोलिटव्यूरो सदस्य भइसकेका झा नयाँ संविधान र राज्य संरचनाका विषयमा आफूले राख्दै आएको विचारलाई पार्टीले अस्विकार गरेको भन्दै २०६९ चैत २४ मा एमाले छाडेर तत्कालिन एकीकृत माओवादीमा प्रवेश गरे।

तत्काली एमाओवादीको मधेस व्यूरो ईन्चार्ज समेत भएका उनी हाल उक्त दलसमेत छाडेर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाशक्तिमा सहसंयोजकको भूमिकामा छन्। कुनै बेला नेकपा एमालेका चर्चित नेता झा हाल भर्खर स्थापना भएको दलमा आफ्नो भविष्य खोज्दैछन्। पार्टी छाड्नुका पछाडी एमालेको संकिर्ण सोचलाई दोष दिने उनी अहिले सानो दलमा भएपनि मन नखुम्चिएको बताउँछन्। ‘हाम्रो दल अहिले राज्यसत्ताको पहुँचमा छैन तर सानो दल भएपनि मन साँघुरो छैन।' उनी नयाँ शक्तिलाई वैकल्पिक शक्तिका रुपमा विकास गर्दै ठूला दलको सेखी झार्ने जनाउँछन्।

ठूलो दलमा हुँदा जस्तो चर्चा त छैन नि भन्ने प्रश्नको जवाफमा उनी भन्छन, ‘हाल नयाँ शक्तिको संगठन निर्माणमा लागिरहेको छु, राजनीतिक कामको व्यस्तताले बाहिर नआएको मात्र हो।' झा आफू एमालेसँग ठूलो विवाद गरेर पार्टी छाडेको नभइ केही एजेन्डामा कुरा नमिलेपछि बाहिरिएको बताउँछन्। आफूले पार्टी छोड्नेबेला एमाले नेतासँग प्रयाप्त छलफल गरेपनि माग सुनवाई नभएपछि पार्टी परित्याग गर्नुपरेको उनको गुनासो छ। पार्टीबाट बाहिरिनुभन्दा पहिले एमाले नेताहरुसँगको संयुक्तरुपमा भेटमा  सबैको आँखा रसाएको झा बताउँछन्। पोलिटव्यूरो बैठकमा आफूले पार्टी छोड्नुपर्ने कारणबारे खुलेर बहस गरेपनि पार्टीले आफ्नो कुरा नसुनेपछि पार्टी छोड्नुपरेको उनको भनाई छ। एमालेलाई सानो दलबाट ठूलो दल बनाउन महत्वपूर्ण समय खर्चिएकाले भावनात्मक रुपमा पार्टीप्रति सदभाव भएपनि नेताहरुका कारण पार्टीमा बसिरहन नसकेको उनले बताए। पार्टीबाट बाहिरिनुपर्दाको बाध्यतालाई देखाउँदै आफूले नेताहरुलाई एउटा भावुक हिन्दिगित समेत सुनाएको झा बताउँछन्। एमाले छाडेर माओवादीमा प्रवेश गरेका उनी माओवादीले पनि एजेन्डा त्याग गरेपनि नयाँ शक्तिमा लाग्नुपरेको उनको भनाई छ।

अवमूल्यनमा परेकी उर्मिला

नेकपा माओवादी केन्द्रकी नेतृ तथा अनेमसंघ क्रान्तिकारीकी फ्याक्सन इन्चार्ज उर्मिला अर्याल अहिले खासै चर्चामा छैनन्। नेकपा एमालेका तर्फबाट २०६३ मा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री तथा २०६८ सालमा स्थानीय विकासमन्त्री बनेकी उनी चर्चामा आइरहने महिला नेतृको सूचिमा अग्रस्थानमा थिइन।

आफ्नो गृहजिल्ला पर्साबाट नेकपा एमालेका तर्फबाट ०४८ र ०५१ को संसदीय निर्वाचनमा पराजय भोगेकी उनले ०५६ को निर्वाचनमा विजय प्राप्त गरेकी थिइन। नेकपा एमालेको संगठन निर्माणमा निकै महत्वपूर्ण निर्वाह गरेको बताउने उनी २०७० जेठ ४ गते पार्टी परित्याग गरी तत्कालीन एमाओवादीमा प्रवेश गरिन। ०२८ देखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएकी अर्याल पार्टीभित्र आफूले गरेका लामो योगदानको अवमूल्यन भएपछि पार्टी छोड्नुपरेको बताउँछिन् ।

अहिले त गुमनाम हुनुहुन्छ नि भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘पहिले संसद तथा मन्त्रीको जिम्मेवारीमा भएकाले चर्चा हुनु स्वभाविक हो। पार्टी परिवर्तन पछि माओवादी केन्द्रको संगठन विस्तार तथा निर्वाचन प्रचारमा व्यस्त छु। चर्चामा आउने, मिडियाको सम्पर्कमा बसिरहेन मेरो स्वभाव पनि छैन त्यसैले कम चर्चा भएको होला।' एमालेमा रहेको  व्यापक गुटबन्दी, नेतृत्वको घेराबन्दी तथा गलत प्रवृत्तिका विरुद्ध बहस नगर्ने लगायतका विकृतिले पार्टी छोडनुपरेको बताउने उनी हालको माओवादी केन्द्रमा पनि विभिन्न कमिकमजोरी रहेको बताउँछिन्।

उनी भन्छिन, ‘एमालेमा भन्दा अहिले बढी जनवाद त छ तर निर्णयमा भने केन्द्रियता छ।' यसका पछाडी युद्ध लडेको नेतृत्व प्रमुख कारण हुनसक्ने उनी बताउँछिन्। त्यस्तै संगठनात्मक अनुभव तथा चुनावी अभ्यासका हिसाबले पनि माओवादी केन्द्र कमजोर रहेको उनको ठम्याई छ। तर जिम्मेवारीका हिसाबले भने विगतमा भन्दा वर्तमानमा आफू महत्वपूर्ण जिम्मेवारीमा रहेको उनको भनाई छ।

नेकपा एमालेमा लामो योगदान गरेकाले भावनात्मक रुपमा नजिक भएपनि नेतृत्वको व्यवहारका कारण पार्टी छाड्नुपरेको उनको भनाई छ। वैचारिक र व्यवहारिक रुपमा एमाले सुधि्रयमा भविष्यमा वैचारिक रुपमा एकैठाउँ हुन सकिने अर्यालको भनाई छ। अहिले पनि एमालेका युवा नेतृहरुसँगको भेटमा एकअर्काका अनुभव साटासाट गर्दा भावुक हुने गरेको उनी बताउँछिन्। तर पार्टी छाडेकोमा भने कुनै पश्चाताप छैन भन्छिन उनी। वर्तमान पार्टीको भविष्यका बारेमा उनीसँग जिज्ञाशा राख्दा उनको जवाफ थियो, ‘पार्टी ठूलो कुरा होइन, तर मुलुक यही पार्टीकै एजेन्डामा चलिरहेको छ।' माउ पार्टी छोडेर अर्काे पार्टीमा काम गर्दा कतिपय अवस्थामा वैचारिक कठिनाई भने भोग्नुपर्ने उनको अनुभव छ। 

निष्कृय मोदनाथ

२०१४ सालतिर नेपाली काँग्रेस समर्थक थिए मोदनाथ प्रश्रित। ‘घरपरिवार नै काँग्रेस निकट भएकाले माहोल त्यस्तै थियो ,’ उनीसम्झन्छन् ,‘पछि सुवर्णबाबु र विपी बाबुबिच  नै झगडा हुन थाल्यो।’ सुवर्ण समसेर पैसाको तुजुकमा पार्टी चलाउन खोज्ने विपी समाजवादकोसिद्धान्त छाड्न नखोज्ने भएपछि काँग्रेस पार्टी विभाजित भयो। जसका कारण प्रश्रितको मन काँग्रेसबाट मर्यो। ‘तल्लो वर्गका मान्छे म  मार्क्सवाद पढेपछि कम्युनिष्ट धार मन पर्यो अनि  त्यता लागेे,’उनी काँग्रेस छाड्नुको कारण बताउँछन्। अठारवर्ष आफ्नो मानेको काँग्रेस नीति छाडेर २०२४ सालदेखि  पुष्पलाल श्रेष्ठको कम्युनिष्ट पार्टीमा लागे। कम्युनिष्टको एकमात्र दृष्टीकोण समाजबादमा जानका लागि के के गर्नुपर्छ भन्ने लाइनमा उनी कायम रहे।

त्यसैको परिणाम स्वरुप अहिले जातिय छुवाछुत हटेको छ। महिलाले समान अधिकारपाउन थालेका छन् र क्षेत्रियता अघिबढेको छ। यसैको सन्तोष प्रश्रित व्यक्त गर्छन्। कम्युनिष्ट पार्टी शुरुवात भन्दा अलिक पूँजीवादतिर ढल्किएको भान उनलाई पनि परेको छ।

साँच्चिकै कम्युनिष्टका सन्तान सँधै गरिबै हुने। वा आधुनिक शिक्षा नलिदा निरक्षर नै रहने त भन्ने पर्खाल तोड्न उदार कम्युनिष्ट बन्नु जायजै भएको अनुमान उनले गरे।

त्यै पनि पहिले जस्तो व्यवस्था फाल्न बन्दुक नै चलाउनुपर्छ भन्ने अवस्था अहिले नभएकाले विचार बलियो बनाउन धन र शिक्षा उत्तिकै जरुरी रहेको औंल्याउँछन्।

एमालेमा भित्रिएपछि लामो समय सक्रिय रहे। अहिले त्यही पार्टीबाट पनि विरक्तिएका छन प्रश्रित। पार्टीकोसल्लाहकारका रुपमा जोडिएका त छन्। तर सक्रिय हैन। अनौपचारिक सल्लाह उनको  बढी चल्छ उनको। कसैले व्यक्तिगत सोध्छन त कहिलेकाँही प्रशिक्षणको अवसरमा सल्लाह दिन्छन्।

‘अब लेखनतिरै हुन्छु विरक्तता भएर हैन हरेक युवा पुस्तालाई छाडिदिनुपछ भन्ने सोचले हो ’,बहाना बनाउँछन् ,‘सक्रिय छँदा राजतन्त्र भत्कायौ,आर्दश देखायौै ,सरकार चलायौं अब लेखनीबाटै विचारबाँड्ने सोच आयो।’ राजनीति भनेको पेन्सन पकाउने ठाउँ हैन ५६ वर्षको उमेरपछि नयाँ पुस्तालाई छाडेर रिटायरहुनुपर्छ  भन्ने मान्यता प्रश्रित राख्छन्। बुढाहरुले ठाउँ ओगेटेकाले पनि पार्टीमा नयाँ विचार र जोशकाहरु पछि परको ठान्छन्। उमेले ७५ वर्ष भए। घुँडा दुख्ने रोग छ। ‘घरैमा बसेर पुराना लेख्ने योजना पुरा गर्दैछु,’ उनले नयाँ दिनचर्या सुनाउँछन् ,‘पार्टी राजनीतिमा खासै चासो छैन मलाई लेखक भएकाले किताब पढेर सन्तुष्ट हुँदैछु।’ पहिले पहिले कम्युनिष्ट संगठन गर्न खालका लेखहरु खुब लेखे। अब त्यो भन्दा आम पाठकको रुची केलाउन थालेका छन्।

हुलमुलमा हराए डिलाराम

डिलारमा आचार्य पहिले जनमोर्चा पार्टीका महासचिव। अहिले माओवादीकेन्द्रका नेता। ‘चुनाब आइराछ मिटिङको दगुरादगुरमा छु,’ उनी नयाँ दिनचर्या बताउँछन् ,‘केन्द्रको हेडक्वाटर हेर्छु।’ जनमोर्चामा महासचिव हुँदा उनको चर्चा चुलिएकै थियो। मिडियालाई प्रतिकृया दिन होस वा पार्टीको धार बलियो पार्न निकै सक्रिय रहे। अहिले केन्द्रभित्रै कतै उनी हराएका छन्।

 ‘ठूलो हुलमा अलिक कम चर्चा हुन्छ नि,’ उनी आफैलाई थुम्थुमाउछन् ,‘भुमिकामा कम छैन राम्रै छ।’ माओवादीमा भित्र तमुवानको इन्चार्ज अनि चार नम्बर इन्चार्जहुँदै अहिले हेडक्वाटर सदस्य पदमा छन्। ‘हेडक्वाटर भनेको दोस्रो तेस्रो लाइन हैन पहिलो लाइन हो,’ उनी सुनाउँछन्,‘भविष्यमा पनि अध्यक्ष नै ताक्ने हो त्यो भन्दा कम हैन।’ जनमोर्चा छाड्दाको तितो अनुभव उनीसँग छ। ‘उहाँहरुको जुन संकिर्णता थियो त्यो मलाई स्विकार्य थिएन उनले भने ,‘सितीमाति घुँडा नटक्ने मान्छे म उनले भने हेपिएर बस्नु भन्दा त्यहाँबाट निस्के।’ त्यसको एकवर्षसम्म पार्टी बिहीन भएर बसे। जनमोर्चा संघियता विरुद्धको पार्टी माओवादी संघियता पक्षधर।  ‘नारामा मात्र फरक हो चौमको स्कुल एउटै त्यसैले माओवादीमा पसे ,’उनले थपे ,‘मुलभुत रुपमा संघियताको अन्यौल भन्दा जोखिम कम गर्ने हो जनमोर्चा संघियतामा जानै नखोज्दा पछि पर्यो।’ सैद्धान्तिक रुपले मार्क्सवादी दुबै पार्टीको धार त्यसैले पनि फरक परेन भन्छन् उनी।

जब माओवादीमा सामेल भए तब पेरिस डाँडाबाट उता हेर्दा तत्कालिन मसाल छाडेकाहरु ९० प्रतिशत मान्छे जम्मा भएको देखे। ‘पुरानै साथीहरु भेट भयो मोटो र पातालो मसाल हुँदा दुइतिर लाग्याथ्यौं अब एकै ठाउँ भयौं,’उनले भने। साथीरुले विदा हुँदा सो के गर्छस भनेर सोधेको पल सम्झन्छन् मेरो मनले भने कम्युनिष्ट बिचार छाड्दिन सोचेको थियो।

पाँचौ महाधिवेसनपछि विभाजन मसाल विभाजन भएको थियो। विद्रोही मसाल गठनको आचार्य संस्थापक नै हुन्। ‘तत्कालिन मुद्धामा मतभेद भएपनि एकता गर्यौ ’ उनले सम्झे  ,‘२०३७ को एकिृकत मशालमा निर्मल लामा, मोहन बैध लगायतका साथीहरु थिए।’ २०४२ मा पातलो मशाल बन्यो। पार्टीमा खुल्ला राजनीति नगर्ने सिद्धान्त भएकाले खुल्ला काम गर्न मोर्चाका रुपमा जनमोर्चा गठन भएको इतिहास उनले बताए।  ‘अहिले निर्वाचनका खातिर पार्टी भयो तर त्यो मात्र मोर्चा थियो,’ पहिलेको पार्टीकै हैसियत कम आक्दै भने 

माउपार्टी मोह त्याग्न नसकेका सुब्बा  

विजय सुब्बा कुनैबेला एमालेको पहिलो लाइनको नेता हुन। तर अहिले उनी दोस्रो स्तरमा खुम्चिएका छन्।  २०२७ सालदेखि बाम राजनीतिमा लागे सुब्बा। झापा विद्रोहसँगै विद्यार्थी राजनीति मार्फत  कम्युनिष्ट राजनीतिमा प्रवेश गरे।

२०७० को चुनावपछि एमाले दोस्रो ठूलो दल बन्यो। पार्टीसँगै नेताका हैसियत पनि बढ्यो।  पहिचान र संघियताको विषयले चर्चा पाएसँग यसका पक्षधरको दबदबा झनै उच्च भयो। त्यही दबदबा कायम गर्ने नेता हुन सुब्बा। त्यतिबेला एमालेको पन्द्र्र प्रदेशको खाकामा अडिग रहने निती थियो। त्यही नीति अनुसार सुब्बा लगायतका नेता जनता फकाउन चर्कै भाषणमा लागे। तर पार्टीभित्र  गुट राजनीतिले उग्र रुप लियो। त्यसपश्चात नेताहरु प्रदेशको पक्ष र विपक्षमा बाँडिए। त्यससँगै एमाले पहिलेकै नीतिमा अडिग हुन सकेन। १५ प्रदेशको खाका पार्टीले फिर्ता लियो। त्यसपछि  सुब्बा लगायतका जनजाती नेता अन्यौलमै परे।

‘पहिले पार्टीको निर्देशन अनुसार भाषण गर्दै हिड्यौ पछि पार्टीले अडान झिक्यो त्यसपछि हामी अप्ठेरोमा पर्यौ,’ उनले पार्टी छाड्नुपर्दाको पिरलो पोखे ,‘हामीलाई अन्याय नै गर्न खोजेको हो भनेर आवेशमा आइयो र पार्टी छाडियो।’ झण्डै दुइवर्ष अघि अशोक राई सहित पार्टी छाडेर संघिय समाजवादी पार्टी खोले। जुन जोशले त्यहाँ गए त्यो जोश केही समयमै ठण्डा भयो। ‘मलाई काम गर्न नदिने रोक्न खोज्ने जस्ता कृयाकलाप बढ्दै गए,’ संघियसमाजवादी पार्टीभित्रको किचलो बताए ,‘अशोक राई जीको वैचारिक धरातल पटक्कै मन परेन।’ उनले पार्टी नेतृत्वले मधेशी नेताले संविधान संसोधनमा जे भने त्यही गर्न खोज्दा  अरु एजेण्डा र्नै शून्य भएको दाबी समेत गरे।

‘उनीहरुका कुरा नसुने रक्तपात र महाभारत नै हुन्छ जस्तो गर्थे हामी पहिला सँगै हुने साथीहरुको दृष्टीकोणकै वेवास्ता गरे,’ सुब्बाले विरक्तता पोखे ,‘भद्रगोल नै भयो भयानक दिक्क भएँ। ’

मधेशी बाहेक पनि जनजातीको फरक मत हुन्छ भन्ने राइले बिर्सिएको टिप्पणी उनको छ। बटमलाइन आदिवासी जनजातीको हकको कुरा थियो, पछि विचार विहिनताको अनुभव उनले गरे।  नयाँ पार्टीमा संघियता स्थापित गर्ने सपना तुहिएपछि पुनः एमालेमै फकिएको सुब्बा बताउँछन्।

‘बस्न सकिने स्थिती नै भएन उनले भने, बेहिसिाब ढंगले बस्नुको अर्थ पनि छैन त्यसैले पुरा जीवन व्यतित गरेको पार्टीमै फर्के।' पार्टीमा साथीले कुन ढंगले हेर्छन भनेर अनौठो भने लाग्छ उनलाई।

पार्टी छाडेर फर्कनु अपराध हैन भन्छन् उनी,‘त्यो हो भने बामदेव जी जस्ता धेरैले पार्टी छाडेका थिए, मेरो खाली बिस महिना यताउता परेको मात्र हो।’

माउ पार्टीमा छदा उनी पोलिटब्युरो सदस्य थिए। फर्केपछि पनि त्यही तहमा राख्ने भनेका थिए। तर अहिले केन्द्रिय सदस्यमा थन्किएका छन्।  पहिले पार्टीको संस्कृती विभाग हेर्ने उनी हाल समाजकल्याण विभाग हेरिरहेका छन्।

प्रकाशित: ९ वैशाख २०७४ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App