६ वैशाख २०८१ बिहीबार
अन्य

वनबासबाट मुक्त शिव

–सृजना खड्का

संगीतमा करिअर बनाउन आमाबाबुबाट १४ वर्ष छुट्टिएर बस्नुपरेको थियो, गायक शिव परियारलाई । उनी ती संघर्षका दिनलाई वनबास भन्न रुचाउँछन् । काठमाडौँमा घर किनेपछि उनले आफू वनबासबाट मुक्त भएको ठाने ।

पट्याक–पट्याक चप्पल पड्काउँदै २०५६ सालमा काठमाडौँ छिरेका थिए, शिव परियार । आज राजधानीमा उनको एउटा घर छ । यति ‘हम्बल ब्याकग्राउन्ड’ भएका आजका यी चर्चित गायकले सपनामा पनि सोचेका थिएनन्– कुनै दिन यो शहरमा उनको पनि घर हुनेछ ।
सर्लाहीबाट १७ वर्षअघि काठमाडौँ खाल्डोमा पसेका थिए उनी । जीवनको १४ वर्ष उनले डेराबासमा बिताए । अहिले काठमाडौँ, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिकै साढे दुई तलाको हल्का कलेजी रङको चिटिक्क परेको घर छ उनको । घरको कालो गेटबाट भित्र छिर्नेबित्तिकै हुन्डाई कम्पनीको गाडी पार्क गरेर राखिएको देखिन्छ । तीन आना जग्गामा फैलिएको घरको तल्लो तला उनले भाडामा दिएका छन् । आमाबुबा, श्रीमती, छोरी र दुई बहिनीहरूका साथ उनको घर गुल्जार छ । तीन वर्षअघि उनले यो घरको स्वामित्व हासिल गरेका थिए ।  
१४ वर्षे वनबास
‘म त अन्धकार हिसाबले हिँडेको मान्छे । काठमाडौँमा एक्लै संघर्षमा होमिएको केटो । छ सयदेखि २० हजारसम्म कोठामा भाडा तिरेर बसें,’ उनले भने । संघर्षका बेला आमाबुबासँग छुट्टिएर बस्नुपरेको बाध्यता सम्झिँदै उनले भने, ‘आफ्नो करिअर खोज्दै १४ वर्ष आमाबाबाट टाढा बस्नुपर्यो । श्रीराम वनबास गएजस्तै भयो मेरो जीवन ।’
कुनै बेला एउटा राम्रो कोठाका लागि तड्पिएका थिए उनी । ‘एक पटक २५ सय भाडा पर्ने कोठा साह्रै मन परेको थियो,’ उनले सम्झिए, ‘तर, त्यो बेला महिनाभरि स्कुल पढाएको तलब जम्मा दुई हजार आउँथ्यो । मैले त्यो कोठा आँट्नै सकिन । त्यो कोठाको तस्बिर भने मनमा अझै झलझली आउँछ ।’
दालमोठ–चिउरा र रियाज
स्टेजमा गाउन जाँदा अहिले पनि शिवलाई उनका मिल्ने साथीहरू ‘दालमोठ चिउराको बल निकाल्छ है यसले’ भन्दै जिस्काउँछन् । यो प्रेमपूर्ण जिस्काइको कारण पनि छ । ‘कुनै जमानामा दालमोठ र चिउरा खाएरै १२/१४ घण्टा रियाज गरेँ,’ उनी आफ्नो संघर्षशील अतीतमा फर्किए, ‘भोकले कति पटक रिङाएर ढालेको अनुभव पनि छ मसँग । रियाज गर्दा मलाई धेरैले बौलाहा, पागलको उपनाम दिएका थिए । त्यति मात्र कहाँ हो र ? रातरात भर रेस्टुरेन्टमा साह्रै थोरै तलबमा निकै दिन काम गरियो ।’

यसरी किने घर
२०७० सालमा शिव चर्चाको चरम चुलीमा थिए । कन्सर्टको पारिश्रमिक तथा अन्य आम्दानी गरेर उनको खातामा ३५ लाख रुपैयाँ जम्मा भएको थियो । ‘आठ लाख आनामा पाइयो भने चार आना जग्गा किन्छु भन्दै पेप्सिकोला छिरैँ,’ उनले सम्झिए, ‘मान्छेलाई जुरेको रहेछ भने भगवान्ले पनि डो¥याउँदै लैजाने रहेछ ।’

सुरुमा घरको मूल्य १ करोड १० लाख रुपैयाँ तोकियो । तर, उनले ८५ लाखमा मागे । ‘अन्तिममा केही सीप नलागेर एक करोडमा कुरा मिलाइयो,’ उनले भने, ‘पैसा कहाँबाट आउँछ, के हुन्छ, केही थाहा छैन । एक्कासि घर किन्ने सनक चढ्यो । पैसाको बन्दोबस्त गर्न थालेँ ।’ उनले आफ्नो बैंक म्यानेजर साथीलाई आफूसँग ३५ लाख मात्र भएको भएको बताएर सहयोगका लागि आग्रह गरे । साथीको सद्भावले ठूलो काम ग¥यो । बैंकबाट ४० लाख रुपैयाँ ऋण पाए ।  ‘बाँकी २५ लाख  बाहिरबाट रिनपान गरेँ,’ उनले भने, ‘त्यो २५ लाख चुक्ता गरिसकेँ । बैँकमा १५ वर्षको समय राखेको थिएँ । बीचबीचमा पैसा दिएर ११ वर्षमा झारेँ ।’ आफू जस्तोसुकै अप्ठ्यारोमा पर्दा पनि बैँकको किस्ता समयमै तिरेका कारण बैंकले उनलाई पत्यायो । ‘इमानदारीपूर्वक सहकार्य गरेको हुनाले बैंकले गाडी पनि किनिदियो,’ उनले भने ।
घर किनेपछि सबैभन्दा पहिले उनले आमाबुबालाई काठमाडौँ ल्याए । ‘आज प्रत्येक दिन बिहान उठ्नेबित्तिकै उहाँहरूको अनुहार देख्छु,’ उनले भने, ‘उहाँहरूसँगै बसेर खाना खान्छु । मजस्तो भाग्यमानी को छ र जस्तो लाग्छ ।’
आफ्नो घर हुनुको आनन्द के हुँदो रहेछ ? ‘आफ्नो घरमा भोकै सुते पनि छुट्टै खालको आनन्द आउँदो रहेछ,’ उनले भने ।
सेतो घोडा चढेको सपना
‘घर किन्ने बेला जोश/आँट सबैकुरा एकैचोटि आउँदो रहेछ,’ शिवले भने, ‘यो घर मेरा लागि निकै फापेको जस्तो लाग्छ ।’ कसरी फापेको छ त ? ‘घरमा छिरेपछि मेरा आम्दानीका स्रोतहरू झनै खुले,’ उनले भने, ‘जतिपटक बाहिरबाट घरमा छिर्छु, उति नै पल्ट मलाई लाभ हुन्छ ।’
वनबासबाट मुक्त भएर घर प्रवेश गरेको पहिलो रात उनले सपनामा घोडा चढेको देखे । ‘सेतो घोडा चढेर पहाडमाथि उक्लिएको देखेँ,’ उनले भने, ‘मेरो आमा भन्नुहुन्थ्यो, सेतो घोडा चढेको सपना देख्यो भने जीवनमा साह्रै राम्रो हुन्छ ।’
पुरानो सोफा
उनको घरको पहिलो तलामा तीनटा कोठा र एउटा बैठककोठा छ । एउटामा उनी, अर्कोमा उनका दुइजना बहिनी र तेस्रोमा उनका आमाबुबा बस्नुहुन्छ । माथिल्लो तलामा एउटा ठूलो कोठा छ । त्यहाँ उनी रियाज गर्छन् । भान्छा पनि माथ्लो तलामै छ ।  बाँकी ठाँउ कौशीका लागि छुट्याइएको छ । कौशीमा  गमलाहरू छन् । रियाज कक्षमा उनले प्राप्त गरेका उपलब्धि संगृहीत छन् । सम्मानपत्र, ताम्रपत्रहरू यत्रतत्र छरिएका छन् ।
उनको कोठामा १ लाख १५ हजार रुपैयाँ पर्ने सोफा छ । सोनीको ४९ इन्चको एलईडी टीभी पनि छ । त्यस्तै, संघर्षका दिनमा दुःख गरेर जोडेको रेग्जिनको एक सेट सोफा पनि उनले सँगालेर राखेका छन् । ‘यो मेरो अतीतको निशानी हो,’ उनले भने ।
असल छिमेकी
संयोग कस्तो पर्यो भने उनले घर किनेको भोलिपल्टै पेप्सीकोला क्षेत्र नगरपालिका घोषणा भयो । एक हप्तामा नै कच्ची सडक पिच भयो । आफ्नो वरिपरिको टोल सुधार समितिको प्रशंसा गर्दै उनले भने, ‘केही गर्ने भनेपछि गरिहालौँ न भन्ने खालको सोच छ । मेरा छिमेकीहरू असल छन् । असल छिमेकी पाउनु भाग्यको कुरा हो ।’

(नागरिक परिवारबाट)

प्रकाशित: ९ वैशाख २०७४ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App