७ वैशाख २०८१ शुक्रबार
राजनीति

कटारी नगरपालिकामा माओवादीको उम्मेद्वार सिफारिस

कटारी – आउँदो स्थानीय तहको निर्वाचनका लागि कटारी नगरपालिकामा नेकपामाओवादी केन्द्रले उम्मेद्वारको नाम सिफारिस गरेको छ । आगामी ३१ गते हुने निर्वाचनका लागि माओजवादी केन्द्रले मेयर र उपमेयरका आकांक्षीहरूको नाम शुक्रबार जिल्ला पार्टीलाई सिफारिस गरेको थियो। 

बिहीबार र शुक्रबार कटारीमा बसेको केन्द्रको नगर बैठकले मेयरमा पार्टी महाधिवेशन अयोजक सदस्य केपी बरालसहित ३ जनाको नाम सिफारिस गरेको छ । बैठकले अर्का महाधिवेशन आयोजक सदस्य झण्डबहादुर राई र जिल्ला कमिटी सदस्य योगेन्द्र दनुवारको नाम सिफारिस गरेको पार्टी नगर संयोजक हेम दाहालले बताए । बराल नारायणकाजी नेतृत्वको तत्कालिन संयुक्त जनमोर्चा एकीकरणसँगै माओवादी बनेका हुन् । राई र दनुवार जनयुद्धकालीन कार्यकर्ता हुन् । 

पार्टी जिल्ला कमिटीको १० गते बस्ने बैठकले उम्मेद्वारको नाम तय गर्ने छन् । जिल्ला कमिटीमा विवा भएर नाम टुंगो लाग्न नसके प्रदेश कमिटीले अन्तिम टुंगो लगाउने पार्टीले जनाएको छ । तर, कटारीको हकमा त्यत्ति धेरै विवाद नदेखिने कार्यकर्ताहरू बताउँछन् । यसअघि प्राध्यापक कुमारसिंह राई, जिल्ला संयोजक विनोद कटुवाल र नगर संयोजक हेम दाहालको नाम पनि मेयरको दावेदारमा चर्चामा थिए । 

माओवादी केन्द्रले कटारीका उपमेयर र वडाअध्यक्ष/सदस्यको नाम पनि सिफारिस गरेको छ । ३ जनाको नाम सिफारिस गरिएका उपमेयरमा जिल्ला कमिटी सल्लाहकार शारदा थापा, अखिल नेपाल महिला संघ कटारी नगर अध्यक्ष मीना कोईराला र नगर सदस्य द्वारिका खड्का रहेका छन् । 

त्यसैगरी वडाका आकांक्षीहरूको नाम पनि पार्टीले सिफारिस गरेको छ । कटारी ८ नम्बरको उम्मेद्वार भने टुंगो लागेको छ । ८ नम्बर वडाध्यक्ष र सदस्यको नाम निर्विरोध सिफारिसमा परेको छ । अध्यक्षमा कमल श्रेष्ठ र सदस्यमा ईन्द्रबहादुर थापामगर र दुर्गाबहादुर मगर तथा महिलामा किर्तीमाया तामाङ र दिलकुमारी मगरको नाम सिफारिसमा परेका छन् । अन्य वडामा विकल्पसहितको नाम सिफारिस भएको पार्टीले जनाएको छ । 

कांग्रेस र एमालेका उम्मेद्वारको भने नाम सिफारिस हुन बाँकी रहेको छ । कांग्रेसले सिफारिस गर्ने समय २ दिन थपेकाले १० गतेभित्र सिफारिस गर्ने बताइएको छ भने  एमालेमा पनि छनौट अन्तिम चरणमा पुगेको जनाएको छ । 

चुनाव हुने मिति २२ दिन बाँकी रहँदासम्म त्रियुगामा एमालेले र कटारीमा माओवादीले बाहेक अन्य नगर र गाउँपालिकाका उम्मेद्वार चयनको प्रक्रिया अघि बढिसकेको नभए पनि सबै तहबाट सिफारिसको अन्तिम चरणमा दलहरू पुगेको बताएका छन् । 

प्रकाशित: ९ वैशाख २०७४ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App