coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘लभलेटरको ओइरो लाग्थ्यो’

लक्ष्मी गिरी, कलाकार
मेरो जन्म काठमाडौँको पशुपति क्षेत्रमा २०१० सालमा भएको हो । मध्यमवर्गीय परिवारमा जन्मिएँ । हजुरआमा नर्स हुनुहुन्थ्यो । बुबा प्राइभेट एयरलाइन्समा हाकिमसम्म बन्नुभयो । मैले पनि  कक्षा १० सुरु हुनेबित्तिकै २०२८ सालमा राष्ट्रबैंकमा जागिर खाएँ । २२ वर्षजति राष्ट्रबैंकको जागिर गरें।
पशुपतिको वज्रघरमा रहेको शारदा माध्यमिक विद्यालयमा कक्षा आठसम्म पढेँ । एसएलसी भने २०२९ सालमा जोरपाटीमा रहेको चामुण्डा माध्यमिक विद्यालयबाट उत्रतीण गरें। पढाइमा अब्बल नै भए पनि विवाहपछि पढाइलाई निरन्तरता दिन सकिएन । एसएलसीभन्दा बढी पढिएन । स्वाध्ययन भने अहिलेसम्म जारी छ । औपचारिक शिक्षाभन्दा पनि स्वाध्ययनले मान्छेलाई बलियो बनाउँदो रै’छ ।
अहिलेजस्तो उबेलाको समाज खुल्ला थिएन । मैलै अलिकति पातलो कपडा लगाउनेबित्तिकै छिमेकीले ‘तेरी छोरी छाडा भई, बिग्रिई’ भनेर घरमा सुनाउँथे । तर, मेरी हजुरआमा बुझक्की भएकाले छिमेकीका कुरा त्यसै टारिदिनुहुन्थ्यो ।
त्यो बेला प्रेम पनि खुलेर गर्ने अवस्था थिएन । प्रेम भए पनि भन्न धेरै सोच्नुपथ्र्यो । मन पराए पनि केटाहरू खुलेर भन्न सक्दैनथे । मेरा लागि त बेनामी लभलेटरको ओइरो नै लाग्थ्यो । लभलेटरमा कविता, गीत, सायरी लेखिएका हुन्थे । सबमा प्रेम भरिएको हुन्थ्यो ।
एउटा लभलेटरले खूब मन छोएको थियो । त्यसमा मन छुने हिन्दी सायरी लेखिएको थियोः
लिखता हूँ खत खून से, स्याही मत समझना
मरता हूँ तेरे लिए, जिन्दा मत समझना ।
सायरी भएको लभलेटर पठाउने मान्छेसँग पछि एउटा पार्टीमा भेट भयो । उहाँ पनि राष्ट्रबैंकमा काम गर्ने, राम्रै परिवारको मान्छे हुनुहुँदो रहेछ । मलाई नजिकै देखेपछि उहाँ नर्भस हुनुभयो । मलाई पनि खूब लाज लागेको थियो ।
बौद्धको पीपलबोटमा एक जना केटासँग भेट भइरहन्थ्यो । उहाँले घडी बाँधेकाले म अफिस जाँदा प्रायः उहाँलाई नै समय सोध्थँे । एक दिन  घरमा मेरो बिहेको कुरा चल्यो । केटा हेर्न आए । को रहेछ ? भनेको त्यही मैले समय सोध्ने केटा नै रहेछ । साह्रै अप्ठ्यारो लाग्यो । लाजले उहाँको अनुहारै हेर्न सकिनँ । बीए पास गरेको केटासँग बिहे गर्ने मेरो सोच थियो । उहाँ पनि बीए अन्तिम वर्षमा पढ्दै हुनु हुँदो रहेछ । बौद्धको स्कुलमा नेपाली पनि पढाउनु हुँदो रहेछ । त्यति भएपछि मैले पनि मौन समर्थन जनाएँ  । २०३० सालमा हाम्रो बिहे भयो ।
नाचगानमा मेरो सानैदेखि रुचि थियो । स्कुल पढ्दा हामी चारजना केटीको ‘ग्याङ’ नै थियो । स्कुलमा हुने प्रायः सांस्कृतिक कार्यक्रममा हामीलाई नै बोलाइन्थ्यो । लेखन पनि मेरो रुचिको क्षेत्र हो ।
२०२१ सालमा नेवारी भाषाको ‘डबली’ सडकनाटकमा अभिनय गर्ने अवसर जु¥यो । त्यतिबेला चाडपर्वमा यस्ता नाटक टोलटोलमा देखाइन्थे । ‘डबली’ नाटकबाटै मेरो अभिनय यात्रा सुरु भयो । त्यसपछि एउटा भिडियोमा मोडलिङ गर्ने अवसर पनि पाएँ । त्यसमा मैले गरेको अभिनय हेरेपछि २०४२ सालमा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘अप्रिल फस्ट’ भन्ने टेलिसिरियलमा अभिनय गर्ने मौका पाएँ । सन्तोष पन्तले बनाएको त्यो हास्य सिरियलको निर्देशन उज्ज्वल घिमिरेले गर्नुभएको थियो । त्यसमा मैले गृहिणीको भूमिका निर्वाह गरेकी थिएँ । त्यसपछि अरू सिरियलका लागि पनि अफर आए ।
धेरै सिरियलमा खेलिसकेपछि म एकैपटक ‘भुमरी’, ‘कन्यादान’, ‘माया’ र ‘फेरि भेटौँला’ गरी चार फिल्ममा अनुबन्धित भएँ । सबैभन्दा पहिला फिल्म ‘फेरि भेटौँला’ रिलिज भयो । त्यसपछि फर्किएर हेर्नुपरेन । मेरो अभिनय यात्रा अहिले पनि जारी छ ।
बैँसको त्योबेला अहिले सम्झिँदा पनि रमाइलो लाग्छ । फेरि बैँस फर्किए हुन्थ्यो जस्तो लाग्छ । तर, बितेको समय कहाँ फर्किन्छ र ?
जिन्दगीमा राम्रो सोचे राम्रै, नराम्रो सोचे नराम्रै हुँदो रहेछ । जिन्दगीप्रति मेरो केही गुनासो छैन ।

प्रस्तुतिः रामकुमार

(नागिरक परिवारबाट)

 

प्रकाशित: ९ वैशाख २०७४ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App